करिब ३ वर्ष अगाडिको कुरा हो, म एउटा संस्थागत विद्यालयमा अङ्ग्रेजी शिक्षकको रूपमा अध्यापन गर्न सुरु गरेको थिएँ। अङ्ग्रेजी भाषालाई एउटा सञ्चारको माध्यमको रूपमा हेरिनुपर्छ न कि बौद्धिकताको मापकको रूपमा भन्ने कुराको पक्षधर म कक्षाभित्र र कक्षा बाहिर विद्यार्थीहरूसँग अङ्ग्रेजीमा मात्र संवाद गर्नुपर्ने बाध्यात्मक परिस्थितिको सामना गरिरहेको थिएँ। म यो मान्यता राख्थेँ कि भाषाभन्दा महत्त्वपूर्ण विषयवस्तु हुन्छ।
शिक्षाशास्त्रमा अङ्ग्रेजी मूल विषय लिई स्नातकोत्तर गरिरहँदा भाषा केवल भाषिक प्रणाली नभएर यो बहुआयामिक हुन्छ भनेर पढेको थिएँ। यसका दार्शनिक, समाजशास्त्रीय, मनोवैज्ञानिक र संज्ञानात्मक, शैक्षिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, मानवशास्त्रीय, प्राविधिक, आदि पक्षलाई केही हदसम्म जान्ने अवसर पाएको म त्यस्तो बाध्यकारी नियममा असहज महसुस गरिरहेको थिएँ।
विद्यालयको नियम सम्झेर आफू बोल्दा अङ्ग्रेजी भाषाको प्रयोग गरे पनि विद्यार्थीहरूलाई नेपालीमा बोल्न छुट दिन्थेँ। मलाई बेलाबेलामा सम्झाइने गरिन्थ्यो; म अङ्ग्रेजी शिक्षक हुँ र विद्यार्थीलाई नेपालीमा बोल्न दिनु सानोतिनो अपराध सरह हो।
विद्यालयको बैठकमा नेपाली शिक्षक बाहेक अरूलाई अङ्ग्रेजी बोल्नु अनिवार्य थियो। त्यस्तो अवस्थामा न शिक्षकहरू नै आफ्नो कुराहरू स्पष्टसँग व्यक्त गर्न सक्थे न त प्रधानाध्यापकले राखेको कुरा बिना अवरोध शिक्षकसम्म पुग्दथ्यो। शिक्षकहरू आफ्नो विषयमा दक्ष भए पनि अङ्ग्रेजी कमजोर भएकै कारण आफ्नो पूर्ण दक्षताको उपयोग गर्न सक्दैनथे। अङ्ग्रेजी कमजोर भएकै कारण विद्यार्थीहरू शिक्षकसँग संवाद गर्न हिचकिचाउँथे। जसले गर्दा उनीहरूको सिकाइमा अवरोध भइरहेको थियो। म यो कुराको प्रधानाध्यापकसँग प्रतिवाद गर्न चाहे पनि गर्दैनथेँ। तर मलाई थाहा थियो कि यो एउटा विद्यालयको मात्र समस्या होइन। सिङ्गो नेपाली समुदायकै समस्या मात्रै होइन, समग्र तेस्रो विश्वकै समस्या हो।
