म कुनै पत्रकार होइन। म त शब्दको अर्को किनारमा उभिएर तिनलाई नियाल्ने मान्छे हुँ। कहिलेकाहीँ शब्दमा फूलको सुवास भेट्छु, कहिलेकाहीँ बारूदको गन्ध पाउँछु।
कहिलेकाहीँ कुनै समाचारले समाजको अनुहार देखाउँछ, कहिलेकाहीँ त्यही समाचारले एउटा मानिसको अनुहारबाट उसको आफ्नै परिचय खोसिदिन्छ।
सायद त्यसैले आजभोलि समाचार पढ्दा म केवल अक्षर पढ्दिनँ। अक्षरको पछाडि छुटेको एउटा मानिस पनि खोज्छु। कहिलेकाहीँ एउटा शीर्षक आँखामा ठोक्किन्छ। अक्षरहरू ठूला हुन्छन्, शब्दहरू चर्का हुन्छन्, कथा उत्तेजक हुन्छ। शीर्षकले स्क्रिन रोक्छ। तर म सोचिरहन्छु त्यो शीर्षकको अर्को छेउमा को उभिएको छ?
हामी पढ्छौँ, प्रतिक्रिया दिन्छौँ, खुसी हुन्छौँ, आक्रोश पोख्छौँ, पक्ष र विपक्षमा बाँडिन्छौँ एक हिसाबले एउटा न्यायालय स्थापित गर्छौं र हामी वकिल वा न्यायाधीश बन्छौँ। अनि केही समयपछि अर्को समाचारको पछाडि दौडिन्छौँ। तर जसको नाम त्यो समाचारमा हुन्छ, ऊ कहाँ जाओस्? हामी त स्क्रिन बन्द गरेर ढुक्कले निदाउन सक्छौँ। रात पूरै निदाउँछ तर ऊ? हामी अर्को बिहान सामान्य भएर उठ्न सक्छौँ तर उसका लागि भने त्यो बिहानले कस्तो बादल बोकेर आउला! हामी कल्पना गर्न सक्छौँ?
यो दोष केवल समाचार लेख्नेको मात्र होइन, उत्तेजक शीर्षक खोज्दै औँला नचाउने हाम्रा आँखाहरू र क्षणिक आनन्दका लागि कमेन्ट/सेयर गर्ने हाम्रा औँलाहरूको पनि हो। आजकल समाचार मानिसका लागि मात्र होइन, सामाजिक सञ्जालका निर्दयी ‘एल्गोरिदम’लाई खुसी पार्न लेखिन थालेका छन्। तर मेसिनले न कसैको आँसु बुझ्छ, न कसैको आत्मसम्मान। क्लिक र भ्युजको यो होडमा हामी दर्शक मात्र रहेनौँ, कसैको जीवन लिलाम गर्ने अनलाइन अदालतका मतियार बन्यौँ।
यही ठाउँमा पुगेर मलाई पत्रकारिताभन्दा पहिले मानिस सम्झना आउँछ। कहिलेकाहीँ शब्दहरू फूलजस्ता मात्र हुँदैनन्, काँडाजस्ता पनि हुन्छन्। कुन शब्द कस्तो धरतीमा रोपिन्छ र हुर्किन्छ, लेख्ने हातले एकपटक सोच्नुपदर्छ। एउटा अपुष्ट वाक्य कसैको प्रतिष्ठाको दाग हुन सक्छ। एउटा अधुरो सन्दर्भ कसैको चरित्रमा लगाइएको कालो टीका बन्न सक्छ। एउटा उत्तेजक शीर्षक कसैको घरको ढोकामा बज्रिएको चट्याङ्ग पनि हुन सक्छ र एउटा गलत आरोप त्यो मानिसले वर्षौंको प्रतिफल माथिको बज्रपात हुन सक्छ। तर हामी त्यसलाई के भन्छौँ?
कन्टेन्ट ....
