‘+२ सकेपछि म स्नातक तह अध्ययनका लागि एउटा नयाँ कलेजमा भर्ना भएँ। स्कुलदेखि सँगै पढेका पुराना साथीहरू सबै छुटिसकेका थिए। कलेजको पहिलो दिन मनमा केही सङ्कोच, केही उत्सुकता र यस्तै अन्य थुप्रै भावनाहरूको अनौठो मिश्रण थियो।
म कलेजको त्यो अपरिचित भीडमा आफ्नो त्यही पुरानो र भरपर्दो साथी ‘ह्वाइट केन’ (सेतो छडी) को साथमा पुगेँ। सोध्दै र खोज्दै म आफ्नो कक्षाकोठासम्म आइपुगेँ। कक्षा सुरु हुन अझै केही समय बाँकी थियो। कोठाभित्र जम्मा १-२ जना मात्र विद्यार्थी उपस्थित थिए। बाँकी साथीहरू क्लासबाहिरै बसेर एकापसमा चिनजान र गफगाफ गरिरहेका प्रतीत हुन्थे।
म आफ्नै सुरमा सरासर क्लासभित्र छिरेँ। अग्रपङ्क्तिको पहिलो बेन्चमा बसेँ र आफ्नो साथी ‘ह्वाइट केन’ लाई फोल्ड गरी डेस्कमा राखेर कक्षा सुरु हुने पर्खाइमा बसिरहेँ। बिस्तारै १-२ जना गर्दै विद्यार्थीहरू भित्र छिर्ने क्रम बढ्यो। हाँसो, गफगाफ र साथीभाइका हल्लाहरूले कलेजको त्यो कोठा भरिँदै गयो। अन्तिममा कक्षा सुरु हुनै लाग्दा विद्यार्थीहरूको एउटा ठुलो हुल नै ढोकाबाट भित्र पस्यो। पहिलो बेन्चको एक छेउमा बसिरहेको म, नयाँ साथीहरूलाई बस्न सजिलो होस् र ठाउँ पुगोस् भन्ने मनसायले अझै कुनापट्टि सरेर बसेँ।
पछिल्ला बेन्चहरू बिस्तारै भरिँदै गए। तर अचम्म! म बसेको पहिलो बेन्च भने पुरै खाली नै रहिरह्यो। पछाडि सिट नपाएर हतारिएका साथीहरू म बसेको बेन्चको त्यो खाली ठाउँमा आउनै चाहेनन्। पछाडिबाट साथीहरूका कल्याङकुलुङ आवाजहरू मेरो कानमा ठोक्किन थाले:
‘अलि उता सर न यार, मलाई पनि बस्न दे!’
‘ह्या, ठाउँ नै छैन, कहाँ अट्नु!’
‘ल ल आइजा, कोचिएर भए पनि बस्’
पछिल्ला बेन्चहरूमा ठाउँ नभएर साथीहरू एकापसमा खाँदिएर, कोचाकोच गरेर बसिरहेका थिए। तर म बसेको अगाडिको बेन्च भने विशाल मरुभूमि जस्तै पुरै सुख्खा र खाली भएझै मनले महसुस गर्यो, साथीहरूका ती वार्तालाप र मेरो छेउको त्यो रित्तो बेन्चले मेरो मानसपटलमा एउटा कहिल्यै नमेटिने नमिठो प्रश्न खडा गरिदियो, जसले मन नमज्जाले घोच्यो।
सर, मलाई त्यहाँ कसैले सोझै विभेद गरेको पनि होइन, न त कसैले होच्याएर वा नराम्रो शब्द नै बोलेको हो। तर मैले त्यो दिन जीवनकै सबैभन्दा ठुलो तर हेर्दा एकदमै सूक्ष्म भेदभावमा परेको महसुस गरेँ। यो कस्तो खालको विभेद हो र यस्ता विषयलाई हामीले कसरी सामना गर्ने होला?’
