दुई महिनायता विश्वभर तहल्का मच्चाएका तीनवटा हलिउड फिल्म नेपालका पर्दामा पनि सँगसँगै प्रदर्शनमा आए। जेठदेखि साउनको बीचमा रिलिज भएका यी तीन फिल्मले काठमाडौंका मल्टिप्लेक्समा गरेको व्यापार हेर्ने हो भने यहाँ हलिउड सिनेमाको पनि छुट्टै क्रेज छ भन्ने साबित गर्छ।
हामी कुरा गर्दैछौं 'अब्सेसन', 'द ओडिसी' र 'स्पाइडर म्यानः ब्रान्ड न्यू डे' को।
काठमाडौंलाई सामान्यतया हलिउड फिल्मको निम्ति त्यति राम्रो बजार मानिँदैन। यहाँ जुन अनुपातमा नेपाली, बलिउड र दक्षिण भारतीय फिल्महरूले व्यापार गर्छन्, हलिउड फिल्मको व्यापार त्यसको दाँजोमा निकै कम हुन्छ। वर्षको एक–दुईवटा ठूला र चर्चित हलिउड फिल्मले राम्रो कमाइ गरे पनि अरूको व्यापार कमै देखिन्छ।
तर दुई महिनायता छोटो समयको अन्तरालमा रिलिज भएका तीन हलिउड फिल्मले व्यापारको पुरानो रेकर्ड तोडेको छ। विश्वभर राम्रो कमाइ गरेका यी फिल्मले नेपालमा पनि ठूलो संख्यामा दर्शक आकर्षित गर्न सफल भएको बक्स अफिस तथ्यांकले देखाउँछ।
चलचित्र विकास बोर्ड बक्स अफिस स्रोतका अनुसार यी तीन फिल्मले नेपालमा १२ करोड ४३ लाख रूपैयाँभन्दा बढीको संयुक्त व्यापार गरिसकेका छन्।
तीनैवटा फिल्मले गरेको व्यापारको मुख्य हिस्सा काठमाडौं उपत्यकाका हलहरूबाटै उठेको छ।
यीमध्ये सबभन्दा धेरै कमाइ 'स्पाइडर–म्यान: ब्रान्ड न्यू डे' ले गरेको छ।
गत बिहीबारदेखि प्रदर्शनमा आएको एक्सन–एड्भेन्चर फिल्म 'स्पाइडर–म्यान: ब्रान्ड न्यू डे' ले यति बेला काठमाडौंका हलहरूमा कब्जा जमाएजस्तै अवस्था छ। क्यूएफएक्सका हलमा यो फिल्मले धेरै शो–टाइम पाएको छ र सबैजसो शो हाउसफुल चलिरहेको छ।
डेस्टिन ड्यानियल क्रेटन निर्देशित यो फिल्ममा टम हल्यान्ड, जेन्डाया, सेडी सिन्क र जेकब ब्याटलन मुख्य भूमिकामा छन्।
मुख्य पात्र पिटर पार्कर (टम हल्यान्ड) ले आफ्नो पुरानो पहिचान, व्यक्तिगत जीवनका नयाँ चुनौती र संसारलाई आइपर्ने नयाँ खतराबीच सन्तुलन मिलाउन गर्ने संघर्षको रोमाञ्चक कथा प्रस्तुत गरिएको यो फिल्मले पहिलो दिनमै विश्वभर १६ करोड ५० लाख डलरभन्दा बढी कमाएको थियो। पहिलो सप्ताहन्त (तीन दिन) सम्मको कमाइ ४६ करोड ५० लाख डलर पुग्ने अनुमान गरिएको छ।
नेपालमा आइतबार दिउँसोसम्म यसले ८ करोड रूपैयाँभन्दा बढीको व्यापार गरिसकेको बक्स अफिस स्रोतले जानकारी दियो।
स्पाइड–म्यानभन्दा अगाडि रिलिज भएको 'द ओडिसी' ले पनि नेपालमा राम्रो कमाइ गरेको छ।
साउन १ गते रिलिज भएको क्रिस्टोफर नोलन निर्देशित बहुप्रतीक्षित फिल्म 'द ओडिसी' ले काठमाडौंका दर्शकलाई ठूलो संख्यामा हलसम्म तानेको तथ्यांकमा देखिन्छ।
हालसम्म विश्वव्यापी रूपमा झन्डै ७३ करोड डलर कमाइसकेको यो फिल्मले आइतबारसम्म नेपालमा ३ करोड १४ लाख रूपैयाँको व्यापार गरेको छ।
प्राचीन ग्रीक महाकाव्य 'ओडिसी' मा आधारित यो फिल्मले ट्रोजन युद्धपछि राजा ओडिसियस (म्याट डेमन) आफ्नो देश र परिवारकहाँ फर्किने क्रममा भोग्नुपरेका कठिन समुद्री यात्रा, दैत्यहरूसँगको संघर्ष र पारिवारिक सम्बन्धको यात्रा देखाउँछ।
