माननीय मन्त्रीज्यू,
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय,
सादर नमस्कार।
नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनको कुरा उठ्दा सबैभन्दा पहिले स्मरण हुने प्रेरणादायी व्यक्तित्वमध्ये यहाँको नाम अग्रपङ्क्तिमा आउँछ। सीमित स्रोत–साधनका बिच पनि अनुसन्धान, आविष्कार, नवप्रवर्तन र स्वदेशमै सम्भावना खोज्ने अभियानलाई राष्ट्रिय बहसको विषय बनाउँदै हजारौँ युवामा ‘समस्या होइन, समाधान खोज्ने’ आत्मविश्वास जगाउन यहाँले गर्नुभएको योगदान आज सम्पूर्ण राष्ट्रले सम्मानका साथ स्मरण गरिरहेको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व यहाँले सम्हाल्नुभएको वर्तमान परिवेशमा विद्यालयदेखि समाज र राष्ट्रसम्म नवप्रवर्तनको संस्कृति विस्तार हुने अपेक्षा सबै नेपालीको साझा आशा बनेको छ।
यही विश्वासका साथ कावासोती नगरपालिकाले विद्यालय तहबाट नवप्रवर्तनको बीउ रोप्ने सानो तर आशावादी प्रयासका रूपमा सुरु गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रमलाई यहाँको अभिभावकीय संरक्षण, मार्गदर्शन र सहयोग प्राप्त हुनेछ भन्ने दृढ विश्वासका साथ यो पत्र लेख्ने लेखेको छु।
हाम्रो यो प्रयासलाई यहाँले आत्मीयतापूर्वक मनन गरी आवश्यक सुझाव, प्राविधिक मार्गदर्शन र सहयोग प्रदान गर्नुहुनेछ भन्ने पूर्ण अपेक्षा राखेको छु।
त्रिभुवन बाल मावि कावासोती-१७, ढोकीका विद्यार्थीहरूले बनाएको रोबर्ट।
नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको स्थापना केवल एउटा नयाँ मन्त्रालय थपिनु मात्र होइन, अनुसन्धान, उत्पादन, उद्यमशीलता र ज्ञानमा आधारित अर्थतन्त्र निर्माणतर्फ राष्ट्रले चालेको दूरदर्शी कदम हो। यसको सफलताको आधार मन्त्रालयका कार्यक्रमहरू स्थानीय तह र विद्यालयसम्म पुगेर विद्यार्थीको सोच, व्यवहार र सृजनशीलतामा रूपान्तरण ल्याउन सक्नुमा निर्भर रहने विश्वास मैले गरेका छु।
यही सोचलाई व्यवहारमा उतार्ने उद्देश्यले कावासोती नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा ‘आविष्कार र उत्पादनको जग: मेरो विद्यालय’ कार्यक्रम सञ्चालन गरेको हो। हाम्रो उद्देश्य विद्यार्थीलाई पाठ्यपुस्तकका उत्तर घोकाउने होइन, जीवनका प्रश्नहरूको उत्तर आफैँ खोज्न सक्ने बनाउने थियो। विद्यालयलाई परीक्षा केन्द्रबाट प्रयोगशाला, विद्यार्थीलाई परीक्षार्थीबाट अनुसन्धानकर्ता र शिक्षकलाई केवल अध्यापकबाट नवप्रवर्तनका सहयात्री बनाउने अभियानका रूपमा यो कार्यक्रम अगाडि बढाइएको थियो।
चन्डेश्वरी मावि कावासोती-१५, गोडारका विद्यार्थीले बनाएको माछापालन सहितको ईको पोन्ड।
