आज एउटा कल्पना गर्नुहोस् है त-
बिहान उठेर तपाईंले मोबाइल खोल्नुभयो। एउटा भिडियो तपाईंको अगाडि आयो। भिडियोमा कुनै चर्चित व्यक्तिले गम्भीर कुरा बोलिरहेको छ। अनुहार उसकै छ। आवाज उसकै छ। हाउभाउ पनि उसकै छ। तपाईंले भिडियो दुईपटक हेर्नुभयो। केही अस्वाभाविक पनि देख्नुभएन। तपाईंले साथीलाई पठाउनुभयो। साथीले अर्को समूहमा पठायो। केही घण्टामै हजारौँ मानिसले भिडियो हेरिसकेका हुनेछन्। कसैले समर्थन गरिसकेको छ, कसैले विरोध।
साँझ मात्र थाहा हुन्छ कि त्यो व्यक्तिले त त्यो कुरा कहिल्यै बोलेकै थिएन रे!
तर त्यतिबेलासम्म एउटा झूटले सत्यभन्दा धेरै टाढाको यात्रा गरिसकेको हुनेछ। हिजोसम्म हामीले भन्ने गरेको ‘आफ्नै आँखाले देखेको कुरा पत्याऊ’, अब सायद त्यो पर्याप्त हुने छैन। किनकि प्रविधिले यस्तो समयमा ल्याइ अड्याएको छ, जहाँ सत्य प्रमाणित गर्न पनि प्रमाण खोज्नु पर्छ!
एआईले आवाज, फोटो, भिडियो र दृश्यलाई वास्तविकजस्तो मात्रै होइन, दिएको निर्देशनअनुरुपकै वास्तविक हो भनी बनाइ देखाउने क्षमता बढिरहेको छ।
देखेको कुरा प्रमाण हुँदैन?
विश्वले गर्दैगरेको चमत्कार हामीले नगरेपनि विश्वव्यापीकरणका कारण आयात गरि उपभोग गर्दा राजनैतिक चेतना, ज्ञान र दूरदर्शिताको कमीले गर्दा विकासका चमत्कारले ल्याउने दुर्घटना नेपाल जस्तो देशलाई निकै गम्भीर हुन्छ।
विकसित देशमा भइरहेको अनुसन्धान र प्राप्त विकासका पाइलामा उनीहरू आवश्यक कानुन निर्माण गर्दै जान्छन्, जस्तै कि युरोपेली देशले एआई प्रयोग भएको भए अनिवार्य उल्लेख गर्न पर्ने हालैको घटना र अमेरिकी सांसदहरूले प्रत्यक्ष रूपमा सामाजिक सञ्जालका मालिकहरूसँग समय समयमा गरेको बहस र प्रश्न उदाहरणका रूपमा लिन सकिन्छ।
समाजको कुरा
‘आफ्नै आँखाले देखेको कुरा पत्याऊ’
त्यसैले फोटो हेरेर घटना भएको भन्यौँ।
भिडियो देखियो भने घटना भएको ठान्यौँ।
कसैको आवाज सुनियो भने उसैले बोलेको होला भन्ने मान्यौँ।
तर जेनेरेटिभ एआईले यी सबै विश्वासलाई चुनौती दिएको छ। अब कसैको अनुहार अर्को भिडियोमा राख्न, आवाज नक्कल गर्न, नभएको दृश्य बनाउन सकिन्छ। पुरानो भिडियो निकालेर नयाँ घटनासँग जोड्न सकिन्छ।
अझ डरलाग्दो कुरा, यी सामग्री पहिलो नजरमै नक्कली जस्तो नदेखिन सक्छन्। यही कारणले अब प्रश्न केवल भिडियोमा के देखिन्छ भन्ने मात्रै रहेन। हामीले यो भिडियो कहाँबाट आयो, सत्य हो वा होइन भन्नेसम्म पुग्नु पर्छ।
साथै हामीले आज आफ्नो विचार पनि कुनै भिडियोको आधारमा टेकेर बनाउँछौँ। आलोचनात्मक सोचाइको कमी, जाँचपर्ताल नगर्नु, समयको अभाव र पुरै हेर्ने वा पढ्ने, धैर्यसँग निष्कर्षमा पुग्न नसक्ने कार्यले हामी आफै वास्तविक सत्यभन्दा वास्तविक झुटो फैलिनुका प्रमुख कारण बनिरहेका छौँ।
