स्याउ चिसो हावापानीमा हुने सबैभन्दा महत्वपूर्ण पतझड (हिउँदमा पात झर्ने) फलफूल बाली हो। वैज्ञानिक वर्गीकरण अनुसार स्याउ रोजेशी परिवार, म्यालोडी उप-परिवार, म्यालस जातिअन्तर्गतको एक फलफूल बाली हो। यसको वानस्पतिक नाम म्यालस डोमेस्टिका राखिएको छ। यो फलमा कुनै पनि भाग खेर जाँदैन।
विश्वमा स्याउ सबैभन्दा बढी चीनमा खेती हुन्छ भने त्यसपछि संयुक्त राष्ट्र अमेरिका, टर्की, पोल्याण्ड, इटाली, भारत, फ्रान्स, चिली, रसिया, अर्जेन्टिना लगायत करिब ६० देशमा खेती गरिन्छ भने विश्वमा नेपालको स्याउ खेतीको ५७ औँ स्थानमा पर्दछ।
स्याउ मानव स्वास्थ्यको लागि अति उपयोगी फल मानिन्छ। त्यसैले एउटा भनाइ छ- ‘दिनमा एउटा स्याउ खाऔँ डाक्टरलाई टाढै राखौँ’ (वान एप्पल अ डे किप द डक्टर अवे) अथवा नियमित एक दाना ताजा स्याउ खाइयो भने चिकित्सकसँग जान पर्दैन।
नेपालका मुख्यगरी ११ जिल्लामा स्याउ खेती हुन्छ। ती जिल्लाहरू क्रमशः जुम्ला, मुस्ताङ, मनाङ, कालिकोट, डोल्पा, मुगु, हुम्ला, बैतडी, सिन्धुपाल्चोक, बझाङ र रसुवा हुन्। त्यसमा पनि सबैभन्दा बढी जुम्लामा ४६ सय हेक्टरमा करिब १५ हजार स्याउ बगैँचा स्थापना भएका छन्।
विगत वर्षहरूमा कृषि विकास कार्यालय जुम्लामा योजना अधिकृत/कृषि अर्थ विज्ञको रूपमा कार्यरत हुँदा मैले सुरुवात गरेको एक घर एक स्याउ बगैँचा स्थापना अभियानअन्तर्गत कार्यक्रम तथा बजेट तर्जुमा गरी थुप्रै बगैँचा स्थापना भई विगत वर्षहरूदेखि नै उत्पादन हुन लागि सकेका छन्।
जुम्लाका सबै कृषक परिवारको कम्तीमा एउटा स्याउ बगैँचा हुनै पर्ने लक्ष्य थियो। सोही लक्ष्यअनुसार आज जुम्लालाई स्याउको राजधानी पनि भन्ने गरेका छन्। अझ भनौँ जुम्ला र स्याउ एक आपसका पर्यायवाची शब्द भएका छन्। नेपालीहरू स्याउ भन्नेबित्तिकै जुम्ला र जुम्ला भन्नेबित्तिकै स्याउ सम्झन्छन्। एक घर एक स्याउ बगैँचा अभियान कार्यक्रम एक सफल र जुम्लाका किसानको आर्थिक मेरुदण्डको रूपमा लिइएको छ।
यो भाद्र महिना विशेष गरी स्याउ उत्पादक किसानको लागि महत्वपूर्ण महिना मानिन्छ। किनभने यो महिना भनेको स्याउ टिप्ने, बजारीकरण गर्ने र भण्डारण गर्ने महिना हो। यो महिना स्याउमय हुन्छ। अथवा भनौँ ‘बारीमा स्याउ, झारीमा स्याउ, गाडीमा स्याउ, जहाजमा स्याउ, झोलामा स्याउ, खोलामा स्याउ, डोकामा स्याउ, पोकामा स्याउ, डालामा स्याउ मालामा स्याउ, खाना पनि स्याउ, दाना पनि स्याउ विचारमा स्याउ समाचारमा स्याउ’ जस्तै हुन्छ अथवा भनौँ यो महिना स्याउको महिना हो।
त्यसैले स्याउ उत्पादक कृषक, स्याउ व्यापारी, स्याउ भण्डारणकर्ता अथवा स्याउसँग चासो राख्ने जोसुकैलाई सहज होस् भन्ने हेतुले यो लेखमा ‘स्याउ फल उत्पादन उप्रान्त अपनाउनुपर्ने प्रविधिहरू’ बारे उल्लेख गरिएको छ।
स्याउ फल उत्पादन उप्रान्त (पोस्ट हार्भेस्ट) भनेको के हो?
