'तिम्रो सरूवा भएपछि घर कसले चलाउँछ?'
'छोराछोरीको त बिजोग हुने भयो है?'
'अब सरलाई घर चलाउन महाभारत हुने भयो है?'
'लोग्ने मान्छेले कहाँ घरको काम गर्न सक्छन् र?'
यस्ता अनगिन्ती प्रश्नको सामना विगत ५ महिनादेखि निरन्तर रूपमा गरिरहेकी छु।
मलाई यस्ता प्रश्न गर्नेहरू अधिकांश मेरा शुभचिन्तक, मेरा आफन्त र साथी सर्कलका व्यक्तिहरू छन्।
उनीहरूमध्ये अधिकांशले मेरो हित सम्झेरै कुरा गरेका होलान् भन्ने लाग्छ।
यो मेरो मात्र होइन, जुन घरमा श्रीमान्-श्रीमती नै जागिर गर्छन्, ती घरको साझा भोगाइ हो भन्ने लाग्छ।
उनीहरूलाई मेरो जबाफ एउटै हुन्छ, 'यत्रो वर्षसम्म मेरो श्रीमान् पनि बाहिर गइरहनुहुन्थ्यो, मैले एक्लै वृद्ध हजुरआमा, साना छोराछोरी, घर गृहस्थीको काम, अफिस, त्यसमाथि कलेजको पढाइ सबै सम्हालिरहेकै थिएँ। यत्रा शुभचिन्तकहरूले मेरो बारेमा त कहिल्यै प्रश्न गरेनन्। तिमीलाई पनि एक्लै यत्रो जिम्मेवारी पूरा गर्न गाह्रो भयो होला भनेर सोधेनन्। महिलाले जन्मजात यी काम गर्नुपर्छ भनेर लेखेर आएको त कतै देखिएको छैन।'
यस्ता प्रश्न गर्ने आफन्त, शुभचिन्तकहरूलाई मेरो आग्रह, कि कुनै पेसा, व्यवसाय नगर्ने महिलालाई श्रीमतीको रूपमा स्वीकार गर्न सक्नुपर्यो, होइन भने सहयात्री भनिएका श्रीमान-श्रीमतीले भोगाइ पनि स्वीकार गर्नुपर्यो नि, होइन र?
कामकाजी भएपछि सधैंभरि आफू अनुकूलको परिवेश नहुन सक्छ। महिला, पुरूष दुवैले स्वीकार गर्नुपर्छ र गर्न पनि सक्नुपर्दछ। हाम्रो पेसा फरक फिल्डको भएका कारण पनि पारिवारिक व्यवस्थापनमा आजसम्म समस्या आएको छैन। अझ श्रीमान्-श्रीमतीको एउटै अफिस समय भएको अवस्थामा झनै कठिन हुन्छ। घरपरिवारका सदस्य बुझ्ने खालका भए भने पारिवारिक रूपमा कुनै पनि समस्या उत्पन्न हुँदैन।
'बिचरा लोग्ने मान्छेले कसरी घरको काम गर्छन्? केही मेसो पाउँदैनन्' भनेर पुरूषलाई 'बिचरा' को पात्र नबनाऔँ। मेरो श्रीमान्ले घरको काम पूरै धानिरहनुभएको छ ५ महिनादेखि।
दुई छोराछोरी, घरको काम अनि अफिसको काम सबै भ्याउनुभएको छ। आफूमाथि परेपछि नगरेर सुख पाइँदैन, बस् विश्वास गर्न सक्नुपर्दछ, भरोसा राख्न सक्नुपर्दछ।