नेपालमा यसको सुरुवात भइसकेको र यसका फल संकेतका रूपमा देखिन थालेका छन्।
(२०२६ मार्च ५ मा भएको प्रतिनिधिसभा निर्वाचनको समयमा फैलिएको गलत जानकारी सम्बन्धी सेन्टर फर मिडिया रिसर्च नेपालको अनुसन्धानले सामाजिक सञ्जालको भूमिका उल्लेख्य रूपमा देखाएको छ।
रेडियो नेपालले ३० जुन २०२६ मा प्रकाशित गरेको रिपोर्टअनुसार, सिएमआर नेपालको अनुसन्धानमा निर्वाचन अवधिमा पहिचान गरिएका गलत जानकारी फैलिएका मध्ये मोटामोटी ८७ प्रतिशत सामाजिक सञ्जालमार्फत पाइएको छ।
सिएमआर नेपालको (२६ जुन २०२६) आयोजित कार्यक्रममा सरोकारवालाहरूको छलफलमा उक्त अनुसन्धानका निष्कर्षहरू प्रस्तुत गरेको थियो।)
तर यहाँ सबैभन्दा महत्वपूर्ण कुरा ८७ प्रतिशत मात्र होइन। समस्या यो पनि हो कि मिथ्या सूचनाको स्वरूप बदलिँदो छ!
खतरा झूटो भिडियो कि झूटो तर वास्तविकतामा बनेको भिडियो?
एउटा झुटो समाचारमा हामीलाई त्यति धेरै मिहिनेत गर्नुपर्दैन। तर हामीलाई खतरा कृत्रिम यथार्थबाट हुन्छ।
हामीले हेर्दा कसैले नबोलेको कुरा बोलेको देखिनु, कसैले नगरेको काम गरेको भनी देखिनु, कतै पनि नघटेको घटना भएको भनी सामग्री भेटिनु र विभिन्न स्वार्थका कारण वास्तविक घटनालाई अझ ठूलो वा भयावह र मेनुप्लेट गरि देखाइसकेपछि मानिसले एउटा झूटो समाचार वा झूटो वास्तविकता मात्रै पत्याइरहेको हुँदैन। यस्ता घटना बारम्बार देखिसकेपछि उसले सोहीअनुसार मानसिक धारणा समेत तयार पारिरहेको हुन्छ, जसको कारणले भोलि उसले देखेको घटना असत्य प्रमाणित हुँदा समेत ऊ वास्तविक झुटलाई नै सत्य ठानिरहनेछ र सत्यको विरुद्धमा बहस गर्नेछ।
मानिसको दिमागमा एकपटक वास्तविकता बनिसकेपछि त्यसलाई सच्याउन निकै गाह्रो हुन्छ।
झूट दौडिसक्दा सत्य अझै जुत्ता लगाउँदै?
तपाईं हामी जोकोहीलाई एउटा गलत भिडियो सामाजिक सञ्जालमा अपलोड गर्न केही मिनेट र हजारौँ मानिससम्म पुग्न त्यसभन्दा पनि कम समय लाग्न सक्छ। राम श्याम हुँदै लाखौँ समक्ष तुरुन्तै पुग्छ। अनि सत्य जाँच्न नि कहिल्यै सोच्नु भएको छ?
यो व्यस्त जिन्दगीमा श्रोत खोज्न लामो प्रक्रियामा जानुपर्छ। जस्तै भिडियो पुरानो हो कि नयाँ, वास्तविक भिडियो कहाँ खिचिएको हो? अझै भएन भने सम्बन्धित भिडियो लिने व्यक्तिलाई र भिडियोमा मानिस छन् भने ती मानिसलाई पनि सोध्नु पर्यो, भिडियो खिचिएको ठाउँ यकिन गर्नुपर्यो। आवश्यक परे प्राविधिक परीक्षणमा समेत लाग्नुपर्यो।
त्यसैले आजको सूचना-संसारमा एउटा असमान दौड चलिरहेको छ- हामीमाझ झूट दौडिसक्दा सत्य अझै जुत्ता लगाउँदै हुन्छ कि? साथै सत्य लुक्दैन भन्ने भनाइ अब वास्तविक सत्यबाट वास्तविक असत्य छुट्याउनु पर्छ भन्नेतिर पुगेको छ!
२०८३ : नेपालको राजनीतिमा अस्वाभाविक निर्वाचन र त्यसले देखाएको एउटा ठूलो संकेत!
