जब मस्तिष्कले अनुमति दिन्छ, मनले स्वीकार गर्छ र गोजीले साथ दिन्छ; मलाई यात्रामा निस्कन मन लाग्छ।
केही समय आफूसँग हुन अनि आफूले गरेका गल्तीहरूबाट सिकेका कुरा जीवनमा लागू गरे कि गरिनँ भनेर सोच्न, म यात्रामा निस्कन्छु। एकल यात्राको सबभन्दा राम्रो पक्ष यही हो—प्रश्नहरू आफैभित्रबाट आउँछन् र उत्तरहरू पनि।
अघिल्लो वर्ष जनैपूर्णिमाको समयमा मैले गोसाइँकुण्डको एकल यात्रा गरेको थिएँ। यसपालि पूर्णिमा नजिकिएसँगै मलाई एउटा झोला र दुइपांग्रे बाइकमा गोसाइँकुण्डतर्फ हुइँकिरहेको एक वर्ष फुच्चे पुष्करको याद आइरहेको थियो। त्यसबेला यात्रामा सकस त थियो, तर गोसाइँकुण्डलाई हेरेर मन भरिएको थिएन। गोसाइँकुण्ड हुँदै लाङटाङ पुग्ने सपना अधुरै थियो।
यता सहरमा दिनदिनैको भागदौडले वाक्कदिक्क भएको थिएँ। मस्तिष्क, मन र गोजीको हालचाल ठिकठाक थियो। यसो सोचेँ — यसपालि पनि जनैपूर्णिमामा गोसाइँकुण्ड भइदिम् कि क्या हो?
म प्रायः आफ्नो मनको सुन्छु। मनमा आएको कुरा गर्दिहालौं हुन्छ। यसपटक भने मैले आमाको कुरा सुनेँ। एकदिन घरमा आमासँग कुराकानी चल्दा मैले फेरि गोसाइँकुण्ड जान मन लागेको बताएँ।
आमाले घरिघरि किन जानुपर्यो भन्दै भन्नुभयो, ‘अघिल्लोपटक रहर पूरा गरिसकिस् त। हरेक वर्ष गोसाइँकुण्ड किन जानुपर्यो?’
मैले आफ्नो मनलाई मनाएँ। गोसाइँकुण्ड नगए पनि अघिल्लो वर्षको सम्झनालाई शब्दमा उतार्दै चित्त बुझाएँ।
२०८२, साउन २२ गते —
झरीको मौसम अनि पानीको पिटाई। ओहो! कुरै नगरम्।
मनमा उत्साह छ र थोरै डर पनि। एकल यात्रामा निस्कँदा प्रायः यस्तै हुन्छ। तर दुई पांग्रेले बेलाबेला झ्यार–झ्यार गर्दै आफू साथमा भएको महसुस गराइरहेको छ।
केही दिनअघि मात्र गोसाइँकुण्ड यात्रामा दुई जना दाजुभाइको मृत्यु भएको थियो। त्यसले मलाई अलिकति त्रसित बनाएको छ तर यात्राको उत्साह अघि, त्रासले जित्न सकेको छैन। सबभन्दा बढी डर र त्रास त घरमा आमालाई छ। वर्खाको समय, त्यसमाथि एक्लै यात्रामा हिँडेको छोरा!
हुन त उत्ताउलो उमेर कटिसकेको छ। तर मनको इच्छाअघि उमेरको के सम्बन्ध?
नुवाकोटको बाटो हुँदै त्रिशूली किनारै किनार मोटरसाइकलले आफ्नो चक्का घुमाइरहँदा म रसुवाको धुन्चे कतिबेला पुगिन्छ भनेर सोचिरहेको छु। नाम मात्र सुनेको धुन्चे पुग्न मनलाई आतुर भइरहेछ।
त्रिशूली किनार कटेपछि पेटले पनि केही माग्न थाल्यो। घरबाट बिहान हिँड्दा एउटा बट्टामा चना र अण्डा बोकेको थिएँ। एउटा चौतारीमा एकछिन विश्राम गर्दा पेटको भोकलाई पनि विश्राम दिएँ। चौतारीमा भेटिएका अपरिचित यात्रीहरूले मलाई प्रश्न गरे, ‘एक्लै हो तपाईं?’
