ग्लोबल नेपाली
अमेरिकाको कोलोराडोमा बस्दै आएकी बिनिशा श्रेष्ठका लागि नेपाली कला र संस्कृति केवल विगत सम्झिने माध्यम होइनन्। उनका लागि यी आप्रवासी पुस्तालाई आफ्नो जरासँग जोड्ने, नयाँ पुस्तालाई आफ्नो पहिचान बुझाउने र अमेरिकी समाजमा नेपालको कथा सुनाउने माध्यम हुन्।
यही सोचले पछिल्ला केही वर्षमा उनलाई अमेरिकाका विमानस्थल, संग्रहालय, विश्वविद्यालय, पुस्तकालय र सार्वजनिक सांस्कृतिक स्थलसम्म नेपाली कला, संस्कृति र समुदायका कथा पुर्याउने अभियानमा सक्रिय बनाएको छ।
नेपालमा फिल्म मेकिङ एन्ड कम्युनिकेसन अध्ययन गरेकी बिनिशा फिल्म तथा डकुमेन्ट्री निर्माणसँग सम्बन्धित काम गर्थिन्। अमेरिका आएपछि भने उनको जीवनले फरक दिशा लियो। नयाँ देश, नयाँ भाषा र नयाँ सामाजिक परिवेशमा आफूलाई स्थापित गर्ने चुनौतीसँगै उनले वर्षौंदेखिको श्रवण समस्यासँग पनि जुध्नुपर्यो।
तर यही यात्राले उनलाई समुदाय, प्रतिनिधित्व र समावेशिताको अर्थ अझ गहिरोसँग बुझायो।
विमानस्थलदेखि संग्रहालयसम्म नेपाली पहिचान
सन् २०२१ कोभिडको महामारीपछि बिनिशा नेपाली कला, संस्कृति र समुदायको कथा अमेरिकी मूलधारका सार्वजनिक स्थलमा पुर्याउने काममा अझ सक्रिय भइन्। त्यस क्रममा उनले स्थापना गरेको कोलोराडो नेपलिज कम्युनिटीमार्फत विभिन्न सांस्कृतिक प्रदर्शनी, कला कार्यक्रम, सामुदायिक कार्यक्रम र शैक्षिक गतिविधि सञ्चालन हुँदै आएका छन्।
उनको कामको मुख्य उद्देश्य केवल नेपाली समुदायभित्र चाडपर्व मनाउनु होइन। नेपाली समुदायबारे थाहा नभएका मानिससम्म नेपालको कला, इतिहास, परम्परा, खाना, संगीत र आप्रवासी अनुभव पुर्याउनु पनि हो।
यसको एउटा महत्त्वपूर्ण उदाहरण अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरिएको 'हेरिटेज इन मोसन: नेपाली स्टोरीज् अफ रुट्स, मेमोरी एन्ड कन्टीन्युटी' प्रदर्शनी हो।
मार्च २०२६ मा सुरु भएको उक्त प्रदर्शनीमा नेपाली कला, धार्मिक तथा सांस्कृतिक वस्तु, पोसाक, खाना संस्कृतिका प्रतिकृति र समुदायका कथाहरू समेटिएका थिए। कुमारीको चित्रदेखि बुद्धका मूर्ति, शेर्पा पोसाक, परम्परागत बेहुलीको पहिरन तथा नेवारी समयबजीका प्रतिकृतिसम्म प्रदर्शनीमा राखिएका थिए।
‘विमानस्थल भनेको संसारभरिका मानिस भेटिने ठाउँ हो। नेपाल नपुगेका, नेपालबारे धेरै नजानेका मानिसले पनि त्यहाँ हाम्रो संस्कृति देख्न पाउँछन्,’ बिनिशा भन्छिन्, ‘मेरो लागि प्रदर्शनी गर्नु मात्र ठूलो कुरा होइन, नेपालको कथा कुन ठाउँमा र कसका अगाडि पुगिरहेको छ भन्ने कुरा महत्त्वपूर्ण हो।’
