मान्छे पढ्न विदेश किन जान्छ? के पुग्दैन उसलाई स्वदेशमा? के छन् विदेशका विश्वविद्यालयहरूमा जो नेपालमा छैनन्?
सन् २००६ (विसं २०६३) मा त्रिभुवन विश्वविद्यालयको रामपुर क्याम्पसबाट बिएससी. एजी. अध्ययन पूरा गरेपछि मेरा मनमा यस्तै अनेकौँ प्रश्न र विचारहरू खेलिरहेका थिए। अन्ततः २०६३ को असार महिनातिर कृषिमा स्नातक अध्ययन पूरा गरेपछि देशभित्रै कृषि अर्थतन्त्र विषयमा स्नातकोत्तर अध्ययन गर्ने उद्देश्यले घरबाट भर्ना शुल्क बोकेर म स्याङ्जाको वालिङदेखि चितवनको रामपुर क्याम्पसतर्फ लागेँ।
यात्रा लामो थियो। बसमा मेरा कुनै साथी थिएनन्। मसँग फेसबुक थिएन, इन्स्टाग्राम थिएन, अझ भनौँ मानिसलाई आफैँभित्र सीमित बनाउने स्मार्टफोन र सामाजिक सञ्जालका आकर्षक माध्यमहरू पनि थिएनन्। तर मसँग मेरो आफ्नै साथ थियो, मेरा आफ्नै विचारहरू थिए र आफ्नै मन थियो। सायद त्यसैले आफैँसँग कुरा गर्ने, आफ्ना सोचहरूलाई केलाउने र भविष्यबारे कल्पना गर्ने त्यो एउटा अमूल्य अवसर पनि मलाई थियो।
वालिङबाट चढेको बस पोखरा पुगेर रोकियो। कहिल्यै हवाईजहाज नचढेको मेरा लागि पोखरा केवल अर्को बस समात्ने एउटा ‘ट्रान्जिट’ जस्तै थियो। पृथ्वीचोकबाट चितवन जाने बस चढेपछि अर्को लामो यात्रा सुरु भयो। पोखरा–चितवनको त्यो लामो यात्रामा मैले भविष्यका सोचहरूको जग हालेँ। आफैँसँग धेरै संवाद गरेँ, सम्भावनाहरूको चित्र कोरेँ र जीवनका आगामी गन्तव्यहरूबारे सोचेँ। नेपाली समाजले परिभाषित गरेको ‘ठूलो मान्छे’ बन्ने सपना पनि त्यस दिन केही समयका लागि म आफैँले आफ्नो भविष्यको योजनामा सापटी लिए।
बस तनहुँको सदरमुकाम पुगेर रोकियो। बसका स्टाफहरू थप यात्री खोज्न हिँडे। सामान बेच्नेहरू कोही ‘बदाम, पानी, बिस्कुट, चाउचाउ...’ भन्दै बसभित्र चढे। कोही बसको झ्यालनजिकै आएर यात्रीहरूको तिर्खा र भोकको कामना गरिरहे।
दमौली केही समय रोकिएर मेरो मनको यात्राले फेरि आफ्नो गियर बढाउन सुरु गर्यो। मैले म आफैँलाई निरन्तर प्रश्न गरिरहेको थिएँ। यति लामो समय पढेर फेरि ल्यामिनेसन गरेर अत्यन्त सुरक्षित तरिकाले सुटकेसमा राख्न केही थान प्रमाणपत्रको लागि अर्को गन्तव्यविहीन यात्रा त म गर्दै छैन? मलाई जागिरको ग्यारेन्टी कसले गर्दै छ र म स्नातकोत्तर गर्न जाँदैछु? म काम नपाएर थप पढ्न खोजिरहेको छु कि पढेर थप काम पाउन यो सब गरिरहेको छु?
