स्विट्जरल्यान्डमा ज्युरिख तालको पानी हेरिरहँदा उनलाई कटुन्जेको घट्टे खोलाले पौडी खेल्न बोलाएझैं लाग्छ।
तालको किनारै किनार हिँड्दा भक्तपुर, दधिकोटका खेतका फाँटहरूमा हाम फाल्दै थिमीसम्म हिँडेर मःम खान पुगेको झल्को दिलाउँछ।
कटुन्जे गाउँ हाल सूर्यविनायक नगरपालिकामा जन्मिएका विकल ढुंगेल सन् २०१२ देखि स्विट्जरल्यान्डमा छन्। कामको सिलसिलामा त्यहाँ पुगेका उनको बसोबास ज्युरिख ताल नजिकै छ।
'यहाँबाट पनि नेपालको जस्तै बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइन्छ। तालको किनारतिर हिँड्दा घाँसको बास्नाले दधिकोटका फाँटको याद दिलाउँछ,' विकलले भने।
स्विट्जरल्यान्डमा उनलाई मनपर्ने अर्को कुरा त्यहाँ तिब्बतीहरूको बाक्लो बसोबास हुनु हो। उनीहरूको बसोबास भएकै कारण त्यहाँ चोक चोकमा मःम पसल देखिने विकलले बताए।
उनलाई मःम असाध्यै मनपर्छ। उनको कार्यालय भवनमै एउटा तिब्बती रेस्टुरेन्ट छ जहाँ मःम पाइन्छ।
'यहाँ तेन्ज मःम चर्चित छ। त्यसले पनि नेपालको याद दिलाउँछ,' उनले भने।
विकलका अनुसार उनी त्यहाँ एप्पल कम्पनीमा सेक्युरिटी इन्जिनियरका रूपमा काम गर्छन्।
सुरूमा उनी त्यहाँ एउटा कम्पनीमा एड्मिनका रूपमा काम गर्थे। एक वर्ष जति काम गरेपछि थप पढ्ने सोच आयो। हेल्थ इकोनोमिक्स विषय पढ्न उनी सन् २०१३ को अन्त्यतिर स्कटल्यान्ड गए।
यो विषयमा उनको रूचि जर्मनीमा हुँदै जागेको थियो। विकल जर्मनीमा पढ्दै काम गरिरहेका थिए। त्यो बेला विद्यार्थी राजनीतिमा पनि सक्रिय भए।
सन् २००७ मा विश्वमा आर्थिक मन्दी सुरू भएको थियो। जताततै मानिसहरू आर्थिक संकटको कुरा गर्थे।

'जर्मनीमा आर्थिक संकट चुलिँदाको अवस्था मैले भोगेकाले वित्त र अर्थतन्त्रबारे धेरै कुरा बुझ्न सजिलो भयो। त्यो संकट मेरा लागि गुरू भइदियो। धेरै कुरा सिकायो,' उनले भने।
जर्मनीमा उनी उद्योगहरूमा सामान प्याक गर्ने, बोकेर ओसार्ने जस्ता काम गर्थे। सन् २००६ मा जर्मनीमा वर्ल्डकप भएपछि अंग्रेजी भाषा सिक्नेहरू बढेका थिए। उनको अंग्रेजी भाषामा दख्खल राम्रो थियो। त्यसैले ट्युसन पढाउने काम पनि पाए।
'भारी बोक्दा घन्टाको साढे ७ युरो पाइन्थ्यो। अंग्रेजी ट्युसन पढाउँदा घन्टाको २० युरो हुन्थ्यो। त्यसैले आर्थिक मन्दीमा पनि मैले खासै गाह्रो अवस्था भोग्नुपरेन,' उनले सुनाए।
त्यस बेला नेपालीसहित अन्य आप्रवासीहरू विद्यार्थीलाई भने निकै गाह्रो भएको थियो। अध्यागमनले स–साना कारण देखाएर असाध्यै दुःख दिन्थ्यो।
'यो कागजात पुगेन, त्यो पुगेन, यो–त्यो ल्याऊ भनेर यसै दुःख दिन्थे। यस्तो समस्या धेरै भोगेपछि विदेशी विद्यार्थीका मुद्दाबारे बोल्न भनेर म सोसल डेमोक्रेटिक पार्टी (एसपिडी) को सदस्य बनेँ,' उनले भने।
जर्मनीमा विद्यार्थी राजनीतिमा लाग्नेहरूलाई ६–७ महिना जति राजनीतिक शिक्षा/तालिम दिइने रहेछ। सो क्रममा उनले धेरै कुरा जान्ने, बुझ्ने र सिक्ने मौका पाए। मानिसहरू चिने।
त्यही क्रममा कोलोन युनिभर्सिटीमा हेल्थ इकोनोमिक्सका प्रोफेसरसँग उनको चिनजान भयो। विकलले उनीसँग हेल्थ इकोनोमिक्सबारे बुझे र त्यही विषय पढ्न थाले। अनि सन् २०१५ मा एडम स्मिथ बिजनेस स्कुलबाट इकोनोमिक डेभलपमेन्टमा स्नातकोत्तर सकाए।
