म वर्षौंदेखि अमेरिकामा बस्छु, तर नेपाल मेरो मनमा सधैं जीवित छ।
हरेक पटक स्वदेश फर्किँदा म एउटा जिज्ञासु आँखाले हेर्छु— के फेरियो, के फेरिएन, र किन?
यसपालि काठमाडौंमा बिताएका केही दिनले मलाई एउटा सानो तर गहिरो अनुभव दिए, जसले मेरो मनमा लामो समयदेखि घुमिरहेको एउटा प्रश्नको जबाफ खोज्न बाध्य बनायो।
२०२६ जुलाई १८ गते रातको ३ बजे। झापातिर जाने बिहानैको बस समाउन म ट्याक्सी चढेँ।
सडकहरू सुनसान थिए, ट्राफिकको चहलपहल शून्य। सहर निदाइसकेको थियो।
तर त्यही निस्तब्धतामा मैले केही असाधारण दृश्य देखेँ— ट्याक्सी चालक प्रत्येक ट्राफिक बत्तीमा रोकिँदै गइरहेका थिए। अन्य सवारीले पनि त्यही गरिरहेका थिए। एउटा पनि सवारी बत्ती नहेरी अघि बढेन।
मेरो मन अचम्मले भरियो। केही वर्षअघिसम्म यस्तो दृश्य काठमाडौंमा दुर्लभ थियो। रातको समयमा, कसैले नहेरेको बेला, बत्ती कटाउने चलन सामान्य थियो।
तर आज फरक थियो।
जिज्ञासा थाम्न नसकेर मैले सोधेँ, 'सडक त खाली छ, किन रोकिनुहुन्छ?'
उनको उत्तर छोटो तर गहिरो थियो— जरिवाना कडा छ, दाइ। क्यामरा सबैतिर छ। अब जोखिम लिन सकिँदैन।
म केही बेर चुप रहेँ। त्यो एउटा वाक्यले मलाई धेरै कुरा सोच्न बाध्य बनायो।
यस सानो क्षणले मभित्र एउटा ठूलो प्रश्न उठायो— मानिसको व्यवहार परिवर्तन गर्ने वास्तविक शक्ति के हो? भित्रबाट आउने संस्कार, कि बाहिरबाट थोपरिने परिणाम? र यदि परिणाम निश्चित र कडा हुन्छ भने, के त्यसले बिस्तारै संस्कार बनाउन सक्छ?
यो प्रश्न मेरो मात्र होइन— विश्वका ठूला अर्थशास्त्री र समाजशास्त्रीहरूले पनि यही प्रश्नसँग जुधिरहेका छन्।
अर्थशास्त्री फिसम्यान र मिगुएल (२००६) ले यो प्रश्नलाई एउटा अनौठो तरिकाले परीक्षण गरे। जर्नल अफ पोलिटिकल इकोनोमीमा प्रकाशित उनीहरूको प्रसिद्ध अनुसन्धानले न्यूयोर्क सहरमा कार्यरत संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञहरूको पार्किङ उल्लंघनलाई विश्लेषण गर्यो।
कूटनीतिक छुटका कारण उनीहरूलाई जरिवाना तिर्नु पर्दैन थियो— अर्थात् उल्लंघन गरे पनि कुनै परिणाम आउँदैन थियो।
नतिजा चकित पार्ने थियो— उच्च भ्रष्टाचार संस्कृतिबाट आएका कूटनीतिज्ञहरूले हजारौं टिकट नतिरी थुपारे। जबकि स्क्यान्डिनेभियाजस्ता कम भ्रष्टाचार संस्कृतिबाट आएकाहरूले लगभग शून्य उल्लंघन गरे।
यो अध्ययनले स्पष्ट देखायो— संस्कृति भनेको मानिसले घरबाट बोकेर ल्याउने बानी हो, जसले 'कसैले नहेर्दा' के गर्छन् भन्ने निर्धारण गर्छ।
तर यही अध्ययनले अर्को महत्त्वपूर्ण कुरा पनि संकेत गर्छ— जब परिणाम लागू हुन्छ, व्यवहार बदलिन्छ, चाहे संस्कृति जस्तोसुकै होस्।
मैले काठमाडौंमा अहिले देखेको परिवर्तन यही बाटोमा छ। चालकहरू रातको ३ बजे पनि ट्राफिक बत्तीमा रोकिँदैछन्— आन्तरिक संस्कारका कारण होइन, कडा जरिवाना र क्यामराको डरका कारण।
