चार पाण्डवहरू ढलेका थिए यक्ष प्रश्नको उत्तर दिन नखोज्दा। लाग्थ्यो म चाहिँ युधिष्ठिर बन्न सक्छु कि! तर मेरो यक्ष प्रश्न त झन् थामिने नामोनिसान नै गर्दैन, जति नै उत्तर दिए पनि। छ वर्ष अघि डिग्रीवाली गृहिणी लेखेता पनि मेरो कामको मूल्याङ्कन कामसँग मात्र आज पनि हुनसकेको छैन।
स्वीकार्छु सामाजिक यथार्थ। हो आजको समयमा पैसा कमाउनै पर्छ। तर हरेक काम अर्थसँग सम्बन्धित पाटो नहुन पनि त सक्छ। पेशा चाहिँ द्रव्यविहीन हुनुहुँदैन। म त काम गर्छु, पेशा होइन नि! तर असमर्थ छु अरूलाई बुझाउन। पैसाको अभिमानले फुलेको विवेक सायद मेरो हृदयको गहिराइ बुझ्न सक्दैन। सक्दिनँ कामको अत्यहीन महत्त्व र सीमा सम्झाउन।
कृत्रिम ज्ञानको पगरी लगाएको भीड बुझेर पनि अबुझ बन्छ। अक्षरको जून जति नै शक्तिशाली भए पनि अभिमान र अहंकारको औँसीले सदा छेक्दोरहेछ। जब ज्ञान प्रशाधनको सामग्री मात्र बन्छ, तब व्यक्तिको कृत्रिम शृङ्गार र सचेतनाको स्तर पृथक देखिँदो रहेछ। आडम्बरी ज्ञानको नकाब खोलेपछि व्यक्तिभित्रको विषालु जङ्गलले डरलाग्दो गरी लखेट्दोरहेछ।
अहंको कृष्णछिद्रमा (ब्ल्यालहोल) हराएको मान्छेले अक्षरभित्रको दिव्य आलोक पनि नभेट्दो रहेछ। अरूको संवेदना पनि सजिलै कुल्चिँदो रहेछ। आफैमा लागू गर्न नसक्ने विचारको बलियो बरियो बाटेर, उच्च स्थानमा सबैलाई देखाउँदै सोइसोइला खेल्न सिपालु मान्छे त झन् बुझिनसक्नु पो हुनेरहेछ। अरूमा मात्र दोष देख्ने आँखा पक्कै बिमार छ। तर पनि ऊ चाहँदैन उपचार। किनकि पैसाको फित्ताले संसार नाप्न हिँडेको मान्छे शक्तिशाली ठान्छ आफूलाई। सन्तुलनको सिद्धान्त जान्दैन। चाहिँदैन उसलाई स्वदर्शनको दर्पण। थाहै छैन स्वाभिमान र अभिमानको सीमा। स्वच्छन्द भएर बिझाउँछ अरूलाई च्वास्स च्वास्स।
पैसा, पद र पावरले संसार जितेर गोजीमा राख्न खोज्नेहरू कालान्तरमा प्रकम्पित भूकम्पको धरहरा बनेको पनि देखेकी छु। शान्ति बेचेर भौतिकता मात्र किन्न दौडिएको मान्छे अन्ततोगत्वा व्याकुल भएर उदासिनताको गहिरो भासमा भासिएको पनि देखेकी छु।
कुनै समय पदले उचालिएर विवेक बेचेको मान्छे सडक सडक भौंतारिएको पनि भेटेकी छु। तर काम मात्र गर्ने मान्छे तुलनात्मक रूपमा स्थिरचित्तकै पाएकी छु। त्यसैले काम नै सबै भन्दा प्रिय हुन्छ। भनिन्छ आहारा त अजिङ्गरको पनि दैवले नै पुर्याउँछन्।
चिन्ताको चिता नित्य हृदयमा जलाएर हिँडेको मान्छेले कसरी बुझोस् सन्तुलनको सिद्धान्त। कसरी चाखोस् सन्तुष्टिको अमृतधारा।
सोध्छन् अझ पनि ‘तँ केही काम गर्दिनस्?’ यो प्रश्नले डसेकोवेला मस्तिष्कमा विमर्श चल्छ। गृहस्थी पेशा भएको भए के हुन्थ्यो परिवार? कस्तो हुन्थ्यो सम्बन्ध? कसरी हुर्किन्थे बच्चा? कसरी हिँड्थ्यो समाज? कस्तो बन्थ्यो भान्सा?
