क्याम्पस दिवस फेरि आयो। क्याम्पसका पर्खालहरूमा नयाँ रङ पोतियो, गेटमा स्वागतद्वार ठडियो, ब्यानर झुण्डिए, सामाजिक सञ्जालमा शुभकामनाको बाढी आयो। वर्षभरि धुलोले ढाकिएको मञ्चले पनि एक दिनका लागि सौन्दर्य प्रसाधन लगायो। क्याम्पस एकाएक यस्तो लाग्यो, मानौँ यहाँ वर्षभरि ज्ञानको गङ्गा नै बगेको थियो।
तर एउटा दृश्य भने फेरि दोहोरियो—सबैभन्दा मौन, सबैभन्दा ओझेलमा र सबैभन्दा उपेक्षित पात्र थियो प्राज्ञिकता। क्याम्पस दिवसको कार्यक्रम सुरू भयो। भाषणहरूको लहर चल्यो। एउटाले इतिहास सुनाए, अर्कोले भविष्यको सपना देखाए। कसैले क्याम्पसलाई 'उत्कृष्टताको केन्द्र' घोषणा गरे, कसैले 'विश्वस्तरीय संस्था' बन्ने उद्घोष गरे। यति धेरै विशेषणहरू ओइरिए कि लाग्थ्यो, यदि विशेषणले मात्रै विश्वविद्यालयको स्तर नापिने हो भने हामी संसारकै अग्रस्थानमा पुगिसक्यौँ। तर दुर्भाग्य, ती विशेषणहरू पुस्तकालयका खाली र्याकसम्म पुगेनन्।
अनुसन्धानशालाका बन्द ढोकासम्म पुगेनन्। विद्यार्थीका अपूर्ण शोधपत्रसम्म पुगेनन्। कक्षाकोठामा नियमित नहुने प्राध्यापकसम्म पुगेनन्। पुगे भने केवल माइक्रोफोनसम्म पुगे। क्याम्पस दिवसमा सम्मान पनि वितरण गरियो। कसैले फूल पाए, कसैले खादा, कसैले ताली। तर वर्षभरि पुस्तकालयमा बसेर अनुसन्धान गर्ने शिक्षकलाई कसैले सम्झेन। नयाँ ज्ञान उत्पादन गर्ने शोधार्थीलाई कसैले बोलाएन। लेख प्रकाशित गर्ने प्राध्यापकको नाम उद्घोषकको सूचीमा थिएन। किनभने हाम्रो संस्कृतिमा ज्ञानभन्दा कार्यक्रम व्यवस्थापनको अनुभव ठूलो प्रमाणपत्र बनेको छ।
आजभोलि क्याम्पसमा एउटा नयाँ शैक्षिक सिद्धान्त जन्मिएको छ—'जति कम पढ, त्यति धेरै देख।' अनुसन्धान लेख लेख्दा भन्दा सेल्फी पोस्ट गर्दा बढी प्रतिक्रियाहरू आउँछन्। पुस्तक विमोचनभन्दा स्वागतद्वारको फोटो धेरै साझा हुन्छ। सेमिनारको प्रतिवेदन कसैले पढ्दैन, तर उद्घाटनको रिबन काटेको भिडियो हजारौँले हेर्छन्। प्राज्ञिकताको विडम्बना यतिमै सीमित छैन।
शोधपत्र लेख्ने शिक्षकलाई समय हुँदैन, तर बैठकमा बस्ने समय प्रशस्त हुन्छ। पुस्तक लेख्नेहरू मौन छन्, तर प्रशंसापत्र ग्रहण गर्नेहरू सधैँ मञ्चमा देखिन्छन्। क्याम्पसको प्रतिष्ठा बढाउने अनुसन्धानभन्दा अतिथिको स्वागतमा प्रयोग हुने फूलको माला महँगो पर्छ। अझ रमाइलो त त्यो बेला लाग्छ, जब कार्यक्रममा 'अनुसन्धानमुखी शिक्षा' को नारा घन्काइन्छ। त्यो नारा घन्किने हलबाट बाहिर निस्कँदा पुस्तकालय बन्द भेटिन्छ। अनुसन्धान जर्नलमा लेख माग्दा बजेट सोधिन्छ अनि भिखका रूपमा एक दुई विज्ञको राखिनुपर्छ। अनि अनुसन्धानको चर्चा गर्नेहरू नै सन्दर्भ सूची तयार गर्न अरूको लेख खोजिरहेका हुन्छन्।