फिल्ममा म्याट डेमन, टम हल्यान्ड, जेन्डाया, एनी हेथवे र रोबर्ट प्याटिन्सनजस्ता स्टार कलाकार छन्।
अर्को हलिउड फिल्म 'अब्सेसन' जेठ महिनाको सुरूमा रिलिज भएको थियो।
विश्वभर प्रदर्शनमा आएको केही दिनपछि नेपालमा रिलिज भएको 'अब्सेसन' साइकोलोजिकल सुपरनेचुरल हरर फिल्म हो। यसले पनि अन्तर्राष्ट्रिय बजारमा मात्र होइन, नेपालको बक्स अफिसमा पनि आकर्षक कमाइ गरेको छ।
युट्युबका सर्ट फिल्मबाट चर्चामा आएका अमेरिकी युवा निर्देशक करी बार्करको यो फिल्म १० लाख अमेरिकी डलरभन्दा कम बजेटमा बनेको थियो। तर यसले विश्वभरबाट झन्डै ४५ करोड डलर कमाउँदै इतिहासकै सफल लो–बजेट फिल्मको सूचीमा नाम दर्ज गराएको छ।
माइकेल जोन्स्टन, इन्डे नाभारेते, कुपर टम्लिन्सन र मेगन ललेसको मुख्य भूमिका रहेको यो फिल्म मानसिक भ्रम, अलौकिक घटना र त्यसले ल्याउने डरलाग्दो रनाहाको वरपर घुम्छ।
नेपालमा यो फिल्मले १ करोड २९ लाख रूपैयाँ कमाएको छ। 'स्पाइडर–म्यान' र 'ओडिसी' को दाँजोमा कम भए पनि विगतमा रिलिज भएका यस्तै विषयवस्तुका फिल्मको दाँजोमा यो निकै बढी हो। अहिले यो फिल्म नेपालका अधिकांश हलबाट उत्रिसकेको छ।
यी तीन हलिउड फिल्मले नेपालमा गरेको उत्साहजनक व्यापारबारे हामीले नेपालको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन 'क्यूएफएक्स' की महाप्रबन्धक तृप्ति गिरीसँग कुरा गरेका छौं।
धेरै समयदेखि प्रतीक्षा गरिएका र राम्रो प्रचारप्रसार भएका हलिउड फिल्मले नेपालमा सामान्यतया राम्रो व्यापार गर्ने गरेको उनी बताउँछिन्।
'सबै हलिउड फिल्मले राम्रो व्यापार गर्छन् भन्ने हुँदैन। ठूलो स्टारकास्ट भएको र विदेशतिर पनि चर्चा कमाएको फिल्मले नेपालका हलहरूमा राम्रै व्यापार गर्छ। नभए हलिउड फिल्मको धेरैजसो व्यापार काठमाडौंमा केन्द्रित रहँदै आएको छ,' गिरीले सेतोपाटीसँग भनिन्।
'स्पाइडर–म्यान' जस्तो लामो समयदेखि प्रतीक्षा गरिएको फ्रेन्चाइज फिल्मले काठमाडौं बाहिर पनि राम्रो व्यापार गर्ने उनको भनाइ छ।
क्युएफएक्सको इतिहासमै एकै दिनमा सबभन्दा धेरै दर्शक र सबभन्दा धेरै आम्दानीको रेकर्ड पनि 'स्पाइडर–म्यान' ले नै बनाएको उनी बताउँछिन्।
उनका अनुसार 'द ओडिसी' ले पनि काठमाडौंबाहिर राम्रो व्यापार गरेको थियो। 'अब्सेसन' भने केही निश्चित ठाउँमा मात्र राम्रो चल्यो। 'स्पाइडर–म्यान' ठूलो फिल्म भएकाले यसले राम्रो व्यापार गर्ने अपेक्षा पहिले नै भएको उनको भनाइ छ।
यही बीचमा 'लालीबजार' र 'गौंथली' ले पनि निकै राम्रो व्यापार गरेको उनी बताउँछिन्।
वैशाख २५ गते रिलिज भएको 'लालीबजार' ले ९ करोड ३२ लाख रूपैयाँ कमाएको चलचित्र विकास बोर्डले जनाएको छ। त्यस्तै, साउन १ गते रिलिज भएको 'गौंथली' ले अहिलेसम्म १३ करोड रूपैयाँभन्दा बढी कमाइसकेको छ। यो फिल्म अहिले पनि प्रदर्शनमा छ र सबै हलमा राम्रो अकुपेन्सीका साथ चलिरहेको छ।
***