ग्लोबल नेपाली
चितवनका पंचम अधिकारी युरोपियन मुलुक बेल्जियम बस्न थालेको २५ वर्ष भयो।
उनी जर्मनीमा पढाइसँगै काम पनि गर्ने र कमाएर फर्किने सोचेर गएका थिए। तर जर्मनीबाट यात्रा बेल्जियमतिर मोडियो।
२५ वर्ष अवधिमा उनले दस वर्षजति फरक फरक व्यवसाय गरे। करिब १५ वर्ष जागिर खाए।
अहिले भने उनी सूचना प्रविधिसँग सम्बन्धित (आइटी) एक अमेरिकन कम्पनीमा काम गर्छन्। यो कम्पनी बेल्जियमको राजधानी ब्रसेल्समा छ।
पंचमले काम र व्यवसाय गर्दै प्रवासीका जीवन भोगाइ समेटेर साहित्य पनि लेखे। उनको 'पथिक प्रवासन' उपन्यास र 'प्रवासीको देश हुन्न' गरी दुइटा कृति प्रकाशन भएका छन्।
१५ वर्षअघि उनले लेखेको पथिक प्रवासनमा नेपालमा माओवादी युद्ध उत्कर्षमा पुगेको समय र त्यो बेला युरोप छिरेका एक युवाको कथा चित्रण गरिएको छ। उक्त उपन्यास धेरथोर आफ्नै जीवन भोगाइसँग मिल्दोजुल्दो भएको उनले बताए।
'प्रवासीको विषय समेटिएका साहित्य कमै छन्। मलाई अरू धेरै किताब लेख्न मन थियो। तर विदेशको ठाउँमा एकदमै व्यस्त हुने भएकाले समय नपुग्ने। कहिले व्यवसाय, कहिले जागिर गर्दागर्दै अघिल्लो साल चाहिँ मैले दोस्रो पुस्तक लेखेँ,' उनले सुनाए।
सन् २०२४ मा प्रकाशित 'प्रवासीको देश हुन्न' १४ वटा कथाहरूको संग्रह हो।

यो कृति पद्मश्री साहित्य पुरस्कार–२०८१ को 'सर्टलिस्ट' मा परेको थियो। त्यस्तै कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८१ का उत्कृष्ट पाँच कृतिमा छानिएको थियो।
पंचमले उक्त कृतिमार्फत विभिन्न सिलसिलामा परदेशमा रहेका नेपालीहरूको जीवन यथार्थ भावुक रूपमा प्रस्तुत गरेका छन्।
'हामी परदेशी जुन देशमा बाँचिरहेका हुन्छौं, त्यहाँ यो त अर्को देशबाट आएको भन्ने हुन्छ। नेपालमा पनि यो देशबाहिर बसेको मान्छे, अर्काको संस्कृति बोकेर ल्याउँछ भन्ने नजरिया भइसक्छ। अनि खै त हामी प्रवासीको देश? यस्तै परिवेशलाई मैले कथा–संग्रहबाट चित्रण गरेको हुँ,' उनले सुनाए।
अझ परदेशमा ज्यान गुमाएर बाकसमा फर्किनुपर्ने नेपालीहरूको नियती चित्रण गर्दै उनले थपे, 'बाकसमा फर्किन पनि महिनौं कुर्नुपर्ने अवस्था छ। अनि हाम्रो लागि देश भनेको के रहेछ त भन्ने प्रश्न उब्जिएपछि मैले त्यो वास्तविकता लेखेको हुँ।'
नेपालको जनसंख्याको ठूलो हिस्सा अध्ययन, रोजगारी वा अन्य सिलसिलामा देशबाहिर छ। उक्त कथा–संग्रहमार्फत पंचमले समग्र प्रवासीको भावना समेटेको बताए।
उनी नेपालमा पत्रकारिता गर्थे। विदेशमा पनि कुनै न कुनै सञ्चार माध्यममा जोडिने मन थियो। तर सम्भव भएन। त्यसैले आफ्नो लेखन र पत्रकारिताको प्यास मेटाउन साहित्यिक विधा रोजेको उनले बताए।
चितवनबाट काठमाडौं छिरेका पंचम बिहान त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र पढ्थे। दिउँसो काम गर्थे। पछिल्लो पटक नेपाल टेलिभिजनमा करारमा काम गर्दै थिए।
त्यो बेला माओवादी द्वन्द्व चर्किएको थियो। थुप्रै युवाहरू कसरी देश छाड्ने भन्ने अवस्थामा थिए।

