भृकुटीमण्डपमा बुधबार आयोजित १० वटा कम्युनिस्ट पार्टीहरूको एकीकरण समारोहमा ठूलै संख्यामा नेताहरूको जमघट देखिएको थियो।
वाइसिएलको सुरक्षा घेरामा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपाल कार्यक्रम स्थलमा आउँदा कार्यकर्ताहरूले ताली र हुटिङले स्वागत गरेका थिए।
यो समारोहसँगै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (चिरन पुन समूह), नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेकपा (समाजवादी), नेपाल समाजवादी पार्टी (माओवादी-समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा एक भएका छन्।
एकता घोषणा समारोहमा थुप्रै रोचक दृश्य देखिए। तीमध्ये पाँच दृश्य पृथक थिए —
१. झन्डा
-ink-1762331264.jpeg)
मञ्च र कार्यक्रम स्थलमा हँसिया हथौडा अंकित झन्डा मात्र थिएन, पाँचकुने तारा अंकित झन्डा पनि थियो। दुवै झन्डा एकपछि अर्को क्रममा टाँगिएका थिए।
एकीकृत पार्टीको चुनाव चिह्न पाँचकुने तारा हो। यसलाई विश्व कम्युनिस्ट आन्दोलनमा लोकप्रिय र परिचित चिह्न भनेर प्रचण्डले बताइसकेका छन्।
चुनाव चिह्न झन्डा भए पनि एकीकृत पार्टीको झन्डा भने गोलाकारभित्रको हँसिया हथौडा कायमै छ।
२. झलनाथ खनालको 'सरप्राइज इन्ट्री'
-ink-1762331261.jpeg)
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पहिले यो एकताको विपक्षमा उभिएका थिए।
उनीसँगै वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, रामकुमारी झाक्री लगायत नेताहरूले एकताको विपक्षमा उभिँदै पार्टी पुनर्गठनको घोषणा गरे।
बुधबार १० वटा वाम घटकले एकीकरण गर्नुअघि नै रामकुमारी झाक्री र घनश्याम भूसालले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आ-आफ्नो समूहको आगामी कदम सार्वजनिक गरे। सम्मानित नेता खनाल भने ती दुवै कार्यक्रममा कतै पनि देखिएनन्।
उनी पार्टी एकता कार्यक्रम उद्घाटन भइसकेपछि अकस्मात भृकुटीमण्डपमा देखिए। कार्यकर्ताहरूले पनि उनको उपस्थितिको आकलन गरेका थिएनन् सायद। उनी मञ्चमा पुगेपछि कार्यकर्ताहरू 'सरप्राइज' र उत्साहित भए। पर्रर ताली बजाए र ठूलो हुटिङ गरे।
उनी एकता सभामा शुभकामना दिन मात्र उपस्थित भएको आकलन गरिएको थियो। तर सम्बोधन क्रममा खनालले विभिन्न विषयमा आफ्नो विमति भए पनि एकतामा सहभागी भएको घोषणा गरे।
उनको उपस्थितिले मञ्चमा उपस्थित नेताहरू खुसी देखिएका थिए।
३. तीन पूर्वप्रधानमन्त्री एउटै मञ्चमा
-ink-1762331263.jpeg)
भृकुटीमण्डपको एकता घोषणा सभामा नेताहरूको ठूलो जमघट थियो। १० वाम घटकको नेतृत्वमा रहेका नेताहरूसहित माओवादी केन्द्र र एकीकृत समाजवादीको पदाधिकारी तहका नेताहरुको उपस्थितिले मञ्च नेताहरूले भरिएको थियो।
तीमध्ये तीन जना पूर्वप्रधानमन्त्री भइसकेका व्यक्ति हुन्।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल र झलनाथ खनाल बुधबार एउटै मञ्चमा देखिएका थिए। उनीहरू अब एउटै पार्टीमा आबद्ध भएका छन्।
