म, विस्थापित सुकुम्बासी
सुकुम्बासी बस्ती हटाउन शुक्रबार बिहानैबाट चलेको डोजरले उच्चाटलाग्दो बन्दैछ टेकुको वंशीघाट।
यहाँ अहिले ६ वटा डोजरले बागमती नदी उकास जमिनमा बनेका संरचना चिथोरिरहेका छन्। स्कुले केटाकेटी आफ्नै भत्किएको घर हेर्दै टोलाइरहेका छन्। भरे कता सुत्ने, कता ग्यास–दाउरा जोड्ने टुंगो नभएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बिलखबन्दमा छन्। डेरामा बसेका कबाडीवाला साइकलमा झिटीझ्याम्टा बोकेर बाहिरिँदैछन्।
डोजरले बस्ती उखेल्न थालेपछि फुर्सद पाएका नगर र जनपद प्रहरी नदी किनारको दुबोमा सुस्ताउँदैछन्। कोही सिट्ठी फुक्दै बटुवा र स्थानीयलाई भत्काइरहेको बस्तीतिर नजान इसारा गर्दैछन्।
मजदुर दिवसकै दिन बिहान गरिखाने समुदायलाई आइपरेको यस्तो आपतबीच ६० वर्ष उमेर कटिसकेका नुवाकोटका याङबहादुर तामाङ परिवारको पनि ओत उखेलिँदैछ।
वंशीघाट क्षेको भित्री बाटोमा उनको सानो चिया पसल थियो। भित्री र्याकमा केही खिद्रीमिद्री सामान राखेर बेचबिखन गर्थे। घरको चुह्लो जगाउँथे। आफ्नो पेट तातो पार्थे।
उनको सपना ठूलो थिएन। बिहेबारी गरी छोराछोरी लाखापाखा लागिसकेकाले पारिवारिक सुर्ता पनि थिएन।
तर दुई दिनअघि सरकारले बस्ती खाली गर्न भनेपछि याङबहादुर सुरूमा त अत्ताल्लिएका थिए। सामलतुमल कता लाने भनेर उनले भेउ पाएका थिएनन्।
तर उनकी छोरी रमिलाले उपाय निकालिन्। सरकारी उर्दी पालना गर्दै घर र पसलका सामान खुरूखुरू बाहिर निकालिन्। अनि, बस्तीको बाहिरी भागको बाटोमा ल्याएर राखिन्।
शुक्रबार बिहान हामी पुग्दा रमिला चिया पकाउन तल्लीन थिइन्। ग्यासको आगोमा चिया भकभकी उम्लिँदै थियो। रमिलाले घर खाली गराएर भएभरका सामान बाटो किनारमा घारी लगाइसकेकी थिइन्। उनकी आमा बाटो छेउको पलङमा टोह्लाइरहेकी थिइन्। बाबु याङबहादुर सामलतुमल मिलाउँदै थिए।
सुरूमा त हामीले परिवारलाई नै खुवाउन चिया बसालेकी रहिछन् भन्ने सोच्यौ। तर होइन रहेछ।
उनले त्यहीँ व्यापार थालेकी रहिछन्।
'हेर्नुहोस् मान्छेलाई जस्तो पर्छ त्यस्तै गर्नुपर्छ। बालेन सरले हाम्रो उठीबास लगाउन मिल्ने, हामीले बाटामा चिया पकाउन नमिल्ने भन्ने छ र!' फरासिली रमिलालले सुनाइन्।
हामी त्यहाँ बस्दाबस्दै उनले २० कप चिया बेचिन्। २५ रूपैयाँका दरले पैसा उठाएर पोल्टामा राखिन्।
'घर भत्कियो भनेर हिम्मत हार्न हुँदैन। मैले बिहानै दूध ल्याएर चिया पकाउन सुरू गरेको हुँ। घर भत्काउन आउने प्रहरीलाई पनि चिया बेचिरहेको छु,' उनले हाँस्दै सुनाइन्।
याङबहादुरको अनुहार चाहिँ उदास छ।
'यी सामान कता लैजाने?' उनको चिन्ता नै यही हो।
खोज्न त उनले एउटा कोठा खोजेका रहेछन्। तर त्यो सानो कोठामा सबै सामान अट्दैन।
'नगरपालिकाको गाडी आउँछ भनेको छ क्यारे। त्यसैमा हाल्नुपर्ला,' उनले सुनाए, 'तिनले पो कहाँ लाने हुन्!'
याङबहादुर २०६८ सालमा वंशीघाट आइपुगेका हुन्। कमजोर आय भएका याङबहादुरले वंशीघाटमा कसैसँग लिखत मिलाएर छाप्रो किनेका रहेछन्। विस्तृतमा उनले बताउन चाहेनन्।
'भत्किइ त सक्यो अब बताएर के फाइदा!' उनले भने, 'त्यति बेला यहाँ कागज लिखत बनाएर किन्न मिल्ने रहेछ। किनिहालियो।'
उनले नुवाकोटमा जग्गा-जमिन नभएको दाबी गरे।
'नुवाकोटमा हामीसँग केही छैन। भएको भए यहाँ किन आउनु!' उनले भने।
सरकारी अभिलेखमा वंशीघाट क्षेत्रमा १९२ धुरी छन्। तर स्थानीयका अनुसार त्यहाँ २०० भन्दा बढी घरधुरी छन्। बस्ती कहिलेदेखि बसेको हो भन्ने यकिन अभिलेख छैन। गुगल अर्थको स्याटेलाइट इमेज हेर्दा सन् २००३ भन्दाअघि नै बस्ती बसेको देखिन्छ। अहिले सघन भइसकेको थियो।
हामीले त्यहाँ २०५० सालदेखि बस्दै आएकी परिवारकी सदस्य आशा परियारलाई पनि भेटेका थियौं। उनको परिवार २०५० सालको बाढी प्रभावित रहेछ। २०५० सालमा मध्य-नेपालमा ठूलो वर्षा भएर बाढी–पहिरो गएको थियो। सर्लाहीमा बाढीका कारण धेरै परिवारको उठीबास लागेको रहेछ।
त्यही बाढीले घर बढारेपछि उनको परिवार त्यहाँ आइपुगेको थियो। गत सालको बाढीमा वंशीघाट पनि डुबानमा पारेको थियो। आशा ओत लाग्दै आएको टहरो बाढीले क्षति पुर्यायो।
त्यसपछि थोरै भित्र सरेको उनको परिवार शुक्रबार याङबहादुरको परिवारझैं पूरै विस्थापित भएको छ।
-ink-1777618918.jpeg)
-ink-1777618918.jpeg)
-ink-1777618918.jpeg)
-ink-1777618917.jpeg)
-ink-1777618917.jpeg)