नयाँ सहर, नयाँ रहर, नयाँ परिवेश र केही बेग्लै प्रकारका उमङ्ग, उत्साह लिएर विदेश पसेको थिएँ। दिमागमा जसरी हुन्छ विदेश जाने आफ्नो मेहनतले पैसा कमाउने रहर आयो। पैसा सानै उमेरबाट आफैँ स्वदेशमा पनि नकमाएको कहाँ हो र? तर फेसबुकका भित्ताहरूमा आफूसँगका साथीहरूले कमाएका, रमाएका विदेशी जीवन, ओहो! समुद्रका किनारमा खिचिएका फोटोहरू हेर्दा लाग्यो मेरो यस्ता दिन कहिले आउला? कति खुसी देखिन्थे उनीहरू हँसिला अनुहार, प्रत्येक पटक पोस्ट गर्दा लगाएका नयाँ नयाँ लुगा, नयाँ-नयाँ ठाउँ; सबै कुरा 'वाउ' लाग्थ्यो।
बिदेसिने रहर यसरी पलायो कि आफ्नो भएको जागिर छोडी कसरी हुन्छ विदेश जाने र पैसा कमाउने विचारहरू मात्र मनमा आउन थाल्यो। एकदिन अफिसबाट बहाना बनाएर म पुतलीसडक पुगेँ। पुतलीसडकतिर कोरिया, अमेरिका, अस्ट्रेलिया जाने सपनाका लहरहरू थिए, तर मेरो घरको आर्थिक अवस्थाले ती देशहरूको ढोका मेरो लागि बन्द गरिदिएको थियो। मेरो लागि कोरिया र जापान एउटा विकल्पको रूपमा थिए। जसमा मैले सुनेअनुसार जापानका मानिसहरूको आफ्नै अनुशासन, उनीहरूको कडा मेहनत, त्यहाँको मौसम र सबैभन्दा राम्रो कुरा उनीहरूको स्वस्थ जीवनशैली थियो।
मलाई लाग्यो, छोटो समयमा जसरी हुन्छ मलाई जापान जानु थियो। मैले अन्तर्वार्ता दिएँ। तर मनको एउटा कुनामा द्वन्द्व भने चलिरहेकै थियो। एक मनले भन्दै थियो- यति राम्रो वातावरण, यति राम्रो संगत, आफ्नै देशमा बस, दुःख यही गर, आफन्त यही छन्। चाडपर्व आउँछन्, आमा-बाबा साथमा हुनुहुन्छ। त्यो कोसो टाढा अर्काको देश, न भाषा न संस्कृति न आफन्त। तर अर्को मनले फेरि भन्दै थियो- सधैँ परिवार, आफन्त र चाडपर्व भनेर मात्र नबस, उमेर छँदै पैसा कमाऊ। आफैँले कमाएको पैसामा कति गर्व गर्न पाइन्छ! विदेशको अनुभव र नयाँ रहनसहनमा घुलमिल हुन पनि त सक्नुपर्छ।
अन्ततः मनकै जीत भयो र मेरो सिओई आयो। भनिन्छ नि, जब मानिसले मनदेखि केही कुरा चाहन्छ र सोही अनुसार आफ्नो कर्म गर्छ भने प्रकृतिको नियमले पनि त्यो ढिलो चाँडो पूरा गरिदिन्छ। मेरो मनले चाहेको कुरा पनि पूरा हुँदै थियो, म निकै खुसी थिएँ। तर मलाई के थाहा त्यहाँ पुगेपछि कति ठुला-ठुला