भान्सा पनि कार्यालय भैदिएको भए घर खोज्न कता जान्थे होलान् मान्छे? साँच्चै गृहिणी पनि कुनै उच्च पद भएको भए! सोच्छु- कुन जागिरले तिर्न सक्थ्यो होला गृहिणीको पारितोषिक। कुन पदको पैसाले पूर्ति गर्थ्यो होला आमाको समर्पण र त्याग। जीवन साथीको साथ, सहयोग र सहकार्य!
केही महिना अगाडि एक जना सज्जनले मलाई ठूलो पाठ सिकाउनुभयो। बडो आनन्द लाग्ने किसिमले आफ्नो कथा सुनाउनुभयो, ‘कुनै पनि कामले जबसम्म पैसा दिँदैन तबसम्म त्यो काम बेकार छ।’
पैसा बिनाको काम गर्ने म बबुरी चकित भएँ। उहाँले भन्दै जानुभयो, ‘समयको मूल्य चाहिन्छ। आज समय नै सम्पत्ति हो। मैले मेरी श्रीमतीलाई पढाएँ, लेखाएँ कमाउन पनि लगाएँ। पढाइको उपल्लो तहमा पुगेपछि आर्थिक रूपमा बलियो पनि बनाएँ। तिमी किन पैसा आउने काम गर्दिनौ? पैसाले हिम्मत दिन्छ। आँट भर्छ। आत्मविश्वास बढाउँछ।’
उहाँको कुरा शतप्रतिशत ठिक लाग्यो। समय सान्दर्भिक कुरा गर्नुभयो। सहरको भाषा बोल्नुभयो। मैले पनि हो मा हो मिलाएँ। स्वीकारेँ ‘जबसम्म आर्थिक रूपमा सबल हुन सकिँदैन, तबसम्म मान्छे परनिर्भर हुनुपर्छ। अनेक असुविधा भोग्नुपर्छ। असुरक्षाको अविश्रान्त आकाश ओढ्नु पर्छ। अभाव, आशङ्का राग नित्य अलाप्नु पर्छ। अर्थोपार्जन बिनाको पढाइले सुविधा दिँदैन भलै लाचार सुख त देला।’
उहाँका कुरा जम्मै मुनासिब लागे। तर आफूलाई नियालेर हेरेँ पैसा नभए पनि आत्मविश्वास त ममा भरमार रहेछ। नशा नशामा हेरेँ कतै छैन हीनभाव। कत्ति पनि कम्जोर छैन मन। प्रशन्न छ चित्त। ऊर्जावान छु। प्रशान्तिको पङ्ख फिँजाएर बाँचेकी छु। वायपङ्खी घोडा नित्य दगुर्छ मस्तिष्कमा।
पैसाले पक्कै सुविधा त दिन्छ तर मनस्थिति यस्तो निर्माण गर्छु कि मन नै शक्तिशाली बनाउँछु तब गुनासाहरू आफैँ किनारा लाग्छन्। सन्तुलन र सन्तोषको नदीले मलाई शान्तिको सुखद यात्रा गराउँछन्।
जाँदाजाँदै समयको मूल्य बुझेका अग्रजले भन्नुभयो, ‘अहो! लेख्नु पो हुँदोरहेछ मेरा पनि किताब आधा दर्जन छन्। फुर्सदमा मेरो किताब पढेर पनि केही लेखिदिनू होला। म पठाउँछु हजुरलाई मेरा पुस्तकहरू।’
दंग परेँ समयको मूल्य बुझेका मान्छेले समयको मूल्य पक्कै चुकाउलान्। एक हप्तापछि किताब आयो पठाओ चढेर। खाम पनि ठूलै छ किताबको। नियालेँ भित्रसम्म समयको मूल्य तर कतै थिएन अग्रजको सिद्धान्त। अनि हाँस्दै सम्झिएँ आफ्नै तर्क बौद्धिकता प्रशाधनकै सामग्री हुँदै गएको छ आज डिजिटल युगमा। बोली र व्यवहार समानान्तर रेखामा बग्न त अझ समय कुर्नुपर्ने रहेछ। विचार त अरूलाई सुनाउने विषय मात्र पो रहेछ।
