धीरेन्द्र पुन मगर रोजगारीका लागि पहिलो पटक साउदी अरब गएका थिए।
दमामस्थित विमानस्थल पुग्दा रात परेको थियो। रातको समयमा पनि त्यति उग्र गर्मी उनले पहिलो पटक अनुभव गरे।
'विमानस्थल भित्र त एसी थियो, गर्मी भएको थिएन। विमानस्थलबाट बाहिर पुगेर उभिएको के थिएँ, यति साह्रो गर्मी हुँदो रहेछ खप्नै गाह्रो हुने,' उनले सुनाए, 'मलाई त त्यहीँबाट आफ्नै देश फर्किन पाए हुन्थ्यो जस्तो लागेको थियो।'
रोल्पाका धीरेन्द्र कामको सिलसिलामा साउदी गएका हुन्। उनी गएको पाँच महिना नाघ्यो।
उनी त्यहाँको एक बेकरीमा काम गर्छन्। भारतमा बेकरीमै सेफ काम गरिरहेका उनलाई चिनजानका साथीले साउदीमा राम्रो माग रहेको सुनाएपछि गएका हुन्।
काम त जे भनेर गएका थिए, त्यही पर्यो। कमाइ भने सुनाएको जस्तो नभएको उनले बताए।
'कम्तीमा पनि ७० हजार रूपैयाँ त कमाइन्छ भनेको थियो। त्यति छैन। बेसिक १५०० रियाल (हालको विनिमय दर अनुसार ५७ हजार नेपाली रूपैयाँ हाराहारी) मात्रै हुन्छ। तर खर्च पनि धेरै हुन्छ,' उनले भने।
उनलाई पठाउने व्यक्तिले ओभरटाइम काम र त्यसको छुट्टै कमाइ हुने सुनाएका थिए।
अहिले उनले नियमित ८ घन्टा बाहेक थप ४ घन्टा काम गर्नुपर्छ। १२ घन्टा उभिएरै काम गर्नुपर्ने बाध्यता छ। तलब भने ८ घन्टा काम गर्दा पाउने मात्रै पाउने उनले बताए।
'एकदमै राम्रो कमाइन्छ भनेर साढे दुई लाख रूपैयाँ बुझाएर आएको। बिरामी नभई काम गरिरहन सकियो भने आउँदा लागेको ऋणपान तिर्नै ६ महिना जस्तो त लाग्ने रहेछ,' धीरेन्द्रले भने।
सरकारले साउदी रोजगारीमा फ्री भिसा, फ्री टिकट घोषणा गरेको छ। जसको अर्थ साउदी जाने श्रमिकले भिसा र टिकट शुल्क तिर्नुपर्दैन। साउदी पठाउने म्यानपावर कम्पनीहरूले सेवाशुल्क बापत १० हजार रूपैयाँ मात्रै लिन पाउँछन्।
तर यो व्यवस्था प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। त्यहाँ जाने नेपालीहरूले दुईदेखि पाँच लाख नेपाली रूपैयाँसम्म तिर्न बाध्य छन्।
त्यत्रो रकम तिरेर जाँदा पनि भनेजस्तो काम, तलब तथा सेवासुविधा नपाउने गुनासो छ।
'यहाँ गर्नुपर्ने दुःख सम्झिँदा त कमाइ धेरै कम हो। मैले त जानिरहेको काम भएको भएर ठिकै कमाइ छ भनौं न,' उनले भने, 'कतिपय दाजुभाइ, दिदीबहिनी त धेरै समस्यामा छन्। अवैधानिक भएर लुकिछिपी काम गर्नेहरू पनि रहेछन्।'
धीरेन्द्रलाई बिहानको खाना, खाजा र बस्ने व्यवस्था कम्पनीले गरिदिएको छ। बेलुकाको खानामा आफै खर्च गर्नुपर्छ। एक छाक खानामा पनि महिनाको तीन सय रियालसम्म खर्च हुने उनले बताए।

'जे कुरा पनि कति महँगो छ। सामान्य चामल सबभन्दा सस्तो किनेर खान्छु भन्दा १० किलोलाई ५० रियाल पर्छ। अलि राम्रो खालको चामल खान्छु भन्ने हो भने त त्यतिलाई ८० रियालसम्म पर्छ,' उनले भने, 'पिउने पानी पनि किनेरै हो। एक जारलाई १० रियाल पर्छ।'
उनी दुई वर्ष करार अवधिका लागि साउदी गएका हुन्। दुई वर्ष काम गर्ने र त्यसपछि तलब सेवासुविधा राम्रो हुने भयो भने मात्रै फेरि साउदी फर्कने सोचेका छन्।
'गाउँठाउँमै केही गरौं भन्दा रोजगारी पनि छैन। विदेश त बाध्यता नै छ। तर तलब बढेन भने त फेरि यहीँ फर्किन्न होला,' २४ वर्षीय धीरेन्द्रले भने।
यसअघि उनले भारतमा चार वर्ष काम गरेका थिए। त्यहाँ सबै खर्च कटाएर २५ हजार नेपाली रूपैयाँ जस्तो बचाउँथे।
घरमा उनका आमाबुबा छन्। खर्च आफैले हेर्नुपर्ने उनले बताए।
भारतमा ठिकठिकै कमाइ थियो। तर त्यहाँभन्दा यहाँ राम्रो भनेर आएको दुःख र कमाइ हेर्दा त उस्तै उस्तै रहेछ,' उनले भने।
सीप भएकालाई सीप नसिकी जानेलाई भन्दा केही सजिलो हुने उनी बताउँछन्।
उनले सँगै काम गर्ने एक साथीको उदाहरण दिए— उनीसँग सीप त थिएन, नेपालीबाहेक हिन्दी भाषा पनि जान्दैन थिए। दुःख पाए। बिरामी परेर एक महिनामै फर्किए।
'काम जानेर आउँदा त कमाउन यति मुस्किल छ। काम नजानेकालाई त धेरै दुःख छ। तनाव भएर बिरामी पर्छन्। त्यसैले बाध्यता भए मात्र साउदी आउनू। सीप चाहिँ सिकेरै आउनू,' धीरेन्द्रले भने।