सन् २००५ मा कतार जानुभन्दा अघि टिबी कार्की काठमाडौंमा होलसेल पसल गर्थे। त्यो बेला कार्की व्यवसाय गर्ने सोचले नै कतार पुगेका हुन्।
कतार पुगेर कार्कीले सन् २००६ को सुरूदेखि नै व्यवसाय गरे।
‘मैले नेपालमा आरती सप, दियो साबुन र महाशक्ति पूजा साबुनमा मार्केटिङ अफिसरका रूपमा काम गरेँ। त्यसपछि बहुराष्ट्रिय कम्पनी हिन्दुस्तान लिभरले सुरू गरेको नेपाल लिभरमा पनि काम गरेँ। अनि मात्रै आफ्नै व्यापार सुरू गरेको हुँ,’ कार्कीले भने।
उनका दाइ म्यानपावर कम्पनी चलाउँथे। कतारमा प्रचुर सम्भावना छ भनेर दाइकै सुझाव अनुसार उनी त्यता गएका हुन्। २००६ देखि २०२३ को अन्त्यसम्म उनले व्यवसाय गरे।
तत्कालीन गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष अशोक श्रेष्ठले चिनाइदिएका इटालियन व्यवसायीसँग मिलेर ‘द वेभ जनरल सर्भिस’ सुरू गरेको उनले बताए।
कार्कीका अनुसार यो कन्स्ट्रक्सन कम्पनीले विशेष गरी स्काफोल्डिङको काम गर्थ्यो। कन्स्ट्रक्सन क्षेत्रमा अन्य नेपालीले काम गरेको भए पनि स्काफोल्डिङ सुरू गर्ने आफू पहिलो नेपाली भएको कार्कीको दाबी छ।
कन्स्ट्रक्सनमा आक्रामक रूपमा अघि बढेको कतारले बिस्तारै हस्पिटालिटी क्षेत्रमा लगानी गर्न थाल्यो।
त्यसपछि उनले पनि लगानीका क्षेत्र विस्तार गर्न थाले। सन् २०१५ देखि कार्कीले क्लिनिङ कम्पनी समेत सुरू गरे।
सन् २०१५ सम्म उनी एनआरएनएमै थिएँ। जसका कारण उनलाई व्यवसाय विस्तार गर्न गाह्रो भयो। सन् २०१५ मा एनआरएनए अध्यक्ष पदमा पराजित भएपछि उनले व्यवसाय विस्तार गर्दै क्लिनिङ कम्पनी सुरू गरेका हुन्।
‘कतारमा व्यवसाय गर्न सहज भएकाले काम गर्न सकिएको हो। त्यहाँ नेपालमा जस्तो धेरैतिर धाइरहन पर्दैन। एकद्वार प्रणालीबाटै सबै काम हुन्छ,’ उनले भने।
एनआरएनएको विभिन्न पदमा रहेर काम गरेका कार्की २०१३ देखि २०१५ सम्म एनआरएनएको उपाध्यक्ष बनेका थिए। सन् २०१५ देखि २०१७ को कार्यकालमा भने उनी अध्यक्षका प्रत्यासी थिए।
कतारको व्यवसाय आफ्नै तरिकाले चलिरहेकै थियो। नेपालमा पनि साथीहरूसँग मिलेर विभिन्न व्यवसायमा उनी जोडिएका थिए। जब कोभिड–१९ सुरू भयो, त्यसपछि भने उनको मन बदलियो। त्यसपछि उनी नेपालमै व्यवसाय गर्न आतुर भए।
‘एनआरएनएमा सक्रिय भएको, यतै व्यवसाय, घर र आफन्त भएकाले नेपाल आउने–जाने चलिरहन्थ्यो। तर कोभिडका कारण मलाई नेपालमै केही गर्छु र मर्न परे यतै मर्छु भन्ने भावना आयो,’ उनले भने, ‘भावना भन्ने चिज अचम्मको हुने रहेछ। मैले २०२२ देखि उताको व्यवसाय छोड्दै गएँ र सन् २०२५ देखि रिसोर्ट बनाउन सुरू गरेँ।’
यसरी करिब १७ वर्ष कतारमा व्यवसाय चलाएपछि उनले ललितपुर र भक्तपुरको सिमानामा पर्ने लामाटार हाइटमा ‘लाकुरी भञ्ज्याङ भ्यु रिसोर्ट’ खोले।
यसको सामान्य उद्घाटन भइसक्यो।
रिसोर्टको विशेषता भनेको त्यहाँबाट काठमाडौंको दृश्य र हिमाल देख्न पाइन्छ भने सहरको कोलाहलबाट शान्ति पनि मिल्छ।
रातिको समयमा काठमाडौंको झिलिमिली दृश्यले दीपावलीको झल्को दिन्छ। नगरकोटदेखि चन्द्रागिरिसम्मको दृश्य देख्न पाइने कार्कीले बताए।
‘यहाँको हरियालीदेखि चराचुरूङ्गीको आवाजसम्म सबै आकर्षक छ। यसका साथै यहाँबाट सूर्यास्त पनि देख्न पाइन्छ। नगरकोटबाट सूर्योदय देखिएझैँ यताबाट सूर्यास्त देख्न पाइन्छ भने मान्छे आउने क्रम समेत बढेको छ,’ उनले भने।
सकेसम्म स्थानीय खाना खुवाउने, फार्मकै लोकल कुखुरा र कालिज खुवाउने तथा क्याम्पफायर गराउने उनले बताए।
उनको लक्ष्य २०–२५ वर्षअघिको खानपानको स्वाद सम्झाउने गरी सेवा दिनु हो।
उनी यो रिसोर्टलाई विदेशमा रहेका नेपालीले नेपाल फर्किएर सुरू गरेको लगानीको उदाहरण मान्छन्। यसरी नै विदेशमा रहेका धेरै नेपालीले नेपालमा लगानी गर्न थालेको उनको भनाइ छ।
‘कसैले ठूलो लगानी गर्लान्, कसैले सानो। तर सबैले आफ्नो क्षमता अनुसार लगानी गर्न चाहन्छन्,’ उनले भने, ‘लगानीको वातावरण राम्रो हुँदै गएको छ। विदेशमा बसेका नेपालीले मातृभूमिमा अझै लगानी ल्याउने छन् भन्ने मेरो विश्वास छ।’