सन् २०११ मा अस्ट्रेलिया जाँदै गर्दा चितवनकी सबिना सिलवालले व्यवस्थापनमा कक्षा १२ पास गरेकी थिइन्।
अस्ट्रेलिया गएर सुरूमा उनले एज्ड केयर सेन्टर (वृद्धाश्रम) मा काम गरिन्। उनलाई ढाडको समस्या भएपछि फास्टफुड रेस्टुरेन्टमा काम थालिन्।
रेस्टुरेन्टमा तीन वर्ष काम गरेर उनी 'प्याथोलोजी कलेक्टर' भइन्। त्यही क्रममा आफ्नो पढाइ अघि बढाइन्। पढाइ सकेपछि एज्ड केयरमै नर्सको काम पाइन्।
सन् २०२१ देखि भने उनले आफ्नै व्यवसाय सुरू गरेकी छन्। उनले मेलबर्नमा डाइरेक्ट केयर असिस्टेन्स चलाएकी छन्।
यो संस्थाले अपांगता भएका व्यक्तिहरूको हेरचाह गर्छ। अस्ट्रेलियन सरकारले नेसनल डिसेबिलिटी इन्स्योरेन्स स्किम (एनडिआइएस) मार्फत अनुदान दिने उनले बताइन्।

उनको संस्थामा फुल–टाइम र पार्ट–टाइम गरेर १५० जनाभन्दा धेरैले काम गर्छन्।
'अस्ट्रेलियन सरकारले अपांगता भएका व्यक्तिहरूका लागि हेरचाह गर्न सेवा दिन्छ। जस्तो कसैलाई प्यारालाइसिस, पक्षघात भएको हुन सक्छ अनि कोही मानसिक रूपमा अस्वस्थ हुन सक्छन्,' उनले भनिन्, 'एनडिआइएसले हामी जस्ता सेवा प्रदायक संस्था मार्फत उनीहरूलाई सहयोग गर्छ। हामीले एनडिआइएसले दिएको बजेटका आधारमा अपांगता भएकाहरूको हेरचाह गर्छौं।'
अस्ट्रेलियामा चाइल्ड केयर, एज्ड केयरको तुलनामा एनडिआइएस नयाँ भएकाले नीतिनियमहरू परिवर्तन भइरहने उनले बताइन्।
एनडिआइएस परिपक्व हुन बाँकी नै रहेकाले यसका चुनौती पनि उत्तिकै भएको उनको अनुभव छ।

कस्ता व्यक्तिलाई कुन तहको हेरचाह चाहिन्छ भनेर सम्बन्धित रोगका विशेषज्ञले सिफारिस गरेको आधारमा सेवा दिनुपर्ने उनले बताइन्।
'कसैलाई अर्थोपेडिक्सले सिफारिस गर्न सक्छ भने कसैलाई मनोचिकित्सकले। जसले सामान्य दैनिकी चलाउन सक्दैन, उसको रिपोर्टका आधारमा रकम छुट्ट्याइन्छ। अनि समस्याका आधारमा उसलाई सेवा दिन सक्ने संस्था छनोट हुन्छ,' उनले भनिन्, 'कतिलाई २४ घन्टा हेरचाह गर्नुपर्ने हुन्छ भने कतिलाई गएर बोल्दिनुपर्ने मात्र हुन्छ। कतिलाई दैनिकी सहज बनाउन सिकाउनुपर्छ।'
सबिनाका अनुसार पछिल्ला दिनमा एनडिआइएसका लागि सरकारले बजेटमा कडाइ गर्दै लगेको छ। प्रतिस्पर्धा पनि बढेको छ। यसमा कसरी बलियो नीति बनाउने भनेर सरकारले काम पनि गरिरहेको छ।
व्यवसाय सुरू गरेपछि यसमा विभिन्न खालका चुनौती आउन सक्ने र त्यसका लागि तयार हुनुपर्नेमा आफू सतर्क रहेको उनले बताइन्। आफ्नो पढाइ र रहरको क्षेत्र भएकाले यसै क्षेत्रमा अघि बढ्ने उनको सोच छ।
'मलाई अस्ट्रेलिया आएदेखि नै आफ्नै केही गरौं भन्ने थियो। श्रीमानले पनि साथ दिनुभयो। यो क्षेत्रमा काम गर्न संवेदनशीलता चाहिन्छ,' उनले भनिन्, 'अस्ट्रेलियामा मानव अधिकारको विषयलाई धेरै गम्भीर रूपमा लिइन्छ। हामी सेवामूलक व्यवसाय गर्नेहरू त अझै गम्भीर हुन जरूरी छ।'
सबिनाका श्रीमान किरण कँडेल कन्सलटेन्सी व्यवसायमा छन्।
व्यवसायले गति लिँदै गएपछि सबिनाले भने आफ्नै बहिनी मनिषा सिलवाललाई व्यावसायिक साझेदार बनाएकी छन्।
'विस्तारका लागि साथी चाहिने महसुस गरेँ,' उनले भनिन्, 'छोटो यात्रामा एक्लै हिँड्नु र लामो यात्रामा टिम बनाउनु भनिन्छ। मैले लामो यात्राका लागि सहकार्य गरेकी हुँ।'
सबिना व्यवसायसँगै आफ्ना तीन सन्तान पनि हुर्काइरहेकी छन्। उनका दस वर्षकी छोरी र ६ र ४ वर्षका छोरा छन्।
श्रीमानश्रीमतीले पालैपालो हेरचाह गरेकाले समय मिलाउन सजिलो भएको उनी बताउँछिन्।
'कामसँगै बच्चाको जिम्मेवारीले हामीलाई अझै बलियो बनाएको छ। बिहान कफी खाएर, व्यायाम गरेर, बच्चाहरूलाई खुवाएर, टिफिन बनाएर स्कुल पुर्याउँछौं। अनि हामी अफिस जान्छौं,' उनले भनिन्, 'उनीहरूसँग समय पनि बिताउँछौं। बच्चाहरूलाई मेरो सुरक्षा गर्ने कोही छ है भनेर विश्वस्त पार्न जरूरी हुन्छ।'