यात्रा त मलाई एक्लै रमाइलो लाग्छ। पुराना साथीहरूको गफगाफभन्दा नयाँ मानिस, नयाँ प्रश्न र नयाँ चुनौतीहरू भेट्न मन लाग्छ। हरेक नयाँ मानिस मेरो लागि एउटा चरित्र हो। आज ती मानिसबाट सिकेको कुरा तत्काल काम नलाग्ला, तर कुनै दिन त्यही चरित्र टिपेर आफ्नो लेखनमा कतै राख्न सकिएला! कुनै दिन आफू कुनै चरित्र बन्दा काम लाग्ला! कलाकार हुनुको स्वार्थ नि!
चौतारीमा भेटिएका मानिससँग छोटो–मिठो कुराकानी गरेर मैले आफ्नो यात्रा अघि बढाएँ। यात्राभर सुसेल्दै म धुन्चेतर्फ लम्किएँ।

यात्रामा मलाई सबभन्दा मन पर्ने आवाज आफ्नै सुसेलीको हो। सुसेल्दै हिँड्दा कहिले खोलाको किनारसँग आफै बगेजस्तो लाग्छ, कहिले हिमालका टाकुरासँगै उचाइतिर पुगेजस्तो। थकाइले शरीर पसिनाले भिजेको हुन्छ, तर त्यही पसिनासँग मनका धेरै कुरा बिस्तारै बिलाउँदै जान्छन्।
निरन्तर ६ घण्टाको यात्रापछि साढे १२ बजेतिर म धुन्चे पुगेँ। दुई पांग्रेलाई व्यवस्थापन गरेर म दुई खुट्टामा धुन्चेलाई पर्गेल्न थालेँ। टोपी र चस्मा ढल्काएर करिब १० मिनेट मात्र के हिँडेको थिएँ, प्रकृतिका विभिन्न रंग देखिन अनि आवाजहरू सुनिन थाल्यो। कतै बादलले आफूलाई छोएर जान्थ्यो, कतै खोलाको आवाजले स्वागतको ढोल बजाउँथ्यो।
धुन्चेले यस्तो स्वागत गर्यो कि मैले त धेरै थोक बिर्सिएछु।
‘ओहो! मैले त यहाँ आइपुगेँ भनेर घरमा फोन नै गरेको छैन,’ म झसंग भएँ। आमालाई खबर गरेपछि मन शान्त भयो।
घट्टेखोला कटेपछि उकालो बाटो सुरू हुन थाल्यो। खेन्दी भन्ने ठाउँ पुगेपछि मकै, भट्मास र एउटा स्निकर चकलेट झिकेर पेट पूजा गरेँ। जनैपूर्णिमाको अवसर भएकाले बाटोमा थुप्रै तिर्थारू थिएँ। तिर्थारूको भिडलाई मकै भट्मास पावर लगाएर छिचोल्न थालेँ।
७५ किलो ज्यान र २२ किलोको झोला!
९७ किलोको छाया टुकुटुकु अगाडि लम्कन थाल्यो। एकल यात्रीको लागि आफ्नै स्वाँ–स्वाँ र फ्याँ–फ्याँको आवाज पनि कति नजिकको हुने रहेछ!
मैले सामाजिक संजालमा आफू गोसाइँकुण्ड यात्रामा हिँडेको जानकारी गराएको थिएँ। त्यही स्टोरी देखेर मलाई एकजना साथीले फोन गर्यो र भन्यो, ‘हामी पनि केही तल छौं। केहीबेर कुर् न है!’