कार्यक्रम अन्तर्गत नगरपालिकाका २३ सामुदायिक विद्यालयमा विज्ञान क्लबलाई सक्रिय बनाइयो। विद्यार्थीहरूले स्थानीय समस्यालाई अनुसन्धानका विषय बनाए; स्थानीय स्रोत–साधन प्रयोग गरी कृषि, वातावरण संरक्षण, जैविक उत्पादन, फोहोर व्यवस्थापन, वैकल्पिक ऊर्जा, सूचना प्रविधि, स्थानीय सीप तथा उत्पादनसँग सम्बन्धित दर्जनौँ परियोजनाहरू तयार गरी परीक्षणसमेत गरे। उनीहरूले समस्या पहिचान गर्ने, समाधानको नमुना बनाउने, परीक्षण गर्ने, सुधार गर्ने र सार्वजनिक रूपमा प्रस्तुत गर्ने अभ्यास विद्यालयमै सिक्न थाले। यही परिवर्तन हाम्रो सबैभन्दा ठुलो उपलब्धि हो।
-1783944485.jpg)
चन्डेश्वरी मावि कावासोती-१५, गोडारका विद्यार्थीहरूद्वारा निर्मित माछाको दाना निर्माण गर्ने मेशिन।
एक वर्षको छोटो अवधिमै विद्यालयहरूमा सृजनशीलता, अनुसन्धानमुखी सिकाइ, समूह कार्य, नेतृत्व विकास, वैज्ञानिक सोच तथा उत्पादनसँग जोडिएको शिक्षाप्रति उल्लेखनीय उत्साह देखिएको छ। विद्यार्थीहरूमा ‘रट्ने’ भन्दा ‘गरेर सिक्ने’ संस्कृतिको विकास हुँदै गएको छ। शिक्षकहरू परियोजनाका मार्गदर्शक बनेका छन् भने विद्यालय र समुदायबिचको सहकार्य पनि बलियो बन्दै गएको छ। शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम होइन, अनुकरण, नवपरिवर्तन र आविष्कारको माध्यम पनि हो भन्ने विश्वास यो कार्यक्रमले स्थापित गर्न थालेको छ।
कार्यक्रमलाई नतिजामूलक बनाउन नगरपालिकाले अवधारणा निर्माणदेखि अनुगमन, मूल्याङ्कन र सुधारसम्म विज्ञहरूको सक्रिय सहभागिता सुनिश्चित गरेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), राष्ट्रिय आविष्कार केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), पाठ्यक्रम विकास केन्द्र, विश्वविद्यालय तथा स्वतन्त्र अनुसन्धानकर्तासँग सहकार्यको आधार तयार गरिएको छ। यसले स्थानीय तह, विद्यालय र राष्ट्रिय अनुसन्धान संस्थाबिच सहकार्यको नयाँ सम्भावना पनि सिर्जना गरेको छ।
नेपाल राष्ट्रिय आ.वि कावासोती-११ का विद्यार्थीहरूको सहभागिता निर्मित बायो ग्याँस प्लान्ट।
नेपाल राष्ट्रिय आ.वि कावासोती-११ का विद्यार्थीद्वारा बायो ग्याँस प्लान्टको बारेमा जानकारी दिँदै।
माननीय मन्त्रीज्यू,
हामी विश्वास गर्छौँ नेपालमा नवप्रवर्तनको संस्कृति विश्वविद्यालयबाट मात्र होइन, विद्यालयको कक्षाकोठाबाट सुरु हुनुपर्छ। जिज्ञासा, प्रयोग, अनुसन्धान, उत्पादन र उद्यमशीलताको संस्कार बाल्यकालमै विकास गर्न सकियो भने भविष्यमा त्यही पुस्ताले नयाँ उद्योग, नयाँ प्रविधि, नयाँ रोजगारी र आत्मनिर्भर नेपालको आधार तयार गर्नेछ।
जनकल्याण मावि कावासोती-१ का विद्यार्थीहरूको सहभागितामा सोलर ड्रायर निर्माण र ड्राई फुड तयारी।
दिपेन्द्र आ.वि कावासोती-१६ का विद्यार्थीहरूको सहभागितामा निर्माण गरिएको पपाया क्यान्डी।
