एक ह्वाट्सएप ग्रुपमा रगत आवश्यक भएको सूचना देखेपछि म विगत केही वर्षदेखि स्वयंसेवकका रूपमा रगत व्यवस्थापन क्षेत्रमा सक्रिय रहेको कारण तत्काल सहयोग गर्न इच्छुक भएँ। मैले उक्त सन्देशको जवाफ दिँदै ‘इनबक्स’ गर्न सुझाव दिएँ।
मैले नजिकको रक्तसञ्चार केन्द्रमा रगत उपलब्ध छ कि छैन भनेर बुझ्न अनुरोध गरेँ। यदि त्यहाँ रगत उपलब्ध नभएमा म रक्तदाताको सम्पर्क नम्बर उपलब्ध गराउन सक्ने जानकारी पनि दिएँ, ताकि आवश्यक व्यक्तिले तत्काल सहयोग पाउन सकोस्।
केही समयपछि ‘रक्तदाताले रक्तदान गर्नुभयो, तपाईंलाई धेरै धन्यवाद दाइ’ भन्ने सन्देश प्राप्त भयो। त्यो सन्देश देखेपछि म केही बेर सोचमा परेँ र लामो समयसम्म त्यसलाई हेरिरहेँ।
केही समयअघि ‘सरोज जी’ भनेर सम्बोधन गर्ने व्यक्तिले अहिले ‘दाइ’ भनेर सम्बोधन गरेको देख्दा मलाई केही अनौठो अनुभव भयो। समय र सन्दर्भ परिवर्तनसँगै सम्बोधन शैली पनि परिवर्तन भएको देखिन्थ्यो, जसले मनमा विभिन्न प्रश्नहरू उठायो।
त्यस्तै अर्को घटना पनि सम्झिन्छु।
म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमार्फत उडानका लागि समयमै पुगेको थिएँ। बोर्डिङ पास लिएर अघि बढ्ने क्रममा एक जना चिनजानका साथी भेटिए। सामान्यतया आन्तरिक उडानहरू कहिलेकाहीँ ढिला हुने भएकाले हामी केही समय कुराकानीमा व्यस्त भयौँ।
त्यही क्रममा साथीको अर्को साथी पनि त्यहाँ आउनुभयो। उहाँसँग परिचय भएपछि हामीबिच सामान्य परिचयात्मक कुराकानी सुरु भयो। हाम्रो गन्तव्य एउटै भएकाले यात्रा अवधिभर हामीले सँगै बसेर कुराकानी गर्यौं। यात्रा सहज र रमाइलो हुँदै गयो।
छुटिने बेला उहाँले ‘दाइ, भेटेर खुसी लाग्यो, फेरि भेटौँला है दाइ’ भन्नुभयो। मैले पनि ‘पक्कै, फेरि भेटौँला भाइ’ भन्दै आफ्नै गन्तव्यतर्फ प्रस्थान गरेँ।
त्यो दिन विमानस्थलमा करिब दुई घण्टा जति हामीबिच कुराकानी भएको थियो। हाम्रो संवादको सुरुवातमा भने औपचारिक रूपमा ‘सर’ वा नाम प्रयोग गरिएको थियो, तर अन्त्यतिर पुग्दा ‘दाइ’ भनेर सम्बोधन हुनु मलाई केही अनौठो लाग्यो।
यस्ता अनुभवहरू मेरो लागि नयाँ भने होइनन्। समाजमा धेरै पटक देखिन्छ कि नचिनेको वा कम परिचय भएको व्यक्तिलाई पनि तुरुन्तै दाइ, दादा, दाजु जस्ता सम्बोधन प्रयोग गरिन्छ। कहिलेकाहीँ यसले आत्मीयता देखाउने उद्देश्य राखेको जस्तो लागे पनि यसको वास्तविक अर्थ बुझ्न कठिन हुन्छ।
