४५ वर्षीया आशा परियार ३३ वर्ष भयो, टेकुको वंशीघाट सुकुम्बासी बस्तीमा बस्न थालेको।
२०५० सालको बाढीले घरखेत डुबाएपछि उनको परिवार सर्लाहीबाट काठमाडौं आएको रहेछ। विवाह गरेर आशा त्यही सुकुम्बासी छाप्रोमा भित्रिएकी हुन्।
२०५० सालमा रौतहट र सर्लाहीमा ठूलो बाढी आएको थियो। बाढीबाट धेरै घरपरिवार विस्थापित भए। तीमध्ये धेरै आश्रयको खोजीमा काठमाडौं नै आए।
कहिले यता, कहिले उता गर्दै भौंतारिएपछि आजभन्दा ३२-३३ वर्षअघि दु:खजिलो गरेर कमाएको पाई पाई जोडेर उनले बागमती किनारको सुकुम्बासी बस्तीमा सानो झुपडी बनाए। त्यसयता यही बस्ती उनी र उनको परिवारको आश्रय बन्दै आएको थियो।
आज आशाको त्यो आश्रय राज्यले खोसिदिएको छ।
आशाको जीवनको आशा राज्यले मारिदिएको छ।
उनलाई ३३ वर्षपछि त्यस्तै अनुभूति भइरहेको छ, जस्तो २०५० सालमा बाढीले घरखेत डुबाउँदा भएको थियो।
त्यतिखेर प्रकृतिले कहरले प्रताडित बनेकी आशामाथि यसपालि राज्यको कहर बर्सिएको छ।
शुक्रबार बिहान वंशीघाटको सुकुम्बासी बस्ती पुग्दा उनी घरका अन्य सदस्यसँग मिलेर भाँडाबर्तन, लत्ताकपडा र अन्य आवश्यक सामान तह लगाउँदै थिइन्। डोजरले कुल्चेर छ्यालब्याल नपारिदेओस् भनेर ती सामानलाई बस्तीकै खाली ठाउँमा लगेर राख्दै थिइन्।
वंशीघाटमा उनको ७/८ जनाको परिवार बस्न मिल्ने टहरा छ। यो टहरा पनि आशाले एक वर्षअघि मात्र बनाएकी हुन्। त्यसअघि उनी नदी छेउमै सानो झुपडीमा बस्थिन्। गत सालको बाढीमा त्यो झुपडी बगेपछि अहिलेको टहरा बनाएको उनी बताउँछिन्।
आशाले यो टहरा हाल्न ५ लाख रूपैयाँ ऋण लिएकी थिइन्।
'सुकुम्बासी बस्तीमै हाम्रो बचत समूह छ। त्यही समूहबाट ५ लाख ऋण लिएर अघिल्लो वर्ष टहरा बनाएको थिएँ,' उनले भनिन्।
उनले बचत समूहमा मासिक किस्ता तिर्दै आएकी छन्। यो महिनाको किस्ता तिर्ने दिन आजै थियो।
'आजै किस्ता तिर्नुपर्ने थियो, आजै घर भत्काइयो,' आफूजस्तै विस्थापित केही मानिसलाई आफ्नो टहराको हालत देखाउँदै उनी बिलौना गरिरहेकी थिइन्।
टहरा भत्किएपछि अब कहाँ बस्ने होला चिन्ताले पिरोलिरहेको उनले बताइन्।
'अब फेरि सडककै बास त होला,' उनले भनिन्।


(यसअघि तस्बिर फरक पर्न गएकाले सच्याइएको छ।)