म, विस्थापित सुकुम्बासी
मेरो नाम कान्छी लामा, ७३ वर्षको भएँ।
म र मेरो श्रीमान लोपचंग नाम्गेल २०/२१ वर्षदेखि यहाँ बल्खु सुकुम्बासी बस्तीमा बसिरहेका थियौं।
हाम्रो पुर्ख्यौली घर काभ्रे हो। उता गरिखाने मेलो केही नभएपछि यहाँ आएर नदी किनारमा टहरा बनाएर बसेका हौं।
हाम्रा तीन सन्तान थिए। छोराको भुइँचालोमा परेर मृत्यु भयो। दुई जना छोरी छन्, उनीहरूको बिहे भइसकेको छ। अहिले हामी बूढाबूढी मात्र छौं।
यताउता सानोतिनो ज्यालादारी काम गरेर हाम्रो गुजारा चल्दै आएको थियो। सुकुम्बासी बस्तीले आश्रय दिइरहेको थियो। अहिले सरकारले एक्कासि डोजर चलाएर हाम्रो टहरा भत्काइदियो।
हाम्रो अब न जाने ठाउँ छ, न गरिखाने ठाउँ छ। हाम्रो व्यवस्था गर्ने मान्छे पनि कोही छैन। कसैले हेर्दा पनि हेर्दैन।
आज प्रहरीहरू आएर हाम्रो टहरा भत्काइदिए। अब हामी कहाँ जाने भनेर सोधेको, रंगशाला जाओ भने। रंगशाला पनि कसरी जानू! घरमा भएका केही सामान, लत्ताकपडा यसै बाटोमा असरल्ल छन्। तिनलाई थन्को नलगाई कहाँ जानू! बासको ठेगान नभएसम्म ती सामान कहाँ बोक्दै हिँड्नू!
सरकारको यो कारबाहीमा हामीलाई भन्नु केही छैन। यत्ति हो, सरकारले हामी बूढाबूढीको जिम्मेवारी लिनुपर्छ। हामी जाने ठाउँ कतै नभएका बूढाबूढीलाई अब सरकारले नै व्यवस्थापन गर्नुपर्छ।
हामीलाई सरकारले धेरै केही गर्नुपर्दैन। जहाँ भए पनि बास दिए पुग्छ, गाँस दिए पुग्छ। त्यत्ति गर्दियोस्, हामी अरू केही भन्दैनौं।
हामीले जिन्दगीमा देख्नुपर्ने जति दु:ख देखिसक्यौं। भोग्नुपर्ने जति पीडा भोगिसक्यौं। अहिलेसम्म हामी सुकुम्बासी थियौं, अब हामी सरकारको आश्रयमा जाने हो। सरकारले राम्ररी नै राख्ला भन्ने विश्वास छ।
(बल्खु सुकुम्बासी बस्तीबाट विस्थापित कान्छी लामासँग सेतोपाटीकी मन्दिरा घिमिरेले गरेको कुराकानीमा आधारित।)