काठमाडौँको सडकमा गुड्ने ट्याक्सीको हतारो र मेरा पाइलाहरूको गति लगभग उस्तै थियो। कालो कोट, सेतो सर्ट र टल्किने जुत्तामा म एउटा सपनाको राजकुमार जस्तै सजिएको थिएँ। पाँच वर्षसम्म विश्वविद्यालयको पुस्तकालयमा 'अस्टिन', र 'सालमण्ड' का सिद्धान्तहरू माथि घोत्लिँदै गर्दा मैले कल्पना गरेको संसार निकै 'सोफिस्टिकेटेड' र आधुनिक थियो।
मेरो झोलामा अङ्ग्रेजीका मोटा 'टेक्स्टबुक' हरू थिए, जहाँ 'रुल अफ ल', 'ड्यु प्रोसेस', र 'प्रिसिडेन्ट' जस्ता शब्दहरूलाई निकै गर्वका साथ अङ्ग्रेजीमै व्याख्या गरिएको थियो। तर त्यो बिहान जिल्ला अदालतको गेटमा पाइला टेक्दै गर्दा मलाई के थाहा भयो भने मैले पाँच वर्षसम्म जम्मा गरेको त्यो अङ्ग्रेजीको 'नलेज' आज एउटा सानो 'वकालतनामा' भर्न पनि अपर्याप्त हुनेछ।
मेरो इन्टर्नसिपको पहिलो दिन थियो। कलेजका दिनहरूमा हामी साथीहरूबिच एउटा अदृश्य प्रतिस्पर्धा हुन्थ्यो कसले कति राम्रो अङ्ग्रेजी बोल्न सक्छ र कसले कति धेरै 'जुरिसप्रुडेन्स' का नामहरू लिन सक्छ। हामीलाई लाग्थ्यो, नेपालीमा कानुन पढ्नु भनेको अलि पुरानो हुनु हो, अलि पछि पर्नु पनि हो। त्यसैले हामीले 'कन्ट्रयाक्ट' पढ्दा 'अफर' र 'एसेप्टेन्स' त भन्यौँ तर कहिल्यै ‘प्रस्ताव’ वा 'मन्जुरी' भन्ने शब्दहरूको गहिराइ बुझ्ने प्रयास गरेनौँ। 'टर्ट्स' पढ्दा 'नेग्लिजेन्स' भन्यौँ तर 'लापरबाही' वा 'हेलचेक्र्याइँ' का नेपाली कानुनी प्रावधानहरूको रसिलोपनलाई वास्ता गरेनौँ। आज त्यही वास्ता नगरेको सजाय भोग्ने पालो मेरो पनि थियो।
ल फर्मको अफिसमा पुगेपछि मेरो सिनियर वकिल (जसलाई हामी गर्वका साथ 'सिनियर कन्सल्टेन्ट' भन्थ्यौँ) ले मलाई एउटा धुलोले भरिएको मोटो फाइल मरो हातमा थमाउनुभयो। फाइल खोल्ने बित्तिकै मेरो अगाडि 'फिरादपत्र' देखियो। अङ्ग्रेजीमा त्यसलाई कम्प्लेन्ट लेटर भनिन्छ भन्ने कुरा त थाहा थियो तर त्यो नेपाली फिरादपत्रमा लेखिएका शब्दहरू मेरा लागि एक कठिन संस्कृत श्लोक झैँ लाग्न थाले।
त्यहाँ लेखिएको थियो- ‘यसमा विपक्षीले मेरो हकभोगको जग्गामा खिचोला गरी चलन चलाई लिन खोजेको हुँदा...’। म अड्किएँ। 'खिचोला' भनेको के हो? 'चलन चलाउने' भनेको कस्तो प्रक्रिया हो? मैले मेरो मोबाइलमा तुरुन्तै 'नेपाली टु अङ्ग्रेजी' डिक्सनरी एप खोलेँ तर त्यहाँ यी शब्दहरूको ठ्याक्कै कानुनी अर्थ भेटिएन।
त्यो क्षण मलाई पहिलो पटक महसुस भयो, हाम्रो शिक्षा प्रणालीले हामीलाई 'ग्लोबल सिटिजन' त बनाउन खोजेको हो तर आफ्नै माटोको 'लोकल लयर' बनाउन बिर्सियो।
यतिकैमा मिसिल बोकेर म अदालतको फाँटमा पुगेँ। वरिपरि मानिसहरूको भीड थियो। कसैको अंशबन्डाको झगडा थियो, कसैको जग्गा मिचिएको उजुरी। त्यहाँ कोही पनि 'ड्यू प्रोसेस' का कुरा गरिरहेका थिएनन्, सबैले 'मेरो हक मारियो', 'मैले न्याय पाइनँ', 'मेरो बिहाबारीको कागज हरायो' भनिरहेका थिए। फाँटको कर्मचारीले मलाई एउटा खाली फारम दिँदै भन्नुभयो, ‘ल बाबु यो 'वारिसनामा' भरिदिनुस् त।’
मैले त्यो फारम हातमा लिएँ। मेरो हात काँपिरहेको थियो। त्यहाँ 'वादी', 'प्रतिवादी', 'सरोकारवाला' र 'दाखिला' जस्ता कोष्ठकहरू थिए। मैले अलि अलमलिँदै सोधेँ, ‘सर, यो 'पावर अफ अटर्नी' जस्तै 'अथोराइजेसन' लेटर हो?’ मेरो त्यो प्रश्न सुनेर फाँटको कर्मचारीले चस्माको डाँडी तल झार्दै मलाई हेरे। उनको त्यो हेराइमा एउटा व्यङ्ग्य थियो। उनले मुसुक्क हाँस्दै भने, ‘वकिल साब यो नेपाल हो। यहाँ अङ्ग्रेजी बोलेर मात्रै न्याय पाइँदैन। यहाँका मान्छेका दुःख बुझ्न नेपाली शब्दकै मर्म बुझ्नुपर्छ। कलेजमा 'इन्टरनेशनल ल' मात्रै पढ्नुभयो कि क्या हो?’