डेनभर विमानस्थलजस्तो ठूलो अन्तर्राष्ट्रिय स्थलमा नेपाली समुदायको यस्तो प्रदर्शनी हुनु आफैमा महत्त्वपूर्ण उपलब्धि भएको उनी बताउँछिन्। तर त्यहाँसम्म पुग्न सहज थिएन। प्रस्ताव, अवधारणा, संस्थागत प्रक्रिया र निरन्तर संवाद गर्दै अवसर निर्माण गर्न लामो समय लागेको थियो।
उनका लागि त्यो प्रतीक्षा पनि एउटा सिकाइ थियो—अमेरिकामा नेपाली समुदायको प्रतिनिधित्व बढाउन केवल राम्रो कार्यक्रम गर्नु पर्याप्त हुँदैन, संस्थागत संरचनाभित्र पुगेर अवसरका ढोका खोल्न पनि आवश्यक हुन्छ।
‘हाम्रो कथा हामी आफैले भन्नुपर्छ’
बिनिशाले नेतृत्व गरेको अर्को महत्त्वपूर्ण परियोजना 'मोजेक अफ कलचर्स: अरोराको नेपाली कम्युनिटी' हो, जुन अरोरा हिस्ट्री म्युजियममा लामो अवधिसम्म प्रदर्शन गरिएको थियो।
यस प्रदर्शनीमार्फत नेपाली समुदायको इतिहास, आप्रवासन, संस्कृति, धार्मिक परम्परा, पहिरन, दैनिक जीवन र नयाँ पुस्ताको पहिचानलाई संग्रहालयको माध्यमबाट प्रस्तुत गरिएको थियो। प्रदर्शनीलाई हजारौँ दर्शकले अवलोकन गरे।
त्यसपछि 'नोस्टाल्जिक एक्सप्रेसन्स', 'कन्फ्लुएन्स अफ फेस्टिभल्स', 'टेल्स अफ सारिज', 'हेरिटेज इन मोसन' लगायत विभिन्न कार्यक्रम तथा प्रदर्शनीमार्फत उनले नेपाली कलाकार, महिला, पहिलो पुस्ताका आप्रवासी र नयाँ पुस्ताका युवालाई सार्वजनिक मञ्चसँग जोड्ने प्रयास गरिरहेकी छन्।
अहिले उनको 'हेरिटेज इन मोसन' प्रदर्शनीको अर्को संस्करण बोल्डर म्युजियममा प्रस्तुत भइरहेको छ। यसमा नेपाल र अमेरिकामा रहेका विभिन्न पुस्ताका कलाकारका कामसँगै नेपाली कला, धार्मिक परम्परा, सांस्कृतिक स्मृति र आप्रवासी अनुभवलाई जोडिएको छ।
बिनिशाका अनुसार यस्ता प्रदर्शनीको उद्देश्य ‘नेपाल सुन्दर देश हो’ भनेर मात्र देखाउनु होइन।
‘हामीसँग हजारौँ वर्ष पुरानो कला, वास्तुकला, हस्तकला र जीवित संस्कृति छ। तर अमेरिकामा हाम्रो समुदायलाई धेरैपटक रेस्टुरेन्ट, खाना वा चाडपर्वबाट मात्र चिनिन्छ,’ उनी भन्छिन्, ‘ती पनि हाम्रो पहिचानका महत्त्वपूर्ण हिस्सा हुन्, तर हाम्रो कथा त्यसभन्दा धेरै ठूलो छ। हामी कलाकार हौँ, सर्जक हौँ, इतिहास बोकेका समुदाय हौँ। हाम्रो कथा हामी आफैँले भन्नुपर्छ।’
त्यसैले उनले स्थापित कलाकारसँगै पर्याप्त अवसर नपाएका आप्रवासी तथा डायस्पोराका कलाकारलाई पनि प्रदर्शनी र सार्वजनिक कार्यक्रमसँग जोड्ने प्रयास गर्दै आएकी छन्।
नेपाली ‘फल्चा’ डेनभरमा
उनको पछिल्लो काम प्रदर्शनीमा मात्र सीमित छैन।
