कमरेड भुषालको परिवार उसैमा पनि सो वडामा औसत माध्यम वर्गीयभन्दा माथिल्लो आर्थिक स्तरका परिवारमा गनिन्थ्यो। त्यसमा झन् २/२ कार्यकाल शहरोन्मुख नगरपालिकाको वडाप्रमुख चुनाव जितिसकेकोले उनी आउँदो निर्वाचनमा मेयरको दाबेदार मानिन्थे।
कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय नेता भइसकेका हुँदा जिल्ला तहका प्रमुख नेताजीहरूसँग उनको सिधा पहुँच हुनु कुनै नौलो कुरा थिएन। त्यसका साथै प्रदेश सभा सांसद र मन्त्रीहरूसँग पनि उनको दोस्तियारी नजिककै थियो। किनभने प्रदेश सभामा प्रायः सरकार टुटफुट भइरहने हुँदा प्रायः सबै माननीयको भागमा 'आपुतली मन्त्री पद' को चान्स आइपर्ने हुँदा उनका आफ्ना दल निकटका साथीहरूसँग राम्रै याराना थियो।
दोहोरो कार्यकाल वडा हाँकेका हुँदा प्रदेश, केन्द्र र स्थानीय तहको बजेट राम्रै खेलाउने वडा प्रमुख भएकोले पनि हुन सक्छ, सो कार्यकालमा सदरमुकाममा श्रीमतीको नाममा २ कट्ठा घरेडी समेत जोडिसकेका थिए तीन छोरीहरूका बुवा कमरेड भुषालले।
कमरेड-कमरेडकै चिनजानमार्फत अर्कै जिल्लाको सदरमुकामको मुख्य बजारमा मूलघर भई हाल अमेरिकामा स्थायी बसोबासी, त्यहीँको नागरिकता लिइसकेका र एनआरएनएका पदाधिकारी समेत भइसकेका हुनेखाने परिवारका गोपालसम्म भुषाल कमरेडको ठूली छोरी सङ्गीताको बिहेको कुरा अगाडि बढ्दै जान्छ।
दुई परिवारको सहमतिमै लमीले पठाइदिएको सङ्गीताको फोटो गोपालले मन पराउँछ। उनीहरूबीच सामाजिक सञ्जालमार्फत भिडियो कल र लामो कुराकानी समेत हुन्थ्यो। लामै कुराकानी भएपछि करिब ६ महिनापछि गोपाल नेपाल आउँछ र लमीहरूका माध्यमबाट एमएड पास गरेकी २३ वर्षीया सङ्गीताको बिहेको कुरा छिन्नको लागि ४ वटा कारहरूमा एक हुल मानिसहरू भुषाल निवासमा पुग्छन्। आएका कुटुम्बको ताँती र लमीलाई स्वागत सत्कार गर्दै कुराको सिलसिला अगाडि बढ्दै जान्छ।
गर्मी महिना भएकोले सर्वत बनाएर पाहुनालाई टक्र्याउन छोरीहरूलाई लगाइन्छ। सर्वत बाँड्न तीनै जना छोरीहरू नै आउँछन् र टक्र्याएर भित्र गई ढोकाको सानो चेपबाट लुकेर चिहाउँछन्। एकैछिनपछि गोपालले खुसुक्क फुपाजुसँग कानेखुसी गर्यो। त्यसपछि त घटनामा नयाँ ट्विस्ट देखा पर्यो।
सँगै आएका छोरीहरूमा ठूलीभन्दा माइली छोरी चाहिँ अझै बढी राम्री, टम्म, चटक्क मिलेको जिउडाल र रूपरङ्ग पनि भएको, उमेर पनि अझै भर्खरैकी देखिने हुँदा ‘ए हजुर साच्चै भन्ने हो भने जेठी खासै मन परेन रे हाम्रो गोपाल बाबुलाई, माइली चाहिँ दिने भए हाम्रो तर्फबाट ओके, होइन भने हामी कुरा अगाडि बढाउने मुडमा छैनौँ’ भन्ने प्रस्ताव केटा पट्टिबाट आयो।
त्यो सुन्नासाथ भुषाल परिवार अलमल्लमा परे। ढोकाको सानो प्वालबाट चिहाइरहेका ३ छोरीहरू पनि पुरै आश्चर्यमा परे। ठूली दिदीको लागि हेर्न आएको माहिली बहिनी चाहिँ राम्री देख्नासाथ केटाले प्रस्ताव परिवर्तन गर्यो। त्यो सुन्नासाथ बहिनीभन्दा आफू नराम्री भएको ग्लानिले सङ्गीता कोठामा गई रोइरहेकी थिई। बहिनीहरू पनि दिदीसँगै कोठामा पुगी रोए।
