दिनभरिको दौडधुपले शरीर थाकिसकेको थियो। बिहानदेखि सुरू भएको समयसँगको दौड साँझसम्म आइपुग्दा पनि रोकिएको थिएन। एउटा काम सकिन नपाउँदै अर्को जिम्मेवारीले ढोका ढकढक्याउँथ्यो।
एउटा फोन राख्न नपाउँदै अर्को बज्थ्यो। एउटा चिन्ता टुंगिन नपाउँदै अर्कोले मनको कुनै कुनामा ठाउँ बनाइसकेको हुन्थ्यो। शरीर घर फर्किसकेको थियो तर मन अझै दिनभरिका अधुरा हिसाब, भोलिका भेटघाट र जिम्मेवारीका गाँठाहरूसँग अल्झिरहेको थियो।
घडीले रात निकै छिप्पिइसकेको सङ्केत गरिरहेको थियो। झ्यालबाहिर सहर बिस्तारै आफ्ना आवाज समेट्दै निद्राको काखमा पुग्न थालेको थियो। सुनसान सडकको छेउमा उभिएका सडकका बत्ती थाकेका पहरेदारजस्ता देखिन्थे। तर मेरो मनभित्र भने उज्यालो पनि थिएन, अँध्यारो पनि थिएन। त्यो एउटा अनौठो समय थियो, जहाँ मानिस न सोच्न छोड्न सक्छ, न सहजै निदाउन सक्छ।
त्यही बेला मनले आफैसँग बिस्तारै भन्यो, 'आजका लागि यति काफी भयो। सबै प्रश्नको उत्तर आजै खोज्नुपर्दैन। सबै हिसाब आजै मिलाउनुपर्दैन। केहीबेर हाँस। मन हलुका पार। सायद त्यसपछि निद्राले पनि तिम्रो ढोका भेट्टाउनेछ।'
त्यसैले मैले टेलिभिजन खोलेँ।
हामीमध्ये धेरैले टेलिभिजन समाचार हेर्न खोल्छौँ, कसैले समय काट्न, कसैले परिवारसँग बस्न। तर कहिलेकाहीँ हामी हाँस्न भनेर कुनै पर्दाअगाडि बस्छौँ र उठ्दा आफ्नै समाजको अनुहार बोकेर फर्किन्छौँ। जीवनका केही रातहरू यस्ता हुँदारहेछन् जहाँ मनोरञ्जनको खोजीमा खोलिएको एउटा पर्दाले हामीभित्र वर्षौंदेखि बन्द रहेको एउटा झ्याल खोलिदिन्छ।
पर्दामा हास्य कार्यक्रम चलिरहेको थियो। हाम्रो समाजमा एउटा अनौठो बानी छ। हामीलाई रूवाउनेलाई कलाकार भन्छौँ, सोच्न बाध्य बनाउनेलाई लेखक भन्छौँ, तर हँसाउनेलाई प्रायः 'जोकर' भनेर सजिलै टारिदिन्छौँ। हामी बिर्सन्छौँ हाँसो सबैभन्दा हल्का भावना होइन। धेरैपटक सबैभन्दा गहिरो सत्य हाँसोकै भेषमा हाम्रो अगाडि उभिएको हुन्छ। व्यङ्ग्यको शक्ति यहीँ लुकेको हुन्छ। त्यो सुरूमा ओठमा मुस्कान बनेर आउँछ, तर बिस्तारै मन चिमोट्छ अनि भित्र पसेर प्रश्न बन्छ। त्यो फूलजस्तो देखिन्छ, तर उसका काँडाहरू निकै ढिलो मात्रै अनुभूति हुन्छन्।
त्यो रात कमेडी नाइट विथ च्याम्पियन्स को छैसट्ठीऔँ भाग चलिरहेको थियो। म सोफामा दिनभरिको थकान बिसाएर बसेको थिएँ। मनलाई केहीबेर जिम्मेवारीबाट छुट्टी दिएको थिएँ। सुमन कार्की र कैलाश कार्की पर्दामा आए। दर्शक हाँसिरहेका थिए। म पनि उनीहरूसँगै हाँस्न थालेँ। तर केही मिनेटमै हाँसोको दिशा बिस्तारै बदलिँदै थियो। पात्र उही थिए। मञ्च उही थियो। दर्शक पनि उही थिए। फेरिएको थियो त केवल कथाको मुटु। ठट्टाका संवादहरू एकाएक गम्भीर सुनिन थाले। दर्शकदीर्घामा फैलिएको हाँसो ओठमै अड्कियो। कसैले केही बोलेनन्। तर मौनताले धेरै कुरा भनिरहेको थियो।
