मेरो प्रकृति प्रेम केवल आकर्षणको सीमामा अडिएको चाहना होइन; यो त अन्तरमनको गहिराइमा बसेर आत्मालाई उज्यालो बनाइदिने एक प्रकारको आस्था हो।
जहाँ मनले आफूलाई सुरक्षित, तृप्त र पूर्ण महसुस गर्छ। हरियालीमा बस्दाको शीतलता, मौनताको बीचमा सुनिने प्रकृतिको ममता, पहाड र हिमालको हावाले दिएको अदृश्य स्पर्श। यी अनुभूतिहरू जीवनका सामान्य क्षणभन्दा धेरै गहिरो, पवित्र र आत्मिक हुन्छन्।
यही अव्याख्येय भावनाले प्रेरित हामी बाबुछोरीलाई पोखराले तान्यो। मनमा एक अनौठो शान्ति, शरीरमा एक सकारात्मक ऊर्जा, र यात्रा सुरू हुनुभन्दा अगाडिदेखि नै मन र आत्माले पोखराको शान्ति अनुभव गर्न थालिसकेको थियो।
अंग्रेजीमा एउटा भनाइ छ- 'Where there is desire, the universe conspires to fulfill it.'
सत्य पनि यो भनाइसँग मिल्दो भयो।
तीन वर्षमा एकपटक हुने हाम्रो कुल पूजा यस वर्ष परेको थियो।
हाम्रो कुलपूजा पोखरामै हुने भएकाले यात्रा सहज मात्र बनेन, यो त आध्यात्मिकता, पारिवारिकता, प्रेम, र प्रकृतिको अप्रतिम सौन्दर्य सबैलाई समेट्ने एक दुर्लभ समागमनमा परिणत भयो।
परिवारसँगको भेटघाटले मनलाई झनै कोमल बनायो, जुन हरेक अँगालो, हरेक मुस्कान र हरेक छोइमा अवर्णनीय न्यानोपन बोकेर आएको थियो।
जस्तो लाग्थ्यो कि प्रकृति, परिवार र आस्था मिलेर हाम्रो यात्रालाई आशीर्वादले भरिदिएका छन्।
***
बाटोभरी मनमा उत्साहको आगो सल्किएर फैलिएको थियो। राजमार्गका घुम्ती घुम्तीमा देखिने पहाडहरू मानौं टाढाबाटै हात हल्लाएर 'आएछौ? स्वागत छ' भनेर बोलाइरहेजस्तै लाग्थ्यो।
गाडीको सिसा खोलेपछि महसुस हुने बतासको न्यानो स्पर्शले काठमाडौंदेखि मुग्लिनसम्मको खराब बाटोको थकान मात्र पखालेन, मनलाई पनि सान्त्वनाको अँगालो हालेर खानेखुसी गरिरह्यो।
'सन्दीप तिमीहरू सही दिशातिर छौ, तिमीहरूको यो यात्रा विशेष हुनेछ।'
अनि त्यो हावासँगै बगिरहेको थियो स्वतन्त्रताको मिठो अनुभूति पनि, पहाडको काखमा लुकेका गाउँहरूको सुगन्ध, र कतै मनको गहिराइबाट उठिरहेको अनुपम शान्तिको तरंग। धुजा धुजामा छरिएका हरियालीका छापहरूले यात्रा नै एउटा कविता जस्तै बनेको थियो।
पोखरा पुग्नुअघि नै मनले त्यहाँको शान्तिको रसस्वादन गर्न थालिसकेको थियो। मानौं त्यो सहरले हामीलाई धेरै पहिलेदेखि चिनेको हो, र हामी अघि बढ्दै गर्दा उसले आफ्नै न्यानो अँगालो फैलाएर सुस्तरी भनिरहथ्यो। 'आओ, धेरै दिनपछि भेटिँदैछौं।'
-1771055818.jpg)
प्रकृतिको सौन्दर्यता कुनै एक शब्द, कुनै एक उपमाभन्दा धेरै विशाल र गहिरो रहेछ। यसको सौन्दर्यता, विशालता र शुद्धतालाई शब्दहरूले पूर्ण न्याय दिन सक्दैनन्। वर्णन गर्न खोज्दा हरेक वाक्य अधुरो हुन्छ, हरेक भावना अपूरो जस्तो महसुस हुन्छ। तर पनि, मनले अनुभूति गरेको उज्यालोलाई नलेखी बस्न सकिनँ। किनभने प्रकृति केवल देखिने वस्तु मात्र होइन; यो महसुस गरिने, सुन्न सकिने, साससँग मिसिने र अन्ततः आत्माबाट बगेर शब्दमा झर्ने एउटा अदृश्य तर शक्तिशाली ऊर्जा हो।