बस मुग्लिङ कटेर दक्षिणतिर सोझियो, तर बस र मेरा विचारहरू समानान्तर रूपमा अघि बढिरहे। झ्यालबाहिरका दृश्यहरू बदलिँदै थिए, तर मनभित्र उठेका प्रश्नहरू भने उस्तै थिए। ती प्रश्नहरूको उत्तर तत्काल मसँग थिएन। रामपुर क्याम्पस पुगेपछि मेरा ती सबै अन्तर्निहित जिज्ञासाहरूलाई केही समयका लागि थाती राखेर म प्रवेश परीक्षाको तयारीमा जुटेँ परन्तु यो सबै म किन गर्दैछु, त्यसको भरपर्दो उत्तर मसँग थिएन।
रामपुर क्याम्पसमा गएर केही दिन प्रवेश परीक्षाको तयारी थालेपछि परिस्थिति त उस्तै थियो, तर म एक्कासि बदलिएँ। स्नातकोत्तरको प्रवेश परीक्षा छोडेर मैले इजरायलको ११ महिने कृषि तालिमको छनोट परीक्षामा सहभागी हुने निधो गरेँ।
कसैको जिन्दगीका कुनै पनि निर्णयहरू आफैँमा राम्रो वा नराम्रो भन्ने त्यस्तो केही हुँदैन। राम्रो गरेँ या गरिनँ, तर आफ्नो निर्णयको गुण र दोषको भागीदार म आफैँ हुन्छु भन्ने सोचेर मैले त्यो निर्णय गरेँ। घरमा छोराले स्नातकोत्तर गरेर ठूलो मान्छे होला भनेर गरेको आशा र भर्ना गर्न दिएको शुल्क दुवै फिर्ता गरिदिएँ।
स्नातकोत्तर भर्ना, सेमेस्टर रजिस्ट्रेसन, कोर्सवर्क र थेसिस इत्यादि शैक्षिक कुरा छोडेर अब मेरा बाटाहरू अन्यत्र मोडिए। केही आशा, केही निराशा, केही चिन्ता, केही योजना आदिका पोका बोकेर अब मेरो गन्तव्य पासपोर्ट, मेडिकल, भिसा र एयर टिकटतर्फ सोझिए। पाइलाहरू चितवन छोडेर काठमाडौँतर्फ लागे। अन्ततः म पनि इजरायल जाने भएँ।
सुनेको धेरै थिएँ, अब आफैँले भोग्ने भएँ। यो केवल इजरायलको कथा बनेन; यो एउटा नेपाली कृषि विद्यार्थीले आफ्नो सीमित संसारबाट बाहिर निस्केर नयाँ संसारलाई चिनेको, आफूलाई खोजेको र जीवनलाई फरक दृष्टिकोणबाट हेर्न सिकेको यात्राको कथा बन्यो।
सन् २००६ को सेप्टेम्बर महिना हुनुपर्छ। एल अल एयरलाइन्सको जहाज बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल, तेल अभिभमा ल्यान्ड भयो। जहाजका पाङ्ग्राले भुइँ छोएपछि सबै यात्रुले ताली बजाए। मैले पनि त्यसै गरेँ।
नेपाल छोड्दा मनमा धेरै सपना थिए। आधुनिक कृषि प्रविधि सिक्ने उत्साह थियो, नयाँ देश र नयाँ संस्कृतिलाई नजिकबाट बुझ्ने जिज्ञासा थियो। तर त्यससँगै परिवारबाट टाढा बस्नुपर्ने पीडा, अपरिचित वातावरणमा आफूलाई स्थापित गर्नुपर्ने चुनौती र भविष्यप्रतिको अनिश्चितता पनि थियो।
एयरपोर्टबाट बाहिर निस्किएपछि करिब ५० जनाको हाम्रो टोलीका लागि दुई वटा बस बाहिर थिए। एयरपोर्टदेखि इजरायलको दक्षिणी भागमा रहेको अरावा मरुभूमि वा उपत्यकामा रहेका दुई मोसाभ—इन याहाभ र जोफार—जानका लागि हामीले यात्रा तय गर्यौँ। बसको झ्यालबाट पहिलोपल्ट मैले मरुभूमिलाई नजिकबाट दर्शन गरेँ।