त्यही मौनताबाट एउटा युवक जन्मियो। पर्दामा देखिएको त्यो पात्र कुनै एउटा मानिस थिएन। उसका आँखामा मैले हजारौँ नेपाली युवाको सपना देखेँ। विदेश जाने सपना। एउटा यस्तो भविष्यको सपना जहाँ आमाको औषधि समयमै किन्न सकियोस् । बुबाले साहुको अगाडि आँखा झुकाउन नपरोस्। श्रीमतीले खर्चको हिसाब मिलाउँदै रातभरि निद्रा मार्न नपरोस्। छोराछोरीको भविष्य ऋणको कागजमा नभई विद्यालयको कापीमा लेखियोस्।
उसले ऋण खोज्यो। कसैसँग विश्वास सापटी लियो । कसैसँग पैसा। कसैले आफ्ना वर्षौँको बचत निकालिदिए। कसैले घरको गहना धितो राखिदिए। कसैले आफ्नो वर्तमान बेचेर उसको भविष्य किनिदियो। विदेश जानुअघि मानिस घर मात्रै छोड्दैन। ऊ आमाको काख छोड्छ । बुबाको भरोसा छोड्छ। गाउँको बाटो छोड्छ। आफ्नै भाषा, आफ्नै चाडपर्व, आफ्नै माटो छोड्छ। ऊ एउटा सम्भावनाको पछि लाग्छ यस पटक जीवन फेरिन्छ कि भन्ने विश्वास बोकेर।
त्यही विश्वास बोकेर ऊ दलालकहाँ पुग्यो। पैसा बुझायो। दलाल मुस्कुरायो। आशा बेच्ने मानिसहरू प्रायः धेरै मीठो मुस्कुराउँछन्।
'भोलि उड्नुहुन्छ,' यति मात्रै भनियो।
त्यो एउटा वाक्य थियो तर त्यसभित्र एउटा परिवारको भविष्य, एउटा युवाको सपना र धेरै वर्षको संघर्ष बन्द थियो।
भोलि आयो। तर जहाज आएन। अर्को भोलि आयो। त्यो पनि बित्यो। त्यसपछि दिनहरू आए। हप्ताहरू बिते। दलाल हरायो। फोन उठेन। ठेगाना भेटिएन। भरोसा हरायो। अनि सुरू भयो वास्तविक पीडा। साहुको फोन आउन थाले। ब्याज बढ्दै गयो। घरबाट आउने फोनमा श्रीमतीको आवाज काँप्न थाल्यो। आमा सधैँझैँ सोध्नुहुन्थ्यो, 'बाबु, सबै ठीक त छ नि?' अनि ऊ हरेक पटक उही झूट बोल्थ्यो 'हो आमा, सबै ठीक छ।'
कति अनौठो हुन्छ है? मानिसले संसारलाई भन्दा पहिले आफ्नै आमालाई ढाँट्न सिक्छ। किनकि उसलाई सत्य भन्नुभन्दा आमाको चिन्ता बढ्ला भन्ने डर धेरै हुन्छ। त्यसपछि ऊ बिस्तारै मानिसहरूमाझ हुँदाहुँदै पनि एक्लिन थाल्छ। ऋणले उसको ढोका ढकढक्याउँछ। लाजले उसको अनुहार छोप्छ। डरले उसको छातीमा डेरा जमाउँछ । र आशा... आशा भने कुनै आवाज नगरी उसका आँखाबाट बिस्तारै बाहिर निस्कन थाल्छ।