उत्पादन स्थलबाट फल टिपिसकेपछि बजारसम्म पुर्याउन अथवा उपभोक्तासम्म पुर्याउन अथवा कोल्ड स्टोरसम्म पुर्याउन गरिने विभिन्न कार्यलाई उत्पादन उप्रान्त (पोस्ट हार्भेस्ट) क्रियाकलाप भनिन्छ। उत्पादन उप्रान्त गरिने उपयुक्त तरिकाले नगरेमा उपभोक्तासम्म पुग्दा फलको तौल र गुणस्तरमा निकै गिरावट आउने मात्र नभएर रोग किरा लगायत कुहिने सड्ने लगायतका कारणले बिक्री गर्न अयोग्य समेत हुन जान्छ। नेपालमा स्याउको उत्पादन उप्रान्त हुने क्षति २० देखि २५ प्रतिशतसम्म भएको तथ्याङ्क छ। यो प्रविधिलाई यहाँ चरणबद्ध रूपले प्रस्तुत गरिएको छ।
फल टिप्ने तरिका र समय
स्याउको जातअनुसार फलको आकार र रङ हेरेर टिप्ने समय थाहा पाउन सकिन्छ। फललाई टाढाको बजारसम्म पुर्याउन पर्ने हो भने ठिक्क परिपक्व अवस्थामा टिप्नु पर्छ। अथवा महिनाको हिसाबले भाद्रको पहिलो हप्तादेखि टिप्न सुरु गर्नु पर्छ। सामान्यतया फलको ६५ प्रतिशत बाहिरी भागको रङ परिवर्तन भएपछि फल टिप्न उपयुक्त हुन्छ।
फलको बाहिरी रङ्गको आधारमा फल टिप्ने समय थाहा पाउन सकिन्छ। रेड तथा रोयल डेलिसियस जातको स्याउ हरियोबाट रातोमा र गोल्डेन डेलिसियस जातको स्याउ हरियोबाट पहेँलो रङ्गमा परिवर्तन हुन्छ। डेलिसियस जातका स्याउमा कुल घुलनशील ठोस पदार्थ अथवा गुलियोपना ११ देखि १४ प्रतिशत ब्रिक्स भएपछि मात्र फल टिप्न उपयुक्त हुन्छ।
ब्रिक्स मापन गर्न रिफेक्टोमिटर प्रयोग गर्नु पर्छ। स्याउलाई हत्केलामा राखी माथितिर अलिकति धकेलेर टिप्नु पर्दछ। स्याउलाई जबरजस्ती टिप्न खोज्दा भिड्नु चुडिन गई स्याउ बिग्रिन सक्छ। त्यसैले भिड्नु सहित टिप्नु पर्दछ। फललाई हातले टिप्न नसक्ने अवस्था भए भर्याङको प्रयोग गर्नु पर्छ। बिहान वा बेलुकाको समयमा टिप्नु पर्छ। फल टिप्दा फल राख्ने ब्यागको (हार्भेस्टिङ ब्याग) प्रयोग गर्नु पर्छ। ब्यागको क्षमता ५ केजीसम्म अट्ने हुनु पर्छ। ब्यागमा टिपेको स्याउलाई क्रेट वा डोकोको फेदमा आधा इन्च फोम वा सफा पराल बिछ्याएर बिस्तारै त्यसैमा खन्याउनु पर्छ।
फलको छनोट
फल ढुवानी गर्नु अघि किराग्रस्त, रोगग्रस्त, चोट लागेका, फुटेका र दाग लागेका तथा बेआकारका फलहरू छुट्ट्याई हटाउन पर्छ। यसले गर्दा फलहरू कम क्षति भई ढुवानी तथा भण्डारणका लागि उपयुक्त आकर्षक एवं गुणस्तरीय भई लामो समयसम्म सञ्चित गर्न सकिन्छ र बजार भाउ बढी र बेमौसमी समयमा बजारमा बिक्री गर्न सकिन्छ।
ग्रेडिङ गर्ने
स्याउको फललाई साइजअनुसार वर्गीकरण गरेमा राम्रो बजारभाउ पाउन सकिन्छ। नेपालमा सरकारी स्तरमा स्याउको वर्गीकरण गरी स्तर निर्धारण र मूल्य निर्धारण कानुनी रूपमा नभए पनि हाललाई स्याउको अधिकतम व्यासको आधारमा निम्नअनुसार वर्गीकरण गरिएको छ।
