कामको लागि बसबाट जाँदै थिएँ। त्यही बसमा उच्च माध्यमिक पढ्ने बाबु स्कुल ड्रेसमा सँगै सिटमा बसे। बस गुड्दै थियो। ती बाबुले गुट्खा निकाले, एक फ्वाँक मुखमा हाले।
मैले ती बाबुसँग उनको पढाइ र स्कुलको बारेमा गफ गर्दै थिएँ। त्यही बीचमा उनले निसंकोच गुट्खा चपाए। लाग्छ, सायद उनीमा प्रगाढ लगाव या नशा थियो, रोक्न सकेनन्। मैले धेरै कुरा सोधेँ। उनले उत्तर दिँदै गए।
उनको उत्तर र उनीसँगको कुराकानी रोचक नै थियो। उनीसँग करिब आधा घण्टा कुराकानी भयो। सबै कुरा बताए। यसै बीचमा मैले उनलाई सोधेँ, ‘यो गुट्खा कक्षामा गन्हाउँदैन? शिक्षकले थाहा पाउँदैनन्?’
‘हैन, मैले चुइङगम खान्छु अनि थाहा हुँदैन,’ भने।
उनी पढाइमा राम्रै रहेछन्।
दिनहुँ बसबाट यताउता गर्दा बच्चाहरू भेट्छु। भेटेको बेलामा नानीबाबुलाई अनेकन प्रश्न गर्ने खराब बानी छ मेरो। सायद कतिलाई मन पनि नपर्ला। तर म पनि त तीजस्तै नानीबाबुको पिता भएको होला। सायद उनीहरूप्रति मेरो सद्भाव, प्रेम, सदाशयता तथा स्नेह छ।
धेरै सोचविचार तथा प्रयासका बाबजुद पनि मैले सन्तानलाई सरकारी विद्यालयमा पढाउन पाइनँ। मन धेरै भएर पनि कतिपय कुरा जीवनमा हुँदो रहेनछ। भन्न त जहाँ इच्छा त्यहाँ उपाय भनिन्छ, त्यो सायद सधैं लागू नहुने रहेछ।
कतै कतै स्कुले नानीहरू सरकारी स्कुलको पोशाकमा बाटो, सडक, गल्लीतिर देख्छु। आफू गाउँमा सरपरायसको निलो सर्ट र निलो जाँगे लगाएर स्कुल गएको दिन सम्झन्छु। कतिलाई विगत बताउन शर्म लाग्छ होला। म त आफ्नो विगतमा पनि गर्व गर्छु।
शिक्षामा नै काम गर्ने भएकाले यो बारेमा जान्न, बुझ्न उत्सुकता, कौतूहल हुन्छ। तर राज्यले निजीमा पढाउने शिक्षकलाई सौतिनी व्यवहार गर्छ, किन हो कुन्नि। फेरि त्यो नियम, कानुन, ऐन लगाउने ठाउँमा गाउँमा हुर्केका, बढेका, दुःख पाएका, हैरानी झेलेकाहरू छन्। र पनि उनीहरू कसरी, किन त्यति बदलिए, थाहा छैन।
तर देशमा लाखौँको संख्यामा निजीमा काम गर्ने शिक्षक छन्। तिनलाई न तालिम, न अभिमुखीकरण, न वर्कसप, न कार्यशाला हुन्छ। सरकारले कहिल्यै यसतर्फ सोचेन। राज्यको दायित्व शिक्षाप्रति छ जस्तो व्यवहारमा देखिँदैन। कुरा मिठा हुन्छन् सधैं। रेडियो, टिभी, एफएम, फेसबुकतिर बुँदाहरूका मिठा कुरा, आदर्श, सैद्धान्तिक कुरा त आउँछन्।
एकातिर सरकारी स्कुलमा कोचाकोच कक्षाकोठा, कतै निजीमा कोचाकोच कक्षाकोठा छ। नगरपालिकालाई हेर्न दिएको संविधानले, तर नगरपालिकाको क्षमता छ कि छैन, ज्ञान छ कि छैन, कसैले हेक्का राखेको छैन। नगरपालिकाले सिन्को पनि भाँचेको छैन। म एक अभिभावक, शिक्षक भएको नाताले दाबी साथ भन्न सक्छु।
