दसैं तिहार जस्ता महान् पर्वहरूको रोमाञ्चकताको शृङ्खलाकै बीचमा स्याङ्गजाको हरिनास गाउँपालिका वडा नम्बर २ मा अवस्थित जनकल्याण माविले अध्ययन अवलोकन भ्रमणको तय गर्यो।
भ्रमणको सन्दर्भमा सात जिल्लाहरूको अध्ययन अवलोकन भएता पनि यात्राको मूल गन्तव्य थियो 'मुस्ताङ'।
शिक्षक र विद्यार्थीहरूको यो सामूहिक सद्भावपूर्ण भ्रमण आफैमा जिज्ञासाले पूर्ण, उत्सुकताले रोमाञ्चित अनुहारहरू, यात्राका अनेक स्मृतिहरूलाई कैद गर्ने तीव्र अभिलाषापूर्ण सोचहरू सहित हिमाल पारिको जिल्ला मुस्ताङमा जीवनको पहिलो पाइला राख्ने एउटा शिघ्रता वा भनौँ व्यग्र प्रतीक्षामा म थिएँ।
जब म्याग्दीको यात्रा सकिँदै थियो, मुस्ताङ प्रवेशको अन्तिम तयारी रहेछ। मेरो शरीरले बतासको निकै चिसो झोकाको स्पर्श गर्यो। तापक्रममा बदलिएको यो परिवर्तनले मेरो तनलाई मात्र चिसो बनाएको थिएन, मेरा दृष्टिहरूलाई फरक आकृतिमा बदलिसकेको रहेछ, हिमालसँगको सान्निध्यतालाई अझ नजिक बनाएको रहेछ। म शब्दको जार्गनमा यो अभिव्यक्त गर्न सक्दिनँ, मलाई त्यो दिन शब्दहरू कमजोर रहेछन् भन्ने जीवनमा पहिलो पटक अनुभूति भयो। दुनियाँको कुनै विख्यात चित्रकारले क्यानभासमा प्रष्ट रङहरू सहित नपोतिएको त्यो चित्र, विख्यात विद्वानले शाब्दिक अर्थ प्रष्टसँग खुल्ने गरी व्याख्या नगरिएको शब्द 'स्वर्ग' को पर्याय यही हो भन्ने लाग्यो।
-1764235691.jpg)
मुस्ताङ तिम्रो निश्चलताले म प्रवेशद्वारमै प्रभावित भएँ, म निकै समय टक्क अडिएँ। मुस्ताङ तिम्रो दृश्यले, तिम्रो चिसो बतासको स्पर्शले, हिमालको अटल आत्मीयताले, मनभित्र तीव्र उत्सुकतापूर्ण छटपटीले मलाई यस्तो लाग्यो, आज समयलाई मैले जितेँ!
मस्तिष्क भित्रको न्युरोनमा कुन प्रतिक्षेप क्रिया सक्रिय भयो, म अनुभूत मात्र गर्न सक्छु। मुस्ताङ जब तिमीलाई मैले मेरो माटो नेपालभित्रको भूगोलमा यति सुन्दर र स्वच्छ भएर बसेको देखेँ तब मेरो हृदयमा भावुकता यति उच्च भएको थियो कि म निसंकोच आँसुहरू बगाउन इच्छा गरिरहेको थिएँ तथापि भ्रमण सामूहिक भएकोले म सचेत रहेछु।
साँझपखको समय यात्रा मुस्ताङतर्फ आफ्नै बेगमा बढिरहेको थियो, मलाई मुस्ताङको चिसो अंगालोमा बेर्न मन थियो, उसको प्रत्येक सिरेटोले मलाई स्पर्श गरेर मात्र बहोस् भन्ने लागिरहेको थियो। म आफ्नो स्वास्थ्यसँग न डराएको थिएँ न सचेत थिएँ किनकि मुस्ताङको सुन्दरताको प्रत्यक्ष साक्षी हुन पाउने सौभाग्यले मैले समयमाथि नै विजय गरेँ भन्न अनुभूति भयो।
रातको समयमा जोमसोमस्थित एक होटलमा बस्ने तय भइसकेपछि हामी र म आरामको लागि तयार भयौं। मेरो तनमा भने निद्रा थिएन, मेरो आँखाहरूलाई उज्यालो जोमसोम हेर्ने रहर थियो, जोमसोमको समुदायसँग अन्तर्क्रिया गर्ने तीव्र चाहना थियो, घामको पहिलो झुल्को मुक्तिनाथबाट हेर्ने रहर थियो।
-1764235692.jpg)
मलाई त्यो रात किन यति धेरै लामो लाग्यो, मेरा रहरका पुञ्जहरू अति धेरै भइसकेको थियो। बाटोमा देखिएका केही अद्भूत दृष्यहरूले मलाई त्यसको व्यापकतामा रमाउन मन भइसकेको थियो। रातमा पनि जोमसोम बजार निकै सुन्दर र चहलपहलयुक्त थियो, मेरो हृदयको एउटा कुनाले घच्घच्याइरहेको थियो कि बाहिर घुम्न जानुपर्छ तथापि पनि म सपना र कल्पनाको पराकाष्ठा पुगिसकेको थिएँ। रात र म बीच निकै लामो अन्तरसंघर्ष र कल्पनाको पौठेजोरी बीच उज्यालो भयो।
मलाई लाग्छ त्यो बिहान मुस्ताङमा सबभन्दा पहिला म नै ब्युँझिएँ कि!