मलाई लाग्छ मानिस एकैदिन जीवनसँग हार्दैन। रूख पनि एकैपटक ढल्दैन। पहिले एउटा पात पहेँलिन्छ। त्यसपछि अर्को। बिस्तारै हरियो रङ कम हुँदै जान्छ। बाहिरबाट हेर्दा रूख उस्तै देखिन्छ तर भित्रभित्रै मौसम फेरिइसकेको हुन्छ। मानिस पनि सायद त्यस्तै हो। ऊ पहिले खुला हाँस्न छोड्छ। त्यसपछि रातभरि निदाउन छोड्छ। फोन उठाउन छोड्छ। साथीभाइसँग भेटिन छोड्छ। अन्त्यमा ऊ आफ्नै मनसँग भेट्न छोड्छ। त्यसपछि संसारलाई लाग्छ उसले अचानक हार मान्यो। तर ऊ त धेरै अघिदेखि बिस्तारै भाँचिँदै आएको थियो।
पर्दामा देखिएको त्यो युवक पनि सायद त्यही यात्राको अन्तिम मोडमा आइपुगेको थियो। ऊ मर्न खोजिरहेको थिएन। ऊ त उसलाई बाँच्न नदिने पीडाबाट भाग्न खोजिरहेको थियो। जब मानिसलाई सबै ढोका बन्द भइसकेको भ्रम पर्छ त्यतिबेला उसले मृत्यु रोज्दैन, उसले आशा नदेखेको बाटो रोज्छ। डोरीले घाँटीभन्दा पहिले मानिसको विश्वास बेर्छ। मृत्यु आउनुभन्दा पहिले आशा मर्छ। र जब उसलाई लाग्छ कि अब यो संसारमा उसलाई 'बाबु' भनेर बोलाउने आवाज पनि बाँकी छैन, त्यही क्षण कथा नयाँ मोडमा पुग्छ।
त्यही बेला ढोका खुल्छ।
र भित्र आउँछन्- बा।
त्यो पात्रको प्रवेश मात्र नभई भरोसा फर्केर आएको क्षण थियो। मलाई लाग्यो, समय आफैँ पछाडि फर्किएको छ। कुनै बेला उसलाई औँला समातेर हिँड्न सिकाएको हात, आसको शिर अड्याउने काँध जहाँ उसले बाल्यकालका धेरै डरहरू बिर्सिएको थियो आज फेरि त्यही हात उसको जीवनको सबैभन्दा कठिन मोडमा आइपुगेको थियो।
फरक यति मात्रै थियो पहिले छोरा आँगनमा लडेको थियो । आज ऊ जीवनको बीच बाटोमा ढलेको थियो। पहिले चोट उसको घुँडामा लागेको थियो। आज चोट उसको मनमा लागेको थियो। पहिले बाले उसको शरीर उठाउनुभएको थियो। आज उहाँ उसको सास समात्न आउनुभएको थियो।
बा केही बेर चुप लागेर उभिनुभयो।
सायद मायासँग धेरै शब्द हुँदैनन्। पीडा बुझ्ने मानिसले पहिले बोल्दैन पहिले नियाल्छ। उसले मुहार पढ्छ। आँखाभित्रको आँधी बुझ्छ। प्रश्न सोध्नुभन्दा पहिले परिस्थिति महसुस गर्छ।
बाले छोराको हातबाट पहिले डोरी हटाउनुभएन। पहिले छोरालाई समात्नुभयो। काँधमा हात राख्नुभयो। कहिलेकाहीँ मानिसलाई बचाउन उसको हातबाट समस्या खोस्नुभन्दा पहिले उसको मनबाट एक्लोपन खोस्नुपर्छ।
लामो समयसम्म दुवै चुप रहे।
त्यो मौनतामा धेरै वर्षका सम्झनाहरू थिए। छोराको पहिलो पाइला थियो। पहिलो चोट थियो। पहिलो विद्यालयको दिन थियो। बाले बोकेको त्यो सानो शरीर थियो जुन आज जीवनको बोझले थिचिएको थियो।
अनि बाले बिस्तारै भन्नुभयो, 'बाबु...'
'तँ थाकेको रहेछस्।'
सायद यही वाक्य उसले सबैभन्दा पहिले सुन्न चाहेको थियो। किनकि संसारले उसलाई धेरै कुरा सोधेको थियो। 'पैसा कहाँ छ?' 'भिसा आयो?' 'काम कहिले सुरू हुन्छ?' 'ऋण कहिले तिर्छस्?' तर कसैले पनि उसलाई सोधेको थिएन- 'तँ थाकिस्?'
