रोल्पाको सुलिचौरदेखि होलेरीसम्मको यात्रा
२०८० माघ महिनाको जाडोको दिन थियो। प्रसिद्ध तीर्थस्थल भनेर चिनिने स्वर्गद्वारी दोहोर्याएर नगएको साढे चार दशक बितिसकेको थियो। एक पटक फेरि जाऊँ-जाऊँ लागेपछि त्यहाँ जानका लागि भान्जा उत्सवलाई फकाएँ, भान्जाको मोटरसाइकल भएकोले छिटो छरितो यात्रा हुने निश्चित नै थियो। बिहानको खाना रोल्पाको सुलिचौरस्थित बहिनीको घरमा खाएर हामी मामा-भान्जा निस्कियौँ स्वर्गद्वारी यात्राका लागि।
प्युठानको भिंग्रीबजारबाट उकालो उकालो बाटो हुँदै विभिन्न मोड वा घुम्तीहरू पार गर्दै हामी स्वर्गद्वारी पुग्यौँ। समुद्र सतहबाट २३०० मिटर उचाइमा रहेका कारण स्वर्गद्वारीमा चिसो महसुस हुनु स्वाभाविकै थियो। त्यहाँबाट तल फाँटहरू देखिन्थे मेरो जन्मथलो रोल्पाको खुंग्री समेत। स्वर्गद्वारीको उहिलेको अवस्थाभन्दा अहिलेको रौनक आकाश जमिनको रहेछ। उहिले त्यहाँ जाँदाको स्वर्गद्वारी र अहिलेको स्वर्गद्वारीमा भिन्नताको कुरा गरेर साध्य छैन। हाजिरी जवाफ प्रतियोगितामा वा अझै पनि लोक सेवा आयोगको परीक्षामा प्रसिद्ध तीर्थस्थल कुन जिल्लामा पर्दछ भनेर सोधिन्छ पनि। साबिक राप्ती अञ्चलको नाम पनि कुनै बखतसम्म स्वर्गद्वारी अञ्चल थियो। जुन हाम्रो पुरानो पाठ्यक्रममा समेत समावेश थियो र पढेका पनि थियौँ।
स्वर्गद्वारीमा केही समय बिताएपछि हामीले अचानक होलेरी पुग्ने योजना बनायौँ। डाँडैडाँडाको बाटो भए पनि मोटरसाइकल हाँक्ने भान्जाको सीप ठिकै लागेको थियो। ठाउँ-ठाउँमा ‘बिस्तारै है भान्जा!’ भनेर सम्झाउने काम गरेँ। मैचन्ने हुँदै हामी केही समयपछि होलेरी बजार पुग्यौँ। एकछिन त्यहाँ शुभचिन्तकहरूसँग भेट भयो र चियापान सकिएपछि हामी जौँलीपोखरी-घोडागाउँ-खुंग्री हुँदै बेलुकीको समयमा सुलिचौर फर्कियौँ।
काठमाडौँदेखि दाङसम्म
२०८१ जेठ १ गतेका दिन मलाई ३ देखि १५ गतेसम्म सञ्चालन हुने चौथो होलेरी वृहत् सांस्कृतिक, व्यापारिक तथा पर्यटन महोत्सवमा अतिथिका रूपमा उपस्थितिका लागि निम्तो आयो। आफ्नो जिल्लाबाट अतिथिका लागि निम्तो आएपछि त्यहाँ नजाने कुरा पनि भएन। निर्धारित समयमा होलेरी पुग्ने लक्ष्यका साथ म काठमाडौँबाट ४ गते दाङतर्फ प्रस्थान गरेँ। रात्रीबसमा भन्दा पनि दिवा सेवाका बसमा यात्रा गर्न रुचाउने म प्राकृतिक दृश्यहरूमा रमाउने बानी परेको हुँदा बिहानै गोङ्गबु बसपार्क पुगेर दाङको बस चढेँ। काठमाडौँबाट प्रस्थान गरेको करिब अठार घण्टाको यात्रापछि बेलुकी अँध्यारो भइसकेपश्चात् मात्र दाङको घोराही उपमहानगरपालिका अन्तर्गतको नारायणपुर पुगेँ।