पछिल्लो समय मैले सञ्चालन गरेको अपाङ्गता र मानसिक स्वास्थ्य सम्बन्धी मनोबिमर्स तथा छलफल कार्यक्रममा एकजना सहभागीले साझाँ गरेको अनुभव र सोधेको प्रश्नले हलमा उपस्थित सबैको मनको पत्र-पत्र स्पर्श गर्यो र हल पुरै सुनसान भयो। डेस्कमा ढल्किएको ह्वाइट केनलाई दृष्टिविहीनताको प्रतीक मात्र बनाएर उसको उपस्थितिलाई नै कलेजको माहौलबाट मानसिक रूपमा अलग्याइदिने यो व्यवहारको भित्री पाटोलाई उहाँहरू सामु खोतल्दै मैले सम्झाउन सुरु गरेँ।
तपाईंले कलेजको पहिलो दिन जुन अदृश्य पर्खालको सामना गर्नुभयो, त्यसलाई समाजशास्त्र र मनोविज्ञानको भाषामा ‘माइक्रो-अग्रेसन’ अर्थात् सोचको गहिराइमा लुकेको सूक्ष्म विभेद भनिन्छ। यो शब्द सुन्दा अलि प्राविधिक र गाह्रो लाग्न सक्छ तर यसको अर्थ एकदमै सरल छ। यो भनेको समाजमा दैनिक रूपमा गरिने त्यस्ता सूक्ष्म, अप्रत्यक्ष र कतिपय अवस्थामा अन्जानमा हुने टिप्पणी र व्यवहारहरू हुन्, जसले अपाङ्गता भएका वा कुनै पनि सीमान्तकृत समूहका व्यक्तिहरूलाई उनीहरूको आत्मसम्मानमा निरन्तर चोट पुर्याइरहेका हुन्छन्।
मैले हलको माहौललाई अझ स्पष्ट पार्न कुरालाई अलि गहिराइमा लैजाने प्रयास गरेँ— यो विभेदको सबैभन्दा जटिल पाटो के हो भने, यसमा कुनै ठुलो भौतिक प्रहार हुँदैन र कसैले प्रत्यक्ष रूपमा गालीगलौज पनि गर्दैन। त्यसैले त यो झन् बढी खतरनाक र मानसिक रूपमा चुनौतीपूर्ण हुन्छ।
कलेजका तपाईंका ती साथीहरूले तपाईंलाई देख्ने बित्तिकै नराम्रो शब्द प्रयोग गरेर जिस्काएका वा हेपेका पक्कै होइनन्। उनीहरू त केवल पछाडिको बेन्चमा बस्न गएका हुन्। उनीहरूलाई लाग्न सक्छ कि यो उनीहरूको व्यक्तिगत रोजाइ हो र उनीहरूले कुनै गल्ती गरेका छैनन्। तर उनीहरूले अन्जानमै देखाएको यो सामूहिक दूरी वास्तवमा उनीहरूको सचेत मनको निर्णय होइन। यो त उनीहरूको सोचको गहिराइमा वर्षौँदेखि जमेर बसेको सामाजिक पूर्वाग्रहबाट निर्देशित छ, जुन हाम्रो समाजले उनीहरूको अवचेतन मनमा सानैदेखि भरिदिएको छ।
हाम्रो नेपाली समाजको संरचना र संस्कारलाई नियाल्ने हो भने, त्यहाँ अपाङ्गता भएका व्यक्तिहरूलाई सधैँ 'फरक', 'बिचरा' वा 'आफूभन्दा कमजोर' सोच्ने एउटा दूषित दृष्टिकोण लुकेको हुन्छ। जब समाजले कसैलाई बराबरीको नागरिकको रूपमा नहेरेर सधैँ दयाको दृष्टिले मात्र हेर्न सिकाउँछ, तब त्यही सोच अचेतन रूपमा कलेजका ती विद्यार्थीहरूको व्यवहारमा प्रकट हुन पुग्छ उनीहरूलाई