चार बजेको थियो। म देउराली पुगेको थिएँ। साथीको कुरा टार्न नसकेर कुरेर बसेँ। देउरालीमा झमझम पानी पर्न सुरू भइसकेको थियो। नजिकैको खाजा पसलमा उसिनेको आलु र नुन–खुर्सानी देखेर मुख नै रसाउन थाल्यो। साथी कुर्दाको फाइदा फेरि पेटले उठायो।
दुई घण्टा भइसक्यो तर साथीहरुको अत्तोपत्तो छैन। उनीहरूको पर्खाइले चन्दनबारीसम्म पुग्ने मेरो योजना योजनामै सीमित भयो। अब अगाडि हिँडौं भने पनि माथि बास पाइन्न। त्यही भएकाले साहुनीलाई भनेर ‘त्रिपालमुनीको ५ तारे होटल’ मा बास मागेँ। साथीहरू आएपछि त्यही बसे।
त्रिपालमुनि करिब ८० मानिस बास बसिरहेका थिए। तर अर्को विकल्प थिएन। दाहिने पल्टियो अपरिचित मान्छे, देब्रे पल्टियो अपरिचित मान्छे! दिनभर हिँडेका शरीरहरूबाट आइरहेको पसिनाको गन्ध अनि बाघजस्तो घुराई! झन् रातमा शौचालय जाँदा कस–कसलाई खुट्टाले लाग्ने हो थाहा छैन। उफ्! यी सब अनुभव संगाल्न सक्नुहुन्छ भने मात्र तपाई यात्राका लागि तयार हुनुहुन्छ।
बिहान ४ बजेतिर झिसमिसेमै उठेँ। आफू छिटो–छिटो तयार भएँ र साथीहरूलाई पनि ‘अब जानुपर्छ’ भनेर उठाएँ। हिँड्ने तयारी चल्दै मात्र थियो, फेरि मुसलधारे पानी पर्यो। मलाई आफ्नो शरीर भन्दा आफूले बोकेको एकजोर जुत्ताको माया लाग्यो।
६ बजेतिर पानी रोकियो र हामी सबै उकालो लाग्यौं। साथीहरू कोही अगाडि, कोही पछाडि। बीचबीचमा झरीले स्वागत गरिरह्यो। तर हामी निरन्तर हिँडिरह्यौं। चन्दनबारी पुगेपछि थकाइ मार्न बस्यौं। रोटी तरकारी आएर अगाडि हिँडौं भनेको त साथीहरूले छाटकाट देखाएनन्।
यसो सोचेँ—म यहाँ साथी पर्खिन होइन, आफ्नो यात्रामा आएको हुँ। म त एकल यात्रामा पो हिँडेको हुँ। यसरी साथीहरूको भर परेर हुन्छ?
-1787999550.png)
मलाई पुराना साथीहरूभन्दा नयाँ मानिस अनि ती मानिसका नयाँ प्रश्न र चुनौतीसँग अगाडि बढ्न मन लाग्यो। आफ्नाहरूको अभाव भए घरमा फोन गरिहाल्थेँ।
साथीहरूलाई चन्दनबारीमै छाडेर यात्रालाई गति दिएँ। चन्दनबारीपछि अलि तेर्सो बाटो भेटिन थाल्यो। दुई पांग्रेलाई जस्तै दुई खुट्टेलाई पनि सुसेलीले साथ दिइरह्यो। आँखाले दिमागमा दृष्यहरू कैद गर्दै गए। ट्राइपडमा जोडिएको मोबाइलको क्यामराले फोटो र भिडिओमा। तर आँखाले देखेका दृष्य क्यामरामा कैद हुन के सक्थ्यो!
वरपर आँखा डुलाउदै थिएँ, अलि पर आर्मीहरूले स्ट्रेचरमा एउटा मानिसलाई रेस्क्यू गरेर ल्याइरहेको देखेँ। हत्तपत्त सोधिहालेँ, ‘उहाँलाई के भयो?’
त्यो मानिसलाई लेक (स्वसप्रस्वासमा गाह्रो) लागेको रहेछ। मन अलिकति विचलित भयो। मलाई पनि केही भइहाल्यो भने?
