नेपाल र युरोपका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरू स्विट्जरल्याण्डको जेनेभामा भेला भई नेपाल र युरोपको स्वास्थ्य क्षेत्रका बिच आपसी समन्वय र सुदृढीकरण गर्नेबारे घनिभूत छलफल भएको छ।
‘सोसाइटी अफ नेपलिज् हेल्थ प्रोफेसनल्स इन युरोप’को दोस्रो वार्षिक अधिवेशनले आफ्नो सञ्जाल र विशेषज्ञता मातृभूमिको स्वास्थ्य प्रणालीमा कसरी प्रत्यक्ष उपयोग गर्ने भन्ने बारेमा विविध योजनाहरू अघि सारेको छ।
साउन २२ देखि २४ सम्म चलेको तीन दिने सम्मेलनमा युरोपमा रहेका नेपाली चिकित्सकहरूले स्वास्थ्य क्षेत्रको नयाँ प्रवृत्ति, चुनौती र समाधानका उपायबारे व्यापक छलफल गरे।
सो कार्यक्रममा ४ वटा क्लिनिकल, वैज्ञानिक र प्रविधिमूलक कार्यपत्रहरू र ३ वटा नेपालसम्बन्धी तीन रिपोर्टहरू प्रस्तुत गरिएका थिए।
शनिबार सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि स्विट्जरल्याण्डका लागि नेपाली राजदूत तथा जेनेभास्थित संयुक्त राष्ट्र संघीय कार्यालयका निम्ति स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले संस्थाले एकाध वर्षकै अवधिमा उल्लेखनीय उपलब्धी हासिल गरेकोमा प्रशंसा गर्दै नेपाल–युरोप स्वास्थ्य सहकार्यका उपलब्धीहरूको संरक्षण, सम्बर्धन र निरन्तरताका निम्ति जोड दिए।
तीन दिने सम्मेलनमा ‘नेपलिज् हेल्थ प्रोफेसनल अफ द इयर २०२६’ को अवार्ड प्राध्यापक डा. सुरज बहादुर थापालाई प्रदान गरिएको छ।
स्विट्जरल्याण्डका लागि नेपाली राजदूत तथा जेनेभास्थित संयुक्त राष्ट्र संघीय कार्यालयका निम्ति स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी र ‘सोसाइटी अफ नेपलिज् हेल्थ प्रोफेसनल्स इन युरोप’का अध्यक्ष डा. विनय श्रेष्ठले संयुक्त रूपमा उक्त सम्मान हस्तान्तरण गरे ।
युरोपमा रहेर स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वलाई नियमित रूपमा सम्मान गर्ने योजनाअनुसार सोसाइटीले यस वर्ष डा. सुरज बहादुर थापालाई सो अवार्डले सम्मानित गरेको हो। यसअघि,पहिलोपटक गत वर्ष उक्त अवार्ड प्रा.डा. गणेश आचार्यलाई प्रदान गरेको थियो।
त्रिभुवन विश्वविद्यालयबाट एमबिबीएस गरेका डा. थापाले नर्वेबाट बाटमेन्टल हेल्थमा एमडी उपाधि हासिल गरेका थिए। सन् २००६ मा उनले नर्वेकै विश्वविद्यालयबाट चिकित्सा शास्त्रमा पिएचडी गरी २०१० मा मनोविज्ञानको विशेषज्ञ बने।
अहिले डा. थापा नोर्डिक देशहरू मै सर्वाधिक चर्चित र प्रतिष्ठित ओस्लो युनिभर्सिटी हस्पिटलको प्रोफेसर र मेन्टल हेल्थ डिभिजनको रिसर्च प्रमुख हुन।
सम्मान प्राप्त गर्दै डा. थापाले आफू चर्चा खोज्ने खालको व्यक्ति नभए पनि यस सम्मानले अफ्नो मेहनत र समर्पणको सम्मान गरेकोमा खुशी ब्यक्त गरे।
जेनेभा सम्मेलनमा विविध कार्यपत्रहरू प्रस्तुत गरिएको थियो। क्लिनिकल र वैज्ञानिक विषयमा डा. यु. मेइयर (स्विट्जरल्याण्ड), प्रो. केनेथ वाकर(यु.के.), डा. सुनिल हमाल (जर्मनी), सरस्वति तामाङ (जर्मनी), प्रा. डा. मोनिका ब्रोडमन (स्विट्जरल्याण्ड), कमल थापा (छाया नेपाल) र डा. बुद्धिमान श्रेष्ठ (नेपाल) ले कार्यपत्र प्रस्तुत गरे।
त्यस्तै, सोही कार्यक्रममासात महादेशका सात सर्वोच्च टाकुरा आरोहण गरेकी सुस्मिता मास्के निरौलाले हिमाल आरोहणबारे आफ्नो अनुभव सुनाएकी थिइन्।
कार्यक्रममा ‘सोसाइटी अफ नेपलिज् हेल्थ प्रोफेसनल्स इन युरोप’का अध्यक्ष डा. विनय श्रेष्ठ र यु.के. का चिकित्सकहरूको संस्था नेप्लिज डक्टर्स एसोसिएसनकी अध्यक्ष डा. आरती थापाले सहकार्यका निम्ति एमओयुमा हस्ताक्षर गरे।
सोसाइटीका अध्यक्ष डा. विनय श्रेष्ठले युरोपका नेपाली चिकित्साकर्मीहरूलाई संगठित गर्दै युरोपमा रहेका नेपालीहरूको स्वास्थ्यसम्बन्धी विभिन्न अनुसन्धानात्मक कार्य अघि बढाउने विविधयोजना रहेको बताए।
साथै, नेपालको स्वास्थ्य क्षेत्रमा सहकार्य र पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिने उद्देश्य पनि सोसाइटीको रहेको उल्लेख गरे।
उनका अनुसार सोसाइटीले युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको व्यक्तिगत र पेसागत विकासमा समेत सक्रिय रूपमा काम गरिरहेको छ ।
कार्यक्रममा डा. सजनी धाख्वा (जर्मनी), डा. राजु श्रीवास्तव (बेल्जियम), डा. विराट निरौला (स्विट्जरल्याण्ड), पंचम अधिकारी (बेल्जियम), हिरालाल श्रेष्ठ (स्विट्जरल्याण्ड), दामोदर नेपाल (नेपाल) र डा. सागर धितालले सेसनहरूमा सहजकर्ताको भूमिका निर्वाह थिए।
त्यसैगरी, सम्मेलनमा प्राध्यापक डा. कौशल किशोर तिवारी (इटाली) को सम्पादनमा प्रकाशित मेडिकल जर्नलको पहिलो अंकको विमोचन समेत गरिएको थियो।