तपाईँसँग कसरी व्यवहार गर्ने, कसरी संवाद सुरु गर्ने भन्ने कुराको जानकारी नै थिएन उनीहरूको त्यही मानसिक असहजताका कारण उनीहरू पछाडिको बेन्चमा कोचाकोच गरेर बस्न तयार भए, तर अगाडि आउने हिम्मत गर्न सकेनन्। यो व्यवहारले प्रत्यक्ष रूपमा केही नबोले पनि विनाशब्द एउटै क्रूर सन्देश दिइरहेको हुन्छ— तिमी हामीभन्दा फरक हौ।
मनोविमर्शको क्षेत्रमा काम गर्दा मैले के पाएको छु भने, यो सूक्ष्म विभेद यति अस्पष्ट र छाया जस्तो हुन्छ कि भोग्ने व्यक्ति आफैँ ठुलो अलमल र मानसिक द्वन्द्वमा पर्छ। प्रत्यक्ष विभेद हुँदा रिस उठ्नु वा त्यसको प्रतिवाद गर्नु स्वाभाविक हुन्छ। तर जब कसैले तपाईंलाई नराम्रो भन्दैन तर व्यवहारबाट एक्लो पारिदिन्छ, तब तपाईं आफ्नै भावनामाथि शङ्का गर्न थाल्नुहुन्छ। तपाईंलाई लाग्न सक्छ— ‘कहीँ मै बढी संवेदनशील भएको त होइन? उनीहरूले केही नसोची पछाडि बसेका होलान्, मैले मात्र यसलाई ठुलो मुद्दा बनाएको हुँ कि!’
यही अलमलका कारण अपाङ्गता भएका व्यक्तिहरू आफ्नो चित्तदुखाइ र आक्रोशलाई बाहिर व्यक्त गर्न सक्दैनन् र भित्रभित्रै गुम्सिन बाध्य हुन्छन्। दया र सहानुभूति देखाउनु तर बराबरीको अस्तित्व र सहजता स्वीकार नगर्नु नै हाम्रो समाजको सोचको गहिराइमा लुकेको सबैभन्दा ठुलो बौद्धिक कमजोरी हो, जसले कालान्तरमा व्यक्तिको मानसिक स्वास्थ्यमा डिप्रेसन वा एङ्जायटी जस्ता गम्भीर असरहरू पुर्याउँछ।
मैले अगाडि थप्दै भनेँ— ‘हामी यहाँ जति पनि उपस्थित छौँ, हामीमध्ये सबैजसोले जीवनको कुनै न कुनै मोडमा यो कुरा पक्कै भोगेका होला कि समाजका मानिसहरूले हाम्रो विभिन्न विषयमा प्रशंसा त गर्छन्, तर विडम्बना! उनीहरूले त्यो प्रशंसामा अपाङ्गतालाई जोडिदिन्छन् र अन्तिममा 'बिचरा' र 'कठै' भनिदिन्छन्। बाहिरबाट हेर्दा उनीहरूले हाम्रो क्षमताको तारिफ गरे जस्तो, हामीलाई माया देखाए जस्तो वा सहानुभूति प्रकट गरे जस्तो देखिन्छ। तर सहानुभूतिको त्यो सुन्दर आवरणभित्र एउटा निकै क्रूर अपमान लुकेको हुन्छ, जसलाई मनोविज्ञानको भाषामा 'माइक्रो-इन्सल्ट' भनिन्छ। यो यस्तो सूक्ष्म प्रहार हो, जसले हामीलाई समाजको बराबर र सक्षम नागरिक मान्नुको सट्टा सधैँ केवल एउटा 'दयाको पात्र' को कित्तामा लगेर उभ्याइदिन्छ। यसले हाम्रो पुरै व्यक्तित्वलाई संकुचित पारिदिन्छ।’