'कसरी गर्छन्, केही जानेका हुँदैनन्, कुनै ढङ्ग हुँदैन, भाँती पुर्याएर काम गर्दैनन्, पुरूषहरू घरभित्रको काम गर्न सक्दैनन्' भन्ने मानसिकता हाम्रा आमा-हजुरआमाको पालादेखि नै विकसित भएको हुँदा त्यो विश्वास तत्कालै भत्काउन कठिन भएको मात्र हो। जब पुरूषले घर गृहस्थीको जिम्मा लिन्छन्, छोराछोरीको ख्याल आफै गर्न थाल्छन्, त्यसपछि महिलाको घरभित्रको कामको महत्त्व पनि विस्तारै थाहा हुन थाल्छ, महिलाप्रतिको सम्मान पनि बढ्न थाल्छ।
'यति काम गरेर पनि पढ्न, लोक सेवा पास गर्न, अफिस चलाउन सहज छैन' भन्ने कुराको आत्मबोध हुन्छ। 'त्यही घरको काम त हो, खासै के ठूलो काम हो र?' भन्नेहरूका लागि गतिलो पाठशाला हो घर व्यवहार सम्हाल्ने काम।
'केही काम छैन घरमै बस्ने हो' भन्नलाई कति सजिलो छ, तर घर व्यवस्थापन प्रभावकारी तरिकाले गर्ने काम कति चुनौतीपूर्ण छ भन्ने कुरा गर्ने र भोग्नेहरूलाई मात्र थाहा हुन्छ। हरेक कामको सम्मान गर्न सक्नुपर्दछ।
घरभित्रको काम केवल महिलाको मात्र होइन, महिला-पुरूष मिलेर गर्नुपर्छ भन्ने मानसिकता विकास गर्न सकियो भने कोही मारमा पनि पर्दैन र कोही 'बिचरा' का रूपमा पनि अङ्कित हुँदैन।
एकै ठाउँमा हुँदा पनि 'यो काम महिलाको मात्र हो' भन्ने हाम्रो घरमा कहिल्यै पनि भएन। सबै काम सँगै गर्छौं। ९० वर्ष पुग्नुभएकी हजुरआमा त विस्तारै आधुनिक सोचतर्फ आकर्षित भएको देख्दा आफैलाई खुसी लाग्छ।
१३ वर्षअघि काठमाडौं आउँदा 'नातिले सकेसम्म भान्साको काम नगरोस्, यी काम महिलाका मात्र हुन्' भन्ने हजुरआमा अहिले 'नातिनीले एक्लै कतिखेर भ्याउँछे, तैँले पनि सघाउनुपर्छ' भनेर आदेश दिनुहुन्छ। हजुरआमाले नातिलाई मात्र पक्षपोषण गरे, बुहारीलाई हेपे भनेर आरोप लगाउनुको साटो समयले मान्छेलाई परिवर्तन गराउँदो रहेछ भन्ने आभास भयो।
१३ वर्षअघिकी कट्टर हजुरआमा अहिले धेरै नरम हुनुभएको छ। यो सबै देखेर, भोगेर र परिवर्तित समयले सिकाएर भएको होला। हामी एकैचोटि अधिकार र समानताका खाका कोर्न थाल्छौँ तर समयलाई पर्खन सक्दैनौँ। समय बलवान् छ, विस्तारै सबै कुरा सामान्य हुन्छ।
'हाम्रा पालामा जस्तो मेलापातको मात्र काम गरेर हुन्छ र? सबैतिरको काम भ्याउने बुहारीलाई काम थुपारेर हुँदैन' भन्ने महान् हजुरआमाको सोचलाई म सधैं आदर गर्छु। घर सम्हाल्ने काम महिला-पुरूष दुवैको हो, तर समझदारी महत्त्वपूर्ण कुरा हो।
कसले कति गर्यो?
कोले गर्यो?
कसका लागि गर्यो?
कति मूल्यको काम गर्यो?