पैसाबिनाको कामलाई आज पनि बेअर्थी नै ठान्दैछ चेतनशील कहलिएको समाज। जता जाँदा पनि नाम मात्रको परिचय काफी हुँदैन। नामपछि काम जोडिन्छ। स्वीकार्छु मानवीय आनीबानी। सोच्छु यो संसारमा हरेक अस्तित्वले केही न केही काम गरेका नै हुन्छन्।
लुगा सुकाउँदै गर्दा देख्छु कमिलाको ताँती। आकाश कालोनीलो भएर उठेको छ। चराहरू कराउँदै उडेका छन् सुरक्षाको पङ्ख उचालेर। चराहरू पनि काममा व्यस्त छन्। पानी पर्लापर्ला जस्तो छ। देख्छु कमिलाको आतुरता। कामप्रतिको तीव्रता। गतिशील पाइताला। आफूभन्दा ठूलो कीरालाई भोजन बनाएर हिँडेका आत्मविश्वासको हिमाल। कत्रो परिश्रम। कत्रो लगनशीलता। आफूप्रति कत्रो भरोसा। कमिलाको संसार अनुकरणीय लाग्छ। कमिलाको संघर्ष हेरेर दङ्ग पर्छु काम त ऊर्जा पो रहेछ। काम त मात्र काम रहेछ। काम त प्राकृतिक रहेछ। पेशा पो कृत्रिम रहेछ।
थरीथरीका फूल फुलेका छन् गमलामा। मौरी आफ्नै काममा व्यस्त छन्। सोच्दैनन् महको मूल्य। परिश्रमको पसिना मान्छेले लुटे पनि छोडेको छैन आफ्नो काम। कल्पकल्पदेखि आफ्नो काममा समर्पित छ। अनायसै मुस्कुराउँछन् मेरा ओठहरू। लाग्छ म पनि फूल, कमिला र मौरी नै त हुँ। फूल नहुँदो हो त बगैँचा कति उजाड हुँदो हो। मौरी नहुँदो हो त हामीले मधुको स्वाद कसरी प्राप्त गर्ने थियौँ? पारिश्रमिक बिना नै नित्य काम गर्छन् अनेक प्राणी। मौरीलाई तनाव छैन। विरोध पनि गर्दैन। आन्दोलन पनि गर्दैन। मौरीको ठाउँमा मान्छे भएको भए! महको अस्तित्व यो धराबाट उहिले लोप हुने थियो।
फूल मलाई नै हेरेर दिव्य ज्ञान छर्छ। फूल दुःखी छैन। फूल हाँसेको छ आफ्नो अस्तित्व आलोकमा। झसङ्ग हुन्छु फूल फुल्न फूलको बोटले गरेको यावत प्रकृयालाई हामीले काम होइन भन्यौँ भने! नि:स्वार्थ भावलाई बेबकुफी सम्झियौँ भने! प्रकृति कसरी बुझिन्छ होला? पेशाभन्दा आदिम छ प्रकृतिको काम। प्रकृति मात्र काम गर्छ बिना मोलतोल। बिना तनखा।
फेरि मन उड्छ विचारको पङ्ख हालेर ‘फूललाई फूल फुल्नका खातिर कुनै निश्चित जागिर तोकियो भने! फूल यसरी स्वतन्त्र भएर हाँस्न सक्ला? यति सुन्दर देखिएका फूलको स्वराज्यमा ज्ञानको मधुशाला भेट्नसकौँला? फूलको पनि पद र पैसा तोकियो भने? फूल यति प्रशान्त भएर हाँस्नसक्ला? भीर, पाखा र पीरको मैदान छोडेर सम्पन्नताको बगैँचामा मात्र फूल फुल्यो भने! फूलमा अभिमान चढ्यो भने? मन विचलित हुनखोज्छ, पुनः यथार्थको श्वास तान्छु तर फूल र मान्छे फरक छ।
