ठूलो सहर, गगनचुम्बी महलहरू, चिल्ला सडक, झिलिमिली बत्ती— रामेछापका प्रदीप खड्काले नेपाल छँदा मनमा कोरेको दक्षिण कोरियाको तस्बिर यस्तो थियो।
हवाईजहाजबाट ओर्लिएपछि त्यही शानदार सहरमा चट्ट परेर कार्यालय हिँड्ने कल्पना समेत गरेका थिए उनले।
त्यहाँ पुगेपछि थाहा भयो — वास्तविकता त कल्पनाभन्दा निकै फरक रहेछ!
यहाँ गाउँ पनि हुन्छ भन्ने त सोचेकै थिइनँ। मेरो पहिलो काम नै अन्कन्टार गाउँमा पर्यो,' प्रदीपले भने, 'सहर भेट्न गाडीमा तीन–चार घन्टा लाग्ने ठाउँमा काम थियो।'
प्रदीप रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कृषि क्षेत्रमा गएका हुन्। उनी गएको तीन वर्ष हुन लाग्यो।
यतिका वर्ष बिताइसक्दा पनि बेला बेला 'त्यो कल्पनाको कोरिया त होइन कि, अर्कै पो छ कि' जस्तो लाग्ने उनी बताउँछन्।
'ठूलो भव्य आधुनिक ठाउँ होला भन्ने कल्पना गरेको कोरिया सम्झिँदा अझै पनि म बसेको ठाउँ त होइन कि जस्तो लागिरहन्छ,' प्रदीपले भने।
सुरूमा उनको काम बंगुर फर्ममा पर्यो। त्यो फार्म सुनसान जंगलमा थियो। त्यसमाथि ४६ वटा ठूला ठूला बंगुर देखेर प्रदीप निकै डराए।
'नेपाल हुँदा बंगुरको नजिक पनि नपरेको मलाई निकै गाह्रो भयो। छेउछाउ पर्न पनि डर लाग्थ्यो,' उनले भने।

फर्ममा काम गर्ने अरू चार जना नेपाली नै थिए। प्रदीप डराएर बाहिर बाहिरको काम गर्न खोज्थे, बंगुर नजिकका काम अरू साथीलाई गर्न भन्थे।
फर्मका साहु पनि निकै कडा थिए।
'बिहान–साँझ कराइरहन्थे, कति धेरै निगरानी गर्थे,' उनी भन्छन्, 'केही गल्ती नहुँदा वा काम राम्रै हुँदा पनि गाली खानुपर्थ्यो।'
त्यहाँ काम गर्दा खाने खर्च पनि आफै गर्नुपर्थ्यो। महिनामा डेढ लाख रूपैयाँ मुस्किलले बच्यो। त्यसैले प्रदीपले महिना दिनमै त्यो फर्म छाडे।
त्यसपछि उनले भटमासको टुसा उमारेर (कोरियन भाषामा क्होङनामूल) बेच्ने कम्पनीमा काम पाए। अहिले उनी इन्चनस्थित सोही कम्पनीमा काम गरिरहेका छन्। कम्पनीले क्होङनामूल तयार गरी प्याकिङ गर्छ र बाहिर पठाउँछ।
त्यहाँ उनी एक्ला नेपाली हुन्, अरू कामदार म्यानमारका छन्।
उनका अनुसार भटमासको टुसा उमार्ने कोठा अँध्यारो हुन्छ। त्यहाँ बिउ राख्ने, हेर्ने, निकाल्ने र बाहिर ल्याएर प्याकिङ गर्ने काम उनले गर्नुपर्छ। क्होङनामूल प्याकिङ गर्नुअघि बाहिर पानीमा ल्याएर धुनुपर्छ। त्यो काम एकदमै गाह्रो हुने उनले बताए।
'माइनस १० डिग्रीसम्म चिसोमा काम गर्नुपर्छ,' प्रदीपले भने।

