ग्लोबल नेपाली
ललितपुरको मंगलबजारकी साजनी धाख्वा जर्मनीको मारिया हिल अस्पतालमा काम गर्छिन्। उनी अस्पतालको इमर्जेन्सी विभागमा सिनियर कन्सल्ट्यान्ट छिन्।
बिरामीको उपचार सम्बन्धी सबै चाँजोपाँजो मिलाउनु उनको मुख्य जिम्मेवारी हो।
इमर्जेन्सी विभागको काम निकै चुनौतीपूर्ण हुन्छ। यस विभागमा तत्काल उपचार आवश्यक पर्ने बिरामी आउँछन्। सबैले तुरून्तै उपचार सुरू भइहालोस् भन्ने चाहना राख्छन्।
इमर्जेन्सीमा आउने यस्ता बिरामीको सेवा व्यवस्थित गर्न उनीहरूको अवस्था अनुसार वर्गीकरण गरिन्छ।
'हामी इमर्जेन्सीमा आएका बिरामीको राम्रो उपचार गर्नमा ध्यान दिन्छौं। बिरामीले धेरै पर्खिन नपरोस् भन्ने हाम्रो चाहना हुन्छ,' साजनीले भनिन्, 'इमर्जेन्सीमा आएका सबै बिरामी सिकिस्त भएका हुन्छन् भन्ने होइन। बिरामी आउनासाथ ब्लड प्रेसर, सुगर, पल्स हेरेर वर्गीकरण गर्छौं र प्राथमिकता तय गरेर उपचार सुरू गर्छौं।'
वर्गीकरण अनुसार गम्भीरताका आधारमा बिरामीलाई विभिन्न रङले संकेत गरिन्छ। सुन्तला रङ दिइएको छ भने १० मिनेटभित्र चिकित्सकले हेर्नुपर्छ। रातो रङ दिइएको छ भने तत्कालै उपचार सुरू गर्नुपर्छ। पहेँलो रङ दिइएको छ भने ३० मिनेटभित्र र हरियो रङ दिइएको छ भने ९० मिनेटभित्र हेर्नुपर्छ। खतरामुक्त बिरामीले निलो रङ पाउँछ।
डा. साजनीको दिन बिरामीको वर्गीकरण र उपचार व्यवस्थापनमा बित्छ।
उनका श्रीमान नरेश हमाल आइटी इन्जिनियर हुन्। उनीहरूकी ९ वर्षकी एक छोरी छिन्।
पाटनको केन्द्रीय नेवार बस्तीमा जन्मे–हुर्केकी साजनीले स्कुलमा पढ्दादेखि नै भविष्यमा डाक्टर बन्ने सपना देखेकी थिइन्।
नेपालमा उनका आमा र दिदीबहिनी छन्। दस महिनाअघि बुबा बिते। साजनीका अनुसार उनका बुबा ज्ञानबहादुर धाख्वा नेपालको पहिलो राष्ट्रिय फुटबल टिमका सदस्य थिए। सन् १९६३ मा बंगलादेशको ढाकामा नेपाल सहभागी पहिलो अन्तर्राष्ट्रिय खेलको टिममा थिए। पर्यटन व्यवसायी पनि थिए।


प्लस–टू (१२ कक्षा) पूरा गर्नासाथ, बीस वर्षको उमेरमा साजनी चिकित्सा शिक्षाका लागि जर्मनी गएकी थिइन्।
उनका अनुसार त्यस बेला नेपालमा मेडिकल कलेज निकै कम थिए। जर्मनीमा मेडिकल कलेज धेरै र गुणस्तरीय भएकाले उनले उतै जाने व्यवस्था मिलाइन्।
जर्मनीमा पढ्न जर्मन भाषा जान्नु अनिवार्य रहेकाले उनले पहिलो सात महिना भाषा पढिन्। त्यसपछि एक वर्ष 'फाउन्डेसन कोर्स' गरिन्।
'नेपालमा हाइस्कुल १२ कक्षासम्म हुन्छ, जर्मनीमा १३ कक्षासम्म हुने भएकाले थप एक वर्ष पढ्नै पर्छ,' उनले भनिन्।
फाउन्डेसन कोर्स पूरा गरेपछि उनले डेढ वर्ष डेन्टिस्ट्री पढिन्। त्यसपछि मेडिसिनमा नाम निस्कियो। डेन्टिस्ट्री छाडेर युनिभर्सिटी अफ कोलनमा मेडिसिन पढाइ सुरू गरिन्। सन् २०११ मा पढाइ सकियो। लगत्तै काम सुरू गरिन्।