उनिहरुको बेदना, चित्त दुखाइ र अपमानभन्दा ठुलो हतियार गोपालसँग थियो, त्यो हो 'अमेरिकी ग्रिनकार्ड, एनआरएनएको मेम्बर र त्यहाँको वैभवको जीवनशैली'। अन्ततः उनीहरूले कम्प्रोमाइज गर्ने नै निर्णयमा पुगी जेठी दिदीलाई फकाइफुल्याइ, उनको माध्यममार्फत समेत कन्भिन्स गर्न लगाई माइली छोरीलाई अनेक तरहले मनाएर बिबिएस दोस्रो वर्ष पढ्दै गरेकी १९ वर्षीया छोरी शुष्माको हात ३४ वर्षीय केटालाई सुम्पन राजी भए। साढे ३ दशक नै पुग्न लागिसकेका भए पनि यद्यपि केटो विदेशको लवाइ-खुवाइ र मेन्टेनले गर्दा होला, त्यति पाको जस्तो चाहिँ देखिन्नथ्यो।
केटी पट्टिका परिवार राजी भएपछि ‘ल है हजुर, हामी आफ्नो तर्फबाट बिहेमा कुनै कसर बाँकी राख्दैनौँ, हजुरहरूले पनि हाम्रो इज्जतमा कुनै कम्प्रोमाइज गरिसिन्न भन्नेमा हामी ढुक्क छौँ’ भनेर दाइजो सिधै नमागे पनि घुमाउरो पारामा बढी खर्च गरियोस् भन्ने आशय गोपालको आफन्तहरूले गरे।
‘हजुरहरूले चिन्ता नलिस्यो, हामी पनि हाम्रो तर्फबाट कुनै कसर बाँकी राख्नेछैनौँ’ भुषाल कमरेडले निश्चिन्त रहन भन्दै सगाइको मिति टुङ्गियो।
जताततै उनीहरूकै चर्चा सुनिन्थ्यो। दुना टपरी, धान कुट्ने, चिउरा बनाउने, दाउरा चिरेर तयारी गर्ने, बस्तुभाउलाई घाँसको पूर्वतयारी जस्ता कुराहरू अचेल शहरोन्मुख गाउँघरबाट समेत हराइसकेको भान त्यस बिहेमा देखियो। ‘खप्परमा त लेखेरै ल्याकी रैछे बाइ, हाम्रो सिरानघरे भुषाल्नी माइली, अमेरिकाको ग्रिनकार्ड वालासँग पो बिहे हुने रैछ।’ चोक चौतारो, पानी पँधेरो, खेत खलियानतिर गाउँका अधिकांश महिलाहरूको कुरा गर्ने साझा विषय बनेको छ शुष्माको हुन लागेको बिहेको बारेमा।
उनलाई पढाउने गाउँका गुरुहरू पनि थप भन्दै थिए- ‘पढाइमा सानैदेखि अब्बल, रूपरङ्ग र शील स्वभाव पनि असाध्यै राम्रो थियो उनको, आखिर भाग्य र मेहनतले साथ दिएपछि कसको के नै पो लाग्छ र, हेर्दा-हेर्दै हिजो आफैले एबिसिडी पढाएको विद्यार्थी अब अमेरिकाको सिटिजन अनि एनआरएन हुने भैसकिन् शुष्मा, यो त हाम्रो लागि गर्विलो कुरा हो।’
नातागोता, साथिभाइ, छरछिमेक, इष्टमित्र, बन्धुवान्धवहरूमा कसैले २ बित्ता जिब्रो निकाले। कोही ईर्ष्यालु साथीहरू चाहिँ जलन भएर बसिरहेका। विवाहको पूर्वसन्ध्यामा चिया चौतारीतिर भुषाल परिवारको नाक नै उच्लिएको छ। सबैले वाहवाही गरे। बिहेको तयारी बडो धुमधामका साथ चल्यो। महँगो पार्टी प्यालेसमा इङ्गेजमेन्ट कार्यक्रम आयोजना गरियो, त्यसपछि बिहेको दिन टुङ्ग्याइयो।