मानिसलाई धेरैपटक समाधानभन्दा पहिले साथ चाहिन्छ। उसलाई तुरून्तै बाटो देखाउने मान्छेभन्दा पहिले केहीबेर उसको अँध्यारोमा बसिदिने मान्छे चाहिन्छ। पीडामा परेको मानिस सधैँ कमजोर हुँदैन ऊ कहिलेकाहीँ धेरै समयदेखि बलियो बन्न खोज्दा थाकेको हुन्छ।
बाले फेरि भन्नुभयो, 'ऋण तिर्न सकिन्छ।'
'पैसा फेरि कमाउन सकिन्छ।'
आवाज अलि काँप्यो।
'ठगिएको कुरा फर्केला, नफर्केला... त्यो अर्को कुरा हो। तर बाबु, तँ फर्किन नसक्ने बाटोमा नजा।'
त्यो वाक्यले मेरो मनभित्र कतै गहिरो छोयो।
हामीले बिर्सिरहेका छौँ मानिसको मूल्य उसको कमाइले निर्धारण गर्दैन। ऋणको कागजले मानिसको उचाइ नाप्दैन। एउटा असफल प्रयासले उसको सम्पूर्ण जीवनको फैसला गर्दैन। तर हाम्रो समाजले कहिलेकाहीँ मानिसलाई यति धेरै हिसाबकिताबभित्र राखिदिन्छ कि ऊ आफैलाई एउटा घाटाको सूचीजस्तो हेर्न थाल्छ।
त्यो दृश्य हेर्दै गर्दा मलाई आफ्नै बाल्यकाल सम्झना आयो।
सानो हुँदा हामी लड्थ्यौँ। घुँडा फुट्थ्यो। आँसु आउँथ्यो। संसार सकिएजस्तो लाग्थ्यो। अनि बा दौडेर आउनुहुन्थ्यो। धुलो लागेको घुँडा पुछिदिनुहुन्थ्यो र भन्नुहुन्थ्यो, 'केही हुँदैन, फेरि उठ।'
त्यो बेला हामीलाई लाग्थ्यो, बा हुनु भनेको यही हो।
लड्दा उठाउने मान्छे।
तर उमेर बढ्दै जाँदा चोटहरू बदलिँदा रहेछन्। बाल्यकालमा देखिने घाउहरू बिस्तारै भित्र लुक्ने घाउहरू बन्दा रहेछन्। घुँडामा लागेको चोट देखिन्छ, तर मनमा लागेको चोट प्रायः कसैले देख्दैन। त्यसैले ठूलो हुँदै जाँदा मानिसलाई फेरि त्यही पुरानो आवाज चाहिँदो रहेछ 'केही हुँदैन, फेरि उठ। म छु।'
दुःखको कुरा के छ भने, धेरै मानिसहरू लड्ने उमेरमा आइपुग्दा समात्ने हातभन्दा पहिले निर्णय गर्ने आँखा भेट्छन्।
'कमजोर रहेछ।'
'हिम्मत रहेनछ।'
'यति सानो समस्यामा पनि हार मानेछ।'
हामी यति सजिलै फैसला सुनाउँछौँ। तर कहिल्यै सोध्दैनौँ ऊ यहाँसम्म आइपुग्न कति लामो बाटो हिँड्यो? कति रात उसले निद्रा गुमायो? कति बिहान उसले अनुहारमा मुस्कान टाँसेरै मात्र संसारको सामना गर्यो? कति पटक उसले रोइरहेको मनलाई चुप गराएर भन्यो 'अझै अलिकति सहनुपर्छ।'
मानिस एकैचोटि टुट्दैन।
टुट्नु पनि एउटा प्रक्रिया हो।
पहिले एउटा भरोसा हराउँछ। त्यसपछि अर्को ढोका बन्द हुन्छ। त्यसपछि उसले सहयोग माग्न लाज मान्न थाल्छ। अनि बिस्तारै उसलाई लाग्न थाल्छ सायद मेरो समस्या नै मेरो अस्तित्व हो।
तर त्यो सत्य होइन।
समस्या मानिसको जीवनको एउटा अध्याय हुन सक्छ । सम्पूर्ण पुस्तक होइन।
पर्दामा बा आफ्नो छोरालाई यही कुरा सम्झाइरहनुभएको थियो। उहाँले उसलाई केवल बाँच्न आग्रह गरिरहनुभएको थिएन। उहाँले उसलाई उसको आफ्नै मूल्य सम्झाइरहनुभएको थियो।
'तँ हारिस्' भन्ने संसारको आवाजभन्दा ठूलो एउटा आवाज हुन्छ 'तँ अझै बाँकी छस्।'
सायद त्यही आवाजले त्यो रात एउटा जीवन फर्काउँदै थियो।
र मलाई लाग्यो,
हामी सबैको जीवनमा कुनै न कुनै समयमा त्यस्तो एउटा बा चाहिन्छ।
कहिलेकाहीँ त्यो हाम्रो वास्तविक बुबा हुन सक्छन्। कहिलेकाहीँ आमा। कहिलेकाहीँ साथी। कहिलेकाहीँ कुनै अपरिचित मानिस, जसले केवल दुई मिनेट रोकेर सोधिदिन्छ 'तिमी ठीक छौ?'