सुपर साइज: ८ सेन्टिमिटरभन्दा(से.मि) बढी भएको, ठूलो ए साइज: ७.५ से.मि. देखि ८ से.मि. सम्म, मझौला बी साइज: ७ देखि ७.४ से.मि. सम्म, सानो सी साइज: ६.५ से.मि. देखि ६.९ से.मि. सम्म र सी साइज भन्दा सानोलाई प्रशोधन गरी जाम, जेली, साइडर, अचार बनाउन प्रयोग गर्नु पर्छ।
प्याकेजिङ
स्याउको फल ढुवानी गर्न सजिलो पार्न, बाहिरी वातावरणबाट बचाउन, खरिदकर्ताको लागि सुविधा बनाउन र स्याउलाई सुरक्षित साथ उत्पादकदेखि उपभोक्तासम्म पुर्याउन प्याकेजिङ गर्नु पर्दछ। राम्रोसँग प्याकेजिङ नगरिएको स्याउमा भित्री र बाहिरी चोटपटक लागि त्यसको स्वाद, बास्ना र रङ्ग बिग्रन्छ। उपलब्ध प्रविधिको आधारमा नेपालमा स्याउको प्याकेजिङ यस प्रकार सिफारिस गरिएको छ।
स्याउको फललाई प्याकेजिङ गर्नु भन्दा अगाडि २-३ घण्टासम्म तातोपन हटाउन हावा चल्ने शीतल ठाउँमा राख्नु पर्छ। कृषि विकास मन्त्रालयबाट स्वीकृत नर्म्स अनुसार स्याउ फलको ढुवानी गर्दा ५० से.मि. ३० से.मि. २९ से.मि. साइजको ५ पलाईको कोरुगेटेड फाइबर बोर्ड कार्टुन, ४ साइडमा १/१ वटा हावा खेल्ने प्वाल भएको, ४ वटा डेक प्यालेट भएको कार्टुन र डेक प्यालेटसहितको तौल ८०० ग्राम र १८ देखि २० केजीसम्म स्याउ अट्ने क्षमताको कार्टुन प्रयोग गर्न सिफारिस गरेको छ।
प्याकेजिङ गरिसकेपछि स्याउको आकर्षक चित्र, उत्पादन क्षेत्रको नाम, फल टिपेको मिति, प्याक गरेको मिति, जात, कुल तौल, ढुवानीकर्ताको नाम, हेन्डिल विथ केयर लेखेर लेबलिङसहितको प्याकेजिङ हुनु पर्छ। जबकि बाहिर टाँसिएको लेबलिङबाटै खरिदकर्ता तथा उपभोक्ताले सजिलै सबै कुराको जानकारी पाउन सकुन्।
ढुवानी
बोरामा प्याक गरी ढुवानी गर्नु हुँदैन। यसले गर्दा धेरै नोक्सानी हुन्छ। गाडीबाट ढुवानी गर्दा लोड अनलोडमा बढी सावधानी अपनाउनुपर्छ। गाडीको गतिलाई नियन्त्रणमा राखी चलाउनु पर्छ। ढुवानी गर्दा सकेसम्म घाम नलागेको बेला, साँझ, बिहान अथवा राति ढुवानी गर्नु पर्छ। नेपालमा स्याउ उत्पादन हुने क्षेत्र उच्च पहाड तथा दुर्गम स्थानमा रहेको हुँदा मान्छेले बोक्ने र घोडा तथा खच्चरबाट पनि बोक्ने चलन कहीँ कतै अझै पनि छ। हवाईजहाजबाट ढुवानी गरेमा स्याउमा सबैभन्दा कम नोक्सानी भएता पनि सबैभन्दा बढी महँगो हुन जान्छ।
भण्डारण
बजारमा स्याउको माग वर्षभरि हुन्छ। तर स्याउको उत्पादन भदौ र असोजमा मात्र हुन्छ। यही समयमा उत्पादन प्रायः सबै सकिन्छ। बजारको माग पूरा गर्न सकिँदैन। त्यसैले बजारको माग पूरा गर्न मुख्य सिजनमा उत्पादन भएको स्याउलाई बेमौसममा क्रमशः बजारमा पठाउनु पर्ने हुन्छ। उपयुक्त वातावरण भएमा स्याउलाई ४ देखि ८ महिनासम्म भण्डारण गर्न सकिन्छ।