एकीकृत पार्टीको संयोजक प्रचण्ड छन् भने माधव नेपाल सहसंयोजक तोकिएका छन्। झलनाथ खनाल तेस्रो वरीयतामा छन्।
४. प्रचण्ड र वामदेवबीच सवाल-जबाफ

प्रचण्डले एकीकरणपछि बन्ने पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखेपछि वामदेव गौतम खुसीले गदगद भएका थिए। कुनै बेला वामदेवले आफ्नो पार्टीको चुनाव चिह्न पाँचकुने तारा नै राखेका थिए।
पार्टी एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दा भने वामदेव अलि खरो सुनिए। उनले संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालमाथि प्रश्नै प्रश्न तेर्स्याए।
गौतमले कडा शब्दमा सोधेको प्रश्नको जबाफमा प्रचण्ड पनि कडा रूपमै प्रस्तुत भए।
गौतमको पहिलो प्रश्न संविधानको प्रस्तावनामा लेखिएको समाजवाद किन लागू गर्न सकिएन भन्ने विषयमा थियो।
कयौंपटक प्रधानमन्त्री बनेको वा बनाइएको भए पनि संविधानको प्रस्तावनामै व्यवस्था भएको समाजवाद निर्माण नभएको विषयमा उनले प्रचण्डसँग जबाफ मागेका थिए।
संविधानमा लेखिएको कुरा नगरेर नेताहरू क्रान्ति गर्ने भन्दै हिँडेको उल्लेख गर्दै गौतमले सोधे, 'संविधान अनुसारको समाजवाद किन निर्माण भएन? त्यो निर्माण गर्ने कोसिस किन गर्नुभएन? जबाफ दिनुहोला?'
'हामी त्यो समाजवादमा नगएकैले राजा फर्किने घटना भए। जेनजी आन्दोलन भयो। आज हामी फेरि पुरानो अवस्थाबाट फर्केर आउँदै छौं। किनकि हाम्रो सिद्धान्तले भन्छ, जे गर्नुपर्ने हो त्यो गरिएन भने अर्को आउँछ र अर्कोले शासन गर्छ,' उनले भने।
गौतमको दोस्रो प्रश्न प्रचण्ड लगायतका नेताहरूले भन्दै आएको क्रान्ति के हो भन्नेबारे थियो।
'क्रान्ति कुन हो? फेरि बन्दुक बोकेर हिँड्ने क्रान्ति हो कि फेरि जनतालाई बलिदान गर्ने क्रान्ति हो?' उनले भने, 'समाजवादी क्रान्ति भनेको कस्तो किसिमको क्रान्ति हो भन्ने विषयमा प्रस्ट पारेपछि मात्र म कमरेडहरूलाई काँधमा हालेर बोकेर हिँड्छु।'
गौतमको तेस्रो प्रश्न पार्टी सञ्चालनको आर्थिक स्रोतमाथि थियो। उक्त स्रोत के हो भन्ने विषयमा नेताहरूले खुलस्त पार्नुपर्ने उनले बताए।
'पार्टीलाई चाहिने आर्थिक व्यवस्था कसरी गर्ने भन्नेबारे कहिले कुरा भयो? कुनै महाधिवेशनमा पास भयो? पार्टी सञ्चालनको आर्थिक स्रोत के हो? पुँजीपतिहरूसँग चन्दा मागेर पार्टी चलाउने?' उनले प्रश्न गरे।
एकीकृत पार्टीले अब यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने गौतमको भनाइ थियो।
'हामी उत्पादनमा आधारित पार्टी निर्माण गर्छौं। प्रत्येक नेताले कुनै न कुनै संरचनामा रहेर एक महिनामा पाँच दिन भए पनि काम गर्नुहुन्छ। त्यो आम्दानीले खर्च चलाउनुहुन्छ। यो सक्नुहुन्छ कि सक्नुहुन्न?' उनले संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई प्रश्न गरे।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने कुरा पनि आफ्नो सम्बोधनमा उठाएका थिए।