किनकि धेरैपटक मानिसलाई बचाउने कुरा ठूलो हुँदैन।
कहिलेकाहीँ एउटा हात हुन्छ।
एउटा फोन हुन्छ।
एउटा भेट हुन्छ।
वा केवल एउटा वाक्य- 'म छु।'
त्यो रात पर्दामा उभिएका बासँगै मैले आफ्नै दिवंगत बालाई सम्झिएँ। उहाँ हामीमाझ नभएको वर्षौँ भइसक्यो । तर लाग्छ माथि कतैबाट उहाँको माया र आशीर्वाद अझै पनि मेरो काँधमा हात राखेर भनिरहेको छ, 'नडरा, म यहीँ छु।'
कार्यक्रम सकियो।
पर्दामा फेरि अर्को दृश्य आयो। कलाकारहरू फेरि हाँसिरहेका थिए। दर्शकहरू फेरि ताली बजाइरहेका थिए। बाहिरबाट हेर्दा सबै कुरा फेरि सामान्य भएको थियो। तर मेरो मन भने त्यही दृश्यमै रोकिएको थियो। एउटा बुवाको काँपिरहेको आवाजमा, एउटा छोराको झुकेको शिरमा र जीवन र मृत्युको बीचमा एउटा सानो हातको दूरी मात्रै बाँकी रहेको क्षणमा।
मैले टेलिभिजन बन्द गरेँ।
कोठा एकाएक शान्त भयो।
यस्तो शान्त जहाँ आफ्नै सास पनि ठूलो सुनिन्छ। ओछ्यानमा गएर पल्टिएँ। आँखा बन्द गरेँ। तर निद्रा आएन। कहिलेकाहीँ थकित शरीरलाई निद्रा चाहिन्छ तर बेचैन मनलाई उत्तर चाहिन्छ। त्यो रात मेरो मनभित्र एउटा प्रश्न बारम्बार उठिरहेको थियो हामी कहाँ चुकिरहेका छौँ?
हामी घटना देख्छौँ। समाचार पढ्छौँ। केही समय दुःखी हुन्छौँ। सामाजिक सञ्जालमा केही शब्द लेख्छौँ। अनि आफ्नो दिनतिर फर्किन्छौँ। तर त्यो घटनासम्म पुग्नुअघि एउटा मानिसले कति लामो बाटो एक्लै हिँड्यो हामीले कहिल्यै देख्दैनौँ।
हामीलाई अन्तिम क्षण थाहा हुन्छ तर त्यसअघिका हजारौँ क्षण थाहा हुँदैनन्।
हामीलाई मृत्युको समाचार थाहा हुन्छ तर त्यसअघि कति रात उसले निदाउन सकेन भन्ने थाहा हुँदैन। हामीलाई घटना थाहा हुन्छ तर उसले कति पटक मोबाइल उठाएर कसैलाई फोन गर्न खोज्यो र फेरि राखिदियो भन्ने थाहा हुँदैन। उसको निर्णय देखिन्छ तर त्यो निर्णयसम्म पुर्याउने पीडाको पहाड देखिँदैन।
मानिसहरू प्रायः एकैदिन हार्दैनन्।
ऊ बिस्तारै थाक्छ।
पहिले एउटा सपना कमजोर हुन्छ। त्यसपछि एउटा विश्वास चर्किन्छ। ऊ सहयोग खोज्दै एउटा ढोका ढकढक्याउँछ तर ढोका खुल्दैन। अर्को ढोकामा पुग्छ। त्यहाँ पनि उसले आफ्नो पीडाभन्दा पहिले आफ्नो कागज देखाउनुपर्छ। घरमा दुःख सुनाउन खोज्छ तर परिवार आफै समस्याको भारी बोकेर बसेको हुन्छ। साथीलाई फोन गर्न खोज्छ तर मनभित्र एउटा डर आउँछ 'उसले मलाई कमजोर ठान्ला कि?'