हरियो डाँडाकाँडा, नीलो आकाश, शान्त ताल र हिमालको मौन उपस्थितिले मान्छेलाई भित्रैबाट परिवर्तन गरिदिन्छ। विलियम वर्ड्सवर्थले भनेझैँ, 'Nature never did betray the heart that loved her.' प्रकृतिलाई साँचो अर्थमा माया गर्ने हृदय कहिल्यै रिक्त रहँदैन। प्रकृतिको काखमा पुगेपछि थाकेका विचारहरू विश्राम पाउँछन्, र अशान्त मनले शान्तिको स्वाद चाख्छ।
प्रत्येक पटक पोखरा आइपुग्दा झन् गहिरो अर्थ बोकेको अनुभूति हुन्छ। यहाँ आकाश मात्र स्वर्गजस्तो छैन, पैतालामुनिको धर्ती पनि उस्तै पवित्र र उज्यालो छ। फेवातालको पानीमा झल्किएको हिमाल, बिहानको कुहिरो चिर्दै उदाउने सूर्य, र हावासँगै बग्ने मौन संगीत इत्यादि यी सबैले जीवनलाई नयाँ अर्थ दिन्छन्।
साँच्चै, प्रकृतिसँगको सानो यात्राले पनि मान्छेलाई अपेक्षाभन्दा धेरै कुरा दिन्छ नै धैर्य, नम्रता र जीवनप्रतिको गहिरो कृतज्ञता। प्रकृति कुनै दृश्य मात्र होइन; यो जीवनलाई बुझ्ने, महसुस गर्ने र आफूलाई फेरि चिन्ने एउटा शाश्वत पाठ हो।
स्वर्ग जाने आधार, द्वोवाटो वा बिसौनी जे रूपमा व्याख्या गरियोस् हाम्रो पोखरालाई ती सबै सहजै स्वीकार गर्न सकिन्छ। आखिर, स्वर्गको कल्पना सधैं अनुपम सौन्दर्य, निर्मल शान्ति र आत्मालाई पगाल्ने प्रकाशसँग गरिने नै हो। त्यही स्वर्ग पोखरामा महसुस हुन्छ।
विश्वकै अनौठो र मनमोहक दृश्यहरूमध्ये एक अन्नपूर्णा हिमशृङ्खला पोखराबाट यति नजिक देखिन्छ कि बिहानको पहिलो सुनौलो किरणले हिमाललाई पलभरमै सुनाजस्तै चमकदार बनाइदिन्छ। माछापुच्छ्रे त यहाँको पहिचान नै बनेको छ, मानौं प्रकृतिले पोखराको आफ्नो लागि विशेष ब्रान्ड बनाएको हो।
फेवाताल, बेगनास, रूपाताल। यी तालहरूको शान्त सतहमा झुल्किने हिमालको प्रतिविम्ब कहिलेकाहीँ यति सचित्र, यति जीवित लाग्छ कि एक क्षणका लागि मन पग्लिन्छ। लाग्छ कि माछापुच्छ्रे हिमाल आफै आफ्नो प्रतिविम्बसँग पौडी खेलिरहेको छ।
यस यात्रामा हामीले असंख्य तस्बिरहरू खिच्यौँ, परिवारका, हिमालका, तालका, बाटोभरि भेटिएका हरेक मुस्कानका। तर एक कुरा मनमा बारम्बार बजिरह्यो कि कुनै क्यामरा कति शक्तिशाली भए पनि, प्रकृतिले बोकेको शुद्ध जादूलाई पूरै आफ्नो फ्रेमभित्र कैद गर्न कहिल्यै सक्दैन। हरेक दृश्यभित्र एउटा लय, एउटा निस्वार्थ स्पन्दन, र एउटा मौन कथा हुन्छ, जुन केवल आँखाले देख्छ र आत्माले मात्र बुझ्छ।
हिमालको ओठमा चुम्बन लिएको सुनौलो बिहान, तालको सतहमा नाचिरहेका काँचो सूर्यकिरण, पहाडबाट बगिरहेको चिसो हावाको सुगन्धयी सबै अनुभूतिहरू क्यामेराको लेन्सले होइन, हृदयले मात्र सम्हाल्न सक्छ। तस्वीरले केवल क्षण थाम्छ, तर आँखाले जीवन भोग्छ।
पोखरामा, हामीले केवल दृश्य हेरेनौं, हामीले प्रकृतिलाई सुन्यौ, महसुस गर्यौं, र आत्मामा सजायौँ। यहाँका क्षणहरू तस्बिरमा होइन, हृदयको गहिराइमा सुरक्षित छन्।।अनन्तकालका लागि।
पोखरा प्रकृतिको एउटा क्यानभास मात्र होइन; यो संसारका केही महानतम पदयात्रा मार्गहरूको प्रवेशद्वार पनि हो।
अन्नपूर्णा आधार शिविर–विश्वकै चर्चित ट्रेकमध्ये एक। माछापुच्छ्रे बेस क्याम्प। घोरपानी–पुनहिल– सूर्योदयका लागि विश्वप्रसिद्ध धम्पुस, मुल्डे, सिकलेस, खड्लुङ आदि। यी मार्गहरू केवल यात्रा होइनन्; आत्मालाई पुनः खोज्ने, शरीर मनलाई पुनर्जीवित गर्ने, र जीवनलाई सरलतामा फिर्ता ल्याउने अवसरहरू हुन्।