नियम उल्लंघन गर्दा सयौं–हजारौं रूपैयाँ तिर्नुपर्छ र कार्यान्वयन पनि कडा छ।
मेरो दृष्टिमा, ३ बजेको त्यो दृश्य परिवर्तनको संक्रमणकाल हो— चालकहरू अझै मनभित्रको नागरिक चेतनाका कारण होइन, जोखिमको मूल्य बढी भएको कारण रोकिँदैछन्।
तर यही निरन्तरता नै भविष्यमा साँचो संस्कार निर्माणको जग बन्न सक्छ भन्ने मेरो विश्वास छ।
यसको एउटा जीवन्त उदाहरण झापाबाट काठमाडौं आउँदाको माइक्रोबस यात्रामा मेरो अनुभव हो।
परिवारसहित माइक्रोबस चढ्दा बस सहायकले गुनासो गर्दै भने— दाइ, १५०० जरिवाना तिर्नुपर्यो, बढी मानिस चढाएको भनेर। अब कहिल्यै सीमा नाघ्दिनँ।
उनको स्वरमा पीडा थियो, तर परिवर्तनको संकेत पनि थियो। दण्डले तत्काल व्यवहार बदलिदिन्छ— यही नै संस्कार निर्माणको पहिलो चरण हो। दण्डले नोक्सान व्यक्तिगत बनाइदिन्छ, र व्यक्तिगत नोक्सानले नै मानिसलाई दीर्घकालीन रूपमा सचेत बनाउँछ।
यही कारणले सहायकले 'अब कहिल्यै गर्दिनँ' भन्ने वाचा गरे। दण्डले व्यवहारमा स्थायी प्रभाव पार्छ।
यातायात नियम कार्यान्वयनमा अहिले प्रविधिले पनि ठूलो भूमिका खेल्न थालेको छ। नयाँ प्रविधि— विशेषगरी सिसिटिभी क्यामरा, जिपिएस ट्र्याकिङ, र २४ घण्टा अनलाइन निगरानी प्रणालीले नियम उल्लंघन गर्नेहरूलाई तुरून्तै पहिचान गर्न सजिलो बनाएको छ।
क्यामराले सवारीको नम्बर प्लेट स्वचालित रूपमा टिप्छ, जिपिएसले सवारीको गति, मार्ग, र रोकथाम उल्लंघनलाई निरन्तर ट्र्याक गर्छ, र यी सबै प्रमाणहरू सीधै ट्राफिक कार्यालयमा पुग्छन्।
चालकले 'समातिँदैन' भन्ने पुरानो मानसिकता अब काम गर्दैन, किनकि क्यामराले निगरानी गरिरहेको हुन्छ। धेरै देशमा जस्तै, अब नेपालमा पनि टिकट घरमै आइपुग्छ— कसैले रोक्यो कि रोकेन भन्ने कुराले फरक पार्दैन, क्यामराले देखेपछि उल्लंघन प्रमाणित हुन्छ। यसले चालकलाई अनावश्यक जोखिम लिनबाट रोक्छ, किनकि जरिवाना तिर्नुपर्ने निश्चितता नै व्यवहार परिवर्तनको मुख्य कारण बन्छ।
प्रविधि आधारित निगरानीले एउटा महत्त्वपूर्ण मनोवैज्ञानिक प्रभाव पार्छ— चालकलाई सधैं 'हेरिरहेको छ' भन्ने अनुभूति हुन्छ।
यही अनुभूति नै नियमपालनको दर बढाउने प्रमुख कारक हो।
धेरै देशमा देखिएझैं, प्रविधि लागू भएपछि नियम उल्लंघनको दर तीव्र रूपमा घट्छ, किनकि मानिसले अब भागेर उम्किन सक्ने सम्भावना हराउँछ। नेपालमा पनि यही प्रवृत्ति देखिन थालेको छ— क्यामरा र जिपिएसको निगरानीले चालकलाई सावधान बनाएको छ र दण्डको निश्चितताले उनीहरूलाई नियमपालनमा बाध्य बनाएको छ।
यसैसँगै, ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थितिले पनि नियम कार्यान्वयनमा ठूलो प्रभाव पारिरहेको छ। सडकमा खटिएका प्रहरीको सक्रियता— जस्तै ओभरलोड सवारी रोक्ने, लेन उल्लंघन चेक गर्ने, मदिरा सेवन परीक्षण गर्नेले नियम पालनमा तत्काल प्रभाव पार्छ। प्रविधि र मानवीय निगरानी दुवै मिलेर अहिले नेपालमा एक प्रकारको 'दुई तहको सुरक्षा' बनेको छ, जसले चालकलाई नियम उल्लंघन गर्न कठिन बनाएको छ।
