कसैले 'अब जीवनमा के गर्ने इच्छा छ?' भनेर सोध्यो भने मेरो मस्तिष्कमा एउटै तयारी जवाफ आउँछ– यदि भगवानले अवसर दिए म फेरि त्यही स्कुले जीवनमा फर्कन सकूँ, जहाँका बालस्मृतिहरू अझै पनि मेरो मनमस्तिष्कमा नाचिरहन्छन्।
आफ्नो बाल्यकाल र विद्यालयका अनुभव सम्झेर कहिलेकाहीँ नटोलाउने मानिस त सायदै होलान्। स्कुले जीवनका बदमासी, निर्दोष चाहना र साथीभाइहरूसँगका अन्तरङ्ग सम्बन्धहरू उमेरले डाँडो काट्दै जाँदा झन् झन् ताजा भएर आउने रहेछन्।
वयस्क उमेरमा सिकेका र भोगेका कतिपय कुराहरू मानसपटलबाट हराइसके होलान्, तर स्कुले जीवनका मन मिल्ने साथीहरू, बालसुलभ मन बुझ्ने गुरु–गुरुआमाहरू, उहाँहरूका संवाद र सँगै बिताएका हरेक पलहरू अझै पनि दिनप्रतिदिन ताजा भइरहेका छन्।’
पञ्चायतकालको उत्तरार्धतिर हाम्रो स्कुले जीवन चल्दै थियो। केही वर्षअगाडि मात्रै प्रस्तावित माध्यमिक विद्यालयको स्वीकृति पाएको हाम्रो स्कुलमा अङ्ग्रेजी, गणित र विज्ञान पढाउने शिक्षकको सधैँ अभाव भइरहन्थ्यो। विज्ञान र गणित विषयको शिक्षक अभाव त हामीले लामै समयसम्म झेल्यौँ।
पहाडी मूलका शिक्षक त पाउँदै नपाइने! मुस्किलले मधेसी मूलका शिक्षक खोजेर ल्याए पनि भाषागत समस्याका कारण विद्यालयमा टिकाइराख्न गाह्रो हुन्थ्यो। शिक्षक अभावकै कारण विद्यालयमा दैनिक जसो नारा–जुलुस भइरहन्थ्यो। यस्तो अवसर तत्कालीन पञ्चायतविरोधी भूमिगत राजनीतिक दलहरूका लागि राम्रो मसला बनिदिन्थ्यो। स्कुलमा हेडसरको मुख्य काम नै नयाँ शिक्षक खोजेर ल्याउनु हुन्थ्यो।
कक्षा सातमा पुग्दासम्म मलाई सम्बन्धित विषय शिक्षकले नै गणित वा विज्ञान पढाएको कुनै सम्झना छैन। विषयगत विशेषज्ञता नभएका शिक्षकहरूबाट पढ्नुपर्दा, ती जटिल प्राविधिक विषयहरूमा हाम्रो ज्ञानको धरातल सधैँ औसतभन्दा निकै तल रह्यो। फलतः ती विषयहरू हाम्रा लागि सधैँ एउटा डरलाग्दो हाउगुजी बनिरहे।
विषयगत शिक्षककै माग राखेर विद्यार्थी आन्दोलनको राँको बलिरहेकै बेला, हाम्रो स्कुलमा विज्ञान विषय पढाउन एउटा नयाँ अनुहारको आगमन भयो। उहाँ हुनुहुन्थ्यो– शिक्षिका भगवती रेग्मी।
त्यसै त विद्यालयहरूमा महिला शिक्षकको उपस्थिति शून्यप्रायः हुने त्यो समय, त्यसमाथि पनि निम्न माध्यमिक तहको जटिल मानिने विज्ञान विषय पढाउन उहाँ आउनुभएको थियो। 'महिलाले पनि कतै विज्ञान पढाउन सक्छन् र?' भन्ने सङ्कुचित सामाजिक सोचका कारण सुरुमा त विद्यार्थीहरूले उहाँको क्षमतामाथि शङ्काको नजरले हेरे, पत्याउनै सकेनन्।
विद्यालयको अशान्त माहौल शान्त हुने कुनै छाँटकाँट थिएन। उल्टै विद्यार्थीहरूमाझ संशय र आक्रोशको नयाँ नारा गुन्जिन थाल्यो– 'महिला शिक्षक चाहिँदैन, चाहिँदैन! धोका दिन पाइँदैन, पाइँदैन!'