बस जोफार मोसाभमा पुगेर रोकियो। मित्र खेमबहादुर अधिकारी र म बक्स नं. ४२ का किसान अभिसँग बासस्थानतिर लाग्यौँ। केही बेरको छोटो यात्रापछि ती किसानले हामीलाई बस्ने कोठा देखाए र त्यहाँका अन्य केही व्यावहारिक कुराहरू पनि सिकाए। त्यसको केही समयपछि थाइल्यान्डका टोलीनेता (बल्लाभाइ) आए र आवश्यक सामान किन्न हामीलाई पसलमा लिएर गए।
पसलमा तरकारी किन्ने क्रममा मैले भेडे खुर्सानीतिर देखाउँदै, ‘यो कस्तो हुन्छ?’ भनेँ। ती थाई टोलीनेताले ‘यो त फार्ममा पनि पाउँछ’ भने। अनि थाहा भयो भेडे खुर्सानी (बेल पेपर) अब हाम्रो ११ महिने यात्राको एउटा अभिन्न, जीवन्त र सुखदुःखमा साथ दिने सबैभन्दा नजिकको सजीव मित्र बन्दै रहेछ।
बिहान उज्यालो भयो। मान्छेको जीवनमा सबैभन्दा महत्त्वपूर्ण भौतिक चीज केही छ भने त्यो खाजा वा पोषण हो। त्यसैले अलि ठूलो भाँडोमा दाल, भात र मासु हालियो। प्रमुख उद्देश्य थियो– भाँडाको माथिको एकतिहाइ ९ बजे खाने अनि बाँकी दुईतिहाइ दिउँसो १२ बजेको लन्चमा सक्ने।
इजरायल पुगेपछि मान्छेले केवल आधुनिक कृषि मात्र सिक्दैन। त्यहाँको कठोर मरुभूमिमा पानीको प्रत्येक थोपाको मूल्य, श्रमको सम्मान, समयको महत्त्व, अनुशासन र आत्मनिर्भरताको वास्तविक अर्थ पनि सिक्छ। हरितगृहमा बिताएका दिनहरू, खेतमा गरेको परिश्रम, विभिन्न देशका साथीहरूसँग बिताएका अविस्मरणीय क्षणहरू र घरको सम्झनाले भरिएका साँझहरू आज पनि मेरो स्मृतिमा ताजै छन्।
मेरो बसाइ इजरायलको मोशाभ जोफारमा थियो। त्यहाँको मेरो दैनिक जीवन मुख्यतः हरितगृह (ग्रीनहाउस) मा गरिने भेडे खुर्सानी खेतीको व्यवस्थापन र उत्पादनसँग जोडिएको थियो। वसन्त ऋतुमा उत्पादनको मुख्य सिजन सुरु भएपछि हाम्रो कार्यक्षेत्र हरितगृहमा मात्र सीमित रहँदैनथ्यो। त्यस समयमा बेलुका प्याकेजिङ हाउसमा पनि काम गर्नुपर्थ्यो।
त्यहाँ टिपिएका क्याप्सिकमहरूलाई तौल र गुणस्तरका आधारमा वर्गीकरण गरिन्थ्यो। त्यसपछि निर्यातका मापदण्डअनुसार सावधानीपूर्वक प्याकिङ गरी बजार पठाउन तयार पारिन्थ्यो। यी दैनिक कामहरूले मलाई आधुनिक हरितगृह, कृषि उत्पादन व्यवस्थापन, गुणस्तर नियन्त्रण र अन्तर्राष्ट्रिय बजारका लागि आवश्यक कृषि मापदण्डबारे व्यावहारिक ज्ञान सिकायो।
खेतदेखि प्याकेजिङ हाउससम्मको सम्पूर्ण प्रक्रियामा सहभागी हुँदा मैले कृषि भनेको केवल उत्पादन मात्र नभई योजना, अनुशासन, गुणस्तर र बजार व्यवस्थापनको समन्वित प्रणाली रहेछ भन्ने कुरा गहिरोसँग बुझ्ने अवसर पाएँ।
हरितगृह र प्याकेजिङ हाउसमा काम गर्नु मात्र मेरो सिकाइको माध्यम थिएन। त्यहाँ बसेर मैले अर्को महत्त्वपूर्ण कुरा पनि बुझ्ने अवसर पाएँ— नवप्रवर्तन गुणस्तरीय शिक्षा र अनुसन्धानको उपज हो। हाम्रो फार्ममा समय–समयमा विश्वविद्यालयका विद्यार्थी, अनुसन्धानकर्ता तथा कृषि विज्ञहरू आउने गर्थे।