उनले एक वर्ष सर्जरी गरिन्। अनि इन्टरनल मेडिसिनमा एमडी गरिन्।
'घरपरिवार र बच्चाले गर्दा सबै काम नियमित गर्न गाह्रो हुने रहेछ,' उनले भनिन्, 'एमडी गर्न केही ढिलो भयो, सन् २०१७ मा पूरा गरेँ।'
उनी अस्पतालमा आफ्नो जिम्मेवारीबाट सन्तुष्ट छिन्। इमर्जेन्सी विभागको सबभन्दा ठूलो चुनौती बिरामीलाई शीघ्र उपचार सेवा दिनु हो। यस्तो संवेदनशील कामको जिम्मेवारी नै उनको सन्तुष्टिको मूल कारण हो।
उनका अनुसार जर्मनीमा स्वास्थ्य सेवा उत्कृष्ट छ, तर डाक्टर र नर्स पर्याप्त संख्यामा छैनन्। आफू कार्यरत अस्पतालले सीमित जनशक्तिबाट पनि व्यवस्थित सेवा दिन सफल भएको उनको भनाइ छ।
डा. साजनीलाई आफ्नो मातृभूमिमा उपचार सेवाको काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ।
'जर्मनीमा जस्तै नेपालमा पनि उत्कृष्ट तहको सेवा गर्न पाए हुन्थ्यो भन्ने लाग्छ। मैले २० वर्षभन्दा लामो समयमा जर्मनीको विकास देखेकी छु। यस्तै काम नेपालमा गर्न पाए हुन्थ्यो,' उनले भनिन्, 'आफ्नो घरपरिवारको र मातृभूमिको याद आइरन्छ। मेरा लागि जर्मनीमा काम गर्नु रहरको कुरा होइन।'
उनी सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप नामको संस्थामा आबद्ध छिन्। यो संस्थामार्फत नेपालका लागि स्वास्थ्य क्षेत्रमा केही योगदान गर्ने योजना रहेको उनको भनाइ छ।

जर्मनीमा २३ वर्ष बिताइसकेकी साजनी सेवाबाट अवकाशपछिको समय नेपालमै बिताउन चाहन्छिन्।
'म अहिले नै पनि नेपालमा काम गर्न चाहन्छु तर जर्मनीको प्रमाणपत्र र अनुभवका आधारमा मात्र काम गर्न पाइँदैन। नेपालको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले जर्मनीको अवकाशपछि नेपालीको सेवामा लाग्ने सोचेकी छु।'
डा. साजनीले जर्मनी जान चाहनेलाई आफ्नो अनुभवका आधारमा केही सुझाव पनि दिएकी छन्।
सबभन्दा पहिले त नेपालमै जर्मन भाषा सिकेर जानु राम्रो हुन्छ। केही मात्रामा भाषा जानेको छ भने काम पाउन सजिलो हुन्छ।
उनी गएको समयमा जर्मन भाषा पढुन्जेल बाहिर काम गर्न पाइँदैन थियो। एक वर्षसम्म आमाबुबाले नै खर्च पठाइदिए।
'भाषा पढेपछि बिदाको दिनमा कपडा पसल, फास्टफुड र रेस्टुरेन्टमा काम गरेँ,' उनले भनिन्, 'मेडिसिन पढ्न सुरू गरेपछि त कलेज र अस्पतालमै काम पाएँ। यहाँ विद्यार्थीलाई काम दिने चलन छ।'
जर्मन भाषा जान्ने र मेहनत गर्न सक्नेलाई जर्मनीमा राम्रो अवसर रहेको उनको भनाइ छ। नेपालमै स्नातक तह पूरा गरेको भए विश्वविद्यालय प्रवेश गर्न सहज हुन्छ।
'जर्मनीमा बहुसांस्कृतिक घुलमिल पनि आवश्यक पर्छ। नेपाल छाड्नुअघि यस किसिमको तयारी गर्दा सहज हुन्छ,' डा. साजनीले भनिन्।
***
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com