दाङदेखि होलेरीसम्म
काठमाडौँबाट दाङ पुगेको भोलिपल्ट ५ गते अपराह्न बाह्र बजे होलेरी पुग्ने गरी नारायणपुरबाट घोराही बसपार्कतर्फ लागेँ र होलेरीको बस सोधखोज गरेर चढेँ। घोराहीबाट जम्मा छब्बीस किलोमिटरको दूरीमा रहेको होलेरी बजारसम्म जाँदा विभिन्न घुम्तीहरूका कारण यात्रा लामो मानिएको थियो, घोराहीबाट होलेरी पुग्न सरदर दुई घण्टाको समय व्यतीत हुँदो रहेछ। बसले सुस्तसुस्त गति लिँदै जाँदा दुईखोली-बगाले-बाह्रकुनेमन्दिर-खानीडाँडा हुँदै दाङछिरी पुग्यो। दाङ र रोल्पाको सीमा रहेको तथा दाङ प्रवेश गर्ने सीमा भएकोले त्यस ठाउँको नाम दाङछिरी रहेको भन्ने सुनियो। म बसको बी साइडको सिटमा बसेको थिएँ, तर झ्यालतिर परिनँ। झ्यालतिरको सिटमा बसेका एकजना ज्येष्ठ नागरिकलाई सिट साटौँ भन्न पनि नमिल्ने अवस्था थियो।
प्राकृतिक तथा सुन्दर दृश्यहरूको फोटो तथा भिडियो लिने मेरो बानी तथा सोख भए पनि त्यो काम सफल हुन सकेन। दाङबाट होलेरीतर्फ कहिल्यै नगएको ठाउँ भएकोले त्यहाँसम्म यात्रा कस्तो रहला भन्ने मनमा कौतुहलता थियो। सँगै सिटमा बसेका ज्येष्ठ नागरिकसँग केही प्रश्नहरू सोध्दै र उहाँका कुराहरू सुन्दै गर्दा बस घरी सुस्त र घरी हल्का तीव्र गति लिँदै अगाडि बढ्यो। कतै कच्ची बाटो त कतै पक्की अनि कतै बिग्रिएको बाटो पार गर्दै म निर्धारित समयमै रोल्पाको होलेरी बजार पुगेँ। बसबाट ओर्लिएपछि महोत्सव स्थलबाट माइकमार्फत आएको आवाज सुनेपश्चात् मेरो नजर त्यतैतिर मोडियो।
केही पाइला अघि बढेपछि फ्लेक्स बोर्डमा ‘चौथो होलेरी वृहत् सांस्कृतिक, व्यापारिक तथा पर्यटन महोत्सव २०८१’ लेखिएको प्रवेशद्वारबाट प्रवेश गरेपछि महोत्सव स्थलमा पुगेँ, जहाँ मलाई स्वागतका लागि केही युवायुवतीहरूबाट मञ्चमा आसीन गराउने काम भयो। आसन गरेसँगै मेरो नजर दर्शकदीर्घातिर ठोक्किएर टक्क अडियो। महोत्सवमा स्थानीय स्तरका कलाकारदेखि राष्ट्रिय स्तरका कलाकारहरूको समेत सहभागिता थियो।
होलेरीदेखि घोराहीसम्मको यात्रा
होलेरी महोत्सवमा सहभागी भएर आफ्ना कुराहरू राखेर अनि प्रस्तुति दिएर केही बेरसम्म अरूहरूका प्रतिभाहरू हेरेपछि चार बजेतिर चर्चित गीत ‘स्वर्गकी अप्सरा आज भुइँमा झरी…’ लगायत अन्य कर्णप्रिय गीतहरूका गायक टंक तिमिल्सिनालाई महोत्सवका आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरे। महोत्सवको मञ्चको पृष्ठभूमिमा राखिएको ब्यानरमा लोकगायक बद्री पंगेनी र अभिनेता दिलीप रायमाझीको तस्बिर देखिए पनि दुवै जनासँग मेरो