केटा पट्टिका आफन्तहरू समेतलाई नाता अनुसार सुनका गहना, महँगा उपहार, खानेकुरा, तामसी भोजन, महँगा रक्सी, वाइन र बियरको चुस्की सङ्ग सपेटाको सितन, मेहेन्दी र सङ्गीत कार्यक्रम, विलासी पोशाक, प्रि-वेडिङ फोटोसुट, विवाह व्यवस्थापन कम्पनी, डेस्टिनेसन वेडिङ, रवाफिलो आतिथ्य सत्कार, विवाहपछि हनिमुन संस्कृति, अप्रत्यक्ष उपहार र दाइजो, बिहेपछि सम्ध्यैलो ढोगभेट फुकाउने कार्यक्रममा समेत सुटमा कपडा र सुनको औँठी सिक्री किन्दा समेत पुग्दा भुषाल कमरेडको ९५ लाख खर्च पार गर्यो।
गाउँभरिकै भव्य तामझामका साथ विवाह सम्पन्न गरे कमरेडले। जसका लागि आफूसँग मौज्दात रहेको नगद बाहेक उनले सदरमुकामको २ कट्ठा घरेडी बेच्नु पर्यो। घरमा अर्को दुई छोरीहरू बाँकी नै थिए बिहे गर्न, यद्यपि उनीहरूमा कुनै चिन्ता थिएन, कारण ठुलाघरे परिवार त्यसका पनि अमेरिकाको सिटिजन भइसकेका केटालाई आफ्नो छोरीको सम्बन्ध जोड्न सकेकोमा।
भिसाको कागजात पूर्ववत् रूपमै मिलाइसकेर गएको हुँदा बिहेपछि उनीहरू दुबैजना अमेरिका गए। बिहेमा सुरुवाती दिनहरू रमाइलो गरी बिताएका कुरा उनीहरूको फेसबुक र इन्स्टाग्रामको पोस्ट देख्दा त्यही बताउँथ्यो।
अमेरिकामा पनि पैसा बोटै त नहुने हुँदा, त्यहाँ पनि बिना मेहनत र बिना सङ्कोच काममा घोटिनै पर्ने बाध्यता। बाहिरबाट देख्नेलाई सान सौकतको जीवन जिइरहेको देखिएता पनि सम्पूर्ण सम्पत्ति बैंबको किस्ताबन्दीमा किनिएको हुँदोरहेछ। सोको किस्ता तिर्न एकै दिन मात्र बिलम्ब हुँदा मात्र पनि जरिवाना तिर्नुपर्ने बाध्यात्मक कारणले 'घण्टा' हान्नै पर्ने रहेछ घर, कार अनि अरू-अरू प्रोपर्टिको मोर्गेज तिर्नलाई।
नेपालमा सिगरेट पाइएझैँ उता जताततै पसलमै गाँजा पाइने र कानुनी बन्देज नहुने भएकोले केटामा अत्यधिक गाँजा सेवनको आदत रहेछ। साथै दैनिक रूपमा भारी मात्रामा मदिरा पिउनै पर्ने आदत समेत भएकोले क्रमिक रूपमा आपसमा झैझगडा र वैमनस्यता बढ्दै गयो, आपसी विचार मिल्न नसक्दा गोपालले शुष्मासँग दूरी बढाउँदै गयो। त्यसपछि बिस्तारै आपसमा अविश्वास र मनमुटाव सुरु भयो।
त्यही बीचमा झन् अर्को विषयले प्रवेश पायो- शुष्मालाई नेपालमा सँगै कलेज पढ्ने एक केटाले एकहोरो मन पराउँदो रहेछ। उसले शुष्माको फेसबुक म्यासेन्जरमा पटक-पटक सो केटाले प्रेम प्रस्ताव राखेको म्यासेज देखेछ। यद्यपि शुष्माले कुनै रेस्पोन्स नगरेकै भए तापनि निहुँ खोज्न त्यो एकतर्फी म्यासेज नै काफी थियो।
गोपालको उमेर पनि १५ वर्ष बढी भएको हुँदा एक जेनेरेसन नै ज्ञात भएकोले पनि हुन सक्छ, रुचि र सोचविचारमा एकरूपता आउन छोड्यो। कहिले घरै नआउने, कहिले हप्तौँ बिना जानकारी घरबाट हराइदिने, कहिले घरमा आई झर्की-फर्की गर्ने, कराउने, चिच्याउने, बेवास्ता गर्ने, कहिलेकाहीँ त हातपात समेत गर्ने गरेको कारण सम्बन्धमा दरार आउन थाल्यो।