फेवातालको किनारमा बिहानको पहिलो नजर परेपछि मनमा एक अनौठो शान्ति बस्छ, मानौँ समय नै क्षणभर रोकिएको हो, र प्रकृतिले निस्वार्थ रूपमा हामीलाई आफ्नो काखमा समेटी रहेको छ। पानीमा झुल्किँदै गरेको हिमालको प्रतिबिम्ब, हावाले हल्का तरंग फैलाएको सतह, र वरिपरि घुमिरहेको मौन ऊर्जा यी सबै मिलेर बिहानलाई एक पवित्र अनुभव बनाइदिन्छ।
बेगनास तालको छेउबाट फर्कँदा, मनमा बसीरहेको सबै अस्थिरता र थकान बगेर जान्छ। त्यहाँको शान्त हावामा कुनै अदृश्य शक्ति बसिरहेझैँ लाग्छ जसले आत्मालाई भित्रैसम्म चुम्बन गर्छ। रूपातालको गहिरो मौनता त झनै अलौकिक; त्यहाँ उभिँदा लाग्छ, प्रकृतिले कुनै अदृश्य मन्त्र फुक्दैछ 'शान्त हो, साँच्चिकै बाँच।'
पोखराको मौसम पनि उही जादुयी न त जलाउने गर्मी, न त हड्डी चिस्याउने जाडो। यो मौसम मानौं प्रकृतिको एउटा प्रिय कविता हो, जहाँ हावा पनि मधुर लयमा बहन्छ। हरेक आगन्तुक अनायासै भन्छ, 'यस सहरमा हावा पनि कविता जस्तै बोल्छ।'
सहरको सफाइ, अनुशासन, हरियाली, र सर्वत्र देखिने आत्मीयता यी सबैले पोखरालाई केवल सुन्दर होइन, आत्मालाई छुने सहर बनाइदिन्छन्। यहाँका बाटोहरूमा हिँड्दा लाग्छ, जीवनले हतार होइन, शान्तिको भाषा बोल्न थालेको छ।
पोखरा केवल घुम्ने ठाउँ मात्र होइन यो त मनलाई पुनर्जन्म दिने ठाउँ हो।
पटक पटक गयो, प्रत्येक पटक नयाँ अनुभूति।
पोखरा सायद त्यही दुर्लभ सहर हो जहाँ हरेक यात्रा आत्माको अर्को पानामा लेखिएको कविताजस्तै ताजा लाग्छ। कहिले बादलका सेता भित्ताले हिमाललाई लुकाइदिन्छन्, कहिले ती हिमालहरू आफ्नै गर्विलो सौन्दर्यसहित खुला आकाशजस्तै चम्किलो देखिन्छन्।
कहिले बतासले गुम्सिएको मनको गाँठो खोलिदिन्छ, कहिले तालको छालमा परावर्तित उज्यालोले आत्मालाई कुनै अनकही कथा सुनाउँछ। शान्त, मीठो, र जीवनलाई फेरि एकपटक प्रेम गर्न सिकाउने कथा।
यात्रा कतिपटक दोहोर्याए पनि पोखरा कहिल्यै उस्तै हुँदैन।
प्रत्येक भेटमा पोखरा नयाँ, मन नयाँ, र अनुभूति नयाँ। र हरेक फिर्तीमा मन भित्र कतै न कतै एक मधुर आवाज फुसफुसाउँछ 'पोखरा, म फेरि आउनेछु।'
अन्ततः
जहाँ प्रकृतिले मनलाई भन्छ- पोखरा केवल दृश्यहरूको संग्रह होइन; यो आत्मशान्ति, अनुभूति, र प्रकृतिसँगको गहिरो संवादको सहर हो। स्वर्ग टाढा छैन, प्राकृतिक सौन्दर्यतामा डुब्दा हृदयले पाउने शान्ति नै स्वर्ग हो।
हामीले खिचेका तस्बिरहरू स्मृतिका लागि सुनौला हुन्छन्, तर प्रकृतिको सम्पूर्ण सौन्दर्यलाई क्यानभास, क्यामेरा वा शब्दले कहिल्यै पूरा न्याय दिन सक्दैन तसर्थ आँखाले देखेको दृश्य र आत्मा वा मनले महसुस गरेको सुन्दरता नै साँचो चित्र हो।
यहाँ पोखराले मलाई फेरि भनेको जस्तो लाग्यो कि 'स्वर्ग महसुस गर्न चाहन्छौ भने, यहाँको हिमाल र तालहरूलाई एकछिन मौन भएर हेर।'
त्यसैले प्रकृतिसँग साक्षात्कारको सार्थकता पोखराको मनमोहक वातावरणले अझ मजबुत रूपमा प्रमाणित गर्दछ, किनकि हिमालको शान्त उपस्थितिले मनलाई हल्का बनाउँछ, तालहावाको सुगन्धले तनाव घटाउँछ, र प्रकृतिको निकटताले आत्मालाई पुनर्जीवित गरी मानसिक स्पष्टता प्रदान गर्दछ।