व्याकुल हुन्छु पैसाले उचालेको चरित्र सम्झेर। मान्छेको जीवन आखिर क्षणभङ्गुर छ। छैन केही सुनिश्चित। फूल र मान्छे उस्तै लाग्छ आयुको हिसाबले। फरक कदापि छैन। फूल पनि ओइलाउँछ, मान्छे पनि तर फूलले आफ्नो धरातल भुल्दैन। मान्छे त विवेकवान छ त्यसैले बेलाबेला भुल्छ आफ्नै धर्ती र उड्छ गगनमा अमर हुने जिगीषाले। जब कामलाई पैसाले मात्र उचाल्छ तब काममा कहाँ भेटिन्छ कमिला र मौरीको उत्साह।
नजिकै छ हलुवेदको रूख। हावा बोकेर नृत्यमय। रूखसँग परिचय खोज्दैनौँ। सोध्दैनौँ ‘ए रूख तिमी के काम गर्छौ’ भनेर। थाहा छ रूख आफ्नो कर्ममा नित्यनिरन्तर डटिरहेछ। सूर्यलाई पनि उसको काम सोध्दैनौँ। सूर्य पनि आफ्नो काम गरिरहेको हुन्छ। कहिले उज्यालो नदेखेको गड्यौँला पनि काम नगरी बस्दैन।
हावा, पात, डाँठ, कीरा, पुतली, भ्यागुतो, मच्छड पनि काम गर्छन्। मैले सुनेको छैन बिहान बिहानै मेरो करेसामा सङ्गीत भर्न आउने चरीहरूको संवादमा ‘तँ के काम गर्छेस्? भनेर। एकअर्कालाई होच्याएर प्रश्न गर्दैनन् चरा। पैसाबिनाको काम सुनेर ओठ खुम्च्याएको देख्दिनँ। चरीहरू पनि कामकै संवाद गर्छन् एकअर्कामा। घरीघरी त लाग्छ ठूलै बहस गर्छन् यिनीहरू। हरिया डालीमा बसेर जीवन्त संगीत भर्दैछन्। तिनीहरूको सामूहिकता देखेर लाग्छ यी कुनै सर्वकल्याणकारी विनिर्माणको योजना बनाउँदैछन्। उच्च स्तरीय काममा होमिन तयार पर्दैछन्। कौसीको भिरालो भित्तामा एक खुट्टामा उभिएर परेवा पनि विश्वशान्तिको महाचिन्तनमा निमग्न छ। कामकै कलाले ध्यानस्थ छ।
काम नगरिकन त एउटा लाश पनि पल्टिँदैन। लास पनि पाञ्चभौतिक शरीरको अन्त्येष्टिमा समर्पित हुन्छ। निष्काम कर्ममा समर्पित छ प्रकृति। काँडा बनेर घोच्दैन- तेरो के काम छ र! भनेर अहंकार ओकल्दैन।
मलाई सोध्छ अग्लिएको रूख ‘तँ के चाहिँ गर्दिनस्’ भनेर। स्थिर मनमा हेर्छु आफ्नो प्रतिबिम्ब। हुन त कतै घाउ पनि छ कि मभित्र जस्तो पनि लाग्छ। त्यसैले त बल्झिरहन्छ बेलाबेला।
विचारको चौतारीमा बसेर सोच्छु ‘कुनै समय त यस्तो पनि त थियो जहाँ मान्छेको कुनै पेशा थिएन। सहर थिएन। कार्यालय पनि थिएन। पद, प्रतिष्ठा केही थिएन। अझ भनौँ पैसा पनि थिएन। त्यो बेलाका मान्छेले अर्को मान्छेलाई भेट्दा पहिलो प्रश्न के गर्थे होलान्!