अनि ऊ चुप लाग्न सिक्छ।
बाहिरबाट हेर्दा ऊ उस्तै देखिन्छ। काममा जान्छ। मानिसहरूसँग बोल्छ। कहिलेकाहीँ हाँस्छ पनि। तर भित्र कतै एउटा युद्ध चलिरहेको हुन्छ जसको आवाज बाहिर कसैले सुन्दैन।
हामी समाजमा सफल मानिसहरूको कथा धेरै सुन्छौँ। कसरी उनीहरू उठे,कसरी संघर्ष गरे, कसरी जिते। तर हामी कमै सुन्छौँ मानिसहरू लड्दा कसैले हात दिएन, हार्दा कसैले उनीहरूको काँधमा हात राखेन।
पछिल्ला महिनाहरूमा आएका केही दुःखद् समाचारहरूले पनि यही प्रश्न उठाए। गणेश नेपाली, विवेक मण्डल र अश्विन राउतसँग जोडिएका घटनाहरूले धेरै मानिसलाई स्तब्ध बनायो। प्रत्येक घटनाको आफ्नै परिस्थिति थियो। प्रत्येक जीवनको आफ्नै कथा थियो। कसैको पीडा रोजगारीसँग जोडिएको थियो। कसैको ऋणसँग, कसैको व्यवसायसँग, कसैको मानसिक संघर्षसँग। कुनै पनि जीवनलाई एउटै कोणले बुझ्न सकिँदैन।
तर ती सबै कथाको गहिराइमा एउटा साझा कुरा नै आशा कमजोर भएको थियो।
र जब मानिसको आशा कमजोर हुन्छ त्यही बेला उसलाई सबैभन्दा बढी अर्को मानिसको आवश्यकता पर्छ।
हामी धेरैपटक ठूलो सहयोगको कल्पना गर्छौँ। हामी सोच्छौँ हामीसँग पैसा छैन, पहुँच छैन, शक्ति छैन, त्यसैले हामी केही गर्न सक्दैनौँ। तर कहिलेकाहीँ मानिसलाई बचाउने कुरा त्यति ठूलो हुँदैन।
एउटा फोन।
एउटा भेट।
एक कप चिया।
केही मिनेट बिना निर्णय सुनिदिने धैर्य।
र एउटा वाक्य - 'तिमी एक्लो छैनौ।'
कति अनौठो कुरा है?
कहिलेकाहीँ मानिसलाई संसार जित्ने हिम्मत चाहिँदैन। उसलाई केवल आजको रात पार गर्ने कारण चाहिन्छ।
त्यो कारण कहिलेकाहीँ एउटा मान्छे बन्न सक्छ।
परिवारको अर्थ सफलताको उत्सवमा सँगै उभिनु मात्र हो र? संसारसँग थाकेर फर्किँदा ढोका खुला राख्ने ठाउँ हो परिवार। कमाइ हुँदा सम्मान गर्ने र खाली हात फर्किँदा दूरी बनाउने सम्बन्ध सम्झौता मात्रै हो।
आफ्ना छोराछोरीसँग हामीले कहिले अन्तिमपटक पैसाबाहेक अरू कुरा सोध्यौँ?
'कति कमायौ?' भन्दा पहिले 'कस्तो छौ?' भनेर सोध्यौँ?
'काम कस्तो चलिरहेको छ?' भन्दा पहिले 'मन कस्तो छ?' भनेर बुझ्यौँ?