हाम्रो देशमा २०८३ को निर्वाचनअघि नै डिपपफेक, एआई-निर्मित सामग्री र भ्रमित सामग्रीबारे कुरा र चिन्ता उठेको थियो।
उक्त निर्वाचनको मौन अवधिमा उम्मेदवारहरूलाई लक्षित गर्दै आएका एआई-निर्मित वा प्रयोग भएको र सामाजिक सञ्जालमा त ती पोस्ट तपाईं हामीले पनि देखेकै थियौँ र भ्रामक सामग्री फैलिएको भनेर थुप्रै रिपोर्टहरू सार्वजनिक पनि नभएका होइनन्। कान्तिपुरले समेत २० फागुन २०८२ मा प्रकाशित गरेको एक रिपोर्टअनुसार साइबर ब्युरोको पहलमा ४४९ भ्रमित गर्ने तथा असान्दर्भिक सामग्री हटाइएको उल्लेख गरेको थियो।
यसले हामीलाई के स्पष्ट गराउँदछ भने- यो समस्या भविष्यमा आउन लागेको होइन, बरु हाम्रो डिजिटल जीवनमा प्रवेश गरिसकेको छ।
अब झूट बनाउन सत्यको सहारा पनि लिन सकिन्छ?
हामीले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा एआई-निर्मित मिथ्या सामग्रीको अर्को खतरनाक पक्ष भनेको सबै कुरा पूर्णरूपमा काल्पनिक हुनुपर्दैन।
हामीले देख्दै गरेको घटना वास्तविक भएपनि त्यसमा प्रयोग गरिएको फोटो नक्कली र अर्को कुरा भिडियोमा घटना वास्तविक तर भिडियोमा थपिएको दृश्य कृत्रिम पनि हुन सक्छ। जसकारण देखिएको दृश्यले वास्तविक सत्य नै देखाएको हो/होइन हामीलाई नै भ्रमित पारी आलोचनात्मक सोच राख्नेहरूलाई प्रश्न उब्जाउँछ।
कसैले वास्तवमै बोलेको आवाजलाई प्रयोग गरेर बोलेको कुरा परिवर्तन गरि अर्थको अनर्थ दिने बनाउन सकिन्छ। यसरी झूट र सत्यबीचको सीमा झन् धमिलो हुन्छ। साँचो घटनाभित्र झूट मिसाइन्छ।
त्यसपछि मानिसलाई कुन भाग वास्तविक, कुन भाग कृत्रिम छुट्याउन अझै कठिन र डिजिटल साक्षरता छैन भने सबै सत्य ठहरिन्छ, जसको सिधा असर व्यक्ति, घर, परिवार, समाज र देशलाई नै हुन पुग्छ। यो निकै डरलाग्दो अवस्था हुनेछ। यस्ता कुराहरू महामारीको रूपमा फैलिनु भनेको नेपाल जस्तो विविधताले भरिपूर्ण देशमा धार्मिक सहिष्णुतामा खललदेखि जातीय सद्भावमा टकरावको चुनौती निम्त्याउँछ।
सुनेको कति पत्याउने?
हाम्रो भनाइ ‘देख्नेका आँखा फुटे सुन्नेका सही’- यो भनाइअनुसार देखेको कुरा सही नहुन पनि सक्छ, विज्ञानको भाषाबाट मरुभूमिमा पानीको पोखरी देखिनु जस्तै तर आवाज सुनेरै भन्थ्यौँ—
‘यो त फलानाको आवाज हो।’
आज एआई हाम्रो आवाज नक्कल गर्न सक्षम छ। भोलि तपाइँलाई कसैले फोन गरेर तपाईंले चिनेको व्यक्तिको आवाजमा कुरा गर्यो तर तपाईंले आवाज सुनेर वा भिडियो हेरेर पनि विश्वास गर्ने वातावरण नहुन सक्छ!
त्यसो भए गर्ने के त?
मात्रै विकल्प भनेको श्रोततर्फ लाग्नुपर्छ।
हाम्रा लागि कठिन प्रश्न
अहिलेसम्म भन्दै आएको ‘त्यसोभए प्रमाण देखाऊ न त।’
एआईको प्रयोगले प्रश्न अझ कठिन बनाउँदै छ। हामीले त्यो प्रमाण नै नक्कली होइन भन्ने प्रमाण के हो भनी प्रश्न गर्नुपर्नेछ?