कति सहज शब्द छ यो 'कन्टेन्ट'। मानौं त्यसमा कुनै धड्कन छैन र यो गुनासो केवल मैदानमा खटिने रिपोर्टरप्रति मात्र होइन, मिडिया हाउसका ती सञ्चालकहरूसँग पनि हो जसले भ्युज, स्पन्सर र विज्ञापनको नाममा कलम चलाउने हातहरूलाई अमानवीय 'टार्गेट' पूरा गर्ने मेसिन बनाएका छन्। मानौँ त्यसको कुनै घर छैन। मानौँ त्यसका पछाडि कसैकी आमा छैनन्, बाबु छैनन्, जीवनसाथी छैनन्, छोराछोरी छैनन्, साथीहरू छैनन्। मानौँ त्यो नामको पछाडि एउटा मन होइन, केवल एउटा ‘स्टोरी’ छ। यही सहजताले मलाई असहज बनाउँछ।
मलाई पत्रकारितासँग गुनासो छैन। बरू पत्रकारितासँग मेरो अपेक्षा छ। समाजमा धेरै आवाजहरू छन्, जो आफै बोल्न सक्दैनन्। कतिपय सत्यहरू अँध्यारो कुनामा थुनिएका हुन्छन्। कतिपय अन्यायहरू शक्तिको बाक्लो पर्दाभित्र लुकेका हुन्छन्। त्यहाँ पत्रकारिता एउटा दियो बनिदिए हुन्थ्यो लाग्छ अँध्यारोमा बाटो देखाइदिने। नकि कसैको घर जलाउने आगो। उज्यालोको सामर्थ्य बोकेको कलममा आगोको सम्भावना पनि धेरै छ त्यसैले कलम चलाउँदा सोचेर चलाइयोस् जस्तो लाग्छ।
कलम चलाउने हातभन्दा पहिले त्यो हातको विवेक पनि चलोस। मेरो मनमा चलिरहने प्रश्न समाचारको ढोका खोल्नुअघि एउटा सानो ढकढक्याइ हुनुपर्छ कि पर्दैन? यो सत्य हो? यसको स्रोत के हो? यसको अर्को पाटो के हो? यसमा सम्बन्धित मानिसको आवाज कहाँ छ? र सबैभन्दा महत्त्वपूर्ण कुरा के यो सार्वजनिक गर्नैपर्ने कुरा हो? सायद पत्रकारिताको सबैभन्दा कठिन प्रश्न यही अन्तिम प्रश्न हो।
किनकि सबै थाहा पाउनु हाम्रो अधिकार नहुन सक्छ। हरेक कुरा सार्वजनिक सम्पत्ति हुँदैन। मानिसको निजी जीवन कुनै खुल्ला चौतारी होइन, जहाँ जो कोही आएर आफ्नो विचारको भारी बिसाउन। म कहिलेकाहीँ आफूलाई नै त्यो समाचारको पात्र बनाएर हेर्छु। यदि मेरो नाम त्यो शीर्षकमा हुन्थ्यो भने? यदि मेरा तस्वीरहरू त्यही कथासँग जोडिन्थे भने? यदि मेरो परिवारले त्यो पढ्थ्यो भने? यदि मलाई चिन्ने मानिसहरूले समाचार पढेर मेरो बारेमा धारणा बनाउँथे भने? र यदि त्यसमा लेखिएका केही कुरा अपुष्ट, अधुरा वा गलत हुन्थे भने म कहाँ भेटिन्थेँ? ती क्रियटरले यसरी नसोच्ने र? समाचार लेख्ने मानिसले आफ्नो स्क्रिनमा एउटा कथा देख्छ। तर समाचारको पात्रले त्यही स्क्रिनमा आफ्नो जीवन देखिरहेको हुन्छ। यो दूरी धेरै ठूलो छ।
एकातिर कन्टेन्ट छ, अर्कोतिर जीवन। एकातिर पैशा छ, अर्कोतिर परिवार। त्यसैले मलाई लाग्छ, पत्रकारितामा तथ्यको फिल्टर भएर मात्र पुग्दैन। स्रोतको, सन्दर्भको, कानुनको फिल्टर चाहिन्छ। तर यी सबैभन्दा माथि एउटा अदृश्य, तर सबैभन्दा आवश्यक फिल्टर चाहिन्छ, मानवताको। किनकि तथ्य सही भएर मात्र समाचार सही हुँदैन, त्यसलाई कसरी प्रस्तुत गरियो भन्ने कुराले पनि त्यसको नैतिकता निर्धारण गर्दछ। सत्यको हात समातेर हिँड्ने पत्रकारिता र सनसनीको वायुपंखी चढेर दौडिने पत्रकारिता कदापी एउटै हुन सक्दैन।