मैले यति भनिसक्दा हलमा एउटा गम्भीर र आत्मीय सन्नाटा छायो। सबैजना आफ्ना तीता अतीतका पानाहरू पल्टाउँदै हुनुहुन्छ भन्ने कुरा महसुस भइरहेको थियो। ठ्याक्कै त्यही बेला हलको बीचतिरबाट एकजना सहभागी बहिनी जुरुक्क उठ्नुभयो। र उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो—
‘सर, तपाईंले भन्नुभएको यो कुरा मेरो जीवनको त एउटा अङ्ग जस्तै बनिसकेको छ। मैले पनि यस्तो कुरा सधैँजसो अनुभव गरिरहेकी छु। म बस्ने टोलमा एकजना हजुरआमा हुनुहुन्छ, जसले मलाई बाटोमा वा चोकमा भेट्दाजसो सधैँ एउटै कुरा भनिरहनुहुन्छ। म नजिकै पुग्नासाथ उहाँ मेरो गाला सुमसुम्याउनुहुन्छ र लामो सुस्केरा हाल्दै भन्नुहुन्छ— ‘कस्ती राम्री, सलक्क परेकी, तर के गर्ने आँखा नदेखेसी! बिचरा कठै! भगवानले पनि कतिसम्म ठग्न सकेका!’ सर, जब-जब म बाहिर निस्किन्छु र उहाँको यो संवाद मेरो कानमा ठोक्किन्छ, मलाई लाग्छ म कलेज पढ्ने, आफ्ना सबै निर्णय आफैँ लिन सक्ने एउटा स्वतन्त्र मान्छे नै होइन। समाजले मेरो रूप, मेरो पढाइ, र मेरो व्यक्तित्वलाई एकातिर पन्छाएर मलाई केवल एउटा ‘भगवानले ठगेको बिचरा’ को ट्याग भिराइदिन्छ।’
उहाँको आवाजमा लुकेको त्यो मानसिक चोटलाई स्वीकार गर्दै मैले उहाँलाई बस्न आग्रह गरेँ र अगाडि थप्दै भनेँ— ‘हेर्नुस् त, ती हजुरआमाले उहाँलाई बाटोमा रोकेर कुनै दुर्व्यवहार वा गाली गर्नुभएको होइन। उहाँको मनमा त साँच्चिकै एउटा आमाको जस्तै दया र सहानुभूति नै थियो होला। तर ती हजुरआमाको सोचको गहिराई कति दूषित र परम्परागत छ भने, उहाँको नजरमा दृष्टिविहीन हुनु भनेको जीवन नै बर्बाद हुनु र ‘भगवानबाट ठगिनु’ मात्र हो।
उहाँको अवचेतन मनले के मान्छ भने, आँखा नदेख्ने व्यक्ति त सधैँ कसैको दया र कृपामा मात्र बाँच्नुपर्छ। बाहिरबाट हेर्दा शिष्ट र मायालु देखिने तर भित्री रूपमा व्यक्तिको आत्मसम्मानलाई पुरै खिया लगाइदिने यस्तो सूक्ष्म व्यवहार नै ‘माइक्रो-इन्सल्ट’ हो। यसले सहानुभूतिको सुन्दर आवरणभित्र एउटा क्रूर अपमान लुकाएर राखेको हुन्छ, जसले हाम्रो दैनिक जीवनलाई एउटा मानसिक बोझ बनाइदिन्छ।’
मैले हलमा व्याप्त त्यो गम्भीरतालाई सम्बोधन गर्दै थपेँ— यी यस्ता घटनाहरू हाम्रो नेपाली समाजमा यति धेरै संस्थागत भइसकेका छन् कि मानिसहरूलाई लाग्छ, उनीहरूले ‘बिचरा’ वा ‘कठै’ भनिदिँदा अपाङ्गता भएका व्यक्तिहरूलाई ठुलो मद्दत वा सान्त्वना मिलिरहेको छ। तर वास्तविकता यसको ठिक उल्टो छ। यो ‘जानि-नजानि’ गरिने व्यवहार झन् बढी घातक हुन्छ। यसले अपाङ्गता भएका व्यक्तिहरूलाई सधैँ समाजको मूलधारभन्दा बाहिर राख्छ। यस प्रकारको सामाजिक दृष्टिकोणले व्यक्तिको क्षमतालाई कहिल्यै फस्टाउन दिँदैन। जब समाजले हाम्रा इच्छा, हाम्रा गल्तीहरू र हाम्रा सामान्य क्षमताहरूलाई स्वाभाविक रूपमा स्वीकार गर्दैन, तब त्यो व्यवहारले हाम्रो मानसिक स्वास्थ्यमा गहिरो र अदृश्य चोट पुर्याउँछ।