गौतमले उठाएका यी सवालमाथि नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले आफ्नो सम्बोधनमा जबाफ फर्काए।
उनले वामदेवको शैलीलाई विचारोत्तजक भने र समाजवाद के हो भन्ने विषयमा एमालेसँग भएको एकताको क्षण सम्झन आग्रह गरे।
'एमालेसँग एकता गर्दाको क्षण सम्झनुस्। त्यो हामीले केका लागि गरेका थियौं,' उनले भने।
वामदेवले भनेको समाजवादबारे बुझ्न उनले लेखेको किताब पढिरहेको र त्यही किताब अनुसार वातावरण बनाउन आफू तयार रहेको पनि प्रचण्डले बताए।
उनले एकतापछि बन्ने पार्टीले के गर्छ भनेर आफू र माधव नेपाललाई मात्र प्रश्न नगर्न पनि आग्रह गरे।
'के गर्छौ भनेर हामीलाई मात्र प्रश्न गर्ने होइन, तपाईं पनि नेता हो, तपाईं के गर्नुहुन्छ?' प्रचण्डको प्रश्न थियो।
गौतमले पार्टीको खर्च जोहो गर्न कार्यकर्तालाई उत्पादनमा सहभागी गराउनुपर्ने र त्यसका लागि नेतृत्व तयार हुने कि नहुने भनेर सोधेको प्रश्नमा प्रचण्डले भने, 'उत्पादनको जिम्मा उहाँलाई नै दिनुपर्छ कि भनेर सोचेको छु।'
५. उत्साहित प्रचण्ड

भदौ २३ को जेनजी आन्दोलन र २४ गतेको हिंसात्मक प्रदर्शनयता प्रचण्डको अनुहारबाट कान्ति हराएको थियो। उनको अनुहारमा खुसी र उत्साह कम, चिन्ता बढी देखिन्थ्यो।
पार्टी एकता घोषणा कार्यक्रममा भने उनी उत्साहित र आत्मविश्वासी सुनिए।
उनले पार्टी एकताको मर्म, जेनजी आन्दोलन र एकीकृत पार्टीको आगामी कार्यदिशा सुनाए।
एकताका लागि धेरै छलफल नभए पनि सबै घटकका नेताबीच आगामी कार्यदिशा र कार्यक्रमको बुझाइ आधारभूत रूपमा समान पाएको र यसले हर्ष र गर्व महसुस भएको उनको भनाइ थियो।
'हामी एक ढिक्का भएर देशको अगाडि देखापरेका चुनौती र समस्या सामना गर्न सक्छौं भन्ने आत्मविश्वास पैदा भएको छ,' उनले भने।
उनले सबै नेताहरूमा उत्साह, धैर्य र दृढता देखिएको भन्दै त्यसले नेपाललाई नयाँ ढंगले अगाडि बढाउन सकिन्छ र नयाँ शक्ति निर्माण गर्न सकिन्छ भन्ने विश्वास पैदा गराएको बताए।
नेपालको कम्युनिस्ट आन्दोलनमा आजको दिन कहिल्यै नबिर्सने दिनका रूपमा दर्ज भएको पनि उनले उल्लेख गरे।
'एकसाथ १० वटा कम्युनिस्ट घटकको एकता भएको इतिहास सम्भवतः नेपालमा छैन। आ-आफ्नो ठाउँमा लामो वैचारिक संघर्ष, वर्ग संघर्ष र व्यवहारिक संघर्षबाट गुज्रिएका नेताहरूको यो एकता साँच्चै अभूतपूर्व छ, ऐतिहासिक छ, असाधारण छ। त्यस कारण आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा अविस्मरणीय र ऐतिहासिक दिनका रूपमा अंकित भएको छ। तपाईं-हामी सबैले यो ऐतिहासिक दिनको साक्षी बन्ने अवसर प्राप्त गरेका छौं। हामी सबैको निम्ति यो गर्वको कुरा हो। यो दिन कसैले बिर्सिए पनि इतिहासले बिर्सने छैन,' उनले भने।
उनले यो दिनलाई नेपाली राजनीतिमा अहिले देखापरेका चुनौती र संकट समाधान गर्न राष्ट्रिय एकताको आधार तयार पार्ने असाधारण पहलको दिनका रूपमा चित्रण गरे।
***