चुनौतीहरूको सामना गर्नु पर्छ भनेर? मानसिक र भावनात्मक रूपमा कति पटक टुट्नु पर्छ भनेर? थाहै नपाई रेलका सिटहरूमा, बसहरूमा बसिरहँदा वा सडकमा हिँडिरहँदा आँखाबाट कति आँसु बगाउनु पर्छ भन्ने कुराको मलाई पत्तो थिएन। अहिले आएर हरेक कुराहरू जुन मेरो सोचभन्दा बाहिरका थिए, ती भोग्नु परिरहेको छ। यो पनि जिन्दगीले सिकाएको एउटा नयाँ अनुभव हो। यो कठिन समयलाई पनि धेरै-धेरै धन्यवाद।
आफ्नो देशमा महान् चाड तिहार, अझ भनौँ लक्ष्मी पूजाका दिन कति रमाइलो हुन्छ, ठिक त्यही दिन म भने बिदेसिएकी थिएँ। नयाँ उमङ्ग र उत्साहका साथ आफ्ना पूज्य बाबा-आमाका अनुहारमा अलिकति भए पनि खुसी दिन सक्छु कि भन्ने हिम्मत र साहस बोकेर म जहाज चढेकी थिएँ।
बिस्तारै मेरा दिनहरू सुरु हुँदै थिए। अलिकति आशा, केही गर्छु भन्ने हिम्मत र आफ्ना सपनाका लागि केही नयाँ कार्यहरू गर्न थालेँ। दिनहरू बित्दै गए, काम पनि सुरु भयो। नयाँ साथीभाइ, नयाँ सहर, नयाँ काम- कति ठाउँहरू फेरिँदै थिए र म आफैँलाई सम्हाल्दै पनि थिएँ। भिन्न-भिन्न ठाउँबाट आएका साथीहरू, उनीहरूका आफ्नै सोच, विचार र आफ्नै संस्कारमा हुर्किएका उनीहरूसँग घुलमिल हुन मेरा लागि एउटा ठुलो चुनौती थियो। तैपनि नयाँ सहरमा भेटिएका केही असल साथीहरूले मेरो हरेक दुःख-सुखमा अहिलेसम्म साथ दिई नै रहेका छन्। उनीहरूको यो गुन मैले कसरी तिर्न सक्छु होला?
सधैँको भिडमा म कतै छुटेकी थिएँ। सधैँ जसो एउटै दौड, एउटै काम। बिहानै गयो काममा, साँझ आयो, खाना खायो र सुत्यो। बिदाको दिनमा पनि कोठा सफा गर्दागर्दै समय सकिने। के आफ्नो लागि समय यसरी नै सकिने रहेछ? विदेशको यो भिडभाडमा मानिस हराउँदो रहेछ, मानिसले आफूलाई नितान्त एक्लो अनुभव गर्दो रहेछ। वरिपरि भिडभाड छ तर आफ्नोपन कतै हराएको जस्तो लाग्ने। धेरै मानिसहरू आफ्ना र आफ्नो परिवार बाहेक अरूको बारेमा धेरै नसोच्ने भेटिए। आफ्नो सानो सहयोगले अर्काको थोरै भए पनि राम्रो हुन्छ भन्ने कुरामा पनि मानिस पटक-पटक सोच्ने ठाउँ रहेछ परदेश। मनमा कति प्रकारका प्रश्नको बाढी आउँथ्यो कहिलेकाहीँ। आफैँलाई प्रश्न सोध्न मन लाग्थ्यो- के म यहाँ आएर ठिक गरेँ? के मेरो निर्णय सही छ?
