बागलुङका राजन कँडेल आइकम पास गर्नासाथ सन् १९९९ मा बेलायत गए।
कम्प्युटर साइन्स पढ्न बेलायत गएका कँडेलले सुरूमा केही समय अंग्रेजी भाषा पढ्नुपर्यो। यसको कारण थियो, नेपालमा जानेको अंग्रेजी त्यहाँ पर्याप्त भएन।
'नेपालमा मेरो पढाइ राम्रो थियो। अंग्रेजी पनि राम्रै छ भन्ने लाग्थ्यो। तर उता गएपछि बेलायतीले बोलेको अंग्रेजी मैले नबुझ्ने अनि मैले बोलेको अंग्रेजी उनीहरूले नबुझ्ने भयो,' उनले भने, 'त्यही भएर मैले डेढ वर्ष भाषा पढेँ अनि कम्प्युटर साइन्सको अध्ययन सुरू गरेँ। म व्यवस्थापनको विद्यार्थी भए पनि कम्प्युटर साइन्स पढेँ। अहिले आएर त्यो बेलाको निर्णय सही थियो भन्ने लाग्छ।'
नेपालमा कुनै काम नगरेका कँडेल आइकम पास गरेर सिधै बेलायत गएका थिए। त्यसैले खोजेजस्तो काम पाउने कुरै भएन। न कुनै सीप थियो। धेरै नेपालीले सुरूका दिनमा काम गर्ने सुपरमार्केट र हस्पिटालिटी क्षेत्रमा जस्तै उनले पनि रेस्टुरेन्टमा काम गरे। त्यसो त कँडेलका दाइहरू पनि केही समयअघि नै बेलायत गएर रेस्टुरेन्ट सुरू गरिसकेकाले उनलाई काम पाउन केही सहज भयो।
रेस्टुरेन्ट क्षेत्रमा झन्डै तीन वर्ष काम गरेपछि कँडेलले आफूले पढेअनुसारको काम पाए। केही समयपछि भने उनलाई पनि आफ्नै केही गरौँ भन्ने लाग्यो। अनि सुरू भयो उनको कलेज व्यवसाय। सन् २००३ मा उनले आफ्ना दाइहरूसँग मिलेर कलेज खोले।

'सन् २००३ देखि म शिक्षा क्षेत्रमा लागेको हुँ। त्यो बेला यही क्षेत्रमा अवसर देखेर मैले कम्प्युटर साइन्स र आइटी पढाउने गरी कलेज सञ्चालनमा ल्याएको हो। लन्डनबाट सुरू भएको मेरो यात्रा अहिले नेपाल, दुबई र क्यानडासम्म पुगेको छ,' उनले भने, 'हामीले हस्पिटालिटी, रियल स्टेट र आइटीमा पनि लगानी गरेका छौँ। मेरी श्रीमती फर्मासिस्ट भएकाले लन्डनमा हाम्रो तीनवटा फार्मेसी समेत छन्। म भने शिक्षा क्षेत्रमा धेरै केन्द्रित छु।'
आफूलाई शिक्षा क्षेत्रमा लगानी गर्न मन लाग्नुको पछाडि पारिवारिक विरासत रहेको उनी बताउँछन्।
आफ्ना बुवाले बागलुङका कतिपय ठाउँमा विद्यालय स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको, प्रधानाध्यापक भएको अनि हजुरबुवाले पनि बागलुङमै गुरूकुल सञ्चालन गरेको उनले बताए।
'मेरा पुर्खाको जीनमा रहेको क्षेत्रमा मैले हात हालेको जस्तो मलाई लाग्छ। त्यही भएर होला, अरू क्षेत्रमा व्यवसाय भए पनि मैले कलेजहरू सम्हालेको छु,' उनले भने, 'नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको शिक्षा जरूरी छ। यस्तो गर्न सकियो भने हाम्रो जनशक्तिले पनि प्रतिस्पर्धा गर्न सक्छ भन्ने विश्वासका साथ म नेपाल आएको हुँ।'
सन् २००३ मा लन्डनबाट सुरू भएको कँडेलको कलेज यात्रा २०११ देखि नेपाल पनि आइपुग्यो। त्यसपछि नेपालमै अन्तर्राष्ट्रिय स्तरको ब्रिटिस कलेज स्थापना भयो। अहिले यो कलेज काठमाडौंसहित ललितपुर, चितवन, पोखरा र रूपन्देही लगायतका ठाउँमा पनि छ।
आफूहरू प्रविधिमैत्री शिक्षामा केन्द्रित भएको भन्दै कँडेलले आइटी र कम्प्युटर साइन्सका विभिन्न विभागका कार्यक्रमहरू पढाइरहेको बताए।
'एआई, साइबर सेक्युरिटी, डेटा साइन्स, हस्पिटालिटी र चार्टर्ड एकाउन्टिङका कोर्स अहिले पढाइ भइरहेको छ। अब इन्जिनियरिङका कोर्सहरू पनि पढाउने हाम्रो इच्छा छ। सरकारी नीति–नियमले सहज बनायो भने हामी देशको आवश्यकताअनुसारका कोर्सहरू थप्ने पक्षमा छौँ,' उनले भने, 'लन्डनमा पनि हाम्रो भोकेसनल कलेज चलिरहेको छ। दुबईमा पनि हाम्रो कलेज छ। त्यहाँ हामीले दक्षिण एशियाली राष्ट्रका विद्यार्थी तथा अफ्रिकाबाट आएका विद्यार्थीलाई पनि पढाइरहेका छौँ। दुई–तीन वर्षदेखि हामीले क्यानडामा पनि कलेज सञ्चालनमा ल्याएका छौँ।'
