नेपालको कुनै गाउँमा बसेर कोरियाको नाम लिँदा धेरैका आँखामा उज्यालो सपना चम्किन्छ।
कसैले भन्छ, 'विदेश पुगेपछि दुःख सकिन्छ।'
कसैले भन्छ, 'त्यहाँ पैसा मात्रै पैसा छ।'
सामाजिक सञ्जालमा देखिने मुस्कान, घुमघाम र सफलताका तस्बिरहरूले पनि यही भ्रमलाई अझ बलियो बनाइदिन्छन्।
तर वास्तविकता यति सरल हुँदैन।
सपनाको उज्यालो र यथार्थको कठोरताबीच पसिनाले लेखिएको एउटा कथा हुन्छ, जुन केवल परदेशमा जीवन बिताएकाहरूले मात्र महसुस गर्न सक्छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आमाबुबाका आँखाबाट झरेका आँसु, साथीभाइसँगको अन्तिम अँगालो र 'छिट्टै फर्किन्छु' भन्ने वाचासँगै एउटा नयाँ यात्राको सुरूआत हुन्छ।
विमान उड्छ, तर त्यससँगै एउटा छोरो, एउटा छोरी, एउटा श्रीमान वा एउटा बुवाले आफ्नो जीवनको सबभन्दा अमूल्य अध्याय देशमै छोडेर हिँडेको हुन्छ।
शरीर विदेश पुग्छ, तर मनको ठूलो हिस्सा आफ्नै गाउँको आँगन, आमाको काख र बुबाको न्यानो मायामै अल्झिरहन्छ।
कोरियामा बिहान सूर्योदयभन्दा पहिले उठ्ने धेरै नेपालीहरू आफ्ना सपना पूरा गर्न होइन, आफ्ना परिवारका सपना जोगाउन उठ्छन्। यहाँ घडीले समय मात्रै होइन, मानिसको शरीर र मनलाई पनि दौडाउन सिकाउँछ।
कारखानाको आवाज, मेसिनको गति, ओभरटाइमको थकान, भाषा र संस्कृतिको फरक अनि एक्लोपनको पीडाबीच प्रत्येक दिन बित्छ। नेपालमा आमाबुबा र घरपरिवारले मेरो दुःखकष्ट र सङ्घर्षलाई देखेको त छैन तर नजिकबाट महसुस गरेको छ, तर मेरो समाजले अझै बुझ्न सकेको छैन र मैले बुझाउन पनि सकेको छैन।
'छरछिमेक र मेरो समाजलाई लाग्छ कोरियामा छ, धेरै कमाउँछ।'
तर उनीहरूलाई कहाँ थाहा हुन्छ— मैले कति पटक ज्वरो लुकाएर काम गरेको छु, कति पटक अस्पताल एक्लै पुगेको छु, कति पटक मोबाइलको पर्दामा घर हेरेर चुपचाप आँसु पुछेको छु।
विदेशमा सबैभन्दा ठूलो अभाव पैसाको हुँदैन, आफ्नै मान्छेको साथको हुन्छ।
चाडपर्वमा घर सम्झेर मन रोइरहन्छ, तर आँसु पुछ्ने आफ्नै कोही हुँदैन। यहाँ भावनाभन्दा उत्पादनको हिसाब ठूलो हुन्छ, त्यसैले दुःखलाई पनि मुस्कानभित्र लुकाएर काम गर्न सिक्नुपर्छ।
विदेशले बैंक खातामा रकम थपिदिन्छ, तर आमाको काखमा बिताउने समय घटाइदिन्छ।
बुबाको सेताम्मे हुँदै गएको कपाल हेर्ने अवसर खोसिदिन्छ। भाइबहिनी हुर्किएको थाहा हुँदैन, गाउँ फेरिएको खबर अरूबाट सुन्नुपर्छ।
कमाइ बढ्दै जान्छ, तर जीवनका अमूल्य क्षणहरू चुपचाप हातबाट फुत्किँदै जान्छन्। यही नै विदेशको सबैभन्दा ठूलो मूल्य हो, जसको हिसाब कुनै बैंकले राख्दैन। तर यही सङ्घर्षले समयको मूल्य, अनुशासन, धैर्य, जिम्मेवारी, आत्मनिर्भरता र कहिल्यै हार नमान्ने साहस पनि सिकाउँछ।
यहाँ बगाएको पसिनाले केवल पैसा कमाइँदैन, एउटा मानिसलाई भित्रैदेखि परिपक्व बनाइन्छ।
त्यसैले विदेशमा बस्ने नेपालीलाई केवल उसले पठाएको रेमिटेन्सबाट नहेर्नुहोस्। उसको मौनता पढ्नुहोस्, उसका नबोलेका पीडा बुझ्नुहोस् र उसका मुस्कानभित्र लुकेका आँसु महसुस गर्नुहोस्। किनकि हरेक विदेशी नेपालीले आफ्नो वर्तमानको ठूलो हिस्सा त्यागेर परिवारको भविष्य निर्माण गरिरहेको हुन्छ।
यदि तपाईं पनि कोरिया आउने सपना देखिरहनुभएको छ भने, केवल धेरै पैसा कमाउने कल्पना बोकेर नआउनुहोस्। यहाँ सङ्घर्ष छ, पसिना छ, भाषा र संस्कृतिसँगको लडाइँ छ, एक्लोपन छ र आफ्नै आँसु आफैले पुछ्नुपर्ने दिन पनि छन्। तर यही सङ्घर्षभित्र अवसर छ, सिकाइ छ र सफलताको ढोका पनि छ। त्यसैले मनमा एउटा अटल विश्वास बोकेर आउनुहोस्—'म सक्छु। मैले सक्नैपर्छ। मेरो भविष्यका लागि, मेरो परिवारका लागि, मेरो समाजका लागि र मेरो देशका लागि।'
किनकि सफलताको शिखर भाग्यले होइन, निरन्तर मेहनत, अटल विश्वास र कहिल्यै हार नमान्ने साहसले चुमिन्छ। इतिहास सपना देख्नेहरूले मात्र लेख्दैनन्, आफ्ना सपना पूरा गर्न आँसु, पसिना र जवानी अर्पण गर्नेहरूले लेख्छन्।
विदेशी भूमिमा बगाएको प्रत्येक पसिनाको थोपा कुनै दिन आफ्नै देशको समृद्धिको जग बन्नेछ।
सायद त्यसैले परदेशको सबैभन्दा ठूलो कमाइ पैसा होइन, सङ्घर्षले गढेको त्यो व्यक्तित्व हो, जसले आफ्नो सुखभन्दा पहिले परिवारको मुस्कान, समाजको आशा र देशको भविष्यलाई रोज्न सिकेको हुन्छ।