यसै कारण कावासोती नगरपालिकाले विकास गरेको यो अभ्यासलाई मन्त्रालयको राष्ट्रिय पाइलट नवप्रवर्तन शिक्षा मोडलका रूपमा स्वीकार गरी थप अनुसन्धान, परिमार्जन र विस्तार गर्न सकिने हाम्रो दृढ विश्वास छ। मन्त्रालयको नीतिगत नेतृत्व, प्राविधिक विशेषज्ञता र आर्थिक सहयोग प्राप्त भएमा यसलाई राष्ट्रिय रूपमा विस्तार गर्न सकिने प्रमाणमा आधारित नमुनाका रूपमा विकास गर्न सकिन्छ।
जनता मावि कावासोती-६, विष्णुनगरका विद्यार्थीहरू टनेल तरकारी खेतीमा रमाउँदै।
जनता मावि कावासोती-१६ का विद्यार्थीहरूद्वारा फालिएका कागजहरूको प्रशोधन गरी पुन: कागज निर्माण गरी सजावटका सामग्री तथा शैक्षिक सामग्री निर्माण।
यसका लागि मन्त्रालयसमक्ष विनम्रतापूर्वक देहायका सहयोगको अपेक्षा गर्दछौँ-
१. कावासोती नगरपालिकालाई विद्यालय स्तरीय नवप्रवर्तन शिक्षाको राष्ट्रिय पाइलट स्थानीय तहका रूपमा छनोट गर्ने।
२. मन्त्रालय, नास्ट, राष्ट्रिय आविष्कार केन्द्र, नार्क, विश्वविद्यालय तथा सम्बन्धित अनुसन्धान संस्थाहरूको प्राविधिक साझेदारीमा कार्यक्रमलाई थप सुदृढ गर्ने।
३. विद्यालय नवप्रवर्तन प्रयोगशाला, प्रोटोटाइप विकास, अनुसन्धान तथा उत्पादनमुखी परियोजनाका लागि विशेष अनुदान उपलब्ध गराउने।
४. कार्यक्रमको स्वतन्त्र अनुसन्धान, प्रभाव मूल्याङ्कन तथा राष्ट्रिय मापदण्ड विकास गर्ने।
५. सफल अभ्यासलाई क्रमिक रूपमा अन्य स्थानीय तहमा विस्तार गर्ने राष्ट्रिय कार्ययोजना तयार गर्ने।
सरस्वती मावि कावासोती-१७ का विद्यार्थीहरूको सहभागितामा निर्मित भर्मी कम्पोष्ट छान्ने मेशिन।
कावासोती नगरपालिकाले सीमित स्रोत र साधनका बिच पनि विद्यालयलाई उत्पादन, अनुसन्धान र नवप्रवर्तनसँग जोड्ने एउटा प्रयोग गरेको छ। हामी यसलाई अन्तिम उपलब्धि होइन, एउटा सम्भावनाको सुरुआतका रूपमा हेरेका छौँ। यदि यस प्रयासले यहाँको मार्गदर्शन, मन्त्रालयको संरक्षण र राष्ट्रिय अनुसन्धान संस्थाहरूको सहकार्य प्राप्त गर्न सक्यो भने यसले नेपालको विद्यालय शिक्षामा नवप्रवर्तनको नयाँ अध्याय सुरु गर्न सक्छ भन्ने हाम्रो विश्वास छ।
अन्त्यमा, यहाँको जीवनभरको समर्पणबाट प्रेरणा लिँदै सुरु गरिएको यो सानो अभियानलाई यहाँको अभिभावकीय साथ प्राप्त हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु। कावासोती नगरपालिकाको यो अभ्यासलाई समय निकालेर अवलोकन गरिदिनु, आवश्यक सुधारका लागि मार्गदर्शन गर्नु तथा यसलाई राष्ट्रिय अभियानका रूपमा विकास गर्न सहयोग पुर्याइदिनुहुन हार्दिक अनुरोध गर्दछु।
(लेखक कावासोती नगरपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का नगर शिक्षा अधिकृत हुन्।)