छलफलको क्रमले हलमा उपस्थित अन्य साथीहरूको मनमा गुम्सिएर बसेका तीता स्मृतिहरूलाई पनि अचानक ब्युँझाइदिएको प्रतीत हुन्थ्यो। यसपछि त लगातार सबैजसो सहभागीहरूले एक-एक गर्दै आ-आफ्ना अनुभवहरू साझा गर्न थाल्नुभयो। हलमा अनुभवको एउटा यस्तो शृङ्खला सुरु भयो, जहाँ हरेक कथाले समाजको पढेलेखेको र प्रतिष्ठित भनिने वर्गको सोचाइको गहिराइलाई नाङ्गो पारिरहेको थियो।
त्यसै क्रममा हलको अघिल्लो लहरमा बस्नुभएका एकजना भाइ उठ्नुभयो र उहाँले आफ्नो चित्त दुखाइ पोख्दै भन्नुभयो— ‘सर, समाजका सामान्य मानिसहरूको त के कुरा गर्नु, डाक्टर जस्तो पढेलेखेको र समाजको सबैभन्दा प्रतिष्ठित पेसाकर्मीको सोचाइको गहिराई त कति सङ्कुचित छ भन्ने कुरा मैले अस्पताल जाँदा अनुभव गरेको छु। केही समयअघि म बिरामी भएर जाँच गराउन अस्पताल गएको थिएँ। ओपिडी कोठाभित्र छिरेर म डाक्टरको अगाडिको कुर्सीमा बसेँ, मेरो छेउमा मेरो साथी पनि थियो। तर त्यो डाक्टरले म बिरामी मान्छे तिर हेर्दै नहेरी, मसँग कुनै संवाद नै नगरी मसँगै गएको साथीलाई सोध्यो— ‘उहाँलाई के भएको हो?’ म आफैँ बोल्न सक्थेँ, आफ्नो रोग र दुःख भन्न सक्थेँ। तर मेरो हातको ह्वाइट केन देख्ने बित्तिकै डाक्टरले मलाई एउटा जीवित वस्तु जस्तो मात्र देख्यो, मेरो आफ्नै आवाज र अस्तित्वलाई नै पुरै खारेज गरिदियो।’
उहाँको कुरा नसकिँदै हलको अर्को छेउबाट अर्का एकजना सहभागीले उहाँको कुरामा सही थप्दै तत्कालै आफ्नो अनुभव थप्नुभयो— ‘हो नि सर! मेरो पनि अस्पतालमै ठ्याक्कै यस्तै एउटा अनुभव छ। एकचोटि घरमा मेरो बहिनी बिरामी भएको बेला मैले उसलाई उपचारका लागि अस्पताल लिएर गएको थिएँ। हामी डाक्टरको कोठामा गएर बस्नासाथ, मेरो हातमा सेतो छडी (ह्वाइट केन) देखेर हो या किन हो, डाक्टरले बिरामी भएर मलिन अनुहार लगाएकी मेरी बहिनीसँग सोझै सोध्नुभयो— ‘उहाँलाई के भयो?’ डाक्टरले त मलाई नै बिरामी ठानेछन्! त्यसपछि मेरी बहिनीले निकै अप्ठ्यारो मान्दै भन्नु परेको थियो— ‘होइन डाक्टर साब, बिरामी त म हो, उहाँ त मलाई लिएर आउनुभएको हो!’