मलाई त्यस्तो पत्रकारिता मन पर्छ जसले समाजका कथित शक्तिशालीको ढोका ढकढक्याउँछ न कि कमजोरको झ्यालबाट चियाउँछ। मलाई त्यस्तो पत्रकारिता चाहिन्छ, जसले प्रश्न गर्छ, तर प्रश्नकै नाममा फैसला सुनाउँदैन। जसले खोज्छ, तर खोज्ने क्रममा कसैलाई शिकार बनाउँदैन। जसले सत्यलाई उज्यालोमा ल्याउँछ, तर कसैको जीवनमा आगो लगाउँदैन।
आजको समय झन् तीव्र छ। हिजो एउटा खबर छापिन घण्टौँ लाग्थ्यो। आज एउटा औँलाको स्पर्श संसार घुम्छ। हिजो अखबारको पन्नामा सीमित हुन्थ्यो, आज स्क्रिनमा दोहोरिरहन्छ। कागजको पत्रिका त भोलिपल्टै पुराना सामान बेच्ने कुनामा मिल्काइन्थ्यो तर स्क्रिनमा छापिएका दाग कहिल्यै मेटिँदैनन्, ती डिजिटल फुटप्रिन्ट बनेर वर्षौँसम्म रहिरहन्छन्। भोलि समाचारको त्यो पात्रका छोराछोरी र भावी पुस्ताले समेत त्यही अपुष्ट र उत्तेजक शीर्षक पढेर शिर झुकाउनुपर्ने हुनसक्छ। पछि मागिने क्षमाको त्यो अदृश्य खण्डनले अपमानको घनत्व कहिल्यै पूर्ति गर्न सक्ला? हिजो गल्ती सच्याउन अर्को दिनको पत्रिका कुर्नुपर्थ्यो, आज गलत सूचना केही सेकेन्डमै हजारौँ मानिसको स्मृतिमा पुगिसक्छन्। दिन त डिजिटल समयले समाचारलाई पखेँटा दिएको छ।
तर मलाई डर लाग्छ कतै हामीले ती पखेँटालाई विवेकको दिशा दिन बिर्सिरहेका त छैनौँ? किनकि उडेको शब्द फर्केर आउँदैन। उसले आफ्नो बाटोमा भेटिएका मानिसहरूको जीवन छेडिसकेको हुन्छ र कालान्तरसम्मको लागि आफ्नो प्रभाव छोडेको हुन्छ। त्यसैले म चाहन्छु कलम चलाउनेहरूले शब्दलाई केवल अक्षर नठानून्। शब्दको पछाडि मानिस देखून्। समाचारलाई केवल बजार नठानून्। त्यसको अर्को छेउमा उभिएको जीवन पनि देखून्। भ्युजको संख्याभन्दा बाहिर एउटा मान्छेको आँसु पनि गनून्। क्लिकको आवाजभन्दा पर एउटा मानिसको सिङ्गो जीवन देखुन्।
समाचार लेख्नुहोस्। सत्य लेख्नुहोस्। प्रश्न गर्नुहोस्। अन्यायको विरूद्धमा बोल्नुहोस्। अन्ततः पत्रकारिता समाजकै लागि हो। त्यसैले समाचारको अर्को छेउमा उभिएको मानिसलाई एकपटक हेर्नुस्। तपाईंले लेख्न लागेको कुरा तपाईंका लागि एउटा ‘स्टोरी’ हुन सक्छ। तर उसको लागि? तपाईंका लागि त्यो एउटा कन्टेन्ट हुन सक्छ, तर उसको लागि त्यो घर हुन सक्छ। उसको सम्बन्ध हुन सक्छ, उसको आत्मसम्मान हुन सक्छ। उसको रातको निद्रा हुन सक्छ। उसको भोलिप्रतिको विश्वास हुन सक्छ। सायद उसको पूरै जीवन हुन सक्छ। तपाईंका लागि केही सेकेन्डको क्लिक होला तर उसका लागि त्यो आमरण छायाँ बन्न सक्छ।
त्यसैले, आदरणीय पत्रकार महोदय, कलम चलाउनुहोस्। तर कलमको टुप्पोमा मसीभन्दा पहिले अलिकति मानवता राख्नुहोस्। किनकि कसैको जीवनभन्दा ठूलो तपाईंको कन्टेन्ट हुन सक्दैन।