क्याम्पस दिवसमा विद्यार्थीलाई प्रेरणा दिने भाषण पनि हुन्छ। 'पढ, अनुसन्धान गर, नयाँ सोच विकास गर।' तर त्यही विद्यार्थीले कुनै नयाँ प्रश्न उठायो भने उत्तर आउँछ—'यति धेरै प्रश्न नगर, परीक्षा पास हुने कुरा पढ।'
प्रश्न गर्ने संस्कृतिलाई अनुशासनहीनता ठान्ने ठाउँमा अनुसन्धान कसरी फस्टाउँछ ? हाम्रो शैक्षिक परिवेशमा प्राज्ञिकता कहिलेकाहीँ अनाहकमा अपराधीझैँ देखिन्छ। प्रश्न गर्नेहरू असहज मानिन्छन्, आलोचना गर्नेहरू असहयोगी ठहरिन्छन्, नयाँ सोच राख्नेहरू विद्रोही कहलिन्छन्। प्रशंसा गर्नेहरू सहजै सम्मानित हुन्छन्। त्यसैले प्राज्ञिकता आफै सोचिरहेको होला—'म यहाँ किन आएको हुँ ?' क्याम्पस दिवसको वास्तविक उत्सव भने मञ्चको सजावटमा होइन; पुस्तकालयमा नयाँ पुस्तक थपिँदा हुन्छ। अनुसन्धान जर्नल प्रकाशित हुँदा हुन्छ। विद्यार्थीले मौलिक प्रश्न सोध्दा हुन्छ। शिक्षकले नयाँ ज्ञान सिर्जना गर्दा हुन्छ। आलोचनालाई सम्मान र जिज्ञासालाई पुरस्कार दिने संस्कृतिमा हुन्छ। नत्र हरेक वर्ष क्याम्पस दिवस त आउँदै जानेछ। ब्यानर फेरिनेछन्, फोटो फेरिनेछन्, भाषण फेरिनेछन्। तर यदि प्राज्ञिकता सधैँ कोपभाजनमै परिरह्यो भने भविष्यका इतिहासकारले शायद यस्तो लेख्नेछन्—
'त्यहाँ क्याम्पस त थियो, दिवस पनि थियो; तर ज्ञान उत्सवमा निमन्त्रणा पाएको थिएन।'
क्याम्पस दिवसको वास्तविक सफलता तालीको सङ्ख्याले होइन, पुस्तकालयमा बढेको पाठकको सङ्ख्याले मापन हुन्छ। सम्मानित व्यक्तिको सूचीले होइन, प्रकाशित अनुसन्धानको गुणस्तरले मापन हुन्छ। र त्यो दिनसम्म, प्राज्ञिकता हरेक वर्ष क्याम्पस दिवसको मञ्चभन्दा केही पर उभिएर मुस्कुराइरहनेछ—कटु, तर सत्य मुस्कानसहित।
मानौँ, यो कथा धनकुटा बहुमुखी क्याम्पसकै हो। क्याम्पस दिवसको बिहानैदेखि चहलपहल छ। झण्डा फहरिन्छ, माइक कराउँछ, फूलमाला मुस्कुराउँछन्। सामाजिक सञ्जालमा 'हाम्रो गौरवशाली क्याम्पस' का दर्जनौँ पोस्टहरू उर्लिन्छन्। तर त्यसैबेला पुस्तकालयको कुनामा धुलोले ढाकिएको एउटा पुस्तकले बिस्तारै सुस्केरा हालिरहेको हुन्छ—'आज पनि मलाई कसैले पल्टाएन।' कार्यक्रमको मूल आकर्षण प्राज्ञिक छलफल होइन; स्वागत मन्तव्य कति लामो भयो, प्रमुख अतिथि कति ढिलो आइपुग्नुभयो र समूह फोटोमा को अगाडि बस्यो भन्ने नै मुख्य अनुसन्धानको विषय बन्छ। कार्यक्रम सकिएपछि कसैले सोध्दैन—यस वर्ष कति अनुसन्धान लेख प्रकाशित भए? कति विद्यार्थीले उत्कृष्ट शोध गरे ? कति नयाँ पुस्तक थपिए ?
