म भर्खरै प्यूठानबाट स्नातक अध्ययन गर्न भैरहवा झरेको थिएँ। भैरहवाबाट प्रकाशित हुने लुम्बिनीखबर साप्ताहिक पत्रिकामा २०६८ को मंसिरदेखि टाइपिष्टको रूपमा काम सुरु गरेँ। मलाई राम्रोसँग याद छ– २०६८ को पुसको जाडो महिनामा पत्रकार मनोरञ्जन शर्मा दाइसँग भेट भयो।
लुम्बिनीखबरमा भएको हाम्रो पहिलो भेटमै दाइसँग परिचय गर्यौं, लगत्तै दाइले ‘हिँड् प्यूठानी कान्छा, म तिमीलाई मःम खुवाउँछु’ भन्नुभयो। त्यतिबेला भैरहवा–बुटवलको व्यापारिक मार्ग बनेको थिएन। आवारोडको चोकमा रहेको मःम पसलमा गएर दुई भाइले मःम खायौं।
त्यतिखेर चिनेको मनोरञ्जन शर्मासँग मैले संगत बढाउँदै गएँ। हामी दुई भाइबीच सुमधुर सम्बन्ध रह्यो। विस्तारै मैले पत्रकारिता सिकेँ। दाइसँग सयौं पटक रुपन्देहीका विभिन्न ठाउँमा रिपोर्टिङका लागि गएको छु। कयौं रात हामी भैरहवा बाहिर गएर रमाइलो गर्दै बास बसेका छौं। खैर, ती दिन अब कहिल्यै फर्किएर आउँदैनन्।
नेपाली पत्रकारिताको क्षेत्रमा दुई दशकभन्दा लामो समयसम्म निरन्तर सक्रिय रहेर काम गर्नुभएका मेरा अग्रज पत्रकार (मैले दाइ सम्बोधन गर्थें) मनोरञ्जन शर्माको निधनले जति क्षति पुग्यो, त्यो कल्पना गर्नै सकिँदैन। रुपन्देहीसहित समग्र सञ्चार जगतलाई स्तब्ध बनाएको, त्यो २०८२ को भदौ ४ कहिल्यै नआओस् भन्ने मलाई लाग्छ।
लामो समय क्यान्सर जस्तो प्राणघातक रोगसँग लड्दा लड्दै दाइले हामीलाई छाडेर जानुभयो। त्यो पीडा मलाई त यति धेरै छ भने, दाइको जीवनसंगिनी सरिता सापकोटा (मैले भाउजु सम्बोधन गर्छु), छोरी अभिलाषा, छोरा आगमनलाई कति होला, त्यो हामीले नापेर नाप्न सक्दैनौं, सम्झिएर सम्झन सक्दैनौं। जीवनको उत्तरार्ध पुग्नुभएका बुवाआमाको घाउ अझ कसैले मेटाउन सक्दैन।
सरल स्वभाव, मृदुभाषी व्यवहार, इमानदार कार्यशैली र समाजप्रतिको उत्तरदायित्वबोधका कारण दाइ धेरैका मनमा बस्न सफल पत्रकारका रूपमा परिचित हुनुहुन्थ्यो। विशेषगरी आर्थिक र खेलकुद पत्रकारितामा उहाँले पुर्याएको योगदान सधैं सम्झनायोग्य रहनेछ।
पत्रकारिता केवल समाचार लेख्ने काम मात्र होइन, समाजलाई सही दिशामा डोर्याउने जिम्मेवारी पनि हो भन्ने मान्यतालाई मनोरञ्जन दाइले आफ्नो जीवनभर आत्मसात् गर्नुभयो। उहाँले पत्रकारितालाई पेशा मात्र नभई सामाजिक सेवाको माध्यमका रूपमा बुझ्नुभएको थियो। न कहिल्यै पैसाको पछि दौडिनुभयो, न बदनियत राखेर समाचारका माध्यमले कसैमाथि जाइलाग्नुभयो, उहाँ सधैं असल कर्ममै रहनुभयो। यही सोच र इमानदार पैरवीका कारण दाइ सधैं सत्य, निष्पक्षता र जनपक्षीय विषयवस्तुको वकालतमा रहनुभयो। आज जहाँ रहे पनि उहाँको सत्मार्ग हाम्रा लागि प्रेरणादायी छ।
पाल्पामा जन्मिएर युवाकालमा भैरहवा झरेर भैरहवालाई आफ्नो कर्मथलो बनाउनुभएको मनोरञ्जन दाइले लामो समयदेखि यही क्षेत्रका सामाजिक, आर्थिक, राजनीतिक तथा खेलकुद गतिविधिलाई नजिकबाट नियाल्नुभयो। स्थानीय समस्यादेखि विकास निर्माणका मुद्दासम्म उहाँले निरन्तर कलम चलाउनुभयो।
