विपद् आउँदा राज्यको पहिलो ध्यान स्वाभाविक रूपमा जीवन रक्षातर्फ जान्छ। भूकम्पमा भग्नावशेषबाट मानिसको उद्धार, बाढीमा डुबेकाको खोजी, पहिरोमा परेकाको उद्धार, घाइतेको उपचार, खानेपानी, खाना र अस्थायी आवास यी सबै तत्कालीन प्राथमिकता हुन् तर एउटा महत्वपूर्ण प्रश्न हामी प्रायः छुटाउँछौं त्यो विपद्पछि मानिसको मनमा परेको घाउको उपचार कसले र कसरी गर्छ?
विपद्ले घर, सडक र पुल भत्काउँछ तर त्यस सँगै मानिसको सुरक्षा–बोध, आत्मविश्वास र भविष्यप्रतिको आशा पनि भत्काउन सक्छ। परिवारको सदस्य गुमाउनु, आफ्नै घर आँखै अगाडि ढल्नु, मृत्युको भय प्रत्यक्ष अनुभव गर्नु वा अरूको मृत्यु देख्नु सामान्य अनुभव होइन। यसको प्रभाव घटना सकिएपछि पनि लामो समयसम्म मानिसको मनमा रहन सक्छ।
त्यसैले विपद् व्यवस्थापनलाई केवल खोज, उद्धार र पुनर्निर्माणको विषयका रूपमा हेर्ने दृष्टिकोण अब पर्याप्त छैन। विपद् व्यवस्थापनमा मानसिक स्वास्थ्य र मनो-सामाजिक सहयोगलाई पनि जीवन रक्षाकै एउटा महत्वपूर्ण अंगका रूपमा स्थापित गर्न आवश्यक छ।
विपद्पछि मानिसमा डर, चिन्ता, निद्रामा समस्या, बारम्बार झस्किनु, घटना सम्झिरहनु, रून मन लाग्नु, रिस उठ्नु वा केही समय एक्लै बस्न चाहनुजस्ता प्रतिक्रिया देखिन सक्छन्। यस्ता धेरै प्रतिक्रिया असामान्य परिस्थितिमा देखिने सामान्य मानवीय प्रतिक्रिया हुन्।
समयसँगै धेरै मानिस परिवार, साथीभाइ र समुदायको सहयोगबाट सामान्य अवस्थामा फर्किन्छन्। त्यसैले विपद्पछि देखिएको हरेक मानसिक प्रतिक्रिया ‘मानसिक रोग’ हो भन्ने बुझाइ पनि गलत हुन जान्छ तर केही व्यक्तिमा लक्षण अत्यधिक वा दीर्घकालीन समय सम्म रहन सक्छन् । कसै-कसैमा डिप्रेसन, एन्जाइटी, पदार्थको दुरूपयोग वा अन्य मानसिक स्वास्थ्य समस्या विकसित हुन सक्छ। पहिले नै मानसिक रोगको उपचार गराइरहेका व्यक्तिहरू छन् भने अवस्था झनै बिग्रिन सक्छ।
विशेषगरी आत्महत्याको विचार, गम्भीर भ्रम वा असामान्य व्यवहार, अत्यधिक उत्तेजना, वास्तविकतासँग सम्पर्क गुम्नु वा दैनिक जीवन सञ्चालन गर्न नसक्ने अवस्था देखिए तत्कालै विशेषज्ञ चिकित्सकको सहयोग आवश्यक हुन्छ जहाँ साइक्याट्रिस्ट र साइकोलोजिस्टको भूमिका महत्वपूर्ण हुन्छ।
साइक्याट्रिस्टहरू मानसिक रोग तथा समस्याहरूको मूल्यांकन, निदान र उपचार गर्ने चिकित्सक हुन्। विपद्को समयमा उनीहरूको भूमिका अस्पतालको ओपिडीमा बिरामी हेर्नेमै सीमित हुँदैन र हुनु हुँदैन।
विपद् क्षेत्रमा मानसिक स्वास्थ्यको प्रारम्भिक मूल्याङ्कन, गम्भीर मानसिक समस्या भएका व्यक्तिको पहिचान, आत्महत्या जोखिमको मूल्याङ्कन, साइकोसिस वा गम्भीर डिप्रेसनजस्ता अवस्थाको उपचार र आवश्यक परे औषधि व्यवस्थापन उनीहरूको महत्वपूर्ण जिम्मेवारी हो।
अर्को महत्वपूर्ण पक्ष भनेको उपचारमा रहेका मानसिक रोगीको निरन्तरता हो। विस्थापन, औषधिको अभाव, अस्पतालसम्म पुग्न नसक्नु वा परिवारसँग छुट्टिनुका कारण मानसिक रोगीको नियमित उपचार रोकिएमा अवस्था थप जटिल बन्न सक्छ। विपद् ब्यबस्थापन योजनाले यस्ता बिरामीको औषधि र उपचार निरन्तरताको व्यवस्था गर्न सक्नुपर्छ।
विपद्पछिको अबस्थामा सबैलाई औषधि नै आवश्यक हुन्छ भन्ने हुँदैन। धेरै मानिसलाई सुरक्षित वातावरण, सामाजिक सहयोग, सही सूचना र आफ्नो अनुभव व्यक्त गर्ने अवसर आवश्यक हुन्छ जसको लागि साइकोलोजिस्टको भूमिका महत्वपूर्ण हुन्छ।