भण्डारण क्षमता स्याउको जातअनुसार पनि फरक पर्दछ। नेपालको सन्दर्भमा स्याउलाई सेलार स्टोर वा कोल्ड स्टोरमा भण्डारण गर्न सकिन्छ। पहाडी क्षेत्रमा बनेका सेलार स्टोर विभिन्न स्थानमा बनेका भए पनि चिस्यान र आद्रता मिलाउन नसक्दा खासै प्रयोगमा आउन सकेका छैनन्।
कोल्ड स्टोर
स्याउ भण्डारणको लागि कोल्ड स्टोर नै सबैभन्दा उत्तम साधन हो। कोल्ड स्टोरमा तापक्रम माइनस १ देखि कम र सापेक्षित आद्रता ८० देखि ९० प्रतिशतसम्म कायम गरी स्याउ फललाई ८ महिनासम्म राख्न सकिन्छ। ठूलो परिमाणमा स्याउ राख्न सकिन्छ। सरकारी निजी साझेदारीमा (पीपीपी मोडलमा) जुम्लाको कैलाश कोल्ड स्टोर, बाँकेको भेरी कोल्ड स्टोर, सुर्खेतको छिन्चु कोल्ड स्टोर तथा अन्य ठूला सहरमा निर्मित कोल्ड स्टोरमा राख्न सकिन्छ।
उत्पादक किसानहरू र स्याउ व्यापारीहरू उत्पादन हुनेबित्तिकै कोल्ड स्टोरमा नराखी सिधै बजारमा बिक्री गर्ने प्रचलनले कोल्ड स्टोरहरूले स्टोरको क्षमताअनुसार स्याउ पाउँदैनन् र बेमौसममा भनेको र मागअनुसार बजारमा स्याउ पाइँदैन।
स्याउका जातहरू
स्याउ चिसो हावापानीमा फल्ने फलफूल भएकोले चिसोको मापनअनुसार स्याउका जातहरू नेपालमा खेती भइरहेका छन्।
बढी चिसो चाहने जातहरू (हिउँद समयमा १००० घण्टाभन्दा बढी चिसो): रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, चकलेटी, स्वीट अम्री, रिचा रेड, जोनाथन, मेकान्डवस, रोमब्यूटी र गाला, फूजी (हाइब्रिड जात) हुन्।
मध्यम चिसो चाहने जातहरू (हिउँद समयमा ६०० देखि १००० घण्टासम्म चिसो): रैडजुन, कट्जा, क्रिप्शन, कक्स ओरेन्ज पिपिन, किङ अफ पिपिन हुन्।
कम चिसो चाहने जातहरू (हिउँद समयमा ३०० देखि ६०० घण्टा चिसो): अन्ना, भेरिड, नियोमी र ट्रपिकल ब्यूटी हुन्।
छिमेकी देशहरू भारत र चीनबाट आयात हुने स्याउसँग नेपालको स्याउले मूल्य र गुणस्तरमा प्रतिस्पर्धा गर्न नसकिने भएकोले मूल्य अभिवृद्धिको (भ्यालु एड) लागि कृषि विकास कार्यालय जुम्लाको पहलमा तत्कालीन जिल्ला विकास समिति जुम्लाको समन्वयमा र ओ.सि.एन. नेपालको प्राविधिक सहयोगमा २०६६ सालमा जुम्ला जिल्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरी स्याउलाई प्राङ्गारिक प्रमाणीकरण गरि सोहीअनुसार रासायनिक विषादी र रासायनिक मल प्रयोगमा प्रतिबन्ध गरिएको छ।
यस कार्यमा पनि मैले योजना अधिकृतको रूपमा उक्त जिल्लामा कार्यरत रहँदा सुरुवात भएको थियो। हाल प्राङ्गारिक प्रमाणीकरण नभए पनि जुम्लाको कृषिजन्य उत्पादनले प्राङ्गारिक पहिचान कायम गरेको छ र नेपालका बजारमा उच्च माग रहेको छ।

(तस्बिर: जुम्लाको प्राङ्गारिक स्याउको बजारीकरणको लोगो।)
(लेखक वरिष्ठ कृषि अर्थ विज्ञ हुन्।)