सामाजिक सञ्जालमा पनि यस्तै प्रवृत्ति देखिन्छ। अपरिचित व्यक्तिबाट पहिलो सन्देशमै ‘हेलो दाइ, दाजु, हाइ दादा’ जस्ता सम्बोधन आउने गर्छन्। यसले सम्बन्धको प्रारम्भिक स्तरमै अनावश्यक आत्मीयता सिर्जना गरेको जस्तो अनुभूति हुन्छ।
सम्बोधनका यस्ता शैलीहरूले सम्बन्धको स्वरूप स्पष्ट नभईकनै भावनात्मक नजिकपन देखाउने प्रयास गर्छन्। तर यस्तो नजिकपन व्यवहारमा कति टिकाउ हुन्छ भन्ने प्रश्न उठ्छ। सम्बन्धको नाम दिनु सजिलो भए पनि त्यसलाई व्यवहारमा निभाउनु त्यति सजिलो हुँदैन भन्ने कुरा अनुभवबाट बुझ्न सकिन्छ।
कतिपय अवस्थामा यस्ता सम्बोधनले गलत बुझाइ पनि सिर्जना गर्न सक्छ। नचिनेको व्यक्तिसँग ‘दाइ’ वा ‘दादा’ जस्ता शब्द प्रयोग गर्दा सम्बन्धको स्तरबारे अस्पष्टता उत्पन्न हुन सक्छ। यसले कहिलेकाहीँ गलत अपेक्षा वा गलत विश्वासको आधार पनि तयार गर्न सक्छ।
मेरो विचारमा चिनेको वा नचिनेको अवस्थामा ‘सर’, ‘ज्यू’ जस्ता औपचारिक र सम्मानजनक शब्द प्रयोग गर्नु बढी उपयुक्त हुन्छ। यसले सम्बन्धलाई स्पष्ट राख्छ र अनावश्यक भ्रम सिर्जना हुन दिँदैन। सम्बन्धको नाम मात्र जोड्नु भन्दा त्यसको व्यवहारिक जिम्मेवारी बुझ्नु अझ महत्त्वपूर्ण हुन्छ।
‘दाइ’, ‘दादा’, ‘दाजु’ जस्ता शब्दहरू प्रयोग गर्दा आत्मीयता र सम्मानको भावना झल्किनुपर्ने हो। तर वास्तविक व्यवहारमा त्यो सधैँ देखिँदैन, जसले कहिलेकाहीँ असहजता पनि उत्पन्न गर्न सक्छ।
यस विषयमा विभिन्न मानिसहरूको फरक धारणा हुन सक्छ र म सबै विचारलाई सम्मानपूर्वक स्वीकार गर्छु। मेरो उद्देश्य कुनै आलोचना गर्नु होइन, बरु देखिएका अनुभवहरू साझा गर्नु मात्र हो।
म व्यक्तिगत रूपमा सबै मानवप्रति सम्मान र आदर राख्छु। मेरो लागि सबै व्यक्ति समान रूपमा सम्मानयोग्य छन्। तर कुनै एक व्यक्तिको गलत व्यवहारका आधारमा सबैलाई एउटै दृष्टिले हेर्नु उचित हुँदैन भन्ने मेरो धारणा हो।
समाजमा अहिले सम्बन्ध बनाउने शैली परिवर्तन हुँदै गएको देखिन्छ। विशेष गरी सामाजिक सञ्जालको प्रयोग बढेसँगै बनावटी वा छिटो बनाइएका सम्बन्धहरू पनि बढेका छन्। यसले कहिलेकाहीँ सम्बन्धको गहिराइभन्दा सतहीपन बढी देखाउने अवस्था सिर्जना गरेको छ।
अन्ततः, सम्बन्ध जतिसुकै सजिलो रूपमा बनाइए पनि त्यसलाई व्यवहारमा निभाउन सक्ने जिम्मेवारी र समझदारी आवश्यक हुन्छ भन्ने कुरा महत्त्वपूर्ण छ।