नयाँ मान्छे आए घरमा रमझम बढ्यो। घरको चाल, ढाल, चलन सबै फेरियो त्यो त ठिकै छ। ठाउँ-घर सर्ने महिला हो, पुरूष त सर्न पर्दैन, त्यो छ नि महिला नयाँ ठाउँमा आउँदा उनलाई केही सुविधा त हुनुपर्छ।
त्यसो त नयाँ मान्छे नआउँदा पनि घर उस्तै थियो। अहिले केही फरक भयो। भान्सा ठूलो भयो, खाट-बिस्तारा बढे, जन बढे, श्रम बढ्यो, कमाइ बढ्यो, मत बढ्यो। शक्ति पनि बढ्यो, यो सबल पक्ष रह्यो नै। फरक मान्छेबीचमा मन मिल्दैन, मिले पनि धेरै दिन मिल्दैन, मिले पनि सधैँ मिल्दैन।
बाटोतिर युवा-वयस्क भेट्यो, हातमा बडेमानको ट्याटु छ। सबैजसो आमाको नाममा समर्पित लाग्छ, आमालाई सबैले स्थान दिन्छन्।
हुन त खास्टो ओढाएर आमाले दूध पिलाएपछि छोरो बुहारी लिन जान्छ, बुहारी ल्याउँछ, 'आजदेखि दूध टुट्यो' भन्छ। हाम्रो संस्कार राम्रो छ तर त्यही महिला आएपछि छोरो टाढा हुन्छ, बुहारी टेढिन्छे, मतो बिग्रन्छ, बाक्लो दालमा मन जान्छ, यस्तै रहेछ यहाँको चलन।
सबैको विचार आउँछ। नयाँ मान्छे आएपछि बिगार्यो। खोई बिगार्न चाहिँ कसले बिगार्यो, तर कसले थाहा छैन, सायद समयले हो कि! सबैले जमाना भन्दछन्, त्यो जमाना समय हो, जहाँ सिकाउने समाज, साथी, संगति हुन्छन्, सञ्जाल हुन्छ।
पोखराबाट काठमाडौँ आउँदै थिएँ, एक जना माइक्रो ड्राइभर भाइले स्कुलको किताब किनेर ल्याएका रहेछन्।
'यो के हो?' सोधेको, छोरीलाई किताब किनिदिएको भने।
सबै सोधनी गर्दा, 'दाइ, भाइको छोरी छे, भाइ परदेसियो, बुहारी-भाइको कुरा मिलेर बुहारीले बच्चा छाडेर गई। अनि अहिले मैले राखेको छु, बच्चाको माया लाग्छ। कमाइ नभए पनि जेनतेन पढाएकै छु।'
'म पनि विदेशमा थिएँ दाइ, कमाइ राम्रै थियो, आमाले बोलाउनुभयो, फर्केर आएँ। आमाको वचन काट्न सकिनँ, यसैले यहाँ कमाइ थोरै छ र पनि आमासँग बस्न पाएको छु। आमा खुसी, म पनि खुसी। म आमाको कुरा काट्न सक्दिनँ।'
साँच्चै नै आमाको अवहेलना, हेय, निन्दामा बुहारीको मात्र हात छ त? कि छोराले पनि कर्तव्यच्यूत भएको हो? यसमा महिलालाई दोष दिनु सर्वथा गलत हो। शतप्रतिशत छोराकै दोष छ। छोरो सप्रे बुहारी आफै ठिक हुन्छिन्। छोरो सप्रन बुहारीको रोकावट छैन। छोरामा नै कर्तुत छ, यसैले छोराले नै मनन र चिन्तन गर्न जरूरी छ।
हुन त तिनै ड्राइभर भाइको गाडीमा न त 'आमाबाको आशीर्वाद' लेखिएको थियो, न त उनको नाडीमा आमाको ट्याटु नै थियो। सायदै आमाको बास पनि छिँडीमा छैन होला।
मेरो आशय ट्याटु खिलाफ होइन। बडी आर्ट राम्रो कमाइ छ, पर्यटक आउँछन्, ट्याटु खोपाउँछन्। नेपाली भाइबन्धुहरूले कमाउन पाएका छन्, जय जय भएको छ। बडी आर्ट पुरानो हाम्रो परम्परा हो। पहिला पहिला गाउँमा दिदीबहिनीले मुखमा, अनुहारमा चन्द्रमा, सूर्य जस्ता आकृति खोपाउँथे। यो आजको आधुनिक कुरा नभई पुरानै चलन हो, भ्रम नपालौँ।
एक जना आमालाई वृद्धाश्रममा भेटेँ।
'छोरो त ठिकै हो, बुहारी दुस्मन परी' भनिन्।
मैले, 'छोराले कतिको माया गर्छन्? किन यहाँ बस्नुभयो?' सोधेँ।
'छोरा बजियाले पनि उसैको कुरामा लागेर मलाई यहाँ पठायो।'
आमाको माहात्म्य धेरै छ, तर पर्यन्तमा आमालाई हेर्न पालो गर्ने अवस्था देखिएको छ। किन यस्तो भयो त? देश, राजनीति, समाज, मान्छे बिग्रिएर यस्तो भयो। आखिर सबैतिरबाट औंला राजनीतितिरै फर्किन्छ। मुली नै सुलीमा चढाउने खालको भएपछि अन्यको के कुरा! जे गर्न पनि पैसा चाहिन्छ। माया लाए पनि खान-बस्न, पालनपोषण, दवाई-मुलो, राशन-पानी सबै अचाक्ली महँगो छ, यो कुरामा राज्य दोषी नै हो। हरेक कुरा महँगो बन्नु राज्यको लाचारी, बेइमानी हो। यसको पीडा बा-आमाले भोग्नुपरेको छ। बुढाबुढीलाई सहुलियत कम छ, वृद्धभत्ता बाँड्ने बैंकमा त दुई-तीन तला चढ्नुपर्छ। बुढाबुढीलाई सेवा दिने ठाउँ त भुइँतलामा राखौँ भन्ने सोच नभएको ठाउँको के कुरा गर्ने!
देश बिग्रियो सबैले भन्दछन्, तर कसले बिगार्यो कसैले भन्न सक्दैनन्। कुरा प्रस्ट छ; सोच, विचार, चेतना, मतिले नै बिगारेको हो। त्यो सबै नेपालभित्र रहने तीन करोडकै हो, धेरैथोर योगदान छ। पदमा हुनेले कलम चलाएर बिगारे, पदमा नहुनेले कर्म नगरेर बिगारे, शासन गर्नेले डरछेरुवा, कायर, लाछी, मूर्ख, स्वाँठ, गफाडी, फटाहा, हुतीहारा भएर बिगारे। कतै नाफाखोरी भएर बिगारे। सबैले आ-आफ्नो ठाउँबाट बिगारे। दोष जति राजनीतिलाई थुपारे।
सरकारले सामाजिक सुरक्षास्वरूप प्रदान गरेको ज्येष्ठ नागरिक भत्ता समेत आफू जोगाएर त्यो छोरालाई दिने आमा कसरी हामी छिँडीमा बसेको हेर्न, देख्न सकेका छौँ? धिक्कार छ हामी सकल छोरालाई, समाजलाई अनि कानुन, ऐन, नियम, अड्डा-अदालतलाई!
'कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति' भनेझैं आमाले छोराबाट जति बिगार भए पनि आमाले छोरामाथि घात गर्दिनन्। त्यसैले उनी आमा हुन्; आमा जानौँ, आमा बुझौँ।