अस्ट्रेलियाको सिड्नीमा नेपाली बहुसांस्कृतिक सामुदायिक केन्द्र (जिएसएनएमसी) निर्माणार्थ सचेतना र कोष संकलनका लागि आयोजना गरिएको तीन दिने सिड्नी आध्यात्मिक महोत्सव सम्पन्न भएको छ।
स्थानीय बरउड पार्कमा आयोजित महोत्सवमा भक्तजन, समुदायका सदस्य तथा दाताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
महोत्सवबाट १ सयभन्दा बढी दाताबाट २५ लाखभन्दा बढी अस्ट्रेलियन डलर रकम उठेको जिएसएनएमसीका अध्यक्ष विष्णु हमालले जानकारी दिए।
'तीन दिनमा २५ लाख बढी अस्ट्रेलियन डलर दान संकलन भएको छ भने आजीवन सदस्यता लिनेको संख्या पनि १ हजार नाघेको छ,' हमालले भने, 'विविध कारणले थुप्रै दाताहरू महोत्सवमा छुट्नुभएको हुनसक्छ। त्यसैले महोत्सव सकिए पनि सचेतना र अर्थ संकलन अभियान निरन्तर चल्नेछ।'
सिड्नीमा नेपाली पहिचान, संस्कृति र आध्यात्मिकताको संरक्षण र सम्बर्धनका लागि मिनी नेपाल निर्माण गर्ने यो सपना सकार पार्न हामी सबै निरन्तर जुट्न र पुस्तासँग जोडिएको यो महाभियानमा कोही पनि नछुट्न 'जिएसएनएमसी' ले सबैलाई अनुरोध गरेको अध्यक्ष विष्णु हमालले जानकारी दिए।
'यो अभियान केवल आजको लागि होइन, हाम्रो भविष्यका पुस्ताहरूको लागि एउटा साझा सामुदायिक, बहुसांस्कृतिक केन्द्र निर्माण गर्ने साझा प्रयास हो', उनले भने।
सबैभन्दा बढी सहयोग गर्नेमा न्यु साउथ वेल्स राज्यका अवैतनिक नेपाली वाणिज्यदूत सन्जिव शर्मा र शर्मिला लुइँटेल तथा एक्स्पर्ट एजुकेशन तथा भिसा सर्भिसका निर्देशक बद्री अर्याल र सम्झना अर्याल छन्।
उनीहरूले संयुक्त रूपमा २ लाख १ हजार डलर सहयोग गरेका छन्।
यो नेपाली बहुसांस्कृतिक केन्द्र निर्माण अभियानमा सबैभन्दा ठूलो दान रकम हो।
साउथवेल्स राज्यका पूर्ववाणिज्यदूत दीपक खड्का र उनकी श्रीमती लिसा खड्काले १ लाख १५ हजार १०० डलर दान गरेका छन्। एन्टा अष्ट्रेलियाका निर्देशक सुभांश साहले १ लाख ११ हजार १११ लाख सहयोग गरेका छन्।
घनश्याम चापागाईं र उनकी श्रीमती संगीता चापागाईंले १ लाख ६ जार ६६६ डलर, डाक्टर प्रविण पाठक र उनकी श्रीमती सुनिता गिरीले १ लाख १ हजार १११ डलर, न्यू यस्तै जिएसएनएमसीका अध्यक्ष बिष्णु हमाल र उनकी श्रीमती सपना हमालले १ लाख डलर, जिएसएनएमसीका उपाध्यक्ष उमेश पन्त र उनकी श्रीमती सिर्जना पन्तले १ लाख, यस्तै किङ्सपर्ट इन्टरनेशनल स्कुलका सञ्चालक राज खनाल र उनकी श्रीमती लक्ष्मी खनालले १ लाख ५ सय १ डलर दान गरेका छन्।
अस्ट्रेलियाको सबभन्दा बढी नेपालीको बसोबास रहेको सिड्नीमा नेपाली कला धर्म र संस्कारलाई अर्को पुस्तामा पुस्तान्तरण गर्ने माध्यमको रूपमा रहेको बहुसांस्कृतिक केन्द्र निर्माणमा सहयोग गर्न पाउँदा आफू अत्यान्त खुसी रहेको न्यु साउथ वेल्स राज्यका अवैतनिक नेपाली वाणिज्यदूत सन्जिव शर्माले बताए।
'आज अस्ट्रेलियामा बसोबास हुँदै गरेको पहिलो नेपाली पुस्ताले आउने भावी पुस्तालाई सुम्पिने सामुदायिक धरोहरको रूपमा पनि यो प्रस्तावित नेपाली बहुसांस्कृतिक केन्द्र महत्वपूर्ण कसीको रूपमा रहने विश्वास गरिएको छ। बहुआयामिक, बहुउद्देश्यीय र दीर्घकालीन महत्वको बहुसांस्कृतिक केन्द्र निर्माणको यो महाअभियानमा सबै अस्ट्रेलिया र विशेषत ग्रेटर सिड्नीबासी नेपालीहरूको सक्रिय सहभागिता र अपनत्व जरूरी रहेको छ,' उनले भने।
तीन दिनको अवधिमा अस्ट्रेलियामा विभिन्न पेसा व्यवसायमा संलग्नहरूले मन खोलेर सहयोग गरेका थिए।
यस्तै, एक हजारभन्दा बढीले आजीवन सदस्यता लिएका छन्। विविध कारणले थुप्रै दाताहरू महोत्सवमा छुटेको निष्कर्ष निकाल्दै आयोजकले महोत्सव सकिए पनि सचेतना र अर्थ संकलन अभियान निरन्तर चल्ने बताएको छ।
दाताले एकै पटक सबै रकम नभएर सुरूमा कबोल गरेको रकमको पाँच प्रतिशत रकम जम्मा गर्ने हो। बाँकी रकम जग्गा किन्ने बेलामा र भवन निर्माण गर्ने बेलामा दिनुपर्ने हुन्छ।
बहुसांस्कृतिक केन्द्रले १ वर्ष भित्रमा जग्गा खरिद गर्ने योजना बनाएको छ।
सिड्नी आध्यात्मिक महोत्सवको पहिलो दिन १२ सय ८ कलश यात्री सहभागी भएका थिए।