भेट भएन। सायद तोकिएको दिनमा पालैपालो उपस्थिति हुने भएर होला। होलेरी महोत्सवमा मैले रोल्पाली नै हुँ भन्ने भावको एउटा मुक्तक वाचन गर्दा र दर्शकदीर्घाबाट जोडले ताली बज्दा आफैलाई आनन्द महसुस भएको थियो। अझै पनि मलाई जन्मथलोका कतिपयले गाउँको माया मारेको आरोप लगाउँछन्। तर आफ्नो जन्मथलो गाउँको मात्र नभएर अनि जिल्लाको मात्र नभएर राप्ती भेगकै धेरै नै प्रचार गर्ने लेखक सायद म नै हुँला।
कार्यक्रम सकिएपछि हामी चियापानका लागि बजारमा आयौँ। होलेरीको कार्यक्रम सकेर बिदाइ हुँदा सल्यानको बागचौरमा हुने महोत्सव र रोल्पाकै घर्तिगाउँमा हुने महोत्सवका लागि पनि मलाई निम्त्याइयो, तर समयाभावका कारण म दुवै स्थानमा जान भ्याइनँ। महोत्सवमा व्यापारिक स्टलहरू चलिरहेका थिए। रैथाने उपज तथा उत्पादनहरू पनि राखेको देखियो। दाङबाट आफन्तहरूले होलेरीबाट काफल लिएर आउनु भनेकोमा बेलुकीको समय भएकोले काफल बजारमा सकिइसकेको थियो। त्यहाँको चिसो हावालाई मेरो सफारी सुटले छेक्न सकेन। जब जब साँझ पर्दै गयो उति उति हावा चल्दोरहेछ होलेरीमा। त्यहीँ नजिकै जसपुर भन्ने ठाउँ रहेछ, जहाँ कुनै बखतसम्म हाम्री फुपूको कर्मघर थियो। जसपुरको नाम हामीले बाल्यकालदेखि नै सुनेका थियौँ। द्वन्द्वकालमा होलेरी आक्रमणले निकै चर्चा पनि पाएको थियो। उहिले हामी विद्यालय पढ्दा होलेरीको नाम सुन्दा लाग्थ्यो कि कस्तो होला होलेरी? एक पटक पुग्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो।
होलेरीबाट घोराही आउने यात्रा बारे कुरा चलिरहँदा तिनै गायक टंक तिमिल्सिनाकै गाडीमा जाने निश्चय भयो। होलेरी छोडेर यात्रा गर्दै हामी दुवै जना मीठामीठा कुराहरू गर्दै घोराहीतर्फ लाग्यौँ। उमेरले आफ्नो छोराभन्दा छ वर्ष कान्छा भएका कारण मैले उनलाई ‘टंक बाबु’ नै भनेर सम्बोधन गर्दै आफूलाई क्षणिक अभिभावकको भूमिकामा रहेको महसुस गरिरहेको थिएँ। उनले आफ्ना विगतका दुःख, संघर्ष र सफलताका रोचक कुराहरू सुनाइरहँदा म घरीघरी भावुक अनि रोमाञ्चक बन्नुपरेको थियो। सफलताका लागि मान्छेले संघर्ष गर्नैपर्छ र संघर्षबाट सफलतातिर आउँदा त्यसले ठुलो अर्थ राख्दछ भनिन्छ पनि। सात सयभन्दा बढी गीतहरू गाएको र गीतको माध्यमबाटै आफूले गाडी किनेको तथा काठमाडौँमा बसोबासको व्यवस्था गरेको पनि उनले बताए। प्रतिभाशाली युवा गायकसँग कुराकानी गर्दै घोराहीसम्म आउँदा समय क्षणभरमै सकिएको भान परेको थियो मलाई। म नारायणपुर जानुपर्ने कुरा बताएपछि तुलसीपुर हुँदै पश्चिम लाग्ने गरी गाडी पनि नारायणपुर भएरै लाग्यो र म नारायणपुरमा ओर्लिएँ।