मलाई त्यो शब्दले नराम्ररी बिझायो। 'वकिल साब' भनेर सम्बोधन गर्दा पनि मलाई आफू एउटा अपराधी जस्तो लागिरहेको थियो। मलाई 'ट्रेस्पास' थाहा थियो, तर ‘अतिक्रमण’ भनेको के हो थाहा थिएन। मलाई 'डिभोर्स' को ग्राउन्डहरू अङ्ग्रेजीमा कण्ठ थियो तर 'इज्जत आमद' अनुसारको ‘मानाचामल’ भराउने प्रक्रिया भने नेपालीमा बुझाउन आइरहेको थिएन।
मेरो अगाडि उभिएकी एउटी वृद्धा महिलाले रुँदै आफ्ना दुःख सुनाउँदै थिइन्- ‘बाबु, मेरो छोराले मलाई घरबाट निकाल्यो, अलिकति 'जिउनी' बाँकी थियो त्यो पनि हडप्यो।’ म मेरो दिमागमा 'जिउनी' शब्दलाई अङ्ग्रेजीमा अनुवाद गर्न खोज्दै थिएँ 'लायबिलिटी' हो कि 'प्रपर्टी'? तर त्यो शब्दको पछाडि लुकेको ती वृद्धाको ममता र अधिकारको भावनालाई मेरो अङ्ग्रेजी शिक्षाले कतै सम्बोधन नै गरेको थिएन।
दिउँसोको खाजा खाने समयमा मेरा अन्य 'इन्टर्न' साथीहरूसँग भेट भयो। उनीहरू पनि कोही ‘दाखिला खारेज’ को कागज बुझ्न नसकेर त कोही 'बरामदी मुचुल्का' को भाषामा अल्झिएर बसेका रहेछन्। हामी सबैले पाँच वर्षसम्म अङ्ग्रेजीमा 'डिबेट' गर्दा आफूलाई निकै 'स्मार्ट' ठानेका थियौँ। तर आज कार्य क्षेत्रमा आउँदा हामी सबै एउटै 'ल्याङ्ग्वेज ब्यारियर' को अगाडि निरीह थियौँ।
त्यति बेला मैले सोचेँ, हामीलाई किन नेपालीमा कानुन पढाइएन? किन हाम्रो पाठ्यक्रमले अदालतमा चल्ने 'कागजी नेपाली' लाई प्राथमिकता दिएन? साँझतिर जब म अदालतको काम सकेर अफिस फर्किएँ, मेरो सिनियरले मेरो अनुहारको मलिनता देख्नुभयो। उहाँले मेरो काँधमा हात राख्दै भन्नुभयो, ‘बाबु, कानुन भनेको केवल सामान्य शब्द मात्र होइन, कानुन त मान्छे र समाजसँगको सम्बन्ध हो। जबसम्म तिमीले नेपाली समाजको भाषा, संस्कृति र यहाँको 'लिगल ल्याङ्ग्वेज' अथवा ‘कानुनी भाषा’ मा पकड बनाउँदैनौ तबसम्म तिमी केवल एउटा 'ट्रान्सलेटर' मात्र बन्न सक्छौ, 'लयर' होइन।’
त्यो दिन मेरो लागि एउटा ठुलो 'रियालिटी चेक' थियो। इन्टर्नसिपको पहिलो दिनले मलाई जति ‘अपमान’ महसुस गरायो त्यति नै एउटा नयाँ बाटो पनि देखाइदियो। कलेजको कोठामा अङ्ग्रेजी जानेर 'कुल' देखिन खोज्दा आज कार्यक्षेत्रमा नराम्रो महसुस हुनु मेरो लागि एउटा राम्रो पाठ बन्यो।
घर फर्कँदै गर्दा मेरो झोलाको तौल अलि कम भएको जस्तो लाग्यो। सायद मेरो 'इगो' को तौल घटेको थियो। मैले बाटोमा पर्ने एउटा पुस्तक पसलमा गएर 'मुलुकी देवानी संहिता' र 'फौजदारी संहिता' का नेपाली किताबहरू किनेँ, अब मैले फेरि कखरा बाटै कानुनी नेपाली सिक्नु थियो। 'पावर अफ अटर्नी' बाट वारिसनामा' सम्मको यात्रा तय गर्नु थियो।
भोलिपल्टको घाम मेरो लागि नयाँ हुनेवाला थियो। अब म अदालतमा अङ्ग्रेजीका शब्दहरूले धाक लगाउन होइन, नेपाली शब्दहरूको गहिराइ बुझेर न्यायका लागि लड्न जाने तयारीमा थिएँ। आखिर कानुनको अन्तिम लक्ष्य त न्याय दिनु हो र न्यायको कुनै भाषा हुँदैन, यो त पीडितको हृदयले बुझ्ने भाषामा हुनुपर्छ।