यी दुवै घटनाले हलमा एकछिन निकै भारी सन्नाटा छायो। पढेलेखेका र समाजलाई मार्गनिर्देशन गर्ने भनिने डाक्टरहरूले समेत ह्वाइट केन देख्ने बित्तिकै व्यक्तिको मगज, उसको स्वतन्त्र पहिचान र निर्णय क्षमतालाई कसरी शून्य बनाइदिँदा रहेछन् भन्ने कुरा उहाँहरूका यी अनुभवले स्पष्ट पारेका थिए। मैले सहभागीहरूको यो सामूहिक पीडालाई महसुस गर्दै र उहाँहरूलाई ढाडस दिँदै अगाडि भन्न सुरु गरेँ— ‘तपाईंहरूले अस्पतालका ओपिडी कोठाहरूमा जे भोग्नुभयो र कलेजको पहिलो दिन त्यो खाली बेन्चमा जे महसुस भयो, त्यसलाई मनोविज्ञानको भाषामा ‘माइक्रो-इन्भ्यालिडेशन’ भनिन्छ। यो सूक्ष्म विभेदको यस्तो क्रूर र दोस्रो पत्र हो, जहाँ समाजले अपाङ्गता भएका व्यक्तिको भावना, उसको क्षमता, र उसको उपस्थितिलाई नै पूर्ण रूपमा ‘अदृश्य’ बनाइदिन्छ, अर्थात् उसको अस्तित्वलाई नै खारेज गरिदिन्छ।’
हलको अन्तिम लहरबाट अर्का एकजना सहभागी भाइ जुरुक्क उठ्नुभयो। उहाँको आवाजमा समाजको अज्ञानताप्रति एउटा गम्भीर गुनासो र चित्तदुखाइ स्पष्ट सुनिन्थ्यो।
उहाँले थप्दै भन्नुभयो— ‘सर, तपाईंले भन्नुभएको कुरा अक्षरशः सत्य हो। हामीले कम्प्युटर वा मोबाइल चलाउँदा पनि यो समाजले हामीलाई कुनै अनौठो ग्रहबाट आएको जीवलाई जस्तो गरी हेर्छ। हामी स्क्रिन रिडर सफ्टवेयरको मद्दतले अरू सरह नै प्रविधि चलाउँछौँ, म्यासेज लेख्छौँ, अनलाइन सपिङ गर्छौँ। तर कसैले हामीलाई फोन वा कम्प्युटर चलाएको देख्यो भने उनीहरू यस्तो अचम्म मान्छन् उनीहरू भन्न थाल्छन्— ‘अहो! आँखा नदेखेर पनि यसले कसरी मोबाइल चलाएको होला? अचम्मै छ!’
उहाँ यतिमै रोकिनुभएन। उहाँले हलमा उपस्थित सबै दृष्टिविहीन साथीहरूको सामूहिक भावनालाई समेट्दै म तिर एउटा निकै तार्किक र गम्भीर प्रश्न सोध्नुभयो— ‘सर, हामी सबै अपाङ्गता भएका व्यक्तिहरूले यस्ता अनुभव त कति गरेका छौँ कति! यहाँ हामी जति पनि छौँ, सबैका आ-आफ्ना भोगाइहरू छन्। कसैको कलेजमा होला, कसैको बाटोमा होला, त कसैको अस्पतालमा। हाम्रो परिवेश र घटनाहरू फरक-फरक भए तापनि हामी सबैको अनुभूति भने एउटै र उस्तै छ। सबैको मनमा लाग्ने चोट उही हो। कस्तो अचम्मको कुरा छ भने, हामीलाई कसैले भौतिक रूपमा जानाजानी विभेद गरेको पनि छैन, समाजमा कसैले गालीगलौज वा होच्याएर बोलेको पनि छैन, उल्टो उनीहरूले त हाम्रो प्रशंसा नै गरिरहेका छन्। यस्तो अन्योलपूर्ण अवस्थामा हामी आफैँले यसलाई कसरी ‘डिल’ गर्ने (सामना गर्ने)? र यो समाजको दूषित सोच बदल्नका लागि हामी र राज्यका तर्फबाट के गर्न सकिएला त?’