कोलोराडो नेपलिज कम्युनिटीले डेनभरमा नेपाली वास्तुकला र सामुदायिक जीवनको प्रतीक 'फल्चा' निर्माण गर्ने परियोजनामा पनि काम गरिरहेको छ। परम्परागत नेवारी बस्तीमा फल्चा आराम गर्ने, भेटघाट गर्ने, संवाद गर्ने र समुदाय जोडिने साझा थलो हो।
बिनिशाका लागि अमेरिकामा फल्चा निर्माण गर्नु एउटा संरचना बनाउनु मात्र होइन, नेपाली दर्शनको एउटा अंश अमेरिकी सार्वजनिक स्थानमा स्थापित गर्नु हो।
‘फल्चा भनेको बस्ने ठाउँ मात्रै होइन। हाम्रो समाजमा त्यो संवाद, सम्बन्ध र समुदायको ठाउँ हो,’ उनी भन्छिन्, ‘त्यो अवधारणा डेनभरमा ल्याउँदा नेपालबाट एउटा भवन होइन, समुदाय बनाउने हाम्रो तरिका ल्याइरहेका छौँ।’
उनको नेतृत्वमा नेपाली समुदायले स्थानीय सरकार, संग्रहालय, विश्वविद्यालय, कला संस्था तथा अन्य समुदायसँग सहकार्य गर्दै आएको छ। उनले अरोरा सिस्टर सिटिजलगायत विभिन्न नागरिक तथा सांस्कृतिक संस्थामा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपाली समुदायलाई फराकिलो नागरिक संवादसँग जोड्ने प्रयास गरिरहेकी छन्।
उनको भनाइमा समुदायको विकास आफ्नै कार्यक्रम गरेर मात्र हुँदैन। अरू समुदाय, स्थानीय सरकार र संस्थासँग एउटै टेबलमा बसेर निर्णय प्रक्रियामा सहभागी हुनु पनि उत्तिकै आवश्यक छ।
श्रवण समस्याले ल्याएको अर्को संघर्ष
बिनिशाको सार्वजनिक जीवनको यो यात्रा भने श्रवण समस्यासँगै अघि बढेको छ।
उनलाई किशोरावस्थादेखि नै श्रवण क्षमता कमजोर हुँदै गएको अनुभव थियो। परिवारमा पनि श्रवण समस्या थियो। उनका बुवा र बहिनीमा समेत यस्तै समस्या देखिएको उनी बताउँछिन्।
करिब १७–१८ वर्षदेखि उनले हियरिङ एड प्रयोग गर्दै आएकी छन्। सुरूका वर्षमा भने श्रवण समस्या कति गम्भीर छ भन्ने आफूले पनि पूर्ण रूपमा स्वीकार नगरेको उनी सम्झन्छिन्।
नेपालमा परिचित भाषा, अनुहार र सामाजिक परिवेश भएकाले कतिपय कुरा अनुमान गरेर पनि बुझ्न सकिन्थ्यो। अमेरिका पुगेपछि अवस्था फरक भयो।
नयाँ देश, फरक उच्चारण, अंग्रेजीमा तीव्र गतिमा हुने कुराकानी र अपरिचित सामाजिक परिवेशले श्रवण समस्यालाई अझ स्पष्ट बनाइदियो।
‘अंग्रेजी नबुझेको होइन, तर सुन्न छुटेपछि पूरा संवाद नै छुट्थ्यो,’ उनी भन्छिन्, ‘मानिसहरूले हाँसेको देखिन्थ्यो, तर के कुरामा हाँसे भन्ने थाहा नहुन सक्थ्यो। मिटिङमा सबैले कुरा गरिरहेका हुन्थे, तर आधा कुरा छुटिरहेको हुन्थ्यो।’
यस्तो अवस्थाले कहिलेकाहीँ सामाजिक गतिविधिबाटै टाढा बस्न मन लाग्ने उनी बताउँछिन्।