उनका अनुसार बेलायत, नेपाल, क्यानडा र दुबई गरी चार देशका कलेजहरूमा करिब ६ हजार विद्यार्थी छन्। तीमध्ये करिब ४ हजार विद्यार्थी नेपालमा छन्।

आफूहरूले प्रविधि क्षेत्रमा पनि काम गरेको भन्दै उनले आइटी कम्पनीमार्फत ब्रिटिस कलेजमा अध्ययन गरेका तथा अन्य विद्यार्थीले समेत रोजगारीको अवसर पाएको दाबी गरे।
विदेशमा रहेर काम गर्नुभन्दा नेपालमै काम गर्दा त्यसले दिने आत्मसन्तुष्टिले धेरै ऊर्जा मिल्ने उनको अनुभव छ।
'मैले विदेशमा पनि राम्रै गरिरहेको थिएँ। तर अब नेपालका लागि पनि केही गर्नैपर्छ भन्ने सोच आयो। सन् २०१० तिर मेरा साथीहरू पनि विदेशबाट आएर कसैले बैंकिङ क्षेत्रमा, कसैले हाइड्रोमा अनि कसैले इन्स्योरेन्समा काम गरेका थिए। मलाई पनि शिक्षा क्षेत्रमा केही गरौँ भन्ने लागेर यता आएको हो,' उनले भने, 'नेपालमा पढे पनि विदेशमा मान्यता पाउन गाह्रो भएकाले त्यसको अन्त्यका लागि मैले थोरै प्रयास गरेको हुँ। मैले आफैले भोगेको अनुभवबाट पाठ सिकेर नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने हुटहुटी पलाएको हो।'
ब्रिटिस कलेजबाट नेपालमै बसेर बेलायती पाठ्यक्रमको शिक्षा लिन पाइने र खर्च पनि १० देखि २० गुणासम्म कम हुने उनको जिकिर छ।
अर्को कुरा, नेपालमै प्राविधिक र सीपमूलक शिक्षा दिन सके थोरै कमाउनका लागि जोखिमपूर्ण काम गर्न विदेश जानुपर्ने बाध्यता कम हुने उनको बुझाइ छ।
नेपालमा लगानीको वातावरण बनाउन सके एकातिर रोजगारी सिर्जना हुने र अर्कोतिर नेपाललाई दक्षिण एसियाकै शैक्षिक हब बनाउन सकिने उनी बताउँछन्।
नेपालको हावापानी तथा शान्ति–सुरक्षाका कारण विदेशी विद्यार्थी पनि ढुक्कले अध्ययन गर्न सक्ने उनको बुझाइ छ।
'हामीले पढाउने बेलायती पाठ्यक्रमकै आधारमा हो। अनि हाम्रा कलेजबाट पाइने प्रमाणपत्र पनि ब्रिटिस मान्यता प्राप्त नै हुन्छ। त्यसले नेपालीहरूलाई विदेश गएर सजिलै स्थापित हुन सहयोग गर्छ भने नेपालमै पनि थप सहज बनाउँछ भन्ने हाम्रो दाबी हो,' उनले भने, 'आइटी र हाइड्रोमार्फत हामीले रोजगारी सिर्जना गर्न सक्छौँ। हाम्रा आइटी कम्पनीहरू पनि छन्। विदेशमा रहेका हाम्रा कम्पनीका अधिकांश काम नेपालबाटै हुन्छ। फाइनान्सियल डिपार्टमेन्ट पनि नेपालबाटै सञ्चालन हुन्छ। विदेशी कम्पनीका लागि पनि हामी नेपालबाटै काम गर्न सक्छौँ।'
लगानी गर्दै जाँदा नेपालमा केही अनिश्चितता भने रहेको उनको बुझाइ छ।
उनका अनुसार नेपालमा लगानीलाई प्रोत्साहन गर्नेभन्दा पनि निरूत्साहित गर्ने नीति–नियम छन्। अहिलेको अवस्थामा विदेशी लगानी आउन गाह्रो हुन्छ। यस्तो बेला नेपालमै रहेका नेपाली र विदेशमा रहेका नेपालीले मात्र जोखिम उठाएर लगानी गर्न सक्ने उनको बुझाइ छ।
'अहिलेको सरकारले डायस्पोरामा रहेका नेपालीलाई लगानी गर्न प्रोत्साहन गर्छ भन्ने मेरो विश्वास छ। कतिपय अवस्थामा हाम्रा विद्यार्थीले समकक्षता पाउन निकै दुःख गर्नुपर्छ। कुनै कार्यक्रम थप्नुपर्यो भने पनि हामीलाई उस्तै कठिन हुन्छ। यस्ता जटिलतालाई सहज बनाइयोस् भन्ने हो,' उनले भने, 'नेपाल आउनका लागि समेत एक वर्षको मात्र भिसा दिइन्छ। जबकि भारतबाट मैले पाँच वर्षको बिजनेस भिसा पाएको छु। तर आफ्नै देशमा भने एक वर्षको मात्र पाइन्छ।'
दोस्रो पुस्ताका नेपालीलाई आकर्षित गर्नका लागि पनि नेपाल सरकारले गैरआवासीय नेपालीका लागि सहज वातावरण बनाउनुपर्ने उनको माग छ।