सन् २०१५ मै एप्पल कम्पनीले 'सेन्सर डेटा एनालाइटिक्स एन्ड अप्टिमाइजेसन' मा जागिर खुलाएको थियो।
'यो ठ्याक्कै मैले काम गर्न खोजेको जस्तै हेल्थ इकोनोमिक्स र आइटी मिसिएको थियो। म एप्पलको युरोपियन मुख्यालय आयरल्यान्ड गएँ र त्यहीँ काम गर्न थालेँ,' उनले भने।
विकलको काम उपकरणको प्रयोग र परीक्षणमा तथ्यांक विश्लेषण गरी मिलाउने थियो।
जस्तै— एप्पल वाचमा भएको सेन्सरले मुटुको अवस्था जाँच्छ। त्यो सेन्सरको विभिन्न चरणमा थुप्रै परीक्षण गर्नुपर्छ। सबै कुरा मिलेपछि मात्रै सेन्सर प्रयोगको अनुमति पाइन्छ। सेन्सरलाई ठिकसँग काम गराउन तथ्यांकहरू विश्लेषण गरी मिलाउने काम विकलको थियो।
यो क्षेत्रमा काम गर्दैगर्दा उनले नेसनल युनिभर्सिटी अफ आयरल्यान्डबाट हेल्थ साइन्समा स्नातकोत्तर गरे।
'मलाई नयाँ कुरा सिकिरहनुपर्छ। त्यसैले मैले हेल्थ साइन्सपछि इन्फरमेटिक्समा स्नातकोत्तर गरेँ,' उनले सुनाए।
उनको यो पढाइ सकिएलगत्तै कोभिड महामारी सुरू भयो। आयरल्यान्डको हेल्थ केयर सिस्टममा विदेशी ह्याकरहरू पसे र ठप्प बनाइदिए।
प्रविधिमा आधारित भएकाले डाक्टरले आपतकालीन बिरामी जाँच्न, शल्यक्रिया गर्न पाएनन्। केही मानिसको ज्यान समेत गएको उनले बताए।
'ह्याकरहरूले त्यसबापत ठूलो रकम माग्छन्। त्यो घटनाले मलाई साइबर सेक्युरिटी क्षेत्रमा रूचि बढ्यो,' विकलले भने।
त्यसपछि उनी साइबर सेक्युरिटी, डेटा सेक्युरिटी, प्राइभेसी जस्ता विषयमा स्वअध्ययन गर्न थाले। अनलाइन कोर्सहरू गरे।

करिब एक वर्षपछि एप्पलले नै सेक्युरिटी इन्जिनियर पदमा जागिर खुलायो। उनले आवेदन दिए र अहिले सेक्युरिटी इन्जिनियरका रूपमा काम गरिरहेका हुन्।
'आइटी सक्युरिटीका नयाँ कर्मचारीहरूलाई तालिम पनि दिन्छु,' उनले भने।
आइटी दुनियाँ दिनानुदिन परिवर्तन भइरहने हुँदा आफूलाई यो क्षेत्रमा अब्बल र अद्यावधिक राख्नुपर्ने उनी बताउँछन्।
नेपाल छँदा विकल मध्यम विद्यार्थी थिए। एसएलसी (एसइई सरह) पछि कुन विषय पढ्ने भन्ने सोचेका थिएनन्।
विदेश जाने लहर बल्ल सुरू भएको थियो। भक्तपुरमा पर्यटकहरू देख्दा र उनीहरूसँग कुरा गर्दा उनलाई पनि विदेश जान पाए हुन्थ्यो भन्ने लाग्यो।
'धेरै पर्यटक अमेरिकाकै भेटेको र उनीहरूका गफ सुनेको भएर अमेरिकालाई पहिलो प्राथमिकता राखेको थिएँ। दोस्रोमा जर्मनी थियो। यी दुइटा देश जान नसके नेपाल आर्मीको सेकेन्ड लेफ्टिनेन्टमा भिड्छु भन्ने सोचेको थिएँ,' उनले सम्झिए।
प्रविणता प्रमाणपत्र तह (कक्षा १२ सरह) को परीक्षापछि उनले बिहान सेकेन्ड लेफ्टिनेन्टको तयारी गरे। दिउँसो अमेरिकाका लागि टोफल कक्षा र साँझ जर्मन भाषा पढे।
उनका बुबाको लगनखेल–रत्नपार्क रूटमा चल्ने माइक्रो बस थियो। बचेको समयमा विकलले सहचालक काम गरे र चलाउन पनि सिके।
कक्षा १२ मा दोस्रो श्रेणीमा उत्तीर्ण भएपछि उनको अमेरिका जाने सपना सकियो। छात्रवृत्ति नपाउने भएकाले आफै पैसा तिरेर पढ्न सक्ने अवस्था थिएन।
जर्मनीमा भने निःशुल्क पढ्न पाइने भएकाले सन् २००५ मा उनी उतै गएका थिए।
यसरी काम र घुमघामको सिलसिलामा ८० भन्दा धेरै देश पुगिसकेका विकल भन्छन्, 'सबै कुराले मलाई स्विट्जरल्यान्ड उत्तम लागेको छ। अरू देशबाट अझ राम्रो प्रस्ताव आउँदा पनि जान मन छैन।'
