२०८२ कात्तिक २५ गते फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेशले सार्वजनिक बिदा दिने भएको थियो।
ओखलढुंगा बजारबाट धेरै टाढाको ठाउँ पनि होइन जम्मा दुई दिन एक रातमा पुगेर आइन्थ्यो। तर हामी पुगेकै थिएनौँ, पिके हिल।
२०७५ सालतिरै हो पिके-देम्बा अल्ट्रा हाफ म्याराथन भएपछि यो क्षेत्र निकै चर्चामा थियो। हामी पनि जाने सोच बनायौँ।
राजेन्द्र धमला, यदुनाथ धमला र म।
२५ गते बिहान ७:३०/८:०० तिर हिँड्ने सल्लाह थियो। सोही अनुसार हाम्रो यात्रा अगाडि बढ्यो। म र यदु दाइ स्कुटरमा। डर चाहिँ यो थियो कि स्कुटर पुर्याउन सकिन्छ कि सकिँदैन?
जे होस् हिम्मत गरेर हिँडियो। ओखलढुंगा बजारबाट रमाइलो डाँडा हुँदै सोलुखुम्बु जाने बाटोतर्फ उकालो लाग्यौँ।
ओखलढुंगा-सोलुखुम्बुको मुख्य सडक साँघुरो र घुमाउरो भए पनि पिच छ, त्यसैले यात्रा सहजै थियो। ठाडे बजारमा पुगेर सुचिया खायौँ। सुचिया भनेको पिठो/सातुमा नुन हालेको चिया हो, स्वाद अनुसार यसमा चिनी पनि हाल्न मिल्छ। धाप पुग्यौँ हामी। धाप ओखलढुंगा र सोलुखुम्बुको सिमाना पनि हो।
अब पिचबाट कच्ची बाटोतर्फ हिँड्नु पर्ने थियो। त्यसैले धापबाट पश्चिम तर्फको कच्ची बाटो लाग्यौँ। पर्यटकहरू धापबाट नै ट्रेकिङमा जाने रहेछन्।हामी जाँदै गर्दा बाटोमा पर्यटकहरू हिँड्दै थिए। केही विदेशी, केही स्वदेशी पर्यटकहरू। सबैको गन्तव्य पिके हिल नै थियो। बीचमा पुगेपछि दुई वटा बाटो आयो। झाप्रे ६ किलोमिटर। हामी झाप्रेतर्फ अगाडि बढ्यौँ। झाप्रे पुग्दा १० बज्नै लागेको थियो। अब यतै खाना खाऊँ भन्ने सल्लाह भयो।

पिके लज एण्ड रेस्टुरेन्टमा खाना तयार हुन आधा घण्टा लाग्ने भयो। दिन एकदमै खुलेको थियो। हिमालहरू दन्तलहर टल्किएजस्तै टिलिल्ल टल्किएर हाँसिरहेका देखिन्थे।
हामीले केही थान फोटो र भिडिओहरू खिच्यौँ। साहुजीले पुदिना हालेको तातो पानी ल्याइदिनु भयो, पानी खायौँ। स्वादहीन हुन्छ भनेर पढेको पानीको पनि यति मिठो स्वाद, मनै लोभिएको थियो। खाना तयार भयो सरहरू, साहुजीले बोलाउनु भयो। हामी खाना खान लाग्यौँ। एकदमै मिठो थियो।
लेकको रायोको साग आहा! कत्ति मिठो। त्यहाँ माथि लसुनको अचार, जिब्रोमै स्वाद झुण्डिएको छ। हामीले थपी-थपी खाना खायौँ।
झाप्रेबाट अगाडि लागेपछि हामी उकालोतर्फ लाग्नुपर्ने थियो। कच्ची बाटो अनि उकालो। एउटा लिकबाट लग्यो, लिक टुंगिन्छ।
एक ठाउँको उकालोमा त चिप्लो पनि थियो। चिप्लो बाटो छल्न खोज्दा खोज्दै स्कुटर हिलोमा ढल्यो। साथीहरू पछाडिबाट आएर उठाउनु भयो। त्यहाँबाट पनि उकालो लाग्दै जाँदा, कतैकतै बालुवा मिसिएको माटो जस्तो भेटिन्थ्यो, स्कुटर चिप्लिन खोजी हाल्थ्यो। अनि लाग्थ्यो यो बाटो त ट्रेकिङमै आउनुपर्ने बाटो पो रहेछ।