फेरि मनले नै ढाडस दियो, ‘सकिहाल्छस् नि!’
चेलाङपाटीमा खाना खाएर हिँड्ने सुरसार मात्र गरेको थिएँ, फेरि पानी दर्कन थाल्यो। अब त यसरी रोकिएर भएन! मैले रेनकोट लगाएँ र झरीले रूझेको बाटो तताउन थालेँ। पानीमा हिँड्नुको रमाइलो के भने मनमा आएका नकारात्मक विचार पनि यसले पखालिदिने रहेछ। कम्सेकम, त्यस्तो महसुस गराइदिनेरहेछ।
यात्रा अघि बढाउँदै जाँदा, अपरिचित मान्छेहरूसँग ‘अब कति टाढा?’ भनेर बेलाबेला सोधिरहेँ। कतिपय भने कहाँबाट आउनुभएको भन्दै मसँग अंग्रेजीमा बात मार्न आइपुग्थे, ‘फ्रम ह्विच कन्ट्री?’
मेरो जुत्ता, लुगा, टोपी, हाइट अनि हाउभाउले पनि होला; उनीहरूलाई म विदेशीजस्तो लागेछ। सुरूसुरूमा त मैले म नेपाली नै हो भनेर भनिदिन्थे। अंग्रेजीमा बात मार्न आउने यात्रीहरूको क्रम बढ्न थालेपछि मैले पनि खैरे स्टाइलमा भन्न थाले — इटाली, इटाली!
गन्ने नै हो भने मैले करिब १० जनालाई जबाफ फर्काएँ — इटाली, इटाली!
यात्राको गाह्रो उकालो ‘लोरीबिना’ भन्ने ठाउँको थियो। यात्रुहरूले ‘सबभन्दा गाह्रो उकालो’ भन्दै थिए। झोला बोकिदिने भरियाहरूले त्यसको फाइदा उठाइरहेका थिए।
त्यहाँ मैले भारी बोक्नेलाई ‘पठाओ’ भनेर सम्बोधन गरेको पहिलोपटक सुनेँ। भारी बोकेर हिँड्ने मानिस मात्र होइन, घोडालाई समेत त्यहाँ पठाओ भनिने रहेछ।
मसम्म पनि झोला बोकिदिन्छु भनेर आइपुगेको पठाओ प्रस्तावलाई मैले फाइदा उठाउने मौका दिइनँ।
-1787999549.png)
म त झोलामा बोकेको मकै, भट्टमास र तातो चियाको पावरमा गाह्रो, अप्ठेरो सबै अनुभव संगालिरहेको थिएँ। त्यसकै पावरमा बुद्ध विहार पुगेर आजको थकाइ मार्ने सोच थियो। त्यहाँसम्म पुगियो भने त अर्को दिन, गोसाइँकुण्ड!