दिनहुँजसो नै सो कार्य बारम्बार दोहोरिरहने, झगडा उग्र हुँदै गएको र कम्प्रोमाइजको नाम-निसाना नै देखिन छोडिसकेको अवस्था थियो। आफन्तहरूको मध्यस्थकर्तामा जति छलफल र मिलाउने कोसिस गर्दा पनि सम्भव नभएपछि उनीहरू आउँदो जीवन श्रीमान्-श्रीमतीको सम्बन्धमा अगाडि बढ्न नसक्ने नै निष्कर्ष निकालेर नेपाल गएर विधिवत् रूपमै बिहेको १५ महिनापछि उनीहरूको पारपाचुके गरे।
कमरेड भुषालले ९५ लाख खर्च गर्दा दुलाहा पट्टिकाले पनि त करिब-करिब त्यस्तै सेरोफेरोमा खर्चिए होलान्। जुन पैसा करिब २ करोड जति हुन सक्छ। २० रुपैयाँको तरकारी किन्दा त छानीछानी किन्ने हामी, जीवनको त्यत्रो ठुलो निर्णय र खर्च गर्नु अगाडि कत्ति पनि सोचविचार गरेको देखिएन।
बुझ्दै नबुझी शक्ति, पहुँच, धन दौलत, सान सौकत, ऐस आराम अनि रवाफिलो जीवन देख्दा साथ भर्खरै बालिग उमेरमा पाइला टेक्दै गरेकी आफ्नो कलिली छोरी सुम्पँदा गर्वले छाती चौडा पार्दै जुँगामा ताउ लाउने मानसिकता, अपरिपक्व निर्णय र हतारमा विवाह, दम्पतीबीच संवादको कमी, आर्थिक दबाब र ऋणको बोझ, परिवारको अत्यधिक हस्तक्षेप, विश्वासघात, हिंसा वा दुर्व्यसन, वैदेशिक रोजगारीका कारण लामो दूरीको सम्बन्ध, विवाहपूर्व एकअर्कालाई नबुझी विवाह गर्ने कारण अहिलेको नेपाली समाजमा सम्बन्ध विच्छेदका घटनाहरू दिन प्रतिदिन बढिरहेको देखिन्छ।
विवाहलाई केवल दुई व्यक्तिको मिलन मात्र होइन, दुई परिवार, दुई संस्कार र दुई जीवनको पवित्र बन्धन मानिन्छ। तर पछिल्ला वर्षहरूमा विवाहको उद्देश्य नै परिवर्तन हुन थालेको देखिन्छ। कतिपय अवस्थामा प्रेम, समझदारी र चरित्रभन्दा धन, सम्पत्ति, वैदेशिक रोजगारी, सामाजिक प्रतिष्ठा वा आर्थिक हैसियतलाई प्राथमिकता दिइन्छ। यस्तो अवस्थामा गरिएको विवाह सुरुमै आकर्षक देखिए पनि समयसँगै सम्बन्धमा दरार आउन थाल्छ।
धन जीवनका लागि आवश्यक छ, तर सफल वैवाहिक जीवनको एकमात्र आधार होइन। पैसा आज छ, भोलि नहुन पनि सक्छ। व्यवसायमा घाटा लाग्न सक्छ, जागिर गुम्न सक्छ वा आर्थिक अवस्था बदलिन सक्छ। यदि सम्बन्धको जग नै धनमा बनेको छ भने आर्थिक परिस्थिति बदल्नेबित्तिकै सम्बन्ध पनि कमजोर हुन सक्छ। तर प्रेम, विश्वास, सम्मान र त्यागमा बनेको सम्बन्ध भने कठिन परिस्थितिमा पनि बलियो रहन्छ।
आजकल समाजमा दाइजो, महँगो विवाह, विदेशी नागरिक वा धेरै कमाउने व्यक्तिसँग विवाह गर्ने प्रवृत्ति बढ्दो छ। धेरैले जीवनसाथीको स्वभाव, चरित्र, संस्कार, जिम्मेवारीबोध र मानवीय गुणभन्दा बैंक ब्यालेन्स, घर, गाडी र सम्पत्तिलाई बढी महत्त्व दिन थालेका छन्। यस्ता अपेक्षाले विवाहलाई सम्बन्धभन्दा बढी आर्थिक कारोबार जस्तो बनाइदिन्छ।
धनको प्रभावमा गरिएको विवाहमा प्रेमभन्दा स्वार्थ बलियो हुन्छ। स्वार्थ पूरा हुँदासम्म सम्बन्ध राम्रो देखिए पनि अपेक्षा पूरा हुन छाडेपछि असन्तुष्टि, विवाद, अविश्वास र अन्ततः सम्बन्ध विच्छेदसम्मको अवस्था आउन सक्छ। त्यसैले आज धेरै तामझामका साथ लाखौँ रुपैयाँ खर्च गरेर गरिएका विवाह पनि छोटो समयमै टुटिरहेका उदाहरणहरू देखिन्छन्।