केही माथि डाँडामा पुगेपछि भवन कार्यालयको टिम भेटियो। बाइक र स्कुटरलाई बाटो छेउमा राखेर केही माथि डाँडामा चढेर फोटो, भिडिओ खिचियो। सात जना भइयो, एउटा टिकटक बनाएर पोष्ट गरी हालेँ मैले। हामी अगाडि बढ्यौँ। हामी बौद्धको नजिकै थियौँ। बौद्ध पुग्नु केही तलतिर कान्लो परेको उकालो र ग्रेगर मिसिएको बाटो रहेछ। हामीले पालैपालो बाइक स्कुटर ठेल्दै चढायौँ। अनि सम्झिएँ हास्यव्यंग्य कलाकार सुवोध गौतम दाइलाई। उहाँले एकपटक चित्र बहादुर केसीको क्यारिकेचर गर्दा भन्नु भएको थियो। पहाडको बाटोमा गाडीले हामीलाई होइन, हामीले गाडीलाई बोक्यौँ।
हो, आज हामीलाई त्यस्तै भयो। हामीले पनि पालैपालो बाइक र स्कुटर बोकेर माथि निकाल्यो। तर यो दुरी त्यति धेरै लामो चाहिँ थिएन।
केही माथि पुगेपछि घरहरू देखिए, बौद्ध गुम्बा पनि। हामीले बाइक स्कुटर पार्किङ गर्यौं। त्यो ठाउँ सोलुदुधकुण्ड नगरपालिका वडा नं १० पर्ने रहेछ। जुन ठाउँ लाम्जे हो। ३५५० मिटरको उचाइमा आइपुगेका रहेछौँ हामी। लाम्जे लज अगाडि हाम्रा सवारी साधन पार्किङ गरिएका थिए।
हामीले फेरि सुचिया खायौँ। त्यतिबेलासम्म सिँचाइ कार्यालयको टिम र अन्य साथीहरूसँग पनि भेट भयो। यहाँबाट अब हाम्रो पूरै पैदल यात्रा थियो। हामी अगाडि बढ्यौँ। तेर्सो-तेर्सै थियो बाटो। हतार नगरि बिस्तारै हिँड्यौं। लाम्जेबाट हिँड्दा दिउँसोको १२:५५ भएको थियो। त्यहाँबाट पैदल यात्रा तीन घण्टामा पिके बेसक्याम्प पुगिन्छ भनेर सुनिएको थियो। त्यसैले ढुक्क थियौँ।
हिँड्दै जाँदा अलौकिक र अद्भुत ठाउँहरू देखिन्थे, मनै लोभ्याउने। हामी फोटो भिडिओ खिचेर सामाजिक सञ्चालका लागि जोहो गर्थ्यौं। मोबाइलमा चार्ज पनि सकिन लागेको हुनाले चार्जको बचत पनि गर्नैपर्ने थियो। किनकी लाम्जेमै मोबाइल चार्ज गरेको रु २५० लेखिएको थियो। माथि त पक्कै चार्ज गर्ने ठाउँ नहोला भन्ने लागेको थियो। तर बेसक्याम्पमा चाहिँ चार्जको सुविधा रहेछ। एउटा गुम्बा भएको भञ्ज्याङ जस्तो ठाउँ आइपुग्यो। जुन ठाउँ सामसिङमा लामोमाने थियो। केही अगाडि हामी ३५०० मिटरको उचाइमा झरेका थियौँ। फेरि ३५५० मिटरमै आइपुगियो। अघिको लाम्जे बौद्ध र यो लामोमानेको हाइट त उत्ति नै रहेछ, हाम्रा गफगाफ भए। त्यहाँबाट हामी उकालो लाग्नुपर्ने थियो। सिधै उकालो। उकालोको बीचमा एउटा माने थियो। हामीले त्यहाँ नजिकै डाँडामा बसेर बदाम र बिस्कुट खायौँ। लाम्जेमा किनेको रु १०० को एक बोतल पानी थियो। साथी हो यो अमृत हो अलिअलि मात्रै पाउनुपर्छ है, एकछिन रमाइलो गर्यौं। डाँडामा निस्किएपछि पिके बेस क्याम्प देखियो। केही घरहरू थिए त्यहाँ। यस्तो ठाउँमा आएर कसले लगानी गर्यो होला? सोचमग्न भएँ म।

जे भएपनि यहाँ आएर कसैले यस्तो घरहरू बनाएका छन्, होटल चलाएका छन् र त हामी आनन्दले बस्न, रमाइलो गर्न, पिके पुग्न पाएका छौँ नि, मनमनै सोचेँ र उहाँहरूलाई धन्यवाद भनेँ। पन्ध्र मिनेट तल एक दुई वटा होटलहरू थिए माथि एउटा।
पर्यटकको सिजन भएकाले बस्ने ठाउँ नपाइएला भनेर अघिल्लै दिन हामीले होटल बुक गरेका थियौँ।