उनका धेरै साथी विदेश जान थाले। उनलाई पनि गइहालौं, विदेश देखिहालौं भान्ने भयो। अनि भिजिट भिसामा जर्मनी गए। बेल्जियममा उनका साथी बस्थे। त्यहाँ पनि राम्रो हुने भनेर सुनाएपछि पंचम बेल्जियममै बस्न थाले।
'हामी नेपाली विदेश आउने भनेकै आर्थिक कारणले हो। म पनि केही समय युरोपमा पढ्छु, नयाँ कुरा सिक्छु, कमाउँछु र चार–पाँच वर्ष बसेर देश फर्किन्छु भन्ने सोचेर आएको थिएँ। त्यो पाँच वर्ष अहिलेसम्म पनि आएन,' उनले भने।
उनले थपे, 'अलि सहज भएपछि फर्कौंला भन्दा भन्दै यत्तिकै समय बित्यो। दुबिधामा लामो समय बसियो। अनि यहीँ बानी परियो।'
सुरूमा उनलाई बेल्जियममा भाषामा केही गाह्रो भएको थियो। अंग्रेजी जाने भइहाल्छ सोचेर गएका थिए। तर त्यहाँ फ्रेन्च भाषा चल्ने हुँदा सिक्न केही समय लाग्यो। भाषा सिकेपछि सहज हुँदै गएको उनले बताए।
बेल्जियममा पहिले उनी रेस्टुरेन्टमा वेटर भए। इन्टरनेट क्याफे 'साइबर' मा पनि काम गरे। पछि उनले साथीसँग मिलेर इटालियन रेस्टुरेन्ट चलाए। उनका साथी त्यहीँ कुक थिए। रेस्टुरेन्टका साहुले बेच्ने भएकाले उनीहरूले किने।
पंचम र उनका साथी दुवै रेस्टुरेन्टको काममा अनुभवी भएकाले उनीहरूले राम्रो कमाइ गरे।

चार वर्षपछि पंचम नेपाल आए र बिहे गरे। उता फर्केर गएपछि रेस्टुरेन्ट छाडे। र, इन्टरनेट क्याफे चलाए। करिब ६ वर्ष उनले त्यो क्याफे चलाए।
व्यवसायमा धेरै समय दिनुपर्ने भएपछि फेरि जागिरमै फर्किएको पंचम बताउँछन्।
उनले भने, 'जागिरमा व्यवसाय जस्तो कमाइ त हुँदैन। तर बिदाको दिन पनि भन्न नपाइने। बच्चाहरूलाई समय दिनुपर्यो भनेर फेरि जागिरमा फर्किएँ।'
अहिलेको जागिर खान उनले अफिस म्यानेजमेन्ट सम्बन्धी पढाइ गरे। चार वर्षयता उनी अमेरिकन आइटी कम्पनीको सेल्स व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका छन्।
बेल्जियम भौगोलिक हिसाबले सानो भए पनि आर्थिक रूपमा निकै सम्पन्न छ। राम्रो कमाइ गर्न सकिन्छ। सामान्य र उच्च तहमा काम गर्नेहरूबीच तलबको 'ग्याप' पनि धेरै हुँदैन। यहाँ थुप्रै नेपाली पुगेका छन्। करिब १५ हजार हाराहारी हुन सक्ने अनुमान छ।
भिजिट भिसा, अध्ययन वा विभिन्न अवैध बाटो र प्रक्रियामार्फत नेपालीहरू त्यहाँ पुग्छन्। अधिकांश नेपाली होटल, रेस्टुरेन्ट, कृषि लगायत क्षेत्रमा कार्यरत छन्। दोस्रो पुस्ताका नेपाली भने धेरैजसो प्रशासनिक क्षेत्रमा छन्।
'यहाँ आकर्षक कमाइसँगै सामाजिक सुरक्षा लगायत थुप्रै सुविधा छन्। जीवनस्तर गुणस्तरीय छ। त्यसैले बेल्जियम आएका नेपाली अन्यत्र कमै जान्छन्,' उनले भने।