यस्ता विषयमा सवाल-जबाफ हुन थाल्यो भने सम्बन्ध पनि कमजोर हुन्छ र पारिवारिक धरातलको जग पनि मक्किँदै जान्छ। सबैभन्दा ठूलो विश्वास हो, जहाँ विश्वास हुँदैन त्यहाँ केही पनि हुँदैन। विश्वास नभएको जग बाहिरबाट जतिसुकै साजसज्जा गरिए पनि कुनै न कुनै बेला भत्किन्छ।
कतिपय घरका पुरूषहरूले घर, बालबच्चा आफूले सम्हालेर श्रीमतीलाई विदेश पठाएका छन्। अधिकांश महिलाहरूले घर, परिवार सबै सम्हालेर श्रीमान्लाई कमाउन पठाएका छन्। घरपरिवार सम्झेर घर फर्कँदा विश्वास टुट्यो भने त्यो विश्वास कहिल्यै पनि फर्कन सक्दैन।
'विश्वासले संसार जितिन्छ' भन्ने लोकोक्ति सत्य हो। एकअर्कासँग विश्वास र भरोसा छैन भने सँगै भएर पनि त सम्बन्ध राम्रो नभएको देखिएको छ नि।
कतिपय पुरूषहरूको कुरा सुन्छु, 'बालबच्चा र घर सम्हाल्न नसकेको कारण श्रीमतीले गरिरहेको जागिर छुटाएँ। के गर्नु, मेरो जागिर एकातिर, श्रीमतीको एकातिर, समय व्यवस्थापन गर्न सकिएन।'
यो धेरैको समस्या हो, साझा भोगाइ हो।
यस्ता महिलाहरू देखेकी छु, जसले मास्टर्स पढे, जागिर खाए, राम्रै तलबभत्ता कमाए, तर बच्चा जन्मिएपछि बाध्य भएर रोजगारी गुमाए। पछि बच्चा हुर्किएपछि पुनः कोसिस गर्दा जागिर खान सकेनन्, क्रमश: डिप्रेसनको शिकार हुँदै गए। उनीहरूको साझा पीडा देखिन्थ्यो, 'यिनै छोराछोरी जन्माउन, घर गृहस्थीकै काम गर्नका लागि त म र मेरी आमामा फरक के भयो? आमा केही नपढेर पनि यी काममा पोख्त हुनुहुन्थ्यो, यत्रो लगानी गरेर पढेर पनि मेरो उही भूमिका भएपछि मेरो डिग्रीको मूल्य के भयो? भात पकाउनका लागि डिग्री पढ्नुपर्ने?'
पुरूष वर्गलाई मेरो आग्रह छ, कृपया पढेलेखेकी श्रीमती बिहे गर्नुभएको छ भने तपाईंले भोलि उनले जागिर खाँदा कसरी घर व्यवहार चलाउने भनेर पनि स्वीकार गर्न सक्नुपर्दछ। पढेलेखेकी श्रीमती भोलि आमा बन्दा उनले भोग्ने मानसिक, शारीरिक समस्याको साक्षी कसरी बस्ने? यो कुरा मनन गर्न सक्नुपर्दछ। भोलि कहीँ रोजगार, व्यवसाय गर्न आँट गर्ने श्रीमतीलाई बन्देज नलगाउने निशर्त घोषणा गर्न सक्नुपर्दछ।
'इच्छा छैन, मलाई पाल्नै भनेर बिहे गरेका हुन्, जसरी पनि व्यवस्थापन गर्छन्, मैले जागिर किन खाने? मैले व्यवसाय किन गर्ने?' भन्ने खालका महिलाको हकमा यो सर्त लागू हुँदैन, तर 'भविष्यमा हामी केही गर्छौं, गर्न सक्छौँ' भन्ने महिलाहरूको हकमा साझेदारी गरिदिन सक्नुपर्दछ, न कि उनीहरूलाई प्रतिबन्ध लगाउन परोस्।
वर्षौंसम्मको शैक्षिक लगानी भातभान्सामै रूमलिएर सकिनुपरेपछि उनीहरूमा मानसिक समस्या पनि उत्पन्न हुन सक्छ। पारिवारिक सम्बन्ध, घर गृहस्थी र बालबच्चाको दायित्व साझा हो, कुनै एक जनाको मात्र होइन। आपसमा मिलेर, सहकार्य गरेर सम्बन्ध मजबुत बनाउने प्रयत्न गरौँ।