तर कृषि क्षेत्रमा काम गर्ने अरू साथीको तुलनामा आफ्नो काम सहज भएको उनी बताउँछन्।
इपिएस कामदारहरूका अनुसार उत्पादनमूलक क्षेत्रमा अतिरिक्त समय (ओटी) काम गर्न पाइने भएकाले कमाइ राम्रो हुन्छ। तर कृषिमा ओटी गरे पनि आधारभूत तलबभन्दा बढ्दैन भन्ने धेरैको गुनासो छ।
प्रदीप भने आफूलाई राम्रो कम्पनी परेको बताउँछन्।
बारीमा काम गर्ने उनका कतिपय साथीले १०/१२ घन्टा काम गरे पनि ओटीको पैसा नपाएको सुनाउँछन्।
'दिनभर हैरान भएर काम गर्दा पनि धेरैको महिनामा दुई लाख रूपैयाँ पनि मुस्किलले हुन्छ,' उनले भने।
उनको भने सबै खर्च कटाउँदा महिनामा करिब दुई लाख ४० हजार रूपैयाँ हात पर्छ।
बिहानको खाना र अपार्टमेन्टमा बस्ने सुविधा कम्पनीले दिएको छ। बेलुकीको खाना उनी आफै बनाएर खान्छन्।
उनको अपार्टमेन्टबाट काम गर्ने ठाउँ केही टाढा छ। कम्पनीले नै गाडीमा लैजाने, ल्याउने गरिदिन्छ।
प्रदीपको काम बिहान चार बजेदेखि दिउँसो दुई बजेसम्म हुन्छ। कहिलेकाहीँ बिहान दुई बजेदेखि नै सुरू हुन्छ। दुई बजेदेखि काम गर्दा ११/१२ बजेसम्म सकिन्छ।
बिदा भने महिनामा दुई दिन मात्र हो। तर दिउँसै काम सकिने हुँदा त्यसपछिको समय फुर्सद हुने उनले बताए।
फुर्सदमा उनी कम्पनी नजिकैका मार्ट पुग्छन्। साथीहरूसँग आधा घन्टा पैदल दुरीमा रहेको समुद्र पनि जान्छन्।

उनका दाइ र भिनाजु पनि कोरियामै छन्। उनीहरू उत्पादन सम्बन्धी एउटै कम्पनीमा काम गर्छन्। प्रदीप बेलाबेला उनीहरूलाई भेट्न जान्छन्।
आफन्त भेटिरहँदा कोरिया टाढा जस्तो नलाग्ने उनले बताए।
'अहिलेको साहु पनि रमाइला छन्। तिम्रो त आफन्त पनि यतै—कति भाग्यमानी छौ है भन्छन्,' प्रदीपले भने।
प्रदीपका दाइले ई–७ भिसा लिइसकेका छन्। यो सीपयुक्त कामदारलाई दिइने भिसा हो जुन भएपछि परिवार पनि लैजान पाइन्छ। केही समयअघि प्रदीपकी भाउजू र भतिजी घुम्न गएका थिए। यस्तो पारिवारिक जमघटले परदेशमा छु भन्ने भुलाइदिने उनले बताए।
'अहिले त मलाई नेपाल फर्किहालौं जस्तो पनि लाग्दैन,' उनले भने, 'मेरै वडाका ३० जनाभन्दा धेरै यहाँ नजिकै काम गर्छौं। सम्पर्क समिति नै छ। चाडबाडमा भेट्छौं।'
उनीसँगै स्कुलमा पढेका साथीहरू पनि छन्। बेलाबेला भेटघाट भइरहन्छ।
दक्षिण कोरिया जानुअघि प्रदीपको सोच नेपाली सेनामा जागिर खाने थियो। सानैदेखि सेना बन्ने सपना देखेका उनले प्रयास पनि गरे। तेस्रो पटक पनि असफल भएपछि उनले त्यो सपना त्यागिदिए।
त्यसपछि उनलाई विदेश जाने भूत चढ्यो। कहिले पोल्यान्ड जाने भन्दै भारत पुगेर अन्तर्वार्ता दिए। कहिले क्रोएसिया, हंगेरी लगायत देश छिर्न खोजे। युरोपको चक्करमा साढे चार लाख रूपैयाँ जति सके।

केही गरी युरोपको बाटो नमिलेपछि उनले कोरियातिर ध्यान मोडे। सुरूमा उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षा दिए, पास भएनन्। त्यसपछि कृषिको परीक्षा दिएका हुन्।
'सबैले कृषि राम्रो छैन भन्छन्, तर सबैतिर त्यस्तो पनि होइन। मलेसिया, खाडी गएर महिनाको ३०/४० हजार रूपैयाँ कमाउनुभन्दा यहाँको कृषिमै काम गर्नु राम्रो छ,' प्रदीपले भने।
प्रदीपले कोरियामा कम्तीमा १५ वर्ष कमाइ गरेर फर्किने योजना बनाएका छन्।
इपिएस अन्तर्गत चार वर्ष १० महिना पहिलो कार्यकाल र दोस्रो चार वर्ष १० महिना गरी करिब दस वर्ष काम गर्न पाइन्छ। त्यसपछि ई–७ भिसा लिएर काम गर्ने उनको सोच हो।
'पहिले त आफ्नै देशमा केही गरौं भन्ने थियो तर यता आइहालियो। अब आइसकेपछि फर्केर सानोतिनो लगानी गर्न सक्ने गरी कमाउन चाहन्छु,' प्रदीपले भने।