श्रवण समस्या बाहिरबाट सहजै नदेखिने भएकाले मानिसले त्यसको प्रभाव बुझ्न पनि कठिन हुने उनको अनुभव छ।
तर आफूलाई अलग राखेर समस्या समाधान नहुने निष्कर्षमा उनी पुगिन्।
कोभिड महामारीपछि उनी समुदायका गतिविधिमा अझ सक्रिय हुन थालिन्। त्यही सक्रियताले विस्तारै नेतृत्वको बाटो खोल्यो।
पछिल्लो समय उनले कक्लियर इम्प्लान्टसमेत प्रयोग गर्न थालेकी छन्। प्रविधिसँगै क्याप्सन, पहुँचयुक्त कार्यक्रम र श्रवण समस्या भएका व्यक्तिका लागि उपलब्ध अन्य सुविधाले आफ्नो सार्वजनिक जीवनमा ठूलो परिवर्तन ल्याएको उनी बताउँछिन्।
आज उनी आफ्नो श्रवण समस्यालाई लुकाउनेभन्दा सार्वजनिक रूपमा त्यसबारे बोल्न रुचाउँछिन्।
‘पहिला म कम सुन्छु भन्न अप्ठ्यारो लाग्थ्यो। अहिले सुरुमै भन्छु—मलाई तपाईंको अनुहार देखिने गरी बोल्नुहोस्, आवश्यक परे क्याप्सन राख्नुहोस्,’ उनी भन्छिन्, ‘आफ्नो आवश्यकता भन्न सक्नु पनि नेतृत्वको एउटा हिस्सा रहेछ।’
आफ्नो अनुभवबाट समावेशिताको अभियान
श्रवण समस्याको आफ्नै अनुभवका कारण बिनिशाको सांस्कृतिक काममा पहुँच र समावेशिताले विशेष स्थान पाएको छ।
उनका अनुसार कुनै कार्यक्रम ‘सबैका लागि खुला’ भनेर घोषणा गर्नु मात्र समावेशिता होइन। त्यहाँ अपाङ्गता भएका व्यक्ति पुग्न सक्छन् कि सक्दैनन्, सुन्न नसक्ने व्यक्तिले कार्यक्रम बुझ्न सक्छ कि सक्दैन, नयाँ आप्रवासीले आफूलाई स्वागत गरिएको महसुस गर्छ कि गर्दैन—यी प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छन्।
यसैले उनले सांस्कृतिक प्रतिनिधित्वलाई अपाङ्गता समावेशिता, आप्रवासी अनुभव र समुदाय निर्माणसँग जोडेर हेर्छिन्।
‘म नेपाली भएकाले प्रतिनिधित्वको आवश्यकता बुझ्छु। आप्रवासी भएकाले belonging अर्थात् अपनत्वको आवश्यकता बुझ्छु। र श्रवण समस्या भएकाले accessibility किन आवश्यक छ भन्ने आफ्नै जीवनबाट बुझ्छु,’ उनी भन्छिन्।
अर्को पुस्तालाई आफ्नो संस्कृति चिनाउने चाहना
बिनिशाका लागि आफ्नो कामको सबैभन्दा महत्त्वपूर्ण पक्ष नयाँ पुस्ता हो।
उनी अमेरिका आउँदा उनका छोरा सानै थिए। अहिले उनी किशोरावस्थामा छन्। अमेरिकामा हुर्किरहेका नेपाली मूलका बालबालिकाले आफूलाई अमेरिकी वा नेपालीमध्ये एउटा मात्र रोज्नुपर्ने अवस्था नआओस् भन्ने उनको चाहना छ।
‘हाम्रा बच्चाहरूले नेपाली हुनु र अमेरिकी हुनु एकअर्काको विपरीत कुरा होइन भन्ने बुझून्,’ उनी भन्छिन्, ‘उनीहरूले आफ्ना हजुरबा–हजुरआमाको कथा, भाषा, खाना, कला र परम्परा गर्वका साथ बुझून्। अनि त्यही पहिचान लिएर अमेरिकी समाजमा आत्मविश्वासका साथ अगाडि बढून्।’