सफल वैवाहिक जीवनका लागि धैर्य, त्याग, सहकार्य, सम्मान र निरन्तर संवाद आवश्यक हुन्छ। यी गुण नभए धनले मात्र सम्बन्धलाई बचाउन सक्दैन। अभिभावकहरूले पनि छोराछोरीको विवाह गर्दा केवल आर्थिक हैसियत नहेरी उनीहरूको सोच, संस्कार, व्यवहार, जिम्मेवारीबोध र जीवनप्रतिको दृष्टिकोणलाई महत्त्व दिनुपर्छ। विवाह एक दिनको समारोह होइन, जीवनभरको सहयात्रा हो। धनको प्रभावमा गरिएको विवाह प्रायः दीर्घकालीन सुखको आधार बन्न सक्दैन।
विवाहको वास्तविक सफलता सम्पत्तिमा होइन, परस्पर प्रेम, विश्वास, सम्मान, त्याग र समझदारीमा निर्भर हुन्छ। त्यसैले जीवनसाथी रोज्दा धनलाई होइन, राम्रो मन, असल चरित्र र मानवीय मूल्यलाई प्राथमिकता दिनु नै बुद्धिमानी हुन्छ। यस्तै आधारमा बनेको सम्बन्ध मात्रै समयको परीक्षा पार गरेर पनि मजबुत रहन्छ। यदि विवाहको निर्णय मुख्यतः आर्थिक हैसियतका आधारमा हुन्छ, सम्बन्धमा प्रेमभन्दा अपेक्षा बलियो हुन्छ भने आर्थिक अवस्था परिवर्तन हुँदा त्यही अपेक्षा असन्तुष्टिमा बदलिन सक्छ।
आधुनिकता आफैँमा समस्या होइन। समस्या तब उत्पन्न हुन्छ, जब विवाह प्रेम, विश्वास र जिम्मेवारीको संस्कारभन्दा बढी प्रदर्शन, प्रतिस्पर्धा र आर्थिक हैसियत देखाउने माध्यम बन्छ। पछिल्ला वर्षहरूमा नेपालमा विवाहको खर्च अस्वाभाविक रूपमा बढेको छ। लाखौँ रुपैयाँ खर्च गरेर भव्य विवाह गर्ने चलन बढिरहेको छ। भव्य भोज, महँगा गहना, फोटो–भिडियो, सांगीतिक कार्यक्रम र सामाजिक प्रदर्शनको होड बढेको छ। तर विडम्बना, यस्ता धेरै विवाह एक वर्ष नपुग्दै सम्बन्ध विच्छेदसम्म पुगिरहेका उदाहरणहरू पनि देखिन थालेका छन्।
नेपाल विश्वको शीर्ष ३० उच्च सम्बन्ध विच्छेद दर भएका देशहरूमा परिनसकेको भएता पनि पछिल्ला वर्षहरूमा सो संख्या तीव्र रूपमा बढिरहेको छ। नेपाल प्रहरी र सर्वोच्च अदालतको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्रै सम्बन्ध विच्छेदका मुद्दा ४२,७३९ दर्ता भएकोमा ३३,०५० मुद्दा फर्छ्योट भएका थिए। हरेक वर्ष कम्तीमा पनि ५ हजारभन्दा माथिल्लो अङ्कले सम्बन्ध विच्छेद भइरहेको डाटा हामी देख्न सक्छौँ। सो सङ्ख्या हाम्रो जस्तो मजबुत सम्बन्ध भएको पूर्वीय दर्शनको रिवाजलाई अङ्गीकार गर्ने सुव्यवस्थित र संस्कारी मुलुकको लागि अत्यन्तै चिन्ताको विषय हो। किनकि पारिवारिक सम्बन्ध टुट्नाले दुईजनाको आपसी नाता विच्छेद मात्रै नभई दुई परिवार र नातागोताबीच पनि सम्बन्ध टुटेको अवस्थाको ग्राफ हो त्यो।
यो त भयो सरकारी तहमा पुगेर दर्ता गराएकाहरूको मात्र सम्बन्ध विच्छेदको तथ्याङ्क, दर्ता बिना नै विच्छेद भएकाहरूको सङ्ख्या त झन् कस्तो होला अनुमान लगाउन सकिन्न। जुन अत्यन्तै चिन्ताजनक विषय हो।