विशेषगरी आर्थिक क्षेत्रका गतिविधि, व्यापार–व्यवसाय, उद्योग, बजार अवस्था र सीमावर्ती क्षेत्र, शिक्षा, स्वास्थ्य, रोजगारी लगायत अन्य आर्थिक गतिविधिबारे उहाँका समाचार तथा विश्लेषण पाठकमाझ लोकप्रिय मानिन्थे। उहाँ आर्थिक पत्रकारितामा तथ्य र यथार्थलाई प्राथमिकता दिने पत्रकारका रूपमा सधैं परिचित रहनुभयो। यही कारण दाइको निधनमा निजी क्षेत्र स्तब्ध भयो, अहिले पनि दाइलाई जनजनले सम्झिरहन्छ।
स्थानीय स्तरका खेल प्रतियोगिता, युवा खेलाडीको संघर्ष, खेल पूर्वाधार र खेलकुद विकाससँग सम्बन्धित विषयमा पनि निरन्तर कलम चलाउनुभयो। उहाँले खेललाई मनोरञ्जन मात्र नभई युवाको भविष्य निर्माण गर्ने महत्वपूर्ण माध्यमका रूपमा बुझ्नुहुन्थ्यो, यही कारण खेलकुद क्षेत्रमा सक्रिय धेरै व्यक्तिहरू उहाँलाई सधैं सम्झिरहन्छन्।
आफ्नो पत्रकारिताको जीवनमा दाइले धेरै सञ्चारमाध्यममा काम गर्नुभयो। नेपाल वानबाट आफ्नो पत्रकारिता सुरु गर्नुभएको थियो। यसपछि कारोबार राष्ट्रिय दैनिक, न्युज २४ टिभी, दैनिक पत्र दैनिक, हिमालय टाइम्स लगायतमा दाइले काम गर्नुभयो। उहाँको पत्रकारिता यात्राको अर्को महत्वपूर्ण पाटो थियो– ‘न्युज ओके’ साप्ताहिक पत्रिका। यो पत्रिका निःशुल्क रूपमा वितरण हुन्थ्यो, सायद त्यो नेपालको इतिहासकै पहिलो रंगीन कलेबर पत्रिका हुनुपर्छ। पत्रिका स्थापनाका बेला मैले रिपोर्टिङ र सेटिङको काम गर्थें। करिब ४ वर्ष मैले उक्त पत्रिकामा काम गरेँ।
दाइ पत्रिकाको सम्पादक हुनुहुन्थ्यो भने भैरहवाका युवा व्यवसायी विमल सेन्चुरी अध्यक्ष हुनुहुन्थ्यो। सीमित स्रोत र चुनौतीका बीच पनि उक्त पत्रिकालाई निरन्तर लामो समयसम्म प्रकाशन गर्नुभयो। निःशुल्क रूपमा पत्रिका वितरण गर्नु आफैंमा कठिन काम थियो, तर दाइले आमनागरिकलाई सूचनाको पहुँचमा राख्ने उद्देश्यलाई कहिल्यै कमजोर हुन दिनुभएन।
‘न्युज ओके’ मार्फत् स्थानीय समाचार, सामाजिक गतिविधि, आर्थिक विषय तथा जनचासोका मुद्दालाई प्राथमिकताका साथ उठाउनुभयो। स्थानीय पत्रकारितामा यो प्रयासलाई धेरैले उदाहरणीय कामका रूपमा लिने गर्छन्। हरेक हप्ता बिहीबार पत्रिका प्रकाशन हुन्थ्यो। पत्रिका प्रकाशनका दिनहरूमा हामीले मध्यराति १२ बजेसम्म काम गर्थ्यौं।
मलाई याद छ, दाइले मलाई बढी विश्वास गर्ने। बेलाबेला ‘मेरो बाबु, मुटु’ भनेर मायाले बोलाउनुहुन्थ्यो। उहाँको धेरैसँग बोल्ने शब्दहरूमा मिठासपन नै हुन्थे। पत्रिकामा धेरै जिम्मेवारी दाइसँगै मैले पनि पूरा गर्थें। पत्रकारितामा २० वर्ष बढी समय बिताउँदा उहाँले धेरै उतारचढाव देख्नुभयो। सशस्त्र द्वन्द्व, गणतन्त्र, भूकम्प, नाकाबन्दी, कोरोना महामारी। तर कहिल्यै उहाँको कलम सत्यको विपक्षमा रहेन।
प्रविधिको विकाससँगै सञ्चारमाध्यममा आएको परिवर्तनलाई पनि उहाँले नजिकबाट अनुभव गर्नुभयो। तर समय परिवर्तन भए पनि उहाँको मूल मूल्य र सिद्धान्त कहिल्यै परिवर्तन भएन। सत्य समाचारप्रतिको प्रतिबद्धता, समाजप्रतिको जिम्मेवारी र पत्रकारिताप्रतिको इमानदारिता उहाँको पहिचान बनिरह्यो।
