सन् २०२५ को नयाँ आगमनसँगै अस्ट्रेलिया अर्ली इलेक्सनमा जान सक्छ भन्ने अड्कलबाजी भइरहेको थियो।
लेबर पार्टीको तर्फबाट प्रधानमन्त्री बनेका एन्थोनी अल्बनिज र विपक्षी लिबरल पार्टीका नेता पिटर डटनले पनि यसलाई संकेत गरेका थिए। यसको मतलब अस्ट्रेलियाले मार्च/अप्रिलमा चुनाव गराउँछ भन्ने अनुमान भइरहेको थियो।
तर क्विन्सल्याण्ड र न्यु साउथ वेल्सको माथिल्लो भेगमा आएको बाढीको कारणले ठूलो क्षति भयो। संघीय सरकार र राज्य सरकार उद्धार र राहतमा लाग्न परेकाले चुनाव पछाडि धकेलिन पुग्यो।
सन् २०२२ को चुनावलाई हेर्ने हो भने मतदाताको संख्या १७.६ मिलियन थियो। त्यो मध्ये ८.४ मिलियनले अर्ली भोट गरेका थिए। अस्ट्रेलियामा मतदान अनिवार्य छ। १८ वर्ष पुगेका अष्ट्रेलियन नागरिकले अनिवार्य मतदान गर्नै पर्छ।
२०२५ को चुनावको कुरा गर्ने हो भने १८ मिलियन मतादाता छन्। १ करोड ८० लाख मतदाता मध्ये ९८ प्रतिशतले मतदानको लागि 'इनरोलमेन्ट' गरेका छन्।
भोलि शनिबार अर्थात् मे ३ को दिन अस्ट्रेलियाको संघीय निर्वाचन हुँदैछ। अर्ली भोटिङ गर्न पाइने भएकाले झण्डै ८ मिलियनले मतदान गरिसकेका हुनेछन्।
अब चर्चा गरौं अस्ट्रेलियामा दुई पार्टी लेबर पार्टी र लिबरल पार्टीको गठबन्धनमध्ये कसको पल्ला भारी हुन सक्छ भनेर।
यो वर्षको सुरूवातताका आएका विभिन्न सर्वेक्षणहरूले अहिलेका प्रधानमन्त्री एन्थोनी अल्बनिजको लोकप्रियता घटेको देखाएको थियो।
मुल्यवृद्धि\बैंकको ब्याजदरमा वृद्धिले लोकप्रियता घटेको र सायद लेबर फेरि आउने सम्भावना कम भएको रिपोर्टहरू आएका थिए। तर विस्तारै त्यो परिस्थिति फेरिँदै गएको छ। अनि लेबर पार्टी फेरी सत्तामा आउने सम्भावना देखिएको छ।
यसका केही आधारहरू छन्।
पहिलो आधार भनेको क्विन्सल्याण्ड र न्यु साउथ वेल्सको माथिल्लो भागमा आएको प्राकृतिक विपत्ति हो। त्यसले कतिलाई समस्या पर्यो, कतिले घरबार गुमाए तर त्यो विपत्तिमा संघीय सरकार र प्रदेश सरकारको उद्धार विगतको भन्दा धेरै राम्रो भएको भन्दै सरकारको प्रशंसा भएको छ। जसको फाइदा वर्तमान सरकारको नेतृत्व गरेको लेबर पार्टीलाई हुनेछ।
दोस्रो आधार भनेको बजेट ल्याउन पाउनु हो। मार्च २५ ल्याएको बजेटले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सुधारका कार्यक्रम छन्। त्यति मात्र होइन तल्लो तहका जनतालाई केन्द्रमा राखेर समेत बजेट ल्याइएको छ। यसको सिधा फाइदा लेबर पार्टीलाई हुने हो।
कहिलेकाही प्राकृतिक प्रकोपहरू राष्ट्रका लागि क्षति जस्तो भएपनि कुनै पार्टीलाई फाइदा जस्तो हुने रहेछ। यस पटकको प्रकोपले गर्दा सरकारले आफ्नो उपस्थिति बलियो देखाउन पायो, काम गर्न पायो, बजेट ल्याउन पायो।जसले गर्दा उसलाई थप सजिलो भयो।
अस्ट्रेलियाको कानुन अनुसार कम्तिमा ३३ र बढीमा ६८ दिन अगाडि निर्वाचन घोषणा हुन पर्छ। अहिलेको सरकारले मार्च २८ मा मे ३ को लागि निर्वाचन घोषणा गर्दै गर्दा ३३ दिन भन्दा अलि बढी थियो।
तल्लो सदनका लागि १५० र माथिल्लो सदनका लागि ४० सिटमा निर्वाचन हुँदैछ। निर्वाचनमा ९० प्रतिशत भन्दा धेरै मत खस्ने अनुमान छ। सन् २०२२ मा ८९ प्रतिशत मत खसेको थियो। अस्ट्रेलियामा ९० प्रतिशत भन्दा कम मत विरलै खस्छ।
यो भन्दा पहिला भएका विभिन्न सर्वेक्षण मध्ये मार्चको पहिलो हप्ता लेबर पार्टी अगाडि देखिए पनि मार्च बीचमा भने लिबरल अगाडि देखिएको थियो। तर विस्तारै लेबरकै पक्षमा माहोल बढ्दै गएको अनुमान गरिएको छ।
निर्वाचन अघि प्रधानमन्त्री एन्थोनी अल्बनिज र विपक्षी लिबरल पार्टीका नेता पिटर डटनबीच भएका बहस कार्यक्रममा समेत अल्बनिज प्रभावशाली देखिएका छन्।
सायद यस्तै विभिन्न कारणले होला पछिल्लो पटक आएका सर्वेक्षणहरूले लेबर पार्टीको पक्षमा ५३ प्रतिशत र लिबरल पार्टीको पक्षमा ४७ प्रतिशत सम्भावना देखिएको छ। भोलिको चुनाव स्विङ हुनपनि सक्छ। तर अहिलेसम्मका अनुमानहरू मिल्दै गएको छ। यदी यी सर्वेक्षणले देखाए जस्तै भयो भने अल्बनिजको पल्लाभारी हुने देखिन्छ।
(अस्ट्रेलियाको मेलवर्नमा रहेका इन्जिनियर निराजन गौलीसँग सेतोपाटीका सन्जिब बगालेले गरेको कुराकानीमा आधारित। उनी सडक सुरक्षामा पिएचडी गरिरहेका छन्। )