सरकारले काठमाडौं उपत्यकाका विभिन्न सुकुम्बासी बस्ती हटाउने क्रममा त्यहाँ रहेका गुम्बा, मन्दिर र सामुदायिक विद्यालयहरूमा पनि डोजर चलाएको छ।
अहिलेसम्म मनोहरा क्षेत्रमा एक र बालाजु क्षेत्रमा दुई गरी कम्तिमा तीनवटा सामुदायिक स्कुल डोजर चलाएर भत्काइएका छन्।
पछिल्लो पटक हिजो शनिबार डोजर चलेका काठमाडौं महानगरपालिका-१६ बालाजु क्षेत्रका दुईवटा स्कुल तीन दशकअघि नै बनेका थिए। केही दिनअघिसम्म विद्यार्थीले भरिभराउ हुने यी स्कुलका आँगन अहिले इँटा, तार, फलामका डन्डी र जस्तापाताले भरिएका छन्। विद्यार्थीहरू पढ्ने कक्षाकोठामा माटोको थुप्रोबाहेक केही बाँकी छैनन्।
यी दुईमध्ये एउटा स्कुल बाल कल्याण आधारभूत विद्यालय हो। यो नयाँ बसपार्कबाट अलि अगाडि विष्णुमती खोला किनारमै बनाइएको थियो। यो ठाउँलाई जागृती टोल भनिन्छ।
खासगरी नदी किनारमा बस्दै आएका सुकुम्बासीकै बच्चाहरूलाई पढाउने उद्देश्यले यो स्कुलमा १२० जनाभन्दा बढी विद्यार्थी रहेको त्यहाँका प्रधानाध्यापक अर्जुन शर्मा बताउँछन्।
उनका अनुसार सुकुम्बासीका बालबालिकालाई नै लक्ष्य गरेर २०४९ सालमा यो स्कुल स्थापना गरिएको थियो। तर यहाँ सुकुम्बासी बस्ती सँगसँगै आसपासका टोलबाट पनि विद्यार्थीहरू आउँथे।
नर्सरीदेखि कक्षा ७ सम्म पढाइ हुने यो स्कुलमा ७ जना शिक्षकसहित ११ जना कर्मचारी थिए।
झन्डै ५ सय घरधुरी रहेको जागृती टोलमा घर भाडामा बस्नेहरू पनि टन्नै थिए। तिनै परिवारका बालबालिका यो स्कुलमा पढ्ने गरेको प्रधानाध्यापक शर्माको भनाइ छ।
'स्कुल भत्काउनु तीन दिनअघि मात्र वडा कार्यालयबाट सूचना प्राप्त भएको थियो,' उनले भने, 'समयमै सूचना पाएकाले स्कुलका सामानहरू सार्न भ्यायौं।'
उनले अगाडि भने, 'हामीले २०४९ सालमा सार्वजनिक स्थानमै यो स्कुल बनाएका थियौं। त्यति बेला नदी किनारमा करिडोर बनाउने योजना आएकै थिएन। स्कुल भत्काउँदा विद्यार्थीहरूको पढाइमा असर पर्छ भनेर हामीले नभत्काइदिन पटक पटक अनुरोध गरेका थियौं। तर उहाँहरूले मान्नुभएन।'
स्कुल भवन भत्काइएपछि यहाँका विद्यार्थीको पढाइ नबिग्रियोस् भनेर वडा कार्यालयसँग छलफल गरी अन्यत्र व्यवस्थापन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
'२०८३ सालको नयाँ शैक्षिक सत्र भर्खर सुरू भएको छ। अब हाम्रो स्कुल नरहेपछि अहिलेलाई यहाँका विद्यार्थीलाई काठमाडौं महानगरपालिका-१६ कै नेपाल युवक माध्यमिक विद्यालयमा सारिएको छ,' उनले भने, 'हामी शिक्षकहरू पनि त्यहीँ हाजिर गर्न र पढाउन गइरहेका छौं।'
भत्काइएको स्कुल सञ्चालनमा ल्याउन अर्को उचित ठाउँ व्यस्थापन गरियोस् भनी काठमाडौं महानगरपालिकासँग कुरा पनि भइरहेको उनले बताए।

बालाजुकै सुकुम्बासी बस्तीमा भत्काइएको दोस्रो स्कुल श्री बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालय हो।