काठमाडौँको उकुसमुकुस र श्वासप्रश्वासमा बाधा पुर्याउने वायु प्रदूषण, कानै खाने ध्वनि प्रदूषण, पुलहरू पार गर्दा जल प्रदूषणका कारण खोलाबाट ह्वास्स आउने दुर्गन्ध आदि समस्याबाट केही समयका लागि मुक्ति पाउन काठमाडौँ छोड्नै पर्छ र प्रकृतिसँग रमाउनुपर्दछ। यति मात्र नभएर सहरमा बस्दाको शारीरिक क्षति गाउँघरमा प्रांगारिक तवरबाट उत्पादित खानपानले गर्दा ज्यानमा सुधार भएको अर्थात् ज्यान पलाएर आएको महसुस पनि हुन्छ।
म्याग्जिनगढी
साबिक रुन्टीगढी गाविसको वडा नं १ र ९ तथा हालको रुन्टीगढी गाउँपालिकाको वडा नं ६ मा पर्ने म्याग्जिनगढीको बारेमा कहीँ कतै चर्चा भएको पाइँदैन। मुरुल्ले लेक बचाउ अभियान भने पहिलेदेखि नै चलिरहेको छ। रुन्टीगढी गाउँपालिका वडा नं ६ को होलेरीबजारमा मुरुल्ले-म्याग्जिनगढी पर्यटन विकास समिति पनि गठन भएको रहेछ। समितिले समय समयमा स्थानीय स्तरमा पर्यटन सम्बन्धी विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको जानकारी पाएँ। होलेरीबजार पश्चिम-दक्षिण रोल्पाको प्रमुख व्यापारिक केन्द्र पनि हो। त्यहाँ बजारमा दुई चार वटा बाहेक ठुला खालका भवनहरू भने देखिँदैनन्। म्यागजिनको अर्थ हुन्छ- बारुदखाना, हातहतियार, गोलाबारुद राख्ने ठाउँ, बन्दुकमा गोली राख्ने ठाउँ।
सुरक्षा तथा युद्धसँग सम्बन्धित यो शब्द सर्वसाधारण नेपालीहरूमा खासै प्रचलनमा छैन। सुरक्षा निकायसँग सम्बन्धित राष्ट्रसेवकहरूलाई भने यो शब्द बारे थाहा पाउनु अनिवार्य छ। यहाँ रोल्पाको एक ठाउँ छ, जसको नाम म्याग्जिनगढीको नामले चिनिन्छ। त्यसका बारेमा छोटो चर्चा गर्नु सान्दर्भिक ठहर्छ।
पहिले राजाहरूले चलाएका राज्यहरूबिचमा द्वन्द्व वा लडाइँहरू हुन्थ्यो र लडाइँका लागि सैनिकहरूको भूमिका पनि अनिवार्य नै हुन्थ्यो। त्यति बेला नै गोलाबारुद बनाउने, हातहतियारहरू मर्मत गर्ने, व्यवस्थापन गर्ने काम हुने ठाउँ वा स्थानलाई म्याग्जिनगढी नाम दिइएको भन्ने भनाइ रहेको पाइयो। अहिले पनि त्यहाँ साना-साना फलामका टुक्राहरू अर्थात् छर्राहरू पनि फेला पर्ने गरेको स्थानीयबाट जानकारी पाएँ। मैले दुई तीन कक्षामा पढ्दा रोल्पाकै खुंग्रीको विद्यालयनिर रहेको वर-पिपलको बोटमुनि आफूले साथीहरूसँग छर्रा खोज्ने गरेको सम्झना छ। खुंग्री पनि कुनै बखतसम्म बाइसी राज्यको रूपमा रहेको थियो। खुंग्रीराज्यका अन्तिम राजा फत्य प्रचण्ड सिंहसँग गाई चराउन पटक-पटक गोधुङ नामको खेतको फाँटमा गएको सम्झना पनि मलाई ताजै छ।