त्यसैले उनी संग्रहालय र प्रदर्शनीलाई केवल वस्तु राख्ने ठाउँका रूपमा हेर्दिनन्। उनका लागि ती स्मृति जोगाउने, पुस्ता जोड्ने र समुदायको इतिहासलाई सार्वजनिक अभिलेखमा स्थापित गर्ने ठाउँ हुन्।
कामले दिलाएको पहिचान र सम्मान
नेपाली कला–संस्कृतिको प्रवर्द्धन, आप्रवासी समुदायको प्रतिनिधित्व र समावेशिताका क्षेत्रमा गरेको कामले बिनिशालाई अमेरिकामा विभिन्न सम्मानसमेत दिलाएको छ।
सन् २०२४ मा उनलाई 'सिटी अफ अरोरा'को 'ग्लोबल लिडर्स अवार्ड' प्रदान गरिएको थियो। त्यही वर्ष नेपाली समुदायको कला, संस्कृति र इतिहासलाई संग्रहालय तथा सार्वजनिक संस्थासँग जोड्ने उनको नेतृत्वलाई कदर गर्दै 'मोजेक अफ कलचर्स' सम्बन्धी कामका लागि माउन्टेन प्लेन्स म्युजियम्स एसोसिएसन (MPMA) को 'लिडर्सिप एन्ड इनोभेसन अवार्ड'बाट पनि सम्मानित गरिएको थियो।
सन् २०२५ मा उनले 'एसियन अमेरिकन हिरो अफ कोलोराडो' सम्मान प्राप्त गरिन्। एसियन अमेरिकी समुदायको प्रतिनिधित्व, सांस्कृतिक पहिचान र समुदाय निर्माणमा पुर्याएको योगदानका लागि प्राप्त यो सम्मानलाई उनी व्यक्तिगत उपलब्धिभन्दा समुदायको कामले पाएको मान्यताका रूपमा हेर्छिन्।
त्यस्तै, 'सिटी अफ अरोरा'को 'कम्युनिटी स्पिरिट अवार्ड २०२५'ले पनि उनको सामुदायिक नेतृत्व र विभिन्न समुदायलाई जोड्ने प्रयासलाई सम्मान गरेको छ।
बिनिशा सन् २०२४ मा 'वेस्टर्न युनियन फाउन्डेसन फेलो'का रूपमा समेत छनोट भएकी थिइन्। यस अवसरले उनलाई आफ्नो सामुदायिक कामलाई अझ व्यवस्थित र दीर्घकालीन रूपमा अघि बढाउने तथा अन्तर्राष्ट्रिय नेतृत्व सञ्जालसँग जोडिने अवसर दियो।
तर यस्ता पुरस्कार र सम्मानलाई उनी आफ्नो व्यक्तिगत सफलताको सूची बनाउन चाहन्नन्।
‘म अमेरिका आउँदा कुनै दिन विमानस्थल र संग्रहालयमा नेपालको कथा प्रस्तुत गर्छु, स्थानीय सरकार र संस्थासँग बसेर हाम्रो समुदायका लागि काम गर्छु वा यसरी सम्मानित हुन्छु भनेर सोचेकी थिइनँ,’ उनी भन्छिन्, ‘यी सम्मान मेरो नाममा आए पनि यसको पछाडि धेरै कलाकार, स्वयंसेवक, परिवार र सिङ्गो समुदायको साथ छ। मेरा लागि सबैभन्दा ठूलो उपलब्धि भनेको हाम्रो समुदाय पहिलेभन्दा बढी देखिनु र सुनिनु हो।’
उनका लागि यी सम्मानको अर्को अर्थ पनि छ—कुनै समय श्रवण समस्याका कारण सार्वजनिक कार्यक्रममा आफूलाई अलग महसुस गर्ने आप्रवासी महिला आज त्यही समाजमा संस्कृति, समावेशिता र समुदाय निर्माणका लागि नेतृत्वदायी भूमिकामा उभिएकी छन्।