म, विस्थापित सुकुम्बासी
मेरो नाम अनिता राना मगर हो, ४० वर्षको भएँ।
म काठमाडौंमै जन्मे-हुर्केको हुँ। बल्खु सुकुम्बासी बस्तीमा बस्न थालेको २० वर्ष भइसकेको छ। पहिले यहाँ साना छाप्रा मात्र थिए। पछि केही ठूला घर पनि बने।
कतिले त आफ्नो पुरानो छाप्रो २०-३० हजार रूपैयाँमा बेचेर पनि गए। हामीलाई चाहिँ त्यस्तो गर्न मन लागेन।
यहाँ यो ठाउँ मेरै हो, यो जग्गा मेरै हो भन्ने खालका कोही छैनन्। तैपनि हामीले देख्दादेख्दै धेरैले दुई-तीन तलाको घर बनाए। हुन त उनीहरूले पनि पसिनाकै कमाइले बनाएका हुन्, तर आफ्नो जग्गामा बनाएका होइनन्। यो चाहिँ साँचो हो।
त्यसैले एक हिसाबले बालेन सरकारले राम्रै काम गरेको छ भन्ने मलाई लाग्छ। तर कतै केही नभएका र कतै जाने ठाउँ नभएकाहरूको बिजोग भयो।
सुकुम्बासी बनेर आउने, अनि दुई-तीन तलाको घर बनाउनेहरूलाई हटाउनैपर्ने थियो। तर उनीहरूका नाममा हामीजस्ता केही नभएकाहरूलाई व्यवस्थापनको बाटो पनि सँगसँगै ल्याएको भए अझ राम्रो हुन्थ्यो।
म यहाँ २० वर्षदेखि बसिरहेको छु, मिहिनेत मजदुरी गरिरहेकै छु। आज पनि दिनभर कमायो, बेलुकी खायो भन्ने स्थिति छ। जस्ताबाट पानी चुहिएकै छ। तर यही ठाउँमा रातारात अग्ला घर ठडिएको देख्दा अचम्म लाग्छ।
मैले यत्रो वर्ष दु:ख गरेर पनि खासै केही जोड्न सकेको छैन। सामानहरू पनि धेरै केही छैनन्। हरेक दिन चामल किन्दै खानुपर्ने स्थिति नै हो हाम्रो।
बस्तीमा यस्तै आर्थिक अवस्थाका परिवार धेरै छन्। बस्ती हटाउँदा यी सबैलाई केही न केही व्यवस्था सरकारले गर्नुपर्छ भन्ने मलाई लाग्छ।
म यहाँ आउँदा ६ महिनाको गर्भवती थिएँ। अहिले छोरा २० वर्षको भयो। १९ र २५ वर्षका छोरी पनि छन्। ठूली छोरीलाई शारीरिक अपांगता छ।
मेरा बच्चाहरूले खासै धेरै पढेका पनि छैनन्। सुरूमा पढेका थिए, पछि पढाइ छाडे। अहिले जे काम पाउँछन्, त्यही गर्छन्। उनीहरूकै कमाइले गुजारा चलेको छ। पानी र बत्तीको पैसा तिर्नुपरे पनि घरभाडा तिर्नुपरेको थिएन। त्यस हिसाबले सजिलै थियो। अब डेरा लिएर बस्नुपर्दा खर्च बढ्छ। त्यसले गाह्रो त पक्कै हुन्छ।
त्यसमाथि न माइतीको सम्पत्ति छ, न घरको। अहिले हामी सडकमा आइपुगेका छौं। न घरका, न घाटका भएका छौं। जग्गा-जमिन केही छैन। पहिले म कुक थिएँ। अलिक नसक्ने भएपछि भाँडा माझ्न थालेँ। यो काम पनि सिजनमा मात्र पाइन्छ। नभए दुई–तीन महिना खाली बस्नुपर्छ।
यी सबै विचार गर्दा बालेन सरकारले सुकुम्बासी बस्ती हटाएर यहाँ भइरहेको अनियमितता रोक्न खोज्नु ठिकै भए पनि हामीजस्ता कहीँ केही नभएका गरिबहरूलाई व्यवस्थापन गरेर मात्र हटाएको भए राम्रो हुन्थ्यो।
(बल्खु सुकुम्बासी बस्तीबाट विस्थापित अनिता राना मगरसँग सेतोपाटीकी सरिशा अछामीले गरेको कुराकानीमा आधारित।)