कहिलेकाहीँ हाम्रा आफ्नैहरू हाम्रो अगाडि चुपचाप भाँचिरहेका हुन्छन्। हामी उनीहरूको मौनतालाई स्वभाव ठान्छौँ। उनीहरूको थकानलाई बहाना ठान्छौँ। उनीहरूको पीडालाई कमजोरी ठान्छौँ।
हामीले बिर्सन हुँदैन बलियो मानिस पनि थाक्छ।
हाँस्ने मानिस पनि रून्छ।
अरूलाई सम्हाल्ने मानिसलाई पनि कहिलेकाहीँ कसैले सम्हाल्नुपर्छ।
तर प्रश्न परिवार र समाजमा मात्रै रोकिँदैन।
राज्यको पनि एउटा जिम्मेवारी हुन्छ।
राज्य केवल कर उठाउने, नियम बनाउने र दण्ड दिने संरचना होइन। त्यो अन्तिम भरोसा हो, जहाँ नागरिकले आफ्नो सबै ढोका बन्द भएपछि हेर्छ। नियम आवश्यक छन्। कानुन आवश्यक छ। अनुशासन आवश्यक छ। तर नियमको हातमा मानवीयता रहेन भने न्याय पनि कहिलेकाहीँ डर बन्न सक्छ।
ऋणमा डुबेको मानिसलाई जरिवाना मात्र होइन उठ्ने बाटो चाहिन्छ। रोजगारी खोजिरहेको युवालाई भाषण होइन अवसर चाहिन्छ। ठगीमा परेको परिवारलाई सहानुभूति होइन छिटो न्याय चाहिन्छ। मानसिक पीडामा परेको मानिसलाई 'बलियो बन' भन्ने आदेश होइन, उसको कुरा सुनिदिने कान चाहिन्छ।
मानिस सधैँ समाधान खोजिरहेको हुँदैन।
कहिलेकाहीँ ऊ केवल सुन्ने मान्छे खोजिरहेको हुन्छ।
त्यो रातको दृश्यले मलाई एउटा कुरा सिकायो, अन्धकारको सबैभन्दा ठूलो झूट यही हो कि अब उज्यालो कहिल्यै आउँदैन। तर सत्य के हो भने, उज्यालो कहिल्यै पूर्ण रूपमा हराउँदैन। कहिलेकाहीँ हामीले केवल कसैको हात समातेर उसलाई त्यो उज्यालोसम्म पुर्याउनुपर्छ।
सायद हामी एकअर्काका लागि बा बन्नुपर्छ।
कसैको काँधमा हात राखेर भन्न सक्ने बा- 'तँ लडिस् भने म समात्न यहाँ छु।'
कसैको आँखाको आँसु देखेर भन्न सक्ने आमा- 'पैसाभन्दा तँ ठूलो होस्।'
कसैको मौनता बुझेर भन्न सक्ने साथी- 'सबै कुरा एक्लै बोक्नुपर्दैन।'
र नागरिकको आवाज सुन्न तयार राज्य- 'तिम्रो समस्या हाम्रो पनि जिम्मेवारी हो।'
त्यो रात म हाँस्न भनेर टेलिभिजनअगाडि बसेको थिएँ।
तर कार्यक्रम सकिँदा मसँग हाँसो बाँकी थिएन।
मसँग एउटा प्रश्न थियो। एउटा जिम्मेवारी थियो। र एउटा आवाज थियो । जुन त्यो बाको स्वरजस्तै लागिरहेको थियो।
मैले फेरि टेबलको बत्ती बालें। कापी निकालें। कलम समाएँ। धेरैबेरसम्म केही लेख्न सकिनँ। किनकि कहिलेकाहीँ मनमा बसेको कुरा शब्दमा निकाल्न सजिलो हुँदैन।
अन्ततः मैले लेखेँ - 'हामीलाई सधैँ ठूलो समाधान चाहिँदैन। कहिलेकाहीँ कसैको अँध्यारो रातमा सानो उज्यालो बनेर बसिदिनु नै पर्याप्त हुँदो रहेछ।'
कहिलेकाहीँ एउटा हात। एउटा आवाज। एउटा भरोसा। एउटा वाक्य।
यति नै पर्याप्त हुन्छ।
'तिमी एक्लो छैनौ।'
सायद संसारलाई आज सबैभन्दा धेरै चाहिएको यही वाक्य हो।