उहाँको यो प्रश्नले हलमा छलफलको विमर्शलाई एउटा नयाँ र अन्तिम मोडमा पुर्याइदियो।
‘तपाईंले एकदमै जायज र विमर्शको सबैभन्दा मुख्य चुरो कुरा उठाउनुभयो। परिवेश फरक भए पनि हामी सबैको भित्री अनुभूति उस्तै हुनुको कारण नै यही हो कि हामी एउटै सामाजिक संरचनाको दूषित सोचको शिकार भइरहेका छौँ। यो अवस्था यस्तो हो, जहाँ अपराधी कोही देखिँदैन तर पीडित हरेक पाइलामा तड्पिरहेको हुन्छ। कसैले प्रत्यक्ष रूपमा अपमान नगरेकै कारण हामी अलमलमा पर्छौँ र प्रतिवाद गर्न सक्दैनौँ। तर एक मनोविमर्शकर्ता र यही समुदायको हिस्सा हुनुको नाताले म तपाईंहरूलाई भन्छु— यो अन्योलबाट निस्किएर यसलाई सामना गर्ने र समाजलाई सुधार्ने उपायहरू पनि हामीसँगै छन्।’
जब शत्रु प्रत्यक्ष अगाडि हुँदैन, तब लडाइँ झन् बढी गाह्रो हुन्छ। समाजले गाली गरेको भए हामी कानुनी रूपमा लड्न सक्थ्यौँ, तर यहाँ त माया र अज्ञानताको आवरणमा हाम्रो आत्मसम्मानलाई बिस्तारै रेटिँदै छ। एक मनोविमर्शकर्ताको रूपमा म तपाईंहरूलाई भन्छु— यो अन्योलपूर्ण अवस्थासँग ‘डिल’ गर्न र समाजको यो दूषित सोचलाई बदल्न हामीले दुईवटा तहमा काम गर्नुपर्छ। पहिलो, हाम्रो आफ्नै मानसिक स्वास्थ्यलाई जोगाउने व्यक्तिगत तह र दोस्रो, समाज र राज्यको दृष्टिकोण बदल्ने सामूहिक तह।’
मैले हलमा उपस्थित साथीहरूलाई आफ्नो आन्तरिक शक्ति महसुस गराउने उद्देश्यले अगाडि भनेँ— ‘व्यक्तिगत तहमा हामीले गर्नुपर्ने सबैभन्दा पहिलो काम भनेको यो सूक्ष्म विभेदलाई चिन्नु र यसलाई सही नाम दिनु हो। जबसम्म हामीलाई ‘मै बढी संवेदनशील भएको हुँ कि’ भन्ने अलमल रहिरहन्छ, तबसम्म हामी भित्रभित्रै जलिरहन्छौँ। हामीले स्पष्ट रूपमा बुझ्नुपर्छ कि कलेजको त्यो खाली बेन्च, अस्पतालको त्यो डाक्टरको उपेक्षा वा बाटोमा सुनिने ‘बिचरा’ शब्द— यी कुनै पनि हाम्रो कमजोरीका कारण भएका होइनन्। यो त समाजको सोचको अपाङ्गता हो। जब हामी यो कुरा मनैदेखि स्वीकार गर्छौँ, तब हाम्रो आत्मसम्मान सुरक्षित हुन्छ र हीनताबोधको ठाउँमा एउटा आत्मबल पैदा हुन्छ। हामीले आफ्नो कमजोरी होइन, बरु विभेद गर्ने व्यक्तिको अज्ञानतालाई दोष दिन सिक्नुपर्छ।’