प्रविधिले २४/७ निगरानी गर्छ, प्रहरीको उपस्थितिले तत्काल नियन्त्रण गर्छ— दुवै मिलेर दण्डको निश्चितता सुनिश्चित गर्छन्।
यसरी हेर्दा, दण्ड, प्रविधि, र प्रहरीको सक्रियता— यी तीनै तत्वले मिलेर नेपालमा नियम पालनको नयाँ संस्कार निर्माण गरिरहेका छन्। चालकहरू अब केवल डरले होइन, बिस्तारै बानीले पनि नियम पालना गर्न थालेका छन्। यही निरन्तरता नै दीर्घकालीन परिवर्तनको आधार हो।
दण्ड र व्यवहार परिवर्तनबीचको यो सम्बन्धलाई अन्तर्राष्ट्रिय अनुसन्धानले पनि बारम्बार पुष्टि गरेको छ।
नोबेल पुरस्कार विजेता अर्थशास्त्री ग्यारी बेकरले आफ्नो ऐतिहासिक अपराध–अर्थशास्त्र सिद्धान्तमा स्पष्ट पारे कि— मानिसले नियम उल्लंघन गर्ने कि नगर्ने भन्ने निर्णय गर्दा, चेतन वा अचेतन रूपमा लागत र फाइदाको गणना गर्छ। जब दण्डको सम्भावना र त्यसको भार दुवै उच्च हुन्छ, उल्लंघन दर उल्लेखनीय रूपमा घट्छ।
बेकरको यो विचारले विश्वभरका नीति–निर्माताहरूलाई दशकौंदेखि मार्गदर्शन गरेको छ। नेपालको हालको कडा ट्राफिक जरिवाना नीतिको वैज्ञानिक आधार पनि यही सिद्धान्तमा टेकेको छ भन्ने मलाई लाग्छ।
त्यसैगरी, अपराधशास्त्री एलेक्स पिक्वेरो र उनका सहयोगीहरूले विश्वका विभिन्न सहरहरूमा व्यापक अनुसन्धान गरेका थिए। त्यसले सार्वजनिक स्थानमा गरिने साना उल्लंघनहरू, जस्तै फोहोर फाल्ने, अवैध पार्किङ, र ट्राफिक नियम उल्लंघनमा कडा जरिवाना लागू गर्दा पालन दर ३०–५० प्रतिशतसम्म बढेको देखायो।
पिक्वेरोको अनुसन्धानले विशेष गरी एउटा रोचक कुरा देखायो — कार्यान्वयनको निरन्तरता र पक्कै समातिन्छु भन्ने निश्चितताको भाव नै व्यवहार परिवर्तनमा सबभन्दा प्रभावकारी तत्त्व हो, दण्डको परिमाणभन्दा पनि बढी। अर्थात् जरिवाना कति ठूलो छ भन्दा पनि जरिवाना नपर्ने उपाय छैन भन्ने भावनाले मानिसको व्यवहार बढी बदल्छ।
यी दुवै अध्ययनहरू एउटै निष्कर्षमा पुग्छन्— दण्ड कार्यान्वयनले पालन बढाउँछ र निरन्तर पालनले बिस्तारै संस्कार निर्माण गर्छ।
मैले यो कुरा झापामा बस्दा मध्यपूर्वबाट फर्किएका कामदारहरूसँगको व्यक्तिगत कुराकानीमा पनि अनुभव गरेँ।
उनीहरूको साझा अनुभव एउटै थियो— कडा नियम र भारी जरिवानाले नै उनीहरूलाई अनुशासित बनायो, नेपालमा नबनेको अनुशासन विदेशी भूमिमा बन्यो।
एक जनाले मलाई भने— युएईमा सानो ट्राफिक गल्ती गर्दा पनि हजारौं दिराम तिर्नुपर्छ। एक पटक तिरेपछि फेरि गल्ती गर्न मनै लाग्दैन। त्यहाँ २४ महिना बस्दा मैले नियम पालना गर्ने बानी विकास गरेँ।
उनको कुरा सुन्दा मलाई लाग्यो— मानिस परिवर्तन हुन सक्छ, बस् वातावरण र परिणाम सही हुनुपर्छ।
तर मेरो मनमा एउटा प्रश्न सधैं खेलिरहन्छ— नेपालको समस्या केवल जरिवानाको कमी मात्र हो र?
