आइतबार आकास डम्म बादलले ढाकेको छ। सिमसिम पानी परिरहेको छ।
डोजरले हानेर खण्डहर तुल्याएको शान्तिनगर, गैरीगाउँ क्षेत्रको भग्नावशेषमा अभिभावकसँग तिनका केटाकेटीसमेत मिसिएर केही खनीखोस्री गरिरहेका छन्। घरायसी सामान फेला परी पो हाल्छ कि भनेर हो कि!
फलामका टुक्राटाक्री र अन्य बेचबिखन गर्न मिल्ने सामान फेला पर्ने भएकाले कबाडीवाला बिहानैदेखि भग्नावशेष वरपर नै छन्। डोजरले भत्काएर छाडेका बिमबाट उनीहरूले फलाम अलग्याउँदै छन्। कोही कुच्चिएका जस्तापाता साइकलमा राख्न मिल्ने बताउँदै छन्।
जीविका र जिजीविषाको यस्तै यस्तै यत्नबीच भेटिइन्, धरानकी मेनुका गुरूङ।
उनी घर भत्काएको ९ दिनपछि बल्ल सडक किनाराबाट सामान उठाउँदै थिइन्। मेनुकाले उठाइरहेको आधाभन्दा बढी सामग्री सद्दे थिएनन्। झरीले भिजेर लथालिंग, झुत्रिएका थिए। कतिपय हिलोमा लटपटिएका हुँदा हुन्।
उनको ६ जनाको परिवार गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा ओत लाग्दै आएको थियो। उनीहरूले त्यहाँ पक्की संरचना बनाएका थिएनन्। बाँस बारबेर गरेर जस्तापाता ओताएको थियो।
त्यही पनि शनिबार राति भत्काइदिएपछि मेनुकाको परिवार सडकको बायाँ किनारबाट दायाँ किनारमा आइपुग्यो।
एक्कासि ओत गुमेपछि मेनुका बिलखबन्दमा पनि छिन्। आफूसहित परिवार कहिले गैरीगाउँमा आश्रय लिन आइपुगिन् भनेर उनले यकिन समय भन्न सकिनन्।
'खै हौ, राजा वीरेन्द्रको परिवारै सखाप पारिनु एक वर्षअघि यहाँ आइपुगेका हौं,' उनले कनीकुथी भनिन्।
उनकै भनाइलाई आधार मान्दा उनको परिवार २०५७ सालतिर गैरीगाउँमा शरणागत भएको रहेछ। उनी त्यहाँ बसेको २७ वर्ष बित्यो।
'हामी त गरिब हौं। गाउँमा पनि जायजेथा छैन। अब कहाँ जाने त्यसको ठेगाना पनि छैन,' उनले यसो भन्दै गाडीमा सामान ओसारिरहेकी थिइन्।
'यो सामान चाहिँ कहाँ लैजाने त?' उनलाई हामीले सोध्यौं।
एकछिन थामिएर उनले जबाफ फर्काइन्, 'एक जना साथीको खाली जग्गा रहेछ, त्यहीँ पाल ओताएर राख्ने विचार गरेको छु। भाडा तिरेर राख्न पैसा छैन। पैसा भए पनि सुकुम्बासीलाई कसले कोठा दिनु!'
शनिबार छाप्रो भत्काएयता आफूहरू सडकमै बस्दै आएको उनले सुनाइन्।
'हामी ६ जना ऊ त्यहीँ पालमुनि सुत्थ्यौं। दिउँसो केही काम पाइन्छ कि खोज्नुपर्यो,' उनले रातो पालतर्फ संकेत गर्दै भनिन्।
पालमुनि सेतो रङको म्याट्रेस ओछ्याइएको थियो। उनको परिवार त्यहीँ सुत्दै आएको रहेछ। आज राति पनि उनको यतैको बास हुने उनले बताइन्।
'सरकारले व्यवस्थापन गरेको ठाउँमा जानुहुन्न?' हामीले पुनः उनलाई सोध्यौं।
६ जनाको परिवार कहाँ गएर ओत लाग्ने भन्ने अनिश्चयले घेरेपछि उनीहरू कतै गएका रहेनछन्। कतिञ्जेल सरकारको शरण पर्नु भन्ने अन्यौल पनि रहेछ।
'यतिञ्जेल उपाय खोज्यौं। सकिएन। अब बेलुकाबाट शरण पर्ने हो, सुकुम्बासीहरू गएकै ठाउँतिर,' उनले भनिन्।
कुराकानीकै क्रममा उनले आफूजस्तै सुकुम्बासीहरूले गैरीगाउँ क्षेत्रको नदी उकास जमिन प्रधानमन्त्री बालेनलाई 'पैंचो' दिएको बताइन्।
'हाम्रो व्यवस्थापन भएन भने त यहीँ आएर बस्ने हो। बालेनलाई पैंचो दिएका हौं हामीले,' उनले सुनाइन्, 'यो हाम्रो पसिना जोडिएको ठाउँ पो हो।'
मेनुकाको मात्र होइन, अरू केही परिवार पनि हामीले सडकमै देख्यौ।
गैरीगाउँ निस्कने पुलछेउमै हामीले अर्को एक जनालाई पनि भेट्यौं। बिहान ८ बजे पुग्दा नीलो पालमुनि उनी एक्लै सुतिरहेका थिए। पसलका र्याक टाँडे पारेर ओत लाग्न मिल्ने बनाइएको ठाउँमुनि एक जना मास्क लगाएर मस्त सुतिरहेका रहेछन्।
निद्रामै भएकाले उनलाई हामीले ब्युँझाएनौं। थप विवरण सोधेनौं पनि।
त्यहाँबाट शान्तिनगर प्रवेश गर्ने विन्दुसम्म आइपुग्दा केही परिवारको सामान सडक किनारामै देख्यौं।
त्यसो त सिनामंगल छिचोल्ने बाटो आसपास पनि केही सुकुम्बासी परिवारको सामान असरल्ल छ। सिनामंगल जाने बाटोछेउ सिलाइ मेसिन सहितका घरायसी सामान अलपत्र थियो। तर घरधनी हामीले भेटेनौं। त्यहाँबाट गैरीगाउँ जोड्ने करिडोरको बाटामा पनि केही परिवारका सामग्री अलपत्र नै छन्।
सरकारले गत शनिबार शान्तिनगर क्षेत्रका ४७६, गैरीगाउँ–सिनामंगल क्षेत्रका १६२ घर भत्काएको थियो। त्यहाँका प्रभावितमध्ये केहीलाई सरकारले माछापोखरी क्षेत्रका होटल र केही सुन्दरीघाटस्थित राधा स्वामी सत्संगमा अस्थायी व्यवस्थापन गरेको छ।
उनीहरूको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले विवरण टिपेर भूमिहीन सुकुम्बासी र अतिक्रमणकारी छुट्टयाउने गरी स्क्रिनिङ पनि गरिरहेको छ।
भूमिहीन प्रमाणीकरण भएकाहरूलाई नागार्जुन नगरपालिका वडा नम्बर १ मा २०६९ सालमा बनाएको अपार्टमेन्टमा सार्ने तयारी भइरहेको छ। त्यहाँ ४५ परिवार अटाउन सक्ने संरचना खाली छ।
-ink-1777785170.jpeg)
-ink-1777785170.jpeg)
-ink-1777785170.jpeg)
-ink-1777785170.jpeg)
-ink-1777785170.jpeg)
-ink-1777785169.jpeg)
-ink-1777785169.jpeg)
-ink-1777785169.jpeg)
-ink-1777785169.jpeg)