दिलिप कुमार राई अस्ट्रेलियाको प्रमुख सहर सिड्नीमा बस्छन्। त्यहाँ उनी अधिवक्ताका रूपमा काम गरिरहेका छन्।
उनी दस वर्षदेखि 'राई लयर्स एन्ड एसोसिएट्स' नामक कानुनी फर्म सञ्चालन गर्छन्।
फर्ममा वकालत गर्न उनीसहित तीन जना अधिवक्ता छन्। अन्य कामका लागि दुई कर्मचारी छन्।
'वकालत गर्न म, मेरी श्रीमती र एक जना भारतीय नागरिक छन्,' दिलिपले भने।
उनको फर्मले जग्गा तथा सम्पत्ति किनबेच, आपराधिक मुद्दा, पारिवारिक तथा व्यवसायसँग सम्बन्धित कानुनी सेवा प्रदान गर्दै आएको छ।
अस्ट्रेलियामा बस्ने स्थायी नेपालीहरू फर्मका मुख्य ग्राहक हुन्। भारतीयहरू पनि सेवा लिन आइपुग्छन्।
'नेपाली समुदाय धेरै छन्, त्यही भएर सेवा उनीहरूलाई नै लक्षित छ,' उनले भने।
दिलिपका अनुसार सम्पत्ति किनबेच र कानुनी नियम नबुझ्दा आपराधिक मुद्दा वा पारिवारिक समस्या आउन सक्ने भएकाले त्यसतर्फ सेवा बढी केन्द्रित गरिएको हो।
नियम नबुझ्दा वर्षौंसम्म कानुनी झन्झट र मुद्दा–मामिलामा फस्नुपर्ने अवस्था पनि आउन सक्छ।
दिलिपले कम्पनीहरूसँग सम्बन्धित विवाद, पारिवारिक झगडा र अन्य धेरै मुद्दाहरू सम्हालेका छन्। कहिलेकाहीँ हत्या सम्बन्धी मुद्दा पनि आउँछन्। मदिरा सेवन गरेर सवारी चलाउने र घरेलु हिंसाका मुद्दा पनि धेरै हुने उनले जानकारी दिए।
'कम्पनी विवाददेखि घरेलु हिंसा र गम्भीर आपराधिक मुद्दा यहाँ नियमित आउँछन्,' उनले भने, 'यस्ता घटना यहाँ बढिरहेका पनि छन्।'
अस्ट्रेलियामा पेसागत सुरक्षाको भने ग्यारेन्टी भएको उनले बताए। जुनसुकै प्रकारका आपराधिक घटनामा वकालत गर्दा विपक्षी वा अन्य समूहबाट डर वा धम्की आउँदैन। कहिलेकाहीँ विपक्षीबाट अनुरोध भने आउने उनले बताए।
आर्थिक रूपमा हेर्दा अस्ट्रेलियामा कानुनी मुद्दा लड्न धेरै महँगो हुन्छ। त्यसैले अत्यावश्यक घटनामा बाहेक दुई पक्षबीच नै समस्या समाधान गर्न सुझाव दिइने उनी बताउँछन्।
'अदालतले नै फैसला गर्नुपर्ने घटनामा त कानुनी समाधानतर्फ जान परिहाल्यो। तर कहिलेकाहीँ कोही आवेगमा आएर मुद्दा हाल्न खोज्छन्,' उनले काम गर्दाको अनुभव सुनाए, 'त्यस्तालाई हामी सम्झाउँछौं। आवेगमा आएर मुद्दा हाल्ने र पैसा धेरै खर्च भएपछि पछुताउने नहोस् जस्तो लाग्छ।'
अस्ट्रेलियामा मुद्दाको प्रकृति अनुसार फैसला हुन लाग्ने समय फरक हुन्छ। वकिलको शुल्क पनि एउटै हुँदैन। सामान्यतया वकिलसँग एक पटक भेट्दा करिब ३०० अस्ट्रेलियन डलरसम्म खर्च लाग्न सक्छ। कहिलेकाहीँ फोनबाटै पनि परामर्श लिन सकिन्छ।
पैसा तिर्न नसक्ने नागरिकले सरकारी वकिलमार्फत निवेदन दिएपछि कानुनी सहायता पाउन सक्छन्। त्यसको खर्च सरकारले बेहोर्छ। चाहेमा, निजी वकिलको सुविधा पनि उपलब्ध हुन्छ।
अस्ट्रेलियामा वकिलले लाइसेन्स हरेक वर्ष नवीकरण गर्नुपर्छ। यो प्रक्रिया राज्य अनुसार फरक हुन्छ।

'नवीकरणका लागि शुल्क तिर्नुपर्छ र तालिम पनि लिनुपर्छ,' दिलिपले भने, 'तालिममा वकिलको जिम्मेवारी र एआईजस्ता नयाँ प्रविधि प्रयोगबारे जानकारी दिइन्छ।'
दिलिप नेपालमा प्रवीणता प्रमाणपत्र तह (प्लस–टू सरह) सकेर सन् २००० मा विद्यार्थी भिसामा अस्ट्रेलिया गएका हुन्। उनले मेलबर्नस्थित ल्याट्रोब विश्वविद्यालयमा कम्प्युटर साइन्स पढे।
त्यहाँ दुई वर्ष पढ्दै गर्दा सातामा २० घन्टा पार्ट–टाइम काम पनि गरे।
'सुरूको एक वर्ष त काम पाउन गाह्रो भयो,' उनले भने, 'रेस्टुरेन्टमा भाँडा माझ्नेदेखि सरसफाइसम्मको काम गरियो।'
फेडेरेसन युनिभर्सिटीमा स्नातकोत्तर तह पढाइ पूरा गरेपछि उनले स्थायी बसोबास (पिआर) प्रमाणपत्र लिए। दुई वर्ष निजी क्षेत्रमा काम गरे। पछि उनले सरकारी क्षेत्रमा अवसर पाए र अस्ट्रेलियाको शिक्षा तथा तालिम विभागमा काम गरे।
'स्कुलहरूमा वाइफाइ, इन्टरनेट र ल्यापटपजस्ता प्रविधि सहयोग तथा प्राविधिक सल्लाह दिने जिम्मेवारी सम्हालेँ,' दिलिपले भने।
उनले त्यहाँ करिब आठ वर्ष काम गरे। त्यही क्रममा कानुन पढे। अनि उनको कानुनी क्षेत्रको यात्रा सुरू भयो।
अस्ट्रेलियामा वकिल बन्न कानुन विषयमा स्नातक गर्नुपर्छ, जुन करिब चार वर्ष लाग्छ। त्यसपछि ८ देखि १२ महिनाको प्रायोगिक तालिम गरेपछि वकालत गर्न पाइने व्यवस्था छ।
'पढाइ र तालिम सकेपछि सरकारी जागिर छाडेँ र दुई वर्ष ल फर्ममा काम गरे,' उनले भने, 'म फरक क्षेत्रबाट आएकाले ल फर्मबारे केही थाहा थिएन। सिक्नकै लागि दुई वर्ष काम गरेँ।'
त्यसपछि दिलिपले आफ्नै कानुनी फर्म सञ्चालन गरेका हुन्।
'कानुनी पेसा निकै संवेदनशील छ। सुरूमा सबै प्रकारका मुद्दामा वकालत गरे पनि अहिले ग्राहकको अवस्था, मानसिक तनाव र सम्भावित परिणाम विचार गरेर मात्रै लिन्छु,' दिलिपले भने।