नर्सरीदेखि कक्षा ८ सम्म पढाइने यो स्कुलमा १४० विद्यार्थी थिए। तीमध्ये १२० जना नियमित आउने गरेको प्रधानाध्यापक शान्तराम श्रेष्ठ बताउँछन्।
'हामीले विद्यालय जोगाउन आग्रह गरेका थियौं। उहाँहरूले 'सरी' भन्नुभन्यो,' प्रधानाध्यापक श्रेष्ठले भने, 'सबै भत्काउने भनिएको छ, हामी जोगाउन सक्दैनौं भन्ने उहाँहरूको जबाफ थियो।'
उनका अनुसार विद्यालय भत्काउने विषयमा दुई-तीन दिनअघि सूचना प्राप्त भएको थियो। नभत्काउन आग्रह गर्दा पनि नमानेपछि यहाँका फर्निचर र अन्य आवश्यक सामानहरू तरूण माविमा सारिएका छन्। विद्यार्थीहरूलाई पनि अहिले त्यहीँ पढाउन थालिएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए।
'यो स्कुलमा कार्यालय सहयोगीसहित १२ जना शिक्षक, कर्मचारीहरू थियौं,' उनले भने, 'हामी पनि सबै तरूण माविमै गइरहेका छौं।'
यो स्कुलमा पनि सुकुम्बासी बस्तीका अतिरिक्त आसपासका बालबालिका पनि पढ्थे। अधिकांश ज्याला मजदुरी गर्ने अभिभावकका छोराछोरी थिए।
अहिले नयाँ शैक्षिक सत्र सुरू भइसकेकाले केही समय तरूण माध्यमिक विद्यालयमा राखेर पढाइएको उनको भनाइ छ।
'पछि के हुन्छ भन्न सकिँदैन,' उनले भने, 'सरकारी जग्गामा बनाएको स्कुल त भत्काइयो, अब स्कुल बनाउन निजी जग्गा त कसले देला र?'
उता मनोहरा सुकुम्बासी बस्तीको सरस्वती आधारभूत विद्यालय वैशाख १३ गते नै भत्काइएको हो। उक्त विद्यालयमा २८० जना विद्यार्थी पढ्ने सरस्वती आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्दिरा महत बताउँछिन्।
उनका अनुसार यी विद्यार्थीलाई अब कहाँ लगेर पढाउने भन्नेबारे कुनै निर्णय भएको छैन। यो स्कुल मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ मा पर्छ। यहाँ सामुदायिक स्कुल यही एउटा हो।
'वडा कार्यालयले यहाँका विद्यार्थीलाई अन्य स्कुलमा लगेर पढाउने कुरा गर्नुभएको छ। हामीले भने कुनै अर्को ठाउँ उपलब्ध गराए हामी आफैं पढाउँछौं भनिरहेका छौं,' प्रधानाध्यापक महतले भनिन्, 'अहिलेसम्म १५५ जना विद्यार्थी हाम्रो सम्पर्कमा आएका छन्। उनीहरू अन्त कतै पढ्न गएका छैनन्।'
उनका अनुसार उक्त विद्यालय २०६२ मा स्थापना भएको थियो। २०६४ देखि सरकारी मान्यता पाएर सञ्चालनमा आइरहेको थियो। त्यहाँ १० वटा कक्षाकोठामा नर्सरी देखि कक्षा ८ सम्म पढाइ हुन्थ्यो। उनीहरूलाई पढाउन १४ जना शिक्षक थिए भने एक जना कार्यालय सहयोगी थिए।
हामीले स्कुल भत्काइएकोबारे काठमाडौं महानगरपालिका-१६ की वडाध्यक्ष रोजिना श्रेष्ठसँग पनि कुरा गरेका छौं।
उनले नदी किनारामा रहेका दुईवटा विद्यालय भत्काइएको पुष्टि गर्दै त्यहाँ पढ्ने विद्यार्थीलाई नजिकैका अन्य विद्यालयमा लगेर पढाउन थालिएको बताइन्।
'अब के हुन्छ थाहा छैन। महानगरले केही निर्णय गर्ला भन्ने आस छ,' उनले भनिन्, 'हामीलाई अहिलेसम्म कुनै जानकारी आएको छैन।'
स्कुल भवन भत्काए पनि त्यहाँका विद्यार्थीहरूलाई पढ्नबाट वञ्चित नगराइने उनले बताएकी छन्।
***