'तँ आँट, म पुर्याइदिन्छु'। कहिलेकाहीँ जीवन यस्तै लाग्छ। मनभित्र गुम्सिएका इच्छा र खोजका बाटाहरू अनपेक्षित रूपमा खुल्दै जान्छन्। यसपटक पनि त्यस्तै एक संयोगले मलाई नुम्बुर चीज सर्किटको यात्रामा डोर्यायो।
चरिकोटको सातदोबाटो चोकमा बेलुकापख उभिइरहेको थिएँ। त्यत्तिकैमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय शिवालय रामेछापका इन्चार्ज शंकर थामीसँग भेट भयो। उहाँ काम विशेषले चरिकोट आउनुभएको रहेछ। मेरो घुमन्ते स्वभाव उहाँलाई राम्ररी थाहा थियो। कुनै प्रस्तावना बिना नै उहाँले सोध्नुभयो— 'भोलि घुम्न जाने हो?'
मैले केही क्षण सोचें, अनि बेलुकी खबर गर्ने भनेर छुट्टिएँ।
करिब तीन घण्टापछि फोन गरेर ‘हुन्छ’ भनेँ।
यात्रा कति दिनको, कहाँ कहाँ जाने— केही ठोस योजना थिएन। तर मनभित्र एउटा उत्साह थियो। लेकाली चिसोको अनुमान गर्दै केही न्यानो कपडा झोलामा हालें। बिहानको तयारी गर्दै गर्दा गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको सिंगटीस्थित मुख्य कार्यालयबाट प्रशासन प्रमुख विकास थापाको फोन आयो— 'म पनि सँगै जान्छु, जाऔँ।' त्यसपछि हाम्रो यात्रा अझ रोचक बन्न पुग्यो।
म र विकास थापा मोटरसाइकलमा करिब तीन घण्टा यात्रा गरेर शिवालय, रामेछाप पुग्यौँ। त्यहाँ शंकर थामी र आङछिरिङ शेर्पा हाम्रो प्रतीक्षामा हुनुहुन्थ्यो। सबै तयारी पूरा भइसकेको रहेछ— एक साताको यात्राका लागि आवश्यक सामग्री मिलाइएका। खाना खाइसकेपछि यात्राबारे छलफल भयो।
२०७२ सालको भूकम्प र कोभिड–१९ महामारीपछि बन्दप्रायः रहेको यो पदमार्गलाई पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी पाइयो।
नुम्बुर चीज सर्किट— इन्टरनेसनल लेबर अर्गनाइजेसन (आइएलओ) ले २०६२ सालमै परिकल्पना गरेको पर्यटक पदमार्ग। विदेशीका लागि करिब १४ दिन र नेपालीका लागि एक सातामै पूरा गर्न सकिने यो यात्रा साहस, सौन्दर्य र संस्कृतिको संगम जस्तो लाग्यो।
यात्रा सुरू: हरियाली र लालीगुराँसको संगत
बिहान साढे सात बजेतिर शिवालयबाट यात्रा सुरू भयो। चुचुरे हुँदै अघि बढ्दा सेर्दिङ डाँडामा केहीबेर फोटो सेसन गरियो। पहिले विदेशी पर्यटकले भरिभराउ हुने यो ठाउँ अहिले शान्त थियो, तर एउटा विदेशीले चलाएको चौरी चीज डेरीले अझै जीवन्तता बोकेको थियो।
गुम्देलमा खाना खाएर हामी अघि बढ्यौँ। बाटोभरि लालीगुराँस र लोक्ताका फूलहरूले बनाएको रंगीन संसारले मन मोहित पाथ्र्यो। कतै बगैंचाझैँ सजिएको भू–भाग, कतै खोलानालाको मधुर ध्वनि। यस्तो लाग्थ्यो, हरेक मोडमा बास बसौँ, केही समय यहीँ अडिऔँ। उमाकुण्ड गाउँपालिका–१ मा रहेको उमातीर्थ धार्मिक आस्थाको केन्द्र रहेछ। बाटोमा निर्माणाधीन ५७.५ मेगावाटको नुम्चे लिखु जलविद्युत आयोजनाले सडक विस्तारमा सहयोग गरेको देखियो। बकममा पहिलो रात बितायौँ। यही पदमार्ग हुँदै तेन्जिङ नेर्गे शेर्पा र एडमण्ड हिलारी सगरमाथातर्फ लागेका थिए भन्ने कुरा सुन्दा मन गर्वले भरियो। ती महान् पाइला पछ्याउँदै हिँडिरहेको अनुभूति आफैमा विशेष थियो।