गुगलमा खोज्दा भेटिएकोमध्ये पिके सांग्रिला होटलमा त्यो दिनको बास हुने थियो। हामी सरासर सांग्रिला होटल गयौँ। केही साथीहरू अगाडि त केही पछाडि पुग्नुभयो। साहुजीले हामीलाई ब्लक नं 'बि' को कोठा नं ३ देखाइदिनुभयो। हामी तीन जना त्यहीँ बस्ने भयौँ। ओखलढुंगाबाट गएका सबैको रोजाइ त्यही होटल भएछ। त्यो दिन उक्त होटल हाम्रै टिमले भरिएको थियो। अन्य पर्यटकहरू केही मात्रै थिए। चिसो निकै बढेको थियो। हामी ३७७० मिटरको उचाइमा थियौँ।
हिँडेर आएकाले शरीरको भित्रभित्रै पसिना आइरहेको थियो। कपडाहरू चेन्ज गरेपछि, तातोपानी र लेमन टी खायौँ। साँझ पर्नै लागेको थियो। पश्चिमतिर सूर्यका रश्मीहरू खुट्टा झार्नै लागेका थिए। सूर्यको एउटा अद्भुत गुण छ त्यो हो सूर्य उदाउँदा र अस्ताउँदा दुबै अवस्थामा यसको रङ एकै प्रकारको हुन्छ।
छुदेन काविमोको कृति उरमाल जुन मदन पुरस्कार विजेता कृति पनि हो। जहाँ लेखिएको छ सूर्य उदाउँदा र अस्ताउँदा एउटै रङ हुन्छ, न त उदाउँदा यसलाई घमण्ड हुन्छ न त अस्ताउँदा पीडा। अस्ताउँदै गरेको सूर्यसँगै रमाइलो गर्दै फोटो खिचेँ। अहिले अस्ताउँदै गरेको सूर्यलाई हेर्दै मनमनै भनेँ भोलि फेरी उदाउने छौँ अनि भेटौँला है पिकेमा।
हेर्दाहेर्दै सूर्य डाँडामुनि गएर बिलाए, आखिर सूर्य छँदै त रहेछ नि उज्यालो हुने, त्यसपछि त रात परिहाल्यो। अब भोलिको सूर्यको प्रतीक्षा गर्नुभन्दा केही विकल्प रहेन। चिसो निकै बढी सकेको थियो। कोठामा पस्यौँ हामी।
साथीहरू नाचगान गरिरहेका थिए उता। हामी पनि गएर केहीबेर नाच्यौँ। केही छिनमा बेलुकाको खाना तयार भयो। खाना खायौँ। यति धेरै माथि याकलाई सामान बोकाउँदै ल्याएर पनि मिठो खाना ख्वाउनु भयो, होटलको आमा र भाइलाई धन्यवाद दियौँ। होटलको हिसाबकिताब बेलुकै गरेर सुत्न लाग्यौँ हामी, किनकी बिहान सबेरै पिके हिलतर्फ लाग्नु थियो। कोठामा गएर केहीबेर गफियौँ। चिसो अत्यधिक बढेको थियो, तापक्रम माइनस नै रहेछ। चारैतिर काठले मोहोरिएको कोठा भएकाले बाहिरको चिसोभित्र छिर्न पाउँदैनथ्यो। तर पनि अति नै चिसो। सिरकभित्र पसे उकुसमुकुस होला जस्तो, सिरक बाहिर निस्किए कठ्याङ्ग्रो चिसो। जसरी पनि त्यो रात बितायौँ। भोलिपल्ट ४:३० बजे नै पिके पिकतर्फ लाग्यौँ। एक घण्टाको बाटो रहेछ। हामी केही छिटो हिँडेछौँ। तर छिटो पुगाइ फाइदाजनक नै भयो किनकि सूर्योदयको सुरूआतदेखि नै अवलोकन गर्न पाइयो।
अब कुरा गरौँ पिके पिकको।
पिके एउटा चुली हो। ४०६५ मिटरको उचाइमा अवस्थित छ। सोलुखुम्बुको जिल्लाको लिखुपिके गाउँपालिका वडा नं १ मा पर्ने पिके हिलबाट सूर्योदयको मनोरम दृष्य देख्न सकिन्छ। योभन्दा महत्त्वपूर्ण कुरा त पूर्वमा कञ्चनजंघादेखि पश्चिममा धवलागिरी हिमालसम्मको दृष्यावलोकन गर्न सकिन्छ यहाँबाट। नेपालमा रहेका आठ हजार मिटरभन्दा अग्ला अधिकांश हिमालहरूको अनुपम दृष्य देखिन्छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रत्यक्ष दृष्यावलोकन गर्न सकिने भएकाले यसलाई 'नेपाल्स बेस्ट एभरेस्ट भ्यू पोइन्ट' पनि भनिन्छ। ठ्याक्कै आकाशसँगै जोडिए जस्तो भएकाले यसलाई 'द हिल द्याट टच द स्काई' पनि भन्न सकिन्छ। पिके पिकले आध्यात्मिक महत्त्व पनि बोकेको छ।