विपद्का बेला मानसिक स्वास्थ्यको चर्चा गर्दा हामी प्रायः पीडितलाई मात्र सम्झन्छौं तर लगातार उद्धार र उपचारमा खटिने स्वास्थ्यकर्मी, प्रहरी, सेना, एम्बुलेन्स चालक, स्वयंसेवक, पत्रकार र अन्य आपत्कालीन सेवाका कर्मचारी पनि मानसिक समस्याहरुको उच्च जोखिममा हुन्छन्। दिनौंसम्म मृत्यु, चोटपटक, रोदन र पीडादायी दृश्यको सामना गर्दा उनीहरूमा मानसिक थकान, निद्राको समस्या, चिन्ता, डिप्रेसन वा आघातसम्बन्धी लक्षणहरू देखिन सक्छन्, त्यसैले उद्धारकर्ताको मानसिक स्वास्थ्यलाई ‘व्यक्तिगत कमजोरी’का रूपमा हेर्नु हुँदैन। उद्धारकर्तालाई सुरक्षित राख्नु भनेको विपद् प्रतिक्रिया प्रणालीलाई सुरक्षित राख्नु हो।
नेपालले विपद् व्यवस्थापनका लागि उद्धार तथा राहतका विभिन्न संरचना बनाएको छ तर मानसिक स्वास्थ्यका लागि पनि पूर्वतयारी सहितको संरचित संयन्त्र आवश्यक छ जुन अहिले हामी सामु छैन।
नेपालका सबै स्थानीय तहमा साइक्याट्रिस्ट वा साइकोलोजिस्ट उपलब्ध हुनु तत्काल सम्भव नहुन सक्छ तर यसको अर्थ मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउन नसकिने भन्ने होइन।
स्थानीय स्वास्थ्यकर्मी, नर्स, सामाजिक कार्यकर्ता, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायका अगुवालाई आधारभूत मानसिक स्वास्थ्य र साइकोलोजिकल फर्स्ट एड सम्बन्धी तालिम दिन सकिन्छ। गम्भीर अवस्थालाई जिल्ला अस्पताल, प्रादेशिक अस्पताल वा विशेषज्ञ केन्द्रमा रिफर गर्ने स्पष्ट प्रणाली बनाउन सकिन्छ। यसका लागि टास्क सेयरिङको अवधारणा प्रभावकारी हुन सक्छ, उदाहरणको लागि विशेषज्ञले आवश्यक परे प्रत्यक्ष सेवा दिने र प्रशिक्षित गैर-विशेषज्ञ स्वास्थ्यकर्मीले आधारभूत सेवा तथा पहिचानमा सहयोग गर्ने, यसो गर्दा मानसिक स्वास्थ्य सेवालाई सहर केन्द्रित नभई समुदायसम्म पुर्याउन सकिन्छ।
विपद् व्यवस्थापनको बजेटमा टेन्ट, खाना, पानी, औषधि र भौतिक पुनर्निर्माणका लागि रकम छुट्याइन्छ तर मानसिक स्वास्थ्यका लागि हाम्रो जस्तो देशहरुमा स्पष्ट बजेट र कार्यक्रम बनाइएको हुँदैन जसले गर्दा मानसिक स्वास्थ्य प्रदान गर्न निकै कठिन भइरहेको हुन्छ।
सरकारले विपद्पछि केही दिनको मनोसामाजिक शिविर सञ्चालन गरेर जिम्मेवारी पूरा भएको मान्नु पर्याप्त हुँदैन। कतिपय मानसिक समस्याको प्रभाव महिनौं वा वर्षौंसम्म रहन सक्छ। त्यसैले तत्कालीन साइकोलोजिकल फर्स्ट एडदेखि दीर्घकालीन उपचार, पुनर्स्थापना र समुदायमा पुनःमिलन तथा एकीकरणसम्मको योजना आवश्यक हुन्छ।
हाम्रो देशमा मानसिक स्वास्थ्य विशेषज्ञको संख्या सीमित छ जसले गर्दा सेवा पुर्याउन कठिन होला तर प्रत्येक व्यक्तिको वरिपरि परिवार र समुदाय हुन्छ, त्यसैले समुदायलाई मानसिक स्वास्थ्यको पहिलो सहयोगी प्रणालीका रूपमा विकास गर्नुपर्छ ।
विपद्ले घर भत्काउन सक्छ, शरीर घाइते बनाउन सक्छ र प्रियजन खोस्न सक्छ तर सही समयमा मानसिक स्वास्थ्यको सहयोग पाएमा मानिस फेरि उभिन सक्छ र देश निर्माणको बाटोमा सहयोगी बन्न सक्छ ।
अन्ततः विपद् व्यवस्थापनको हाम्रो परिभाषा यति मात्र नहोस्, जस्तै :
'कति जनाको उद्धार गरियो?'
यसमा अर्को प्रश्न पनि थपिनुपर्छ जस्तै :
'कति मानिसलाई फेरि सामान्य जीवनमा फर्काउन सकियो?'
किनकि विपद्को घाउ शरीरमा मात्र हुँदैन।
मनमा लागेको घाउको उपचारबिना पुनर्निर्माण पूर्ण हुँदैन, धन्यवाद।