हाम्रो जस्तो देशहरूमा अङ्ग्रेजी एउटा भाषा मात्र होइन, यो एउटा प्रतिष्ठाको प्रतीक र बौद्धिकताको मापन हो। अङ्ग्रेजी भाषालाई आर्थिक, सामाजिक, शैक्षिक, व्यावसायिक रूपमा लाभ दिने माध्यमका रूपमा मानिने हुँदा यसलाई प्राथमिकता दिइन्छ। जसलाई समाजशास्त्री पियरे बोर्दियुले 'भाषिक पूँजी' को रूपमा व्याख्या गरेका छन्। त्यसमाथि विद्यार्थीहरूले मातृभाषा नबोली अङ्ग्रेजी मात्र बोल्दा विद्यालयको प्रतिष्ठा बढ्छ र धेरै विद्यार्थीहरू र अभिभावकहरू त्यस विद्यालयप्रति आकर्षित हुन्छन् भन्ने मान्यताले गर्दा अङ्ग्रेजी मात्र बोल्नुपर्ने बाध्यात्मक नियम लागू गरिएको अनुमान गर्न सकिन्छ।
अङ्ग्रेजी माध्यमको विद्यालय पढिसकेपछि विद्यार्थीहरूले अङ्ग्रेजी बोल्नुपर्छ र जान्नुपर्छ भन्ने कुरा स्वाभाविक लाग्न सक्छ। विशेष गरी अभिभावकहरूले अङ्ग्रेजी माध्यमको विद्यालयमा पढेको कारणले विद्यार्थीले खरर अङ्ग्रेजी बोल्न जान्नुपर्छ भनेर विद्यालयलाई दबाब दिने गर्छन्। विद्यालयको प्रमुख भएको नाताले प्रधानाध्यापकले त्यो दबाब विद्यार्थी र शिक्षकमाथि खन्याउने गर्छन्। तर त्यसरी अङ्ग्रेजी मात्रै बोल्नुपर्ने बाध्यकारी नियमबाट विद्यार्थीहरूले अङ्ग्रेजी सिक्न सक्छन् भन्ने एउटा गम्भीर प्रश्न खडा हुन्छ। यसै सम्बन्धमा प्रसिद्ध भाषाविद् रोबर्ट फिलिप्सनले आफ्नो पुस्तक लिङ्ग्विस्टिक इम्पेरियलिज्ममा अङ्ग्रेजी भाषा शिक्षणका ५ वटा भ्रमहरू उल्लेख गरेका छन्:
१. एकभाषिक भ्रम: कक्षाकोठामा विद्यार्थीको मातृभाषा प्रयोग गर्नुहुँदैन भन्ने मान्यता छ, जुन फिलिप्सनका अनुसार गलत हो।
२. मातृभाषी वक्ता भ्रम: अङ्ग्रेजी मातृभाषी शिक्षकलाई बढी प्राथमिकता दिँदा अङ्ग्रेजी दोस्रो भाषा हुने दक्ष शिक्षकको अवमूल्यन हुन्छ।
३. चाँडो सुरुवातको भ्रम: अङ्ग्रेजी जति कम उमेरबाट पढाउन सुरु गरियो त्यति नै फलदायी हुन्छ भने पनि फिलिप्सनका अनुसार यसले राम्रो नतिजा दिँदैन।
४. अधिकतम सम्पर्क भ्रम: जति धेरै अङ्ग्रेजीको सम्पर्कमा विद्यार्थीलाई ल्याइन्छ त्यति नै धेरै अङ्ग्रेजी उसले सिक्छ भने पनि गुणस्तरमा भन्दा परिमाणमा जोड दिने भएकाले विद्यार्थीको सिकाइको अन्य पक्षलाई बेवास्ता गर्छ।
५. न्यूनीकरणको भ्रम: अङ्ग्रेजी सिक्न आफ्नो मातृभाषा त्याग्नुपर्छ भन्ने मान्यता गलत छ। फिलिप्सनले त्यसको सट्टा 'द्विभाषी' शिक्षामा जोड दिनुपर्छ भनेका छन्।
यसबाट के बुझ्न सकिन्छ भने अङ्ग्रेजी कक्षामा मातृभाषामा पढाउँदैमा, अङ्ग्रेजी मातृभाषी शिक्षकले पढाउँदैमा, सानै उमेरबाट अङ्ग्रेजी पढाउँदैमा, अङ्ग्रेजीको अत्यधिक सम्पर्कमा विद्यार्थीहरूलाई ल्याउँदैमा, मातृभाषा त्याग्दैमा बालकहरूले अङ्ग्रेजी प्रभावकारी रूपमा सिक्दछन् भन्नु एउटा भ्रम हो।