धनकुटाको चिसो हावाभन्दा चिसो त प्राज्ञिक वातावरण बनेको देखिन्छ। यहाँ प्रश्न गर्ने शिक्षक कहिलेकाहीँ 'अलि धेरै जान्ने' को उपाधि पाउँछन्। नयाँ सोच प्रस्तुत गर्ने विद्यार्थीलाई 'पढाइभन्दा बढी राजनीति गर्छ' भन्ने प्रमाणपत्र सहजै वितरण हुन्छ। अनि वर्षभरि एउटा लेख पनि नलेख्नेहरू क्याम्पसको बौद्धिक भविष्यबारे सबैभन्दा लामो भाषण दिन्छन्। अझ रोचक त सम्मानको मापदण्ड हो। अनुसन्धानका लागि रातभर जाग्ने शिक्षकको नाम सूचीमा पर्दैन; तर कार्यक्रम व्यवस्थापनका लागि कुर्सी गनेको योगदान इतिहासमा सुनौलो अक्षरले लेखिन्छ। शोधपत्र लेखेर अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गर्नेभन्दा अतिथिको माला मिलाउने व्यक्तिको चर्चा धेरै हुन्छ। लाग्छ, यहाँ एच-इन्डेक्सभन्दा हारको इन्डेक्स धेरै प्रभावशाली छ।
क्याम्पस दिवसको खर्चको हिसाब हेर्दा लाग्छ—यदि यही उत्साह पुस्तक खरिद, अनुसन्धान अनुदान र शैक्षिक जर्नल प्रकाशनमा खर्चिएको भए सायद क्याम्पसको शैक्षिक उचाइ अर्कै हुने थियो। तर हाम्रो प्राथमिकता कहिलेकाहीँ यस्तो देखिन्छ कि ब्यानरको डिजाइनमा भएको बहस पुस्तकको सामग्रीमाथिको बहसभन्दा गहिरो हुन्छ।
यति हुँदाहुँदै पनि कार्यक्रमको अन्त्यमा उद्घोषकको स्वर घन्किन्छ—'हाम्रो क्याम्पस अनुसन्धान, नवप्रवर्तन र शैक्षिक उत्कृष्टताको केन्द्र हो।' त्यो घोषणा सुनेर पुस्तकालयको एउटा पुरानो शब्दकोश मुस्कुराउँछ। किनभने उसलाई थाहा छ—शब्दको अर्थ बदल्न सजिलो हुन्छ, तर यथार्थ बदल्न निकै कठिन। सायद प्राज्ञिकता अहिले पनि धनकुटाको कुनै शान्त कुनामा बसेर क्याम्पस दिवसको तस्बिर हेरिरहेको होला। उसले गुनासो गरेको छैन।
उसले केवल यति भनेको छ—
'मलाई फूलको माला चाहिँदैन, एउटा खुला पुस्तकालय देऊ। मलाई सम्मानपत्र चाहिँदैन, अनुसन्धान गर्ने वातावरण देऊ। मलाई भाषणमा होइन, कक्षाकोठा र प्रयोगशालामा स्थान देऊ। त्यसपछि क्याम्पस दिवस मनाऔँ; त्यो दिन साँच्चिकै मेरो पनि उत्सव हुनेछ।'
लेखको उद्देश्य कसैको अवमूल्यन गर्नु होइन; आत्मसमीक्षाको ऐना देखाउनु हो। किनभने संस्थालाई सबैभन्दा ठूलो क्षति आलोचनाले होइन, आत्मसन्तुष्टिले पुर्याउँछ। प्राज्ञिकताको सम्मान हुने दिन नै क्याम्पस दिवस साँच्चिकै क्याम्पसको दिवस हुनेछ। अन्यथा, हरेक वर्ष ब्यानर फेरिनेछन्, अनुहार फेरिनेछन्, नाराहरू फेरिनेछन्—तर कोपभाजनमा परिरहने एउटै पात्र हुनेछ, प्राज्ञिकता।
(लेखक धनकुटा बहुमुखी क्याम्पसका स्नातक तह दोस्रो वर्षका विद्यार्थी हुन्।)