हरेक क्षेत्रमा दाइको इमानदारिताले सधैं जित्यो, तर रोगलाई जित्न सकेन। यसैले त आज भैरहवामा म जस्ता धेरै पत्रकारहरू मनोरञ्जन दाइ विनाको पत्रकारिता गरिरहेका छौं। स्मृतिमा भने दाइ झल्झल्ती आइरहनुहुन्छ। कहिलेकाहीँ लाग्छ, बिर्सूं कसरी? बाध्यता भनौं या नियति, प्रकृतिको नियम– जन्मपछि मृत्यु स्वाभाविक हो भनेर मन बुझाउनै पर्छ।
उहाँको निधनले परिवार मात्र होइन, पत्रकारिता क्षेत्र, खेलकुद, समुदाय, व्यावसायिक क्षेत्र र उहाँलाई चिन्ने हरेक व्यक्तिलाई ठूलो पीडा दिएको छ। उहाँ अब भौतिक रूपमा हामीबीच नरहे पनि आज ठीक एक वर्ष पुग्यो। तर उहाँका विचार, योगदान र स्मृतिहरू सधैं जीवित रहनेछन्।
मैले धेरैजसो समय ‘मनु दाइ’ भन्थेँ। मनु दाइले देखाएको सरलता, इमानदारिता र समर्पण भाव नयाँ पुस्ताका म जस्ता पत्रकारका लागि प्रेरणाको स्रोत बनेको छ र बनीरहनेछ। आज मनोरञ्जन दाइलाई सम्झँदा एउटा यस्तो पत्रकारको तस्वीर आँखाअघि आउँछ, जसले कहिल्यै चर्चाको खोजी गरेनन्, तर आफ्नो काममार्फत् सबैको मन जित्नुभयो। उहाँले आफ्नो जीवन पत्रकारितामै समर्पित गर्नुभयो, समाजका आवाजलाई शब्द दिनुभयो र सत्यलाई उजागर गर्न निरन्तर लागिरहनुभयो। जीवनको अन्तिम पलसम्म विस्तारामा लडिरहँदासम्म पनि समाचार र समाजको उत्थानलाई कर्म ठान्नुभयो।
यति लेखिरहँदा दाइको एउटा गुण बिर्सिनुहुन्न। उहाँ जति सरल हुनुहुन्थ्यो, उति छिटो रिसाउने पनि गर्नुहुन्थ्यो। हुन त लामो समयदेखि प्रेसरको औषधि खानुहुन्थ्यो। तर रिस भने छिटो उठ्थ्यो। जति रिस उठे पनि कसैको मन कुडिने गरी नराम्रो शब्द बोलेको मलाई याद छैन। रिस उठे धेरैको फोन रिसिभ नगर्ने उहाँको अर्को बानी थियो। तर म त्यस्तो सौभाग्यशाली दाइको भाइ थिएँ, जस्तो परिस्थितिमा पनि मेरो फोन रिसिभ गर्नुहुन्थ्यो, मसँग लामो समय कहिल्यै रिसाउनुहुन्न थ्यो।
हरेक मानिसका आ–आफ्ना गुण र दोष हुन्छन्। दाइका पनि थिए। तर अरूको क्षति र नराम्रो हुने खालका थिएनन्। यही कारण जोसँग परिचय भयो, ती व्यक्तिको आँखामा उहाँ सधैं बसिरहनुभयो, फूल बनेर।
उहाँको अनुपस्थितिले नेपाली पत्रकारिता अझ खास गरेर भैरहवा क्षेत्रमा ठूलो खालीपन महसुस भइरहेको छ। तर उहाँले छोडेर गएका आदर्श, संघर्ष र योगदानले दाइलाई सधैं जीवित राखिराखेको छ। सरल र मृदुभाषी व्यक्तित्वका धनी दाइले अहिले पनि भाइ भनेर बोलाइ हाल्नुहुन्छ कि भन्ने लाग्छ। तर यो असत्य भइसक्यो।
दाइले हारेर जानुभएको पनि वर्ष भइसक्यो। पत्रकारितामा प्रतिस्पर्धा र दबाबका बीच पनि उहाँले कहिल्यै आफ्नो व्यवहारमा कठोरता आउन दिनुभएन। भेट्ने हरेक व्यक्तिसँग नम्र व्यवहार गर्ने उहाँको शैलीले सबैलाई प्रभावित बनाउँथ्यो। सानादेखि ठूला व्यक्तिसम्म सबैलाई सम्मान गर्ने बानीले उहाँ धेरैका प्रिय पात्र बन्नुभयो।
सञ्चार क्षेत्रमा लामो समय बिताउँदा पनि उहाँ विवादभन्दा टाढा रहेर आफ्नो इमानदार छवि कायम राख्न सफल हुनुभयो। यसैले त म जस्ता सयौंले आज पनि सम्झिरहन्छौं। जहाँ भए पनि दाइको मार्गदर्शन मानसपटलमा रहिरहेका छन्।
प्रिय ‘मनु’ दाइ, तपाईंलाई हार्दिक श्रद्धाञ्जली।
स्व. पत्रकार मनोरञ्जन शर्मा।