उनीहरूको उद्देश्य केवल पुस्तकमा पढेका सिद्धान्तहरूको पुष्टि गर्नु मात्र थिएन, बरु खेतमा किसानहरूले भोगिरहेका वास्तविक समस्याहरूलाई प्रत्यक्ष रूपमा बुझ्नु र तिनका सम्भावित समाधानहरू खोज्नु पनि थियो। उनीहरू किसानसँग छलफल गर्थे, बालीको अवस्था अवलोकन गर्थे, तथ्याङ्क सङ्कलन गर्थे र विभिन्न प्रविधि तथा व्यवस्थापन अभ्यासहरूको प्रभाव मूल्याङ्कन गर्थे।
त्यो वातावरणले मलाई एउटा गहिरो सन्देश दियो— जब शिक्षा, अनुसन्धान र व्यवहारिक कृषि एकअर्कासँग जोडिन्छन्, तब मात्र अर्थपूर्ण नवप्रवर्तन सम्भव हुन्छ। प्रयोगशालामा जन्मिएको ज्ञान खेतसम्म पुग्नुपर्छ, र खेतमा देखिएका समस्याहरू पुनः अनुसन्धानको विषय बन्नुपर्छ। यही निरन्तर सम्बन्धले कृषि क्षेत्रलाई अझ उत्पादनशील, दिगो र आधुनिक बनाउँछ।
त्यहाँको अनुभवले मलाई सिकायो कि विश्वविद्यालय, अनुसन्धान संस्था र किसानबीचको सहकार्य नै कृषि विकासको सबैभन्दा बलियो आधार हो। यही सहकार्यले नयाँ प्रविधि, नयाँ सोच र व्यवहारिक समाधानहरू जन्माउँछ, जसले अन्ततः किसानको जीवनस्तर र कृषि उत्पादन दुवैमा सकारात्मक परिवर्तन ल्याउँछ।
मेरो अनुभवले मलाई अर्को महत्त्वपूर्ण निष्कर्षमा पनि पुर्यायो। कुनै पनि देशमा कृषिमा नवप्रवर्तन ल्याउनका लागि देशका मुख्य दुई शिक्षा र विज्ञानले दह्रो खुट्टा टेक्नैपर्छ। त्यस देशको शिक्षा प्रणाली र अनुसन्धान प्रणाली बलियो, व्यवहारमुखी तथा एकआपसमा प्रभावकारी रूपमा जोडिएको हुनु आवश्यक हुन्छ।
जब विश्वविद्यालय, अनुसन्धान संस्था, विस्तार सेवा र किसानबीच निरन्तर संवाद र सहकार्य हुन्छ, तब खेतमा देखिएका वास्तविक समस्याहरू अनुसन्धानका विषय बन्छन् र अनुसन्धानबाट प्राप्त ज्ञान तथा प्रविधि पुनः किसानसम्म पुग्छ। यही चक्रले नयाँ सोच, नयाँ प्रविधि र व्यवहारिक समाधानहरूको विकास गर्छ।
यदि शिक्षा केवल कक्षाकोठामा सीमित रह्यो, अनुसन्धान केवल अनुसन्धान प्रतिवेदनमा सीमित भयो र किसान आफ्ना समस्यासहित एक्लै रहे भने अनि गुणस्तरीय शिक्षा र अनुसन्धान बिनाको नवप्रवर्तन भयो भने कृषिमा अपेक्षित परिवर्तन आउन सक्दैन। तर शिक्षा, अनुसन्धान र व्यवहारिक खेतीबीच सुदृढ सम्बन्ध स्थापित गर्न सकियो भने त्यही सम्बन्ध नै नवप्रवर्तनको सबैभन्दा ठूलो आधार बन्छ।
इजरायल क्षेत्रफलका हिसाबले सानो देश हो। प्राकृतिक स्रोतहरू सीमित छन्। धेरै भूभाग सुख्खा छ, पानीको अभाव छ र खेतीका लागि अनुकूल वातावरण पनि सर्वत्र छैन। तर त्यही देशले कृषि उत्पादन, कृषि प्रविधि र कृषि नवप्रवर्तनका क्षेत्रमा विश्वलाई चकित पारेको छ।