उजुर गर्ने निकायमा उजुर गर्दा उजुरको समाधानभन्दा पनि उजुरको गोपनीयताको खतरा छ। उजुर नहाली कर्मचारी कदम चाल्न मान्दैनन्। उजुर गर्दा जिउज्यानकै खतरा। देश सुध्रेला त, खै, आशा लाग्दैन।
विदेशतिर निजी विद्यालय, विश्वविद्यालयलाई सरकारले अनुदान दिन्छ रे। यहाँ त केको अनुदान दिनु। सधैं सराप्ने छन्। सुधार्ने ठाउँमा बसेकाहरू सुधार्न प्रयास गर्दैनन्। केवल गाली मात्र गर्छन्। गाली गरेर देश बन्दैन। सकारात्मक सोचको विकास गर्न आवश्यक छ।
देश काकाकुल छ, पानी छैन तर विद्यालयहरूले सेतो सर्ट लगाउँछन्। सायद नियम बनाउनेहरूलाई यो कुरा मामुली लाग्ला। तर कलेठी कँठी परेको सेतो सर्ट लगाउने छोरा-छोरीका बाउआमालाई धुन कति गाह्रो भयो होला। अस्पतालमा सेतो गाउन चाहिन्छ, यो सर्तसंगत हो। तर विद्यालयमा सेतो सर्टले विद्यार्थीमा हैरानी भएको छ।
राष्ट्रिय शिक्षा पद्धतिको यो २०२८ आएदेखि बिग्रेको शिक्षा अझै तंग्रन सकेन। किनकि पैसा उतैकै, तरिका उतैकै, पढाइ उतैकै, सामग्री उतैकै, विद्यार्थी यताका, मास्टर यताका, नियम बनाउने, लगाउने यताकै छन्। देश बिगार्न शिक्षा बिगार्नुपर्छ भन्दथे। आज त्यही हालत छ।
यो घटना त एउटा हो। अर्को मार्मिक घटना, एकजना नानी कलिली थिइन्। बिहे भइसकेको रहेछ। एउटा सानी ५ वर्षे स्कुले नानी र दूध खाने २ वर्षे नानी बोकेर आइन्। मेरो टोलतिर बस्दथिन्। ती महिलाले छोडेको श्रीमानको बहिनी, नन्दलाई आफूसँगै राखेर पालनपोषण गरेकी रहिछिन्।
ती सानी स्कुले नानीलाई विद्यालयले जन्मदर्ता नभएको भनेर स्कुलबाट निकाली दिएछ। यस्ता अपराधी कानुन छन् यहाँ। मन्त्रालयलाई सुकिला कुरा थाहा छ, तर गरिबका पीडाव्यथा थाहा छैन। विद्यालयमा वर्षेनि बच्चा एक्कासि घट्छन्। किन यस्ता कुरामा चियोचर्चो सरकारले गर्दैन? लाखौँ बच्चा हराए, किन?
पैसा, धनसम्पत्तिको अभावमा स्कुले नानीहरू डिस्को, बार, रेस्टुराँमा काम गर्छन्। एउटा एनजिओमा हेर्न जाँदा साइनबोर्ड रहेनछ। किन? सोध्दा, ‘यो संस्था थाहा पाए भने आक्रमण गर्न आउँछन्,’ भनेर उत्तर पाएँ। देशमा कानुन त छ। सुकिलालाई, वकिल, न्यायाधीश चिन्ने, जान्ने, पैसा तिर्न सक्नेलाई छ। निर्धालाई कानुन छैन।
सरकार छिटो नतिजा निकालौँ भन्छ। शिक्षक भ्याइन्न भन्छ। सरकार युनियन नराखौँ भन्छ। शिक्षक चाहिन्छ भन्छ। किन? शिक्षकलाई पनि पिरलो छ। उसको बोलिदिने, सुनिदिने, मर्का सुनाउने ठाउँ छैन। यसैले होला। सरकारले विद्यालय, शिक्षक, विद्यार्थीका कुरा सुनोस्। एकहोरो नीति नबनाओस्। कुरा बुझोस्। विज्ञका मात्र कुरा नसुनोस्। त्यो क्षेत्रमा खट्नेका कुरा सुनोस्। सबै मिलेर शिक्षा सुधारौँ।
विद्यालय शिक्षा देश विकास, परिवर्तनको आधार हो। पढेर पछि धेरै समस्या हल हुन्छन्। सचेतना आउँछ।