विभिन्न अध्ययन तथा अनुसन्धानबाट यो कुरा पत्ता लागिसकेको छ कि बच्चाले दोस्रो भाषाको तुलनामा आफ्नो मातृभाषामा बढी राम्रोसँग सिक्न सक्छ। त्यसै गरी हाम्रो देशको संविधानले पनि प्रत्येक नागरिकलाई आफ्नो मातृभाषामा पढ्न पाउने अधिकार सुनिश्चित गरेको छ तर त्यो कुरा कागजमा मात्र सीमित भएको छ। हाम्रो जस्तो भाषिक विविधता र स्रोत र साधन कमी भएको देशमा मातृभाषामा विद्यालय सञ्चालन गर्नु पनि चुनौतीपूर्ण छ। सबै भाषाहरू लिपिबद्ध नहुनु, सबै विद्यार्थीहरूको मातृभाषा ज्ञान भएको शिक्षकको कमी, उचित पाठ्यक्रम र पाठ्यपुस्तकको अभाव जस्ता कुराहरू प्रमुख चुनौती हुन्।
दोस्रो भाषामा पढ्दा उसलाई विषयवस्तुको साथसाथै अर्को भाषा पनि सिक्नुपर्ने दबाब हुने हुँदा पहिलो भाषामा पढ्न पाएको बच्चाको तुलनामा ऊ पछाडि पर्छ। आफ्नो मातृभाषामा पढ्न पाउँदा सीमान्तकृत बच्चाहरू पनि कक्षामा बढी सहभागी हुने कुरा अध्ययनले बताउँछ। साथसाथै भाषा सामाजिक विभेदको एउटा माध्यम पनि बन्न सक्छ। जुन भाषाको माध्यमबाट पढाइ भइरहेको छ त्यो भाषाको राम्रो ज्ञान हुने विद्यार्थीहरू पढाइमा अगाडि बढ्ने र त्यो भाषामा कमजोर हुने विद्यार्थीहरू पढाइमा पनि कमजोर हुने हुन्छ।
त्यसै गरी कोही विद्वान आफ्नो विधामा सक्षम छ तर उसलाई प्रभावशाली भाषाको ज्ञान छैन भने सक्षम हुँदाहुँदै पनि उसको ज्ञानको अवमूल्यन हुन्छ। उदाहरणका लागि आफ्नो मातृभाषा बोल्ने जनजाति वा मधेसी समुदायका विद्वानहरू नेपाली नजानेकै कारण अथवा नेपाली कमजोर भएकै कारण उनीहरूले उपहासको पात्र बनेका प्रशस्त उदाहरणहरू छन्।
पक्कै पनि अहिलेको पुँजीवादी र विश्वव्यापीकरणको युगमा अङ्ग्रेजीको भूमिकालाई नकार्न सकिँदैन। अङ्ग्रेजी भाषा जान्नु धेरै क्षेत्रमा फाइदाजनक छ। अङ्ग्रेजी भाषाको राम्रो ज्ञान भएको व्यक्तिलाई धेरै ठाउँमा लाभ हुने गर्छ। तर यति भन्दै गर्दा यसको नकारात्मक पाटोलाई पनि नजरअन्दाज गर्न मिल्दैन। अङ्ग्रेजी पढाउनुपर्छ तर आफ्नो मातृभाषा बिर्सिने गरी होइन। विद्यालयमा अङ्ग्रेजी बोल्ने वातावरण बनाइनुपर्छ तर आफ्नो मातृभाषा बोल्दैमा विद्यार्थीलाई दण्डित गर्नु हुँदैन। भाषालाई महत्त्व दिनुपर्छ तर विषयवस्तुभन्दा अलि कम।