शेर्पा जातिहरूले यो पहाडलाई देवताहरूको बासस्थानका रूपमा समेत मान्ने गरेका छन्। त्यसैले यहाँ ढुंगैढुंगाको माने जस्तो बनाएर रंगीविरंगी ध्वजापताकाहरू पनि टाँगिएको पाइन्छ। देवताहरूको पवित्र निवासस्थल वा आकाश नजिकैको देवथलोका रूपमा लिइने हुनाले यसलाई 'द सेक्रेड एबोड अफ द गड्स' पनि भन्ने गरिन्छ।
धार्मिक ग्रन्थहरूमा उल्लेख नभएता पनि स्थानीय चलनचल्तीको मान्यता अनुसार भगवान शिवको सम्मान स्वरूप यसलाई पिके अर्थात् पाँच कर्ण चुली पनि भन्ने गरिन्छ।

अग्लो चुली चारैतिरबाट हावाले हानिरहेको थियो। मुटु नै फुट्ला जस्तो चिसो। छेउमा ढुंगा ठड्याएर बनाएको माने रहेछ। त्यसको एक छेउमा गएर बस्यौँ। कम्तीमा एकातिरबाट आउने हावाबाट जोगियौँ, सिरक नै ओडेजस्तो भयो।
पूर्वबाट रातो धर्को देखिन थाल्यो, ल जापानमा सूर्योदय भयो है सुदिप सरले ठट्यौली पारामा भन्नुभयो।
जापान सबभन्दा पहिले सूर्योदय हुने देश भनेर यसो भनिएको थियो। रातो धर्सो केही ठूलो र बाक्लो हुँदै माथि आउँदै थियो। बेलाबेला हेन्डग्लोव्सबाट हात निकालेर फोटो भिडिओ खिच्दै थियौँ हामी।
इलामको अन्तुडाँडामा सूर्योदय भयो है लु कोही बोल्यो। हामी फेरि हाँस्यौँ। हामीलाई सूर्योदयको प्रतीक्षा थियो। केहीबेरमा एउटा थोप्लो देखियो। सबैले मोबाइल निकालेर भिडिओ खिच्न थाले। थोप्लो बढ्दै गयो, पुन: सूर्यले आफ्ना रश्मीहरू डाँडामुनि फाल्यो, ठ्याक्कै हिजो सूर्यास्तमा फाले जस्तै। एकैछिनमा सूर्यका रश्मीहरू हिमालमा ठोक्किए। हिमाल फेरि हाँस्न थाल्यो। एउटा कालो हिमाल, सबभन्दा टाढा देखिने, चुच्चो-चुच्चो परेको, ठ्याक्कै नेपाली एक हजारको नोटमा देखिने जस्तै हो त्यही थियो नेपालको गौरव विश्वको सर्वोच्च शिखर सगरमाथा।
बिहानको ६ बजिसकेको थियो। त्यतिबेलासम्म धेरै विदेशी र स्वदेशी पर्यटकहरूको उपस्थिति भइसकेको थियो। एक जना टुरिष्ट गाइडलाई सोधेँ- मैले यहाँबाट कञ्चनजंघा पनि देखिन्छ?
'उ त्यही हो' भन्दै देखाएका थिए उनले।
कञ्चनजंघा, ल्होत्से, मकालु, चोयु, सगरमाथा, गौरिशंकर, धवलागिरी, नुम्बुर लगायत कयौँ हिमालहरूको श्रृङ्खला आहा! मन नै आनन्दित भयो।
नेपाल साँच्चै नै प्रकृतिको वरदान। प्रकृतिकी देवीलाई एकपटक मनमनै चरणस्पर्श गरेँ। गौरीशंकर हिमाल त ठ्याक्कै शिवलिंग जस्तै देखिन्थ्यो। सायद भगवान शिवको बासस्थान भएर पनि होला। हिमालमा ठोक्किएर सूर्यका रश्मीहरू पिके शिखरमा आइपुगे तर पनि हावा उस्तै थियो।
हिमालबाट आएको हावा, मान्छे नै उडाउला जस्तो। डेढ घण्टा जति मुटु दह्रो पारेर डाँडामा बस्यौँ। फोटा र भिडिओहरू मोबाइलमा कैद गर्यौं।हिमाल हेर्नलाई केहीको अवरोध थिएन। ठ्याक्कै आफ्नै अगाडि हिमालहरू उँभिइरहेका थिए। न बादल थियो, न कुहिरो न त हुस्सु। त्यस अर्थमा हामी लक्की थियौँ। पूर्वदेखि पश्चिमसम्मका हिमालहरू सजिलै हेर्यौँ हामीले।
अहिलेलाई यत्ति नै पिके पिक, मौका मिले फेरि आउँला। पिकेसँग बिदा मागेर ओरालो झर्यौं हामी।