यदि एआईको प्रयोगले हामी छिनभरमै फोटो, भिडियो, आवाज, घटना सबै बनाउन सकिन्छ भने सत्य प्रमाणित गर्ने आधार के? एउटा गम्भीर प्रश्न साथै सरकारसमक्ष मडारिएको ठूलो चुनौती। यदि सरकारले ध्यान पुर्याउन सकेन र दीर्घकालीन कदम चालेन भने न्यायिक प्रणालीमा गम्भीर त्रुटी निम्त्याउन सक्ने सम्भावना बढेर जान्छ कि?
अब भविष्यमा ‘मैले आफ्नै आँखाले देखेँको हुँ’ भन्नु पर्याप्त हुने छैन!
हामीले भन्नुपर्नेछ— ‘मैले श्रोत र श्रोतको विश्वसनीयता जाँचेँ वा श्रोत म नै हुँ, अनि मात्र विश्वास गरेँ।’
डिजिटल साक्षरतामा ढिलाइ?
आज एआई, सामाजिक सञ्जाललाई रोक्न खोज्नु समाधान नभई मूर्खता हो। न त प्रविधिको विकासलाई उल्ट्याउन सक्छौँ। गत भदौमा भएको आन्दोलनबाट पनि सम्बन्धित निकाय र नेताले पाठ सिक्दै गम्भीरतापूर्वक सामूहिक निकास निकाल्न अपरिहार्य देखिन्छ।
साथै मानिसलाई सत्य र कृत्रिम सामग्रीबीच फरक छुट्याउने क्षमता विकासको निम्ति हाम्रो जस्तो डिजिटल साक्षरता कम भएको देशमा अति आवश्यक छ। त्यसैले विद्यालयस्तरदेखि नै डिजिटल साक्षरतालाई प्राथमिकतामा राख्दै वास्तविकतासमक्ष कसरी पुग्ने सिकाउन जरुरी छ।
राज्यको चौथो अंग सञ्चारमाध्यमले पनि श्रोतको विश्वसनीयता र प्रमाणप्रति थप जिम्मेवार र गम्भीरतापूर्वक सम्प्रेषण गर्नुपर्दछ।
सरकारी निकायले भ्रामक सामग्रीविरुद्ध छिटो प्रतिक्रिया दिने संयन्त्र बनाउने र नियतवश गरिएका त्यस्ता कार्यप्रति कारबाही गर्नुपर्छ।
सामाजिक सञ्जालहरूले पनि आफ्नो जिम्मेवारी लिनुपर्छ र भएका त्रुटि तुरुन्तै सच्याउनुपर्छ। हामी नागरिकले पनि एउटा साधारण नियम अपनाउनुपर्छ— श्रोत हेर, विश्वास गर अनि मात्र सेयर गर।
साथै हाल मौलाएको डिजिटल स्क्याम, बैंकिङ अपराध पनि न्यूनीकरण हुनेछ।
जिम्मेवार को?
विज्ञान र प्रविधिको विकास प्रयोग गरेर इडिट गर्न र बनाउन सजिलो बनाइदियो भन्दैमा झुट्टा, भ्रमित सामग्री फैलाउने व्यक्ति हो, एआई होइन। एआई उपकरण हो, सहयोगी हो, सही तरिकाले प्रयोग गर्नुपर्छ भन्ने निर्णय हामी मानिसले नै गर्नुपर्छ।
एउटै प्रविधिले कसैलाई झूट बनाउन मद्दत गर्छ भने त्यही प्रविधिले तथ्य जाँच्न पनि त मद्दत गर्न सक्छ।
भविष्यको लडाइँ त हामीले नै सिर्जना गरेको वास्तविक सत्यप्रति असत्य र कृत्रिम सत्यको हो। चाहे गलत नियतले होस् वा मनोरञ्जनको नियतले नै किन नहोस्। यो लडाइँमा पहिलो सिकार र हतियार दुवै प्रविधि हुनुहुँदैन, प्रविधिबाट सिर्जना भएका सामग्रीप्रति शंका हुनुपर्छ र चेकजाँच हुनुपर्छ।
हामीलाई निकट भविष्यमा सूचना नभएर भन्दा सूचना धेरै हुँदा पनि सत्य सूचना कुन हो भनेर थाहा नहुँदा ठूलो संकट हुनेछ। संसारमा सत्य सूचना नै दुर्लभ हुने पो हो कि त?