जब मैले जापान टेकेँ, पहिलो दिनमै यति एक्लो अनुभव गरेँ कि म निकै डराएँ। आफ्ना आफन्त, बाबा-आमा र साथीभाइबाट धेरै टाढा पुगेको महसुस भयो। अब कहिले भेटिने होला मेरा बाबा-आमासँग? अनि वर्षोंदेखि सँगै सम्हालेर राखेका मेरा साथीहरूसँग? म तुरुन्तै नेपाल जाने अवस्थामा पनि थिइनँ किनकि म केही जिम्मेवारी बोकेर आएकी थिएँ।
मैले नेपाल हुँदाका मेरा दिनचर्या सम्झेँ- बिहान सबेरै उठ्ने, योगा, प्राणायाम र ध्यानबाट अलिकति समय आफ्ना लागि निकाल्ने, दिउँसोको समय कार्यालयका लागि र साँझको समय परिवारका लागि। कति व्यवस्थित थिए ती दिनहरू! बिदाको समय म ‘आर्ट अफ लिभिङ’ सेन्टर शंखमुलमा बिताउँथेँ र विभिन्न कोर्सहरूमा सहभागी हुन्थेँ। त्यहाँ भेटिएका प्रशिक्षक र भोलेन्टियर साथीहरू जो हरसमय निस्वार्थ सेवामा खटिएका हुन्थे, उनीहरूको अनुहारमा कति धेरै सम्भावनाहरू र हाँसो देखिन्थ्यो। उनीहरू आफ्नो संगतमा आएका मानिसहरूलाई खुसी बनाउँथे। ‘धर्म, कर्म र सेवा त बुढेसकालमा गर्ने हो’ भन्ने समाजमा हुर्केकी मलाई त्यहाँका युवाहरू सत्संग र सेवामा खटिएको देख्दा अचम्म लाग्थ्यो। म पनि बिस्तारै त्यही संगतमा भिज्दै थिएँ। तर यहाँ त सबै कुरा विपरीत थियो। अब त नयाँ वातावरणमा घुलमिल हुनुपर्ने थियो र सबै कुरा नयाँ तरिकाले सुरुवात गर्नु पर्ने थियो।
आफैँलाई प्रश्न सोध्दै र आफैँलाई सम्झाउँदै समय बितिरहेको छ। कुनै समय मलाई लाग्थ्यो, ‘धेरै पैसा कमाउन पाए संसारको सबै खुसी किन्न सक्छु होला।’ तर आज थाहा पाउँदै छु- पैसाले त केवल वस्तुहरू मात्र किन्न सकिने रहेछ। मनको शान्तिका लागि त आफैँले आफैँलाई समय दिएर आफैँभित्र खोज्नु पर्ने रहेछ, जसका लागि पैसा मात्र पर्याप्त नहुने रहेछ। यो सहरमा मानिस पैसा कमाउने दौडमा आफ्नै मनसँग टाढिँदै जाने रहेछन्। यहाँको हाँसो पनि कहिलेकाहीँ नक्कली लाग्छ। मानिस कतिसम्मको तनावमा बसेर पैसा कमाउन बाध्य हुँदा रहेछन् भन्ने कुरा यहाँ आएर मात्र थाहा पाएँ।
बिहानै उठ्यो, हतार-हतार काममा गयो। काममा हुँदा उस्तै तनाव, भाषाको समस्या, नयाँ र परिवर्तित नियमहरू अनि अनगिन्ती जिम्मेवारीहरू। एउटा मानिसले कहिलेसम्म यस्ता समस्यासँग जुध्ने? उसको मानसिक अवस्थाले कहिलेसम्म साथ दिन्छ उसलाई? यसरी महिनाभरि दुःख गरेर कमाएको पैसा पनि आएको ४-५ दिनमै घर खर्च, कोठा भाडा र ऋण तिर्दा सकिने रहेछ। ऋण गरेर आएको मानिसको २-४ वर्ष त्यो ऋण तिर्दैमा बित्छ। यता दुःख गर्यो, उता ऋण तिर्यो- अन्त्यमा हिसाब बराबर।
यति भनिरहँदा परदेशले केवल दुःख मात्र दिँदैन, यसले मानिसलाई जिम्मेवार, आत्मनिर्भर र बलियो पनि बनाउँदो रहेछ। जिन्दगीको कठिनाइसँग कसरी लड्ने भन्ने कुरा पनि यहीँ सिकिँदो रहेछ। यी सबै भोगाइहरू जिन्दगीले सिकाएका अमूल्य पाठहरू हुन्। त्यसैले त, म यो समयलाई र आफ्ना यी अनुभवहरूलाई हृदयदेखि नै धन्यवाद दिन्छु।