यस्तै अनिश्चयका बिच दुई-तीन दिन त्यत्तिकै बिते। विद्यार्थीहरूको विरोधका बिच पनि गुरुआमाले विद्यालय आउने-जाने क्रम जारी राख्नुभयो। तर यो गतिरोध सधैँ यसरी नै चल्ने कुरा पनि त थिएन। अन्ततः निकास खोज्न विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका र आन्दोलनरत विद्यार्थीका तर्फबाट केही अगुवा दाइहरूको उपस्थितिमा एउटा त्रिपक्षीय बैठक बस्यो।
लामो छलफलपछि एउटा मध्यमार्गी सहमति बन्यो– 'नयाँ शिक्षिकालाई केही दिन पढाउने अवसर दिने, यदि विद्यार्थीहरू सन्तुष्ट हुन सकेनन् भने फेरि आन्दोलनको बाटो रोज्ने।' यही परीक्षाको घडी र सहमतिको जगमा टेकेर उहाँ आफ्नो क्षमता प्रमाणित गर्न पहिलो पटक हाम्रो कक्षाकोठाको ढोकाभित्र पाइला टेक्नुभयो।
विज्ञान भनेको के हो? यो विषय किन पढ्नुपर्छ? यसमा कस्ता विषयवस्तुहरू समेटिन्छन् र यसले हाम्रो व्यावहारिक जीवनमा कस्तो प्रभाव पार्छ? जस्ता आधारभूत सन्दर्भहरूबाट उहाँको पहिलो कक्षा सुरु भएको एउटा झिनो सम्झना अझै पनि मेरो मानसपटलमा सुरक्षित छ। उहाँले विश्वका विभिन्न वैज्ञानिक आविष्कार र तिनले हाम्रो दैनिकीमा पारेका गहिरा प्रभावहरूलाई बडो रोचक ढङ्गले प्रस्तुत गर्नुभयो।
हामीले अनजानमै दैनिक जीवनमा प्रयोग गरिरहेका घरायसी सामान र उपकरणहरूमा लुकेको विज्ञानको रहस्य खोतल्दै, उमेरसँगै परिवर्तन हुने शारीरिक बनावट, किशोर–किशोरीको शारीरिक संरचना, वनस्पति तथा जीवजन्तुहरूको अस्तित्व र जीवनचक्र जस्ता जटिल विषयहरूलाई यति सरल रूपमा प्रस्तुत गर्नुभयो कि विद्यार्थीहरूमा विज्ञानप्रति एउटा नयाँ उत्सुकता जागृत भयो।
वास्तवमा, अमूर्त विज्ञानलाई जीवनसँग जोडेर बुझाउने उहाँको त्यही सरल शिक्षण शैलीका कारण पछि विद्यार्थीहरूका ओठबाट विरोधका स्वरहरू सधैँका लागि बिलाएर गए। उहाँको आगमनसँगै हाम्रो विद्यालयमा लामो समयदेखि मडारिएको विज्ञान शिक्षक अभावको त्यो सङ्कट सधैँका लागि टरेर गयो।
समाजमा नारीका अनेक रूप र भूमिका हुन्छन्। उनी कसैका लागि आमा, दिदी, भाउजू त कसैका लागि बुहारी बन्छिन्; अनि कहिले गुरुआमाको रूप धारण गरेर जीवनको प्रेरणा बनिरहन्छिन्। हरेक भूमिकालाई सहज र जीवन्त रूपमा निर्वाह गर्न सक्ने एउटा विशेष सामर्थ्य र कला प्रकृतिले नारीलाई वरदान स्वरूप नै सुम्पिएको हुन्छ।
पारिवारिक नाताका हिसाबले उहाँ घरतर्फबाट मेरो 'भाउजू' र मावलीतर्फको सम्बन्धबाट मेरो 'दिदी' पर्नुहुन्थ्यो। तथापि, मैले उहाँलाई सधैँ गुरुआमाकै उच्चासनमा राखेर हेरेँ र त्यही अनुरूपको श्रद्धा र सम्मान व्यक्त गरिरहेँ। विद्यालयको त्यो सुखद अध्याय सकिएर उमेरको लामो यात्रा तय गरिसक्दा पनि मैले उहाँलाई सधैँ 'मैडम' शब्दबाटै सम्बोधन गरिरहेँ। यता मेरो सम्बोधनमा जतिसुकै औपचारिकता र मर्यादा लुकेको भए पनि, उहाँले भने मलाई सधैँ एउटा ममतामयी स्पर्श र भाइकै जस्तो न्यानो स्नेह दिइरहनु भयो।