हिमालको काखमाः दूधकुण्डदेखि ग्याजोला पाससम्म
दोस्रो दिनमै ४२१० मिटर उचाइमा रहेको दूधकुण्ड पुग्यौँ। नजिकै बास बस्दा नुम्बुर हिमाल आँखा अगाडि देखिन्थ्यो। उकालो–ओरालो, थकाइ— सबै दृश्यले बिर्साइदियो। तर भूकम्पपछि सुक्दै गएका पानीका मुहानले केही असहजता भने थप्यो। त्यसपछि आयो यात्राको सबैभन्दा चुनौतीपूर्ण खण्ड— ग्याजोला पास। ४८८५ मिटर उचाइमा। मौसम खुलेन, तर त्यहाँ उभिँदा पनि एउटा उपलब्धिको अनुभूति भयो।
पास काटेपछि टाडेखर्कतर्फ झर्यौं। बाटो ओरालो थियो। हिउँले पूरै ढाकेको थियो बाटो। ङिमगेलु शेर्पाको पुरानो डेरीको घरमा रात बितायौँ। बिहान उठ्दा वरिपरि सेताम्य थियो— हिउँले ढाकेको जंगल, खोलानाला, बाटोघाटो। नाङ्गा पहाडहरू सेताम्मे। त्यो दृश्यले मनभित्रको सबै थकान मेटाइदियो।
हिउँसँगको संघर्ष र प्रकृतिको सौन्दर्य
त्यसपछिको यात्रा झनै कठिन थियो। दिनभर हिउँमाथि हिँड्यौँ। चस्मा खोल्नै नसक्ने प्रकाश। बाटोमा कालोपोखरी, पाँचपोखरी र जटापोखरी देख्यौँ। हिउँले ढाकिएका ती पोखरीहरू कुनै स्वप्नलोकभन्दा कम थिएनन्।
ओढार डाँडामा पानीको अभावले हिउँ उमालेर पिउनुपर्यो। त्यही पानीले जीवन धानेँ। नजिकै देखिने बौलाहपोखरी— जसलाई कालोपोखरी, भूतपोखरी वा माउपोखरी पनि भनिन्छ। ४१२३ मिटर उचाइमा अवस्थित, अत्यन्त आकर्षक पोखरी। अलिकति माथि भालेपोखरी, ४१७४ मिटरमा अवस्थित छ। यी सबै प्राकृतिक सम्पदाहरू अझै प्रचारको अभावमा ओझेलमै छन्।
अन्तिम दिनः थकाइभन्दा माथि अनुभव
सातौँ दिन पुग्दासमेत शरीरमा थकाइ थिएन। सायद त्यो प्रकृतिको ऊर्जा थियो, जसले पाइलालाई अघि बढाइरह्यो। भालेपोखरी पार गरेपछि देखिने गौरीशंकर हिमश्रृङ्खला, नुम्बुर र सोलुखुम्बुका हिमालहरूले यात्रा पूर्ण भएको अनुभूति गराए। सेर्दिङमा आङछ्योती शेर्पाले बनाएको ढिडो र सोसेले भोक र थकान दुवै मेटायो। त्यहीँ बसेर हामीले समीक्षा गर्यौँ— नुम्बुर चीज सर्किट विदेशी मात्र होइन, आन्तरिक पर्यटकका लागि पनि उत्तिकै आकर्षक छ।
निष्कर्ष
यदि स्थानीय सरकार र गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले पानीको व्यवस्था, बाटो मर्मत र प्रभावकारी प्रचारप्रसार गर्न सके, यो पदमार्ग पुनः जीवन्त बन्न सक्छ। नुम्बुर चीज सर्किट केवल यात्रा होइन— यो प्रकृति, इतिहास, संस्कृति र साहसको संगम हो।
-1774079976.jpg)
-1774079976.jpg)
-1774079976.jpg)
-1774079976.jpg)
-1774079974.jpg)
-1774079975.jpg)
-1774079973.jpg)
-1774079974.jpg)
-1774079975.jpg)
-1774079975.jpg)
-1774079974.jpg)
-1774079974.jpg)
-1774079973.jpg)
-1774079973.jpg)
-1774079973.jpg)
-1774079972.jpg)
-1774079972.jpg)