पेशा पो छैन मेरो। पेशा नहुने मान्छे कति छन् कति। काम त छ नि! तर पनि प्रश्नको उत्तर दिनलाई समय समयमा हिच्किचाउँछु। साथीहरू सगर्व भन्छ मेरो पेशा यो छ। म भन्छु मेरो पेशा छैन म गृहिणी हुँ र साथसाथै एक लेखक हुँ तर प्रश्नहरू त अझ पनि बाँकी नै रहन्छन्।
थाहा छ मलाई म केके काम गर्छु। तर प्रश्नहरूले मेरो जीवनको दैलो ढक्ढक्याउन छोडेका छैनन्। प्रश्नकर्ताहरू अहिले पनि उस्तै छन्। बढेका बढ्यै छन् र अचेल मलाई यस्तो लाग्दैछ तिनले सोध्ने प्रश्न नै गलत छ। त्यसैले भेटिँदैन यो प्रश्नको सही उत्तर। पुनः पुनः दोहोरिन्छ उही प्रवृत्ति।
सचेत, पठित र सभ्य समाजले पनि गलत तरिकाले नै प्रश्न उठाउँछन्। हो तँ कता जागिर खान्छेस् भनेर सोधे त हुन्थ्यो नि! म पनि भन्ने थिएँ अहँ! म जागिर खान्नँ तर तँ के काम गर्छेस् भनेर किन सोधिन्छन् एउटा स्वस्थ मान्छेलाई।
भनिन्छ काम नपाएर डुल्छ कुकुर। मलाई विश्वास लाग्दैन कामकै लागि डुल्छ कुकुर पनि। चार वर्ष अघि मूल्यहीन काम ठान्दै आएको गृहिणीहरूको मन फाटेको कथा लिएर आएकी थिएँ। श्रमको मूल्यबोध नहुने क्षेत्र पनि हुँदारहेछन् लागेर। लाग्थ्यो साहित्य त्यस्तो ठाउँ हो जहाँ सत्य मात्र उजागर हुन्छ। श्रमिक दिवस भव्यरूपमा मनाउँदै छन् संसार। अझ स्रष्टाहरू कविता वाचन गर्दैछन् श्रमिकको मर्म लिएर। श्रम त कमिलाले पनि गर्छ। बिम्ब बन्छन् कवितामा कमिला। मौरीको प्रतीकले सभाको ऊर्जा भर्छ। कर्मको मर्ममा ताली गुञ्जिन्छ। तर गृहिणीलाई आज पनि सोधिन्छ तपाईं काम चाहिँ के गर्नुहुन्छ?
आज पनि घरको काम, लेखन, पठन मेरो कामभित्र पर्दैन। मेरो काम पेशा हैन। जागिर हैन। मासिक तलब छैन। त्यसैले जागिर खानेहरूका केही ओठमा थोरै उपहास पाएकी छु।
जेनजी पुस्ताकी छोरी भन्छे, ‘मामू कसैलाई पनि गफको सिलसिला अगाडि बढाउन तेरो के काम छ? कति हुन्छ तलब? बिहे भएको छ कि छैन? सन्तान छ कि छैन? कति मोटाएको? कति दुब्लाएको? भनेर नितान्त व्यक्तिगत कुरा कसैलाई पनि सोध्नु हुँदैन। अनि सोधेर पनि फेरि स्वमूल्याङ्कन कदापि गर्नुहुँदैन।’
मलाई छोरीका कुरा मुनासिब लाग्छन्। हामीले साँच्चै नयाँ पुस्ताबाट धेरै कुरा सिक्नुछ।