मलाई लाग्दैन।
यहाँ एउटा गहिरो सामाजिक मानसिकता पनि छ— नियम पालना गर्ने जिम्मेवारी अरूको हो, मेरो होइन भन्ने सोच।
मलाई १९८० को दशकको एउटा दृश्य अझै स्पष्ट याद छ— नजिकको एउटा सिनेमा हलमा टिकट किन्न पुग्दा, २०–३० जना मानिस मात्र भए पनि कोही लाइन बसेनन्। धक्का–मुक्का, चिच्याहट, आफ्नो बाटो खोज्ने— सबै सामान्य थियो।
त्यति बेला मलाई अनौठो लागेको थियो, तर अरूलाई लाग्दैन थियो। किनकि यो त 'सबैले यसरी नै गर्छन्' भन्ने धारणा थियो। कसैले नियम लागू गरेको थिएन, न त कसैले परिणाम पाएको थियो।
बस चढ्दा लाइन बस्ने, सेवा काउन्टरमा पालो पर्खने, फोहोर डस्टबिनमा हाल्ने— अनेक देशमा स्वाभाविक मानिने यी बानीहरू नेपालमा अझै दुर्लभ छन्। म जब विदेशबाट नेपाल फर्किन्छु, यो भिन्नता मलाई झनै तीव्रतासाथ महसुस हुन्छ।
तर यसको दोष नेपाली मानिसको चरित्रमा होइन— यसको जरा हाम्रो प्रणालीमा छ, जहाँ वर्षौंदेखि नियम नपाल्दा कुनै परिणाम आउँदैन थियो।
नेपाल बसाइको अन्तिम दिन, राति ११ बजेको उडान समाउन म पुनः ट्याक्सी चढेँ। विमानस्थल नजिकै सडक जाम थियो। एक सवारीले अवैध रूपमा क्यू काटेपछि पूरा लाइन रोकियो।
आफूले ढिलो हुने हो कि भनेर मेरो मन अलिकति चिन्तित भयो।
त्यही बेला ट्याक्सी चालक झर्किँदै भने— यस्ता काम गर्नेहरूलाई भारी जरिवाना हुनैपर्छ। सरकारको योजना राम्रो छ, तर यस्ताहरूले बिगार्छन्।
उनको झोँक सुन्दा मलाई खुसी लाग्यो— किनकि यो केवल गुनासो थिएन, यो एउटा सचेत नागरिकको आवाज थियो जसले नियमको महत्त्व बुझेको थियो। सार्वजनिक चेतना बदलिँदैछ र यो परिवर्तन मैले आफ्नै आँखाले देख्छु।
नेपालमा कति जरिवाना उपयुक्त हो भन्ने बहस चलिरहेकै छ र यो बहस हुनु पनि जरूरी छ।
मेरो विचारम केवल दण्ड पर्याप्त छैन। सरकारको जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण छ— सडक संरचना सुधार्ने, स्पष्ट ट्राफिक चिन्ह राख्ने, पर्याप्त फुटपाथ बनाउने, र नियम पालनको महत्त्वबारे बालबालिकाबाटै जनचेतना फैलाउने।
मैले अमेरिकामा देखेको छु— त्यहाँको यातायात अनुशासन केवल जरिवानाका कारण मात्र होइन, त्यहाँका सडकहरू पनि नियम पालना गर्न सहज छन्।
नेपालमा पनि दण्डसँगसँगै सुविधा र जानकारीको संयोजन आवश्यक छ।
तर यी सबै कुराभन्दा पहिले, जुन कुरा मैले रातको ३ बजे काठमाडौंको सुनसान सडकमा आफ्नै अनुभवबाट बुझेँ— त्यो हो कि परिवर्तन सम्भव छ। त्यो ट्याक्सी चालकको 'जरिवाना कडा छ, दाइ' भन्ने एउटा वाक्यमा मैले नेपालको भविष्यको एउटा झलक देखेँ।
त्यो केवल एउटा चालकको डरको अभिव्यक्ति थिएन— त्यो एउटा प्रणालीले काम गरिरहेको संकेत थियो। कडा र निरन्तर कार्यान्वयनले नै दीर्घकालीन संस्कार निर्माणको ढोका खोल्छ र त्यो ढोका काठमाडौंमा अहिले बिस्तारै खुल्दैछ भन्ने विश्वास छ।
(लेखक डा. लिला कुमार खतिवडा अमेरिकास्थित युनिभर्सिटी अफ नोट्र डेममा कार्यरत अनुसन्धाता हुन्)