वाह! मुस्ताङको चिसो हावासँगै जीवनको पहिलो पटक मुस्ताङमा ब्युँझिन पाएँ। कति सुन्दर ...। उज्यालो सँगै घामको रापिलो किरण र चिसो हावाले स्पर्श गर्दै थियो, मुक्तिनाथ दर्शनका लागि तयार भयौं। धार्मिक मात्र होइन, मुक्तिनाथ मन्दिरको अवस्थिति साँच्चै पुण्यभूमिमा रहेछ। जब मुक्तिनाथको १०८ धाराहरूमा स्नान गरियो तब त्यो पैतालाले मुक्तिनाथको चिसो जमिनको स्पर्श पाएको थियो साँच्चै शरीरमा नयाँ तरङ र अनुभूतिमा पृथक भावको सृजना गरायो।
-1764235692.jpg)
आस्थाको केन्द्र मुक्तिनाथबाट सम्पूर्ण देशवासीहरूको सर्वाङ्गिण समृद्धिको कामना गर्ने अवसर पाएँ।मुक्तिनाथ आस्थाको मात्र केन्द्र होइन रहेछ, हृदयको शान्ति र मस्तिष्कको स्वच्छताको लागि पनि प्रधान रहेछ। हृदय र मस्तिष्कको नवीकरणका लागि मुक्तिनाथ यो दुनियाँको प्रमुख हब रहेछ।
कागबेनीको यात्रा र थुप्रै कुण्डहरूमा स्नान र स्पर्श गर्यौं। हिमालको काखबाट हिमाल देख्ने अवसर आफैमा गौरवपूर्ण लाग्यो। अनेक झरनाहरू र कुण्डहरूका पानीमा मैले मेरो हातले स्पर्श गर्दा मलाई मेरो देश नेपालको आत्मीयताले शालीन हार्दिकता साटासाट गरेको अनुभूति भयो।
केही समय पहिला मेरो देशमा जेन-जी विद्रोह भयो तत्पश्चात् मेरो मस्तिष्कमा कताकता निकै अप्ठ्यारो र केही हदसम्म हाम्रो चेतनाको तह हेर्दा हीनताभाव नि प्रवेश गरिरहेको थियो। तर जब मुस्ताङको कोमलता र सुन्दरतामा पाइला टेक्न पाएँ, मलाई मेरो देशप्रतिको माया झन् तीव्र घनत्वमा वृद्धि भयो।
जोमसोम, मुक्तिनाथ, कागबेनी, दुम्बातालको अध्ययन अवलोकन सँगै हामी पर्यटकहरूको एक प्रमुख गन्तव्य मार्फा भिलेज पुग्यौं। त्यहाँ मुस्ताङले आफ्नो साँस्कृतिक शेर्पा पहिरनले स्वागत गरिरहेको थियो।
म शब्दहरूबाट कसरी भनौँ; मार्फाको स्याउ बगानमा प्राङ्गारिक रूपमा फलेको रातो स्याउ टोक्दा केवल जिब्रो मात्र प्रफुल्ल भएन मेरो रगतमा स्याउको त्यो रसको परिवहन यति तीव्र भयो कि म त्यो तीव्रताको अंकमा मापन गर्न समर्थ छैन। अलौकिक छ मेरो देशको मुस्ताङ!
तत्पश्चात् चीनसँग जोडिएको हाम्रो कोरोला नाकाको अध्ययन अवलोकनको लागि कच्ची सडकमार्फत यात्रा तय भयो। मेरो देशमा तराई, पहाड र हिमाल मात्र होइन उपल्लो मुस्ताङ त सुक्खा मरूभूमि पनि रहेछ।
-1764235691.jpg)
निकै जटिल यात्रा पश्चात कोरोला नाकामा पुगेर मेरो देश नेपालको चन्द्र सूर्य अंकित झण्डा बोकेर उभिँदा यति बेला मलाई विश्व जितेको अनुभूति भयो। मैले यो यात्रामा पटक पटक समय र दुनियाँ जितेको अनुभव गरिरहे।
जोमसोमदेखि कोरोलासम्मको सडक सञ्जाललाई दिगो र पक्की बनाउन सक्यौं भने मात्र हाम्रो समृद्धिको सुनिश्चितता सँगै सिंगो विश्वले नेपालको मुस्ताङको अलौकिक दृश्य र अनुपम प्रकृति देख्नेछ।
प्रिय मुस्ताङ, तिमीलाई अपार धन्यवाद, मलाई तिम्रो निश्चल भूमिमा पाइला टेक्ने अवसर दियौं।
तिम्रो सुन्दरता र निश्चलतामा एक नेपाली हुनुको नाताले कहिल्यै दाग लगाउन दिने छैन। संसारलाई प्रकृतिको अनुपम छटा र पवित्रताको केन्द्र मुस्ताङमा स्वागत छ।
-1764235690.jpg)
-1764235690.jpg)
-1764235691.jpg)
-1764235691.jpg)
-1764235689.jpg)
-1764235689.jpg)
-1764235689.jpg)
-1764235689.jpg)