यससँगै सामना गर्ने दोस्रो महत्त्वपूर्ण कडी भनेको दृढताका साथ आफ्ना सीमाहरू तोक्नु हो। समाजले ‘बिचरा’ भन्दा वा हाम्रो क्षमतामा अचम्म मान्दा हामीले चुपचाप सहेर बस्नु हुँदैन। हामीले निकै शिष्ट तर कडा भाषामा आफ्नो प्रतिक्रिया जनाउन सक्नुपर्छ। उदाहरणका लागि, जब अस्पतालमा डाक्टरले तपाईंलाई छाडेर तपाईँसँग गएको साथीसँग कुरा गर्छ, त्यति बेला साथी बोल्नुभन्दा अगाडि नै तपाईं आफैँले भन्न सक्नुपर्छ— ‘डाक्टर साब, बिरामी म हुँ, म आफैँ बोल्न र आफ्नो समस्या भन्न सक्छु, कृपया मसँग कुरा गर्नुस्।’
जब रेस्टुरेन्टको वेटरले अर्को मान्छेसँग अर्डर माग्छ, त्यति बेला भन्नुस्— ‘मेनु म आफैँ हेर्दै छु, अर्डर म आफैँ दिन्छु।’ सुरुमा यसो भन्दा समाजलाई अलि अप्ठ्यारो लाग्न सक्छ, तर यसले उनीहरूको त्यो अचेतन मनमा रहेको दूषित सोचमा एउटा ठुलो धक्का दिन्छ र उनीहरूलाई आफ्नो व्यवहार सुधार्न बाध्य पार्छ।
अब कुरा गरौँ समाज र राज्यको सोच कसरी बदल्ने भन्ने सामूहिक तहको। अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय महासंघ र संघसंस्थाहरूले पनि अब भौतिक पहुँच सँगसँगै यो 'मनोवैज्ञानिक पहुँच' र चेतनाका लागि ठुलो अभियान चलाउनु पर्ने बेला आएको छ। समाज सहअस्तित्वको संयन्त्र हो भने, यो संयन्त्रलाई सन्तुलित राख्न विद्यालय र कलेज तहको पाठ्यक्रममै ‘माइक्रो-अग्रेसन’ र अपाङ्गताप्रतिको सही दृष्टिकोण समेटिएका विषयहरू अनिवार्य रूपमा राख्नुपर्छ। नयाँ पुस्तालाई सानैदेखि के सिकाउनुपर्छ भने— अपाङ्गता भएका व्यक्तिहरू कुनै अलौकिक वा दयाका पात्र होइनन्, सामान्य मानव हुन्।’
अन्तिममा, मैले विमर्शलाई टुङ्ग्याउने गरी भनेँ हाम्रो समाज एकापसमा अन्तरनिर्भर रहने सम्बन्धहरुको सुन्दर गठजोड हो त्यसैले, यो समाजलाई साँच्चिकै सुन्दर बनाउने हो भने हामीलाई कसैको भीख, दया वा ‘कठै’ को तक्मा चाहिँदैन। हामीलाई केवल बराबरीको सम्मान, भौतिक संरचनाहरूमा सहज पहुँच र योग्यता अनुसारको अवसर चाहिन्छ।
जबसम्म समाजले आफ्नो सोचको गहिराइमा लुकेको यो सूक्ष्म विभेदको ऐंजेरोलाई उखेलेर फाल्दैन, तबसम्म यो समाज पूर्ण रूपमा स्वस्थ हुन सक्दैन। हामी आफैँ सचेत बनौँ, आफ्ना आवाजहरूलाई बुलन्द पारौँ, अनि मात्र कुनै पनि विद्यार्थीले कलेजको बेन्चमा एक्लो महसुस गर्नुपर्ने छैन, कुनै पनि बिरामी अस्पतालको ओपिडी कोठामा अदृश्य बन्नुपर्ने छैन र यो संसारमा हाम्रो अस्तित्व कसैका लागि पनि असहज बन्ने छैन।’
(लेखक मनोसामाजिक मनोविमर्शकर्ता हुन्।)