त्यहाँ पुग्दा मैले देखेको अर्को महत्त्वपूर्ण कुरा थियो— कृषि केवल पेसा होइन, विज्ञान र प्रविधिमा आधारित उद्योगका रूपमा विकसित गर्न सकिँदो रहेछ। विश्वविद्यालयले सिकाउने ज्ञान र खेतबारीमा प्रयोग हुने ज्ञानबीचको सम्बन्ध कति गहिरो हुन्छ भन्ने कुरा मैले पहिलो पटक इजरायलको कृषि फार्ममा प्रत्यक्ष देखेको थिएँ।
फार्ममा प्रत्येक थोपा पानीको हिसाब राखिएको थियो। ड्रिप सिँचाइ प्रणालीमार्फत बिरुवालाई आवश्यक मात्रामा पानी र मल एकैपटक उपलब्ध गराइन्थ्यो। पानीको स्रोत सीमित भए पनि उत्पादन भने आश्चर्यजनक रूपमा उच्च थियो। मैले सोचेँ— हामीकहाँ प्रशस्त पानी भएर पनि उत्पादन कम छ, तर यहाँ पानीको अभाव भएर पनि उत्पादन धेरै छ।
समस्या स्रोतको मात्र होइन, स्रोतको उपयोग गर्ने ज्ञान र प्रविधिको रहेछ। देशको विकासको लागि प्राकृतिक स्रोतको मात्रा भन्दा पनि मानव स्रोतको क्षमता र बुद्धिमत्ता धेरै गुणा महत्त्वपूर्ण हुँदो रहेछ। र हामीले इजरायलका कृषि फार्महरूबाट सिक्न सकिने धेरै कुराहरू रहेछन्। आखिर ज्ञान कुनै एक देश, भूगोल वा समाजमा मात्र सीमित हुँदैन; ज्ञान सर्वव्यापी हुन्छ। जहाँ राम्रो अभ्यास, नयाँ प्रविधि र सफल अनुभव छन्, त्यहाँबाट सिकेर त्यसलाई आफ्नो देशको आवश्यकता, परिवेश र किसानका समस्याअनुसार प्रयोग गर्न सकिन्छ।
नेपाल अहिले नयाँ सरकारसँगै कृषि सम्भावनाको महत्त्वपूर्ण चौबाटोमा पुगेको छ। अबको बाटो कता जाने भन्ने कुरा हामीले लिने नीति, गर्ने अनुसन्धान र विकास गर्ने ज्ञानमा निर्भर हुनेछ। आशा गरौँ विश्वविद्यालयहरूको उपकुलपतिहरूको चयनसँगै विश्वविद्यालयले पद, राजनीति, सम्मान र व्यक्तिगत फाइदा भन्दा पनि ज्ञानको खेती, अनुसन्धान र समाजप्रतिको उत्तरदायित्व महत्त्वपूर्ण हुनेछ। विश्वविद्यालयमा हुने अनुसन्धान केवल शोधपत्र प्रकाशित गर्न वा उपाधि हासिल गर्नका लागि मात्र नहोस्।
विद्यार्थीहरूको अध्ययनको विषयवस्तु छनोट होस् किसानको समस्या देखेर होस्। नयाँ कृषि नीतिहरू बनून् तर किसानलाई हेरेर बनून्। विद्यार्थीहरूको अध्ययन र अनुसन्धानका विषयवस्तु किसानका खेतबारीमा देखिएका वास्तविक समस्या र आवश्यकतालाई हेरेर छनोट गरियोस्। किसानले भोगिरहेको उत्पादनको समस्या, रोग, बजार, लागत, प्रविधि, जलवायु परिवर्तन र आम्दानीका चुनौतीहरू विश्वविद्यालयका अनुसन्धानका विषय बनून्।
विश्वविद्यालयमा सिर्जना भएको ज्ञान प्रयोगशाला र पुस्तकालयमा मात्र सीमित नरही किसानको खेतसम्म पुगोस्। त्यसैगरी, नयाँ कृषि नीतिहरू बनून्, तर ती नीतिहरू कार्यालयका कोठामा बसेर मात्र होइन, किसानको खेतमा उभिएर र उनीहरूको आवाज सुनेर बनून् किनकि विश्वविद्यालय, अनुसन्धान संस्था, सरकार र किसानबीच एउटा बलियो र नजिकको सम्बन्ध आवश्यक छ।

(लेखक नर्वेको नर्ड विश्वविद्यालय अन्तर्गत जैवविज्ञान संकायमा पोषण विषयका सह–प्राध्यापक हुन्। उनी पोषण तथा शरीरक्रिया विज्ञानका अनुसन्धानकर्ता हुन्।)