उहाँसँग जोडिएका विद्यालय जीवनका पुराना स्मृतिहरू मानसपटलमा आइरहेका छन्। एक पटक उहाँले मलाई राम्रैसँग गाली गर्नुभएको पनि अझै याद छ। गृहकार्य नगरेको र हाफ छुट्टीपछि कक्षा छोडेर भागेको विषयमा उहाँले मलाई कराउनुभएको थियो। त्यो गालीमा रिसभन्दा पनि मेरो भविष्यको चिन्ता लुकेको थियो भन्ने कुरा धेरै पछि मात्र महसुस भयो।
कक्षा ८ को जीवविज्ञानमा भ्यागुताको जीवनचक्र पढाउने बेलाका ती रमाइला पलहरू पनि आँखा अगाडि नाचिरहेका छन्। त्यो पाठ पढाउँदा उहाँले निकै असहजता महसुस गर्नुभएको उहाँको अनुहारबाट झल्किन्थ्यो। कक्षाका केटीहरू लाजले केही बोलेका थिएनन् भने टिनएजर्सका उरन्ठेउला केटाहरू प्रश्नमाथि प्रश्न सोधेर गुरुआमालाई हैरान पारिरहेका हुन्थे। उहाँ ती सबै कुरालाई अति सहज र शालीन रूपमा सम्हाल्नुहुन्थ्यो।
करिब ३ वर्षअगाडि पोखराको केदारेश्वर मन्दिरमा उहाँसँग मेरो अन्तिम भेट भएको थियो। लामो समयपछिको भेट भएकाले हामीबिच केही बेर आत्मीय गफगाफ र भलाकुसारी चल्यो। त्यस बेला जीवनका भोगाइ, अपेक्षा र वास्तविकताको राम्रै चिरफार गरियो। मैले सोचेजस्तो उपलब्धि हासिल गर्न नसके पनि गलत बाटोमा आफू नहिँडेको स्मरण गराएँ।
प्रत्युत्तरमा उहाँले— 'जीवनमा सबै कुरा सोचेजस्तो नभए पनि सधैँ खुसी हुनु, आफ्नो कर्म र धैर्यता कहिल्यै नछाड्नु' भनी जुन अर्ती दिनुभयो, त्यही नै उहाँबाट पाएको अन्तिम शिक्षा बन्यो।
गएको फागुनको चुनावमा मैले उहाँलाई अन्तिम पटक अलि टाढाबाट देखेको थिएँ। शारीरिक रूपमा अलि शिथिल भइसकेजस्तो लागेको थियो। गाडीमा आउनुभयो, मतदान गरेर जानुभयो; तर भेट्ने अवसर भने जुरेन।
केही वर्षदेखि कडा रोगसँग सङ्घर्ष गरिरहनुभएकी उहाँको, गएको गुरुपूर्णिमाको दिन ६३ वर्षकै उमेरमा दुखद निधन भयो। गुरुपूर्णिमाकै दिन एक असल र ममतामयी गुरुआमाको निधनको खबरले मन बेचैन बन्यो। सुरुमा त यो कुरा पत्याउनै गाह्रो भयो। तर सत्यता सधैँभरि लुक्न सक्ने कुरा पनि त थिएन।
जन्मेपछि मर्नै पर्ने जीवनको एउटै सत्यलाई शिरोधार्य गर्दै वास्तविकतालाई स्विकार्न बाध्य भएँ। आदरणीय गुरुआमा आज यो धर्तीमा नभए पनि उहाँको ममतामयी स्नेह र जीवनको पथप्रदर्शनमा उहाँको योगदानको सधैँ उच्च स्मरण भइरहनेछ। उहाँको मृत आत्माप्रति चीर शान्तिको कामना गर्दै उहाँप्रति श्रद्धाका अँजुली अर्पण गर्दछु। अलबिदा गुरुआमा/भाउजू/दिदी।’
स्व. गुरुआमा भगवती रेग्मी।