स्मरण रहोस्, सम्बन्ध विच्छेद आफैँमा सुमधुर हुँदैन। जब सम्बन्ध बिग्रन्छ, तब सुटुक्क कागजी प्रक्रिया पूरा गरेर दुई दम्पती मात्र अलग हुँदैनन्। त्यसले दुई परिवार, उनीहरूका आफन्त, नातेदारहरूबीच समेत पानी बाराबारको अवस्था सिर्जना हुन्छ। त्यसपछि अंश विवाद, झैझगडा, प्रहरी केस, रुवावासी, मुद्दा-मामिला, कोर्ट कचहरी इत्यादिको लफडा झेल्नुपर्ने हुन्छ। तसर्थ विवाह गर्नु भन्दा अघि केही समय निकालेर सोचविचार गरेर निर्णय गर्न सकिएको भए त्यो बर्बादी दुवै तिरकाले भोग्नु पर्दैनथ्यो होला नि।
अचेल नेपाली समाजमा धेरै सेलिब्रेटी कलाकारहरूको विवाहको सम्बन्ध केही वर्षभित्रै टुङ्गिनुको कारण पनि यस्तै कारणले भएको हामी देख्न सक्छौँ। सवाल यहाँ बढी खर्च गर्यो भन्ने होइन, मुख्य कुरा उच्च घरानियाँ कुटुम्ब आउन साथ बडो गर्विलो रूपमा कन्यादान गर्न रवाफिलो वैवाहिक कार्यक्रम गर्न हतारिनेहरूको मनोदशाको हो।
गरिबसँग विवाह गर्दा मात्रै सम्बन्धमा दिगोपना आउँछ भन्न खोजिएको होइन। आर्थिक अवस्था पनि जीवनको महत्त्वपूर्ण पक्ष हो। तर धनभन्दा माथि मानवता, चरित्र, इमानदारी, परस्पर सम्मान, संवाद गर्ने क्षमता र एक अर्कालाई साथ दिने भावना हुनुपर्छ। पैसा कमाएर जीवन सजिलो बनाउन सकिन्छ, तर पैसाले प्रेम, विश्वास र आत्मीयता किन्न सकिँदैन। हाम्रा अग्रजहरूले भन्ने गर्थे, 'धनले घर बनाउन सक्छ, तर परिवार बनाउन सक्दैन।' यो भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ।
धेरै खर्च गरेको हुनाले नै सम्बन्ध नटिकेको भन्न खोजेको पक्कै होइन। मात्र ठुलाघरे, सेलिब्रेटी, ग्रिनकार्ड, पीआर होल्डर, दामवाला, पावरवाला, बढी इज्जतिलो परिवारका केटा माग्न आउनासाथ सोको प्रभावमा आफ्नो कलिली छोरीको भावना समेत बुझ्दै नबुझी आँखा चिम्लेर ‘अहो यो त हाम्रो अहोभाग्य नै हो’ भन्दै छोरी दिन हतारिने, उनीहरूलाई खुसी तुल्याउन चाहिनेभन्दा बढी ढोङ देखाउने र जग्गै बेचेर भए पनि पैसाको खोलै बगाउन समेत पछि नपर्ने बाउआमाको दरिद्र मानसिकताले गर्दा समाजमा देखापरिरहेको खराब चिन्तनको चिरफार हो।
बिहेमा खर्चिएको रकमले सम्बन्धको आयु निर्धारण गर्दैन; सम्बन्धको आयुलाई त प्रेम, विश्वास, सम्मान र जिम्मेवारीले निर्धारण गर्छ। एक दिनको तामझामभन्दा जीवनभरको समझदारी धेरै मूल्यवान हुन्छ।
अन्ततः विवाहको सफलता, खर्चले होइन, समझदारी, विश्वास, सम्मान र जिम्मेवारीले निर्धारण गर्छ। लाखौँ रुपैयाँ खर्च गरेर गरिएको विवाह पनि एक वर्षमै टुट्नुले हामीलाई एउटा गम्भीर प्रश्न सोधिरहेको छ, हामी विवाहलाई प्रदर्शनको माध्यम बनाइरहेका छौँ कि जीवनभरको सहयात्राको आधार भन्ने कुरा हाम्रो समाजले सोच्नै पर्ने टड्कारो आवश्यकता बनिसकेको छ।