लगातारको हिँडाइपछि ५ बजेतिर बुद्ध विहार पुगेँ। त्यहाँ पनि बास बस्ने ठाउँ त्यही ‘त्रिपालमुनिको पाँचतारे होटल’ थियो।
तर मैले बास पाइनँ। होटलको दाइले बास छैन भन्नुभयो। माथिबाट ओरालो झर्दै गरेका यात्रीहरूलाई अगाडि बास पाइएला कि भनेर बुझ्न खोजेँ। जबाफ उस्तै थियो। झन् कतिपयले त बास नपाएरै तल झरेको भन्नुभयो।
कस्तो अलमल! माथि जाऊँ बास छैन। तल झरौं, यस्तो गाह्रो उकालो भोलि फेरि कसरी चढ्नु? त्यसमाथि कुहिरोले बाटो केही देखिन्न। एकपटक फेरि होटलको दाइलाई आग्रह गरेँ। ‘म एकजना मात्र त हो’ भनेर बिन्ती बिसाएँ।
त्रिपाल बीचको ओछ्यानबाट एक अपरिचित साथीले भन्नुभयो, ‘हामी दुई जना छौं। हामीसँग मिलेर सुत्नुस्।’
दिनभरको थकान र ठाउँ नपाउँदाको बेचैनी, उहाँको एक वचनले सबै हलुका भयो।
रातभरको चिसोबाट बच्न, झोलामा बोकेको आमाको पछ्यौरी र स्लिपिङ ब्याग निकालेँ। अनि त्यही अपरिचित साथीकहाँ आत्मीयता बढाउन गएँ। साथी आर्मीको खेलाडी हुनुहुँदो रहेछ। हामीले एकअर्काको परिचय साटासाट गर्यौ। गफगाफ गर्दागर्दै सुत्यौं।
तर सुतेर उठ्दा बिहान हुन पाएन। ओछ्यान किन चिसो भयो भनेर ब्युँझिएको त पानी नै पानी! ओछ्यान पल्टाएर हेर्दा हामी कुलोमाथि पो सुतिरहेका रहेछौं। साहुजीले त्रिपाल पछाडिबाट पानी बग्ने ठाउँ बनाउनु भयो। त्यसपछि फेरि सुतेँ। तर बाहिर मानिसको गुनगुन र टर्च बालेको प्रकाशले १ बजे नै निद्रा खुल्यो।
फेरि एकछिन ओल्टे–पल्टे फेरेपछि निदाएँ तर तीन बजे नै आँखा खुल्यो। मानिसहरूको भीडमा शरीरले कसरी पाउँदो हो पूरा आराम!
उठेर मुख धोएँ। तातो पानी खाएँ। अनि सँगै सुतेका साथीहरूसँगै अगाडिको बाटो तताउन थालेँ।
पानी रोकिएको थियो। दिन खुल्दै गइरहेको थियो। बादल सबै हामीभन्दा तल भएकाले दृश्य राम्रो थियो। सबै थकान ती दृश्यमा बिसाएँ। अगाडि बढ्दै जाँदा बिस्तारै भैरवकुण्ड ताल देखिन थाल्यो। एकछिनपछि गोसाइँकुण्डको प्रवेशद्वार देखेँ। नयाँ दुलहीको घुम्टो उघारिएझैं बाँदल हटेर गोसाइँकुण्ड सुन्दर देखिएको थियो।
सबै सपना विपना भएको थियो। गोसाइँकुण्ड ठ्याक्कै मेरो आँखा अगाडि थियो।
जनैपूर्णिमाको लागि पूजा गर्न आउने तिर्थारू धेरै हुनुहुन्थ्यो। मैले तिर्थारूहरूसँगै स्नान गरेँ। पूजा गरेर जनै लगाएँ। शरीरमा उर्जा थपियो। जाँगर झन बढ्न थाल्यो। बिहान सँगै हिँडेका साथीहरू गोसाइँकुण्डबाट फर्कन थालेँ। मलाई गोसाइँकुण्ड अझै केहीबेर हेर्न मन थियो।
साथीहरू गएपछि गोसाइँकुण्डको थप परिक्रमा गरेँ। फोटो भिडिओ खिचेँ। तालको पल्लोपट्टि कम मान्छे भएको ठाउँमा टहलिएँ। झोलाबाट नेपालको झण्डा झिकेँ र फरफराउन थालेँ। एक दुई जनालाई भिडिओ खिचिदिनुस् भनेर सहयोग मागेँ। गोसाइँकुण्डमा शिवको आकृति देखिन्छ भन्ने सुनेको थिएँ। मोबाइलमा राम्रोसँग कैद गर्न सकिएन, तर आफ्नै आँखाले भने शिवको आकृति देखेँ।
दुई घण्टापछि मौसम पुनः बिग्रन थाल्यो। ताललाई बादलले छोप्दै लग्यो। पानी पुनः बर्सन थाल्यो। लाग्यो, बेहुलीलाई अनमाउने बेला भयो। गोसाइँकुण्डलाई बिदा गर्ने बेला भयो। यता जुत्ताले पनि मसँग बिदाइ मागिरहेको रहेछ। जुत्ताको तलुवाले ठाउँ नै छाडेर गएछ।
साथ दिओस् पनि कति?
