विश्वकप फुटबलको दोस्रो सेमिफाइलनमा इंग्ल्याण्डले आज क्रोएसियाको सामना गर्दैछ।
यो विश्वकपमा क्रोएसिया ‘अण्डर डग’ टोलीका रूपमा उदाएको छ। सन् २०१४ मा विश्वकप खेलेका १४ खेलाडी यसपटक क्रोएसियाको टोलीमा छन्। अनुभवी टोली र उत्कृष्ट मिडफिल्ड उसको परिचय बनेको छ। च्याम्पियन्स लिग विजेता रियल मेड्रिडका मिडफिल्डर लुका मोड्रिचले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। होचो कद र दुब्लो शरीर भएका मोड्रिच तीन खेलमा ‘म्यान अफ द म्याच’ भैसकेका छन्। मोड्रिचसँगै बार्सिलोनाका मिडफिल्डर इभान राकाटिचले उत्कृष्ट तालमेल गरिहरेका छन्। त्यस्तै युभेन्ट्सका स्ट्राइकर मारियो माञ्डुकिच र इन्टर मिलानका राइट विंगर इभान पेरिसिचबीच पनि उत्कृष्ट तालमेल छ।
अर्कोतर्फ इंग्ल्याण्ड जारी विश्वकपमा ‘लक्की’ सावित भैरहेको छ। प्रशिक्षक ग्यारेथ साउथगेटका सबै रणनीति सफल भैरहेका छन्।
खेल आज थप समयमा जान सक्ने आँकलन साउथगेटले गरेका छन्। क्रोएसियाको रसियाविरुद्धको खेल थप समयमा पुगेको थियो। जसमा क्रोएसियाका मोड्रिच र रेकेटिक थाकेका देखिएका थिए। उनले मंगलबार २३ जना खेलाडीलाई नै ट्रेनिङमा उतारेका थिए। त्यसैले इंग्ल्याण्ड आज एक्स्ट्रा टाइमको समेत रणनीतिका लागि तयार देखिएको छ।
साउथगेटले रसिया विश्वकपको भारी आफूले बोकेर खेलाडीलाई दबाबमा पर्न नदिएकोमा उनको प्रशंशा भएको छ। कोच साउथगेट र कप्तान हेरि केनको तालमेलका कारण १९९० पछि पहिलोपटक इंग्ल्याण्ड सेमिफाइनल आइपुगेको छ। युवा टोली इंग्ल्याण्डका कप्तान हेरी केनले जारी विश्वकपमा ६ गोल गरिसकेका छन्। विश्वकप सुरू हुँदा इंग्ल्याण्डका घरेलु समर्थकले उपाधिको अपेक्षा गरेका थिएनन्। तर इंग्ल्याण्डका खेलाडीको प्रदर्शनपछि उपाधिको अपेक्षा बढेर गएको छ। इंग्ल्याण्डका रहिम स्टर्लिङबाहेक अन्य खेलाडीका विषयमा समर्थक विभाजित छैनन्।
फुटबल पण्डितहरूले स्टर्लिङको तारिफ गरिरहेका छन्। तर स्टर्लिङको ठाउँमा रासफोडलाई खेलाउनु पर्ने मत पनि बढेर गएको छ। स्वीडेनविरूद्धको क्वार्टर फाइलनमा स्टर्लिङ ‘वन भर्सेस वन’मा समेत गोल गर्नबाट चुकेका थिए। इंग्ल्याण्डका पूर्वकप्तान एलेन सियररले क्रोएसियासँग यसपटक मोड्रिच र राकाटिचजस्ता ‘गड गिफ्डेट’ क्षमतावान खेलाडी रहेको टिप्पणी गरेका छन्। तर इंग्ल्याण्डका युवा खेलाडीको क्षमता र शक्ति अन्य राष्ट्रसँग नरहेको बताएका छन्। तर दबाबमुक्त क्रोएसयियाले इंग्ल्याण्डविरुद्ध राम्रो प्रदर्शन गर्न सक्ने अपेक्षा उनले गरेका छन्। क्रोएसियाका प्रशिक्षक ज्लात्को दलिचले आफूले इंग्ल्याण्ड र फ्रान्स दुबैलाई सम्मान गरे पनि दुबै राष्ट्र क्रोएसिया जस्तो राम्रो टिम नरहेको दाबी गरेका छन्। क्रोएसिया सन् १९९८ को सेमिफाइनलमा फ्रान्ससँग घरेलु मैदानमा २-१ ले पराजित भएको थियो।
तर यसपटक इंग्ल्याण्डविरुद्ध इतिहास नदोहोर्याउने दाबी क्रोएसियाको छ। क्रोएसियाले जारी विश्वकपमा हरेक खेलमा गोल गरेको छ। क्रोएसियाका ८ खेलाडीले १२ गोल गरेका छन्। अर्कोतर्फ इंग्ल्याण्डले जारी विश्वकपमा १३ गोल गर्दा हेरि केन एक्लैले विश्वकपमा ६ गोल गरेका छन्। बेल्जियमसँग बाहेक इंग्ल्याण्डले हरेक खेलमा गोल गरेको छ। इंग्ल्याण्डले यो विश्वकपका ४ गोल कर्नरमा गरेको छ। त्यसैले क्रोएसियाका लागि इंग्ल्याण्डको कर्नर रोक्नु चुनौतीपूर्ण छ। यद्यपी क्रोएसियाले यो विश्वकपमा ‘वेल ब्यालेन्स्ड’ एट्याकिङ खेल खेलेको छ। दुई देशले अन्तिमपटक सन् २००७ मा खेलेका थिए। वेम्बलीमा भएको खेलमा क्रोएसियाले ३-१ को नतिजा निकालेको थियो। त्यसअघि सन् २००४ को युरोकपमा इंग्ल्याण्डले ४-२ को नतिजा आफ्नो पक्षमा पारेको थियो।
खेल नेपाली समयअनुसार पौने १२ बजे लुज्निकी रंगशालामा सुरू हुनेछ।