यो जुत्ता धेरैपटकको यात्रामा मेरो साथी भएको थियो। मनाङमा फिल्म प्रेम गीतको सुटिङ चल्दा मैले यही जुत्ता लगाएको थिएँ। तीनपटक मुन्धुम ट्रेल यही जुत्तामा घुमेको थिएँ। तिलिच्चो तालको परिक्रमा यही जुत्तामा गरेको थिएँ। गोसाइँकुण्ड पनि यही जुत्ताले पुर्यायो। केवल फर्कँदा सास्ती भोग्नुपर्यो।
भेटेजत्तिका मानिसलाई जुत्ता टाँस्ने सामग्री छ भनेर सोधेँ तर कसैबाट फेला पार्न सकिनँ। उद्धारमा खटेका आर्मी दाइहरूले पनि मेरो जुत्ताको उद्धार गराउन सक्नुभएन। वरपर जुत्ताहरू किन्न पनि नपाइने! कस्तो आपत!
त्यसपछि भेटेजत्तिका रंगविरंग डोरीहरू बटुल्न थालेँ र जुत्ता बाँध्न थालेँ। जहाँ–जहाँ डोरी कमजोर भएर चुँडिन्थ्यो, अर्को डोरी खोजेर बाधिँहाल्थेँ। जुत्ताले सिकायो — मानिसले चाह्यो भने जुनसुकै समस्याको समाधान भेटिन्छ।
-1787999548.png)
प्रवेशद्वारबाट अन्तिमपटक गोसाइँकुण्ड नियाल्दै फर्कन थालेँ। मलाई गोसाइँकुण्डबाट लाङटाङ जान रहर थियो। तर जुत्ता र झरीको जोखिमबीच त्यसबेला जान सकिनँ। त्यहाँबाट फर्कँदा एक जना भरियालाई पछ्याउँदै हिँडेँ। भरियालाई पछ्याउनुको फाइदा भनेको उसलाई छोटो बाटोहरू थाहा हुन्छ। मैले भरपुर फाइदा उठाएँ।
बाटो चिप्लो थियो, शरीर थाकेको थियो। खुट्टा काँपिरहेका थिए। तर एक मनले मलाई उक्त भरियालाई जितेर अघि बढ्ने रहर जाग्यो। अन्ततः उसलाई जितेर अघि बढेँ। त्यो जित अरू कसैसँगको प्रतिस्पर्धा थिएन। आफ्नै शरीर र सीमासँगको थियो।
गोसाइँकुण्डको त्यो यात्रा केवल एउटा ठाउँसम्म पुग्ने यात्रा बनेन। बाटोले थकायो, भिजायो, डर देखायो, रोकायो। यही बाटोले आफूभित्रका धेरै प्रश्नको उत्तर पनि दियो।
त्यस ठाउँबाट आधा घण्टा हिँड्दै मैले थाहा पाएको थिएँ, हातमा लगाउने पन्जा गोसाइँकुण्डमै छुटेछ। फर्केर लिन जान बाटो टाढा थिएन, तर मन लागेन।
मनले भन्यो, ‘पाइलाले सधैं त्यस ठाउँको स्पर्श लिन नसके पनि पन्जाहरूले गोसाइँकुण्डको स्पर्श लिइरहनेछन्।’
***
यात्रालाई शब्दमा उतारेर म भाषा सम्पादन गर्दै थिएँ। जनैपूर्णिमाको दुई दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढी र त्यसले निम्त्याएको ठूलो क्षतिको खबर पढेर/हेरेर म स्तब्ध भएँ। झन् जनैपूर्णिमाकै लागि भनेर हिँडेका यात्रुहरूको मृत्यु र बिचल्लीको खबर सुन्दा आङ जिरिङ भयो।
सोचेँ — धन्